बुधबार, साउन २८ २०७७
काठमाडौं १७:२०
वासिङटन डिसी 07:35

कोरोनाले विउंझाएको आमा र राष्ट्रियताको महत्व

प्रा.डा. मेदनीप्रसाद भण्डारी २०७७ असार २४ गते २३:०९ मा प्रकाशित

आमाको महत्व जतिपल्ट उल्लेख गरे पनि कमै हुन्छ।धरा र धरणीको जति स्तुति गाए पनि कमै हुन्छ ।  आमा अति सरल भए पनि आमाको त्यो मन र आमाको त्याग सम्झिन सायद आमाले मात्र सक्नुहुन्छ होला।

“आमा” यस्तो आश्रय हो मानैं उसित सबै ‘आहत” हरू सुन्ने क्षमता छ, कृदन शक्तिपूजा हो, प्रेमधारा हो, आशिवार्द हो र प्रेरणा हो जसको प्रेमधारा अनवरत रूपले बगिरहन्छ र आफ्ना सन्तती संरक्षणमा समर्पित भई नै रहन्छ । त्यसैले जब जब मानिस चरम पीडामा हुन्छ, जब कुनै पनि आश्रय रहदैन र त्रासले ग्रसित हुन्छ त्यसबेला मानिसले आमालाई सम्झन्छ।आमाको त्यो प्रेम शाश्वत प्रेम हो जुन आफ्ना सन्तानको हितमा जुनसुकै अवस्थामा पनि वगिरहन्छ, चाहे सन्नती कुपुत्र वा कुपुत्री नै किन नहोस् । जीवनमा ताड्न वाहेक केही कहिल्यै नदिएको होस् अथवा सन्तानले स्वयं आमालाई नै संवेगको बन्दी बनाएर जीवन पर्यन्त दुःखमा डुबाएकै किन नहोस् । आमाले आफ्ना ती पीडादायक सन्ततीको पनि नराम्रो कहिल्यै पनि सोच्न सक्तिनन् । आमाको माया सबभन्दा कमजोरमा विशेष रहन्छ, अझ कोही सन्तानको मृत्यु नै भएको अवस्था छ भने आमाले सबै भन्दाबढी सम्झिने र मृतात्माको उन्मुक्ती होस् भन्ने कामना सदा सर्वदा रहिरहन्छ । भनिन्छ आमाका लागि सन्तानको छाति सदा सर्वदा धोची रहन्छ, पोली रहन्छ । आमाका लागि सन्तान यति प्रिय हुन्छन् कि आफ्नो अस्तित्व नै सन्तानमा देख्छन् । त्यही आमाको असिम वात्सल्यताकै परिणाम हो, जति सुकै नाम, दाम, दम्भ, मद, अभिमानले ग्रस्त भएको मानिस किन नहोस् विपतिमा त्यसले आमाको महतालाई सम्झेकै हुन्छ, चाहे उसले जीवन पर्यन्त आमालाई अपहेलनान नै किन नगरेको होस् । आमाको बोली सुन्दा नै झर्किएर ताडन नै किन नगरेको होस् अथवा आमालाई आमाले नै बनाएको आश्रयबाट गल्हत्याएर निकालेको नै किन नहोस्।

आमाको माया त्यो विराट ब्रह्मज्ञान हो, तत्वसार हो, जीवनवोध हो र वोधित्व दर्शन हो जसलाई आफ्ना सन्तानले गरेका जस्ता सुकै ताडनालाई माफ गरेर प्रेम, वात्सल्यता, करुणा र आभिवार्त दिन सक्ने सबैप्रकारका ज्ञानहरूको सार हो । जसले त्यो मातृभाव बुझेको छ, आमाका कोखको मतलब बुझेको छ, त्यो दशधारा अमृतमय दुधको महिम बुझेको छ र तदन्तरको व्यवहार गरेको छ वास्तवमा त्यसले बुझ्न बाँकी खासै अरू कुरा बाँकी नै रहन्छ जस्तो लाग्दैन ।

आमाको महŒव मानिसको लागि मात्र नभएर जनावरमा पनि उत्तिकै प्रकृतभावले स्वफूर्त रुपमा रहेको देखिन्छ । फरक यतिमात्र हो कि जनावरमा, पक्षिमा र केही सरिसृपहरूमा सन्तती संरक्षणको चरण सन्तती सक्षम नहुन्ज्यालसम्म मात्र रहन्छ । जब सन्तती आफै बाँच्न सक्षम हुन्छ तत्पश्चात् त्यहाँ आ–आफ्नो बाँच्ने प्रतिष्पर्धा सुरु हुन्छ र सम्बन्ध अलिक लामो समयसम्म हुन्छ र केहीमा अल्पसमय तर यर्थाथमा मातृभाव पितृभावको अनुभूतिको पाटो जनावरमा हुँदैन । मानव मात्र यस्तो भाग्यमानी प्राणी हो जसले मातृप्रेम र पितृप्रेमको अमृतबर्ष मातापिता हुञ्जेल त हुने नै भयो । उनीहरूको देहवसानपछि पनि स्मृतिपटलम रहेको छापको कारणले कहिल्यै समाप्त हुँदैन।

यो आमा भावना, आमाबाट प्राप्त हुने प्रेम, आशिर्वाद र संरक्षणको प्रत्याभूति भनेको अनवछिन्तरुपमा बगिरहने धारा हो जसको नै कुनै आदि छ न कुनै अन्त नै छ । यो साश, आस वा वाससित मात्र सम्वन्धित नभएर मानव चेतनाको मूलस्रोत नै हो तसर्थ मातृत्वभावना नै संसारलाई स्थीर बनाउने मूल सिद्धान्त हो, मानव सभ्यताको आधार हो । त्यहि मूल आधारलाई, सत्यलाई स्वीकार गरेर नै संसारका दर्शनहरूले आमाहरूलाई, समस्त स्त्रीलिङ्गीन प्राणीहरूलाई जीवनको स्रोत हो मूलभूत आधार हो भनेको हो । मानवको प्रशङ्गमा त मातृत्भावको गहराईलाई न स्वयं आमाहरूले जान्नु भएको छ न भविष्यका आमाहरूले नै जान्नु हुनेछ । तर एउटा स्वर्णिम सत्य चाहीँ के छ भने सबै स्त्रीलिङ्गीतहरूमा आमा हुने रहर, चाहे जुनसुकै अवस्थामा होस् कता–कता छिपेको नै हुनु र्पदछ, नत्र भनिए अनुसार सबैभन्दा बढी शारीरिक पिडा प्रश्वपीडा हो, अनि त्यस्तो पिडाको लागि मन, तन, धन आदीबाट आफूलाई भिन्न राखेर सन्तानापेक्षी हुनु नै नारीपनको परिचायक हो । यर्थाथमा आमा÷जननी वन्नु भनेको स्वधन्यता हो र जननीको स्मरण गर्नु भनेको जीवनको सर्वोकृष्ट स्तुति हो, यो लैङ्गिक अवस्था भनेको प्रकृतिको प्रकृतिलाई निरन्तरता दिने मूल तत्व हो, तसर्थ म यो प्रकृतिको मूलतत्वलाई जान्नै नसकिने तर सर्वोकृष्ट ज्ञान भन्छु र ती समस्त यस धरातलमा अथवा यस्तै अरु धरातलहरू छन् र त्यहाँ पनि यसै प्रकारको प्रकृयागत संरचना छ भने त्यहाँका पनि परापूर्वकालदेखि आज सम्मका र भविष्यमा हुने समस्त सृष्टिका आधार आमाहरूलाई साष्टाङ्ग प्रणाम गर्दछु, नमन गर्दछु।

तर के अहिलेका आमाहरूले र भविष्यमा हुने आमाहरूले आफ्नो मूलस्वरुप अनुसार जीउन पाउनु भएको छ ? स्वः चरित्र अनुसार प्रेमावतारको कोमलताको, आद्रता अनुसारको आचरण गर्न पाउनु भएको छ ? अवश्य छैन, छदैछैन, किन ? कसले गर्दा ? उत्तर स्वतः छर्लङ्ग छ सबैलाई थाहा छ कि मानव सभ्यताको सबैभन्दा नराम्रो पक्ष भनेको स्त्री स्वरूपको स्वभावधन्य, सिर्जनशिलता, उर्वरता, वात्सल्यता, प्रेम र समभावना (आफ्ना सन्तति प्रति)लाई दुर्वल पक्ष ठानेर उनीहरूको शक्तिको मर्दन गरी उनिहरूलाई कमजोड बनाउन रहयो । नारीहरू स्वयंले आफ्नो सबैभन्दा उच्चशक्ति जुन प्रेम र वात्सल्यतानै हो त्यसको महत्वलाई बुझ्नु भएन अझैपनि बुझ्न भएको छैन र आफ्ना सन्ततीले नै आफू माथि गरेको अत्याचारलाई वेवास्ता गर्नु भयो । वास्तवमा मातृशक्ति भनेको नै जगतलाई प्रकृयागत ढंगबाट निरन्तरता दिने दिव्यशक्ति हो त्यो शक्तिको मानर्मदन भएको भएकै छ । विभिन्न नाममा यो मान मर्दनको प्रकृयालाई आमाहरू स्वंयले पनि सघाउनु भएको छ तर वहाँहरू यसमा दोषी भने हुनुहुन्न किनकी जन्मदेखिनै वहाँहरूको मानसिकतालाई हाम्रा परम्पराले, कार्यशैलीले, शास्त्रिय विशंगतियुक्त विश्लेषणले वहाँहरूमा विभेदलाई नै यर्थाथ हो भने भन्ने “अज्ञान”लाई नै ज्ञान हो भनेर विकास गरिएको छ।

यसलाई हटाउनु र समयापेक्षता अनुसार परिमार्जन गरि लैङ्गिक विभेदलाई हटाउनका लागि हामीले हाम्रो मानसिक अवस्थालाईनै परिर्वतन गर्नुपर्छ।व्यवहार प्रकृयामा समानताका पहलहरूलाई विकसित गरी यो लैङ्गिक विभेदको जडतालाई उखेल्नु पर्छ । मातृत्व भनेको लैङ्गिक विभेदको विषय भन्दा माथिको कुरो हो, परम्पराको पनि आधार हो र परम्पराले पनि आराधना गरेको विषय हो, यर्थाथमा भन्दा यो विषयगत सोचभन्दा पनि परको चेतनाले संप्रेसित भावना हो जसलाई व्यक्त गर्न सकिदैन खाली महशुस हुन्छ त्यो पनि आमा भाव हुनेले मात्रै । यो भाव शरिर कुन रुपमा छ स्त्री रुप या पुरुष रुप भन्दा पनि परको कुरो हो जस्तो लाग्छ, किनकी संसारमा वात्सल्यता रहन्छ नै तर जननी भनेकी जननी हुन उनको महŒवलाई सामान्य वात्सल्यतासित जोडन हुँदैन।मैले यहाँ वावुहरूले माया खन्याउँदैनन् भनेको होइन, खन्याउँछन्, सन्तानको सुखका अगाडि उनीहरूको जीवनको पनि मूल्य हुँदैन् । इतिहास हेर्ने हो वावु स्वरुप आफ्ना सन्तानका लागि प्राणै त्याग गर्ने आमाहरू भन्दा बढी नै भएको देखाउँछ तर आ……..मा भनेको आ…….मा नै हो।

अब यो आमाभावमा जोडिएका केही प्रमुख पक्षलाई हेरौ । आमा भनेको जन्मदिने, हुर्काउने र सक्षम बनाएर आफ्ना सन्तती सक्षम बनेको हेर्दा खुशी हुने, आफ्नो कुनैपनि स्वार्थ नहेरी सन्ततीको मात्रै विचार गर्ने र तदनुत्तरको व्यवहार गर्ने प्रवृति हो । त्यो प्रवृति, आमाको वृत्तिसित पनि सम्बन्धित छ, अनि वृति आमाले जीवकोपार्जन गर्ने स्थान अर्थात् आमाद्वारा आफ्नो जुन स्थानमा जन्म भयो जुन परिवेशमा वाल्यकाल वित्यो अथवा जीवतको सबैभन्दा सुखद् समय जुन समयमा आफु प्रति कुनैपनि उत्तरदायित्वको बोध थिएन र आमा, बाबु र परिवारजननै आफ्नो सर्वोकृष्ट उदाहरण थिए, जसलाई सर्वगुण सम्पन्न र आर्दश मानिन्थ्यो । त्यो स्थान परिवेशलाई पनि आमाकै प्रछ्यायाको रुपमा मानिसले लिएको हुन्छ र त्यो वाल्यकालको परिवेशलाई सर्वोकृष्ट सुखको संज्ञा दिएको छ । हुन सक्छ त्यसक्रममा अधिकांश भोकै किन रहनु परोस्, नांगै किन रहनु परेको होस् । त्यो हुनुको मुख्यकारण भनेको आफु वाँच्ने र वचाउने जिम्मेवार अरु कोही भएको अवस्था हो । त्यो मानवले अन्तर मनले चाहनेपनि जिम्मेवारी विनानै आफ्ना सबै प्रकारका भौतिक या अभौतिक चाहनाहरू स्वतः प्राप्ती होस् भन्ने नै हो । यो छलफलको तर्कको विषय बन्न सक्छ, हामीमा हरेकका अलग अलग धारणा हुन सक्छन, सवैका धारणा फरक हुन सक्छन् अथवा केही मिल्न सक्छन् । यद्यपी बाल्यकालको आमासित बुबासित परिवारसित भएको तादात्मकता एकात्मकता र प्राप्त भएको बात्सल्यतालाई भने जीवनको सबै भन्दा सुखद् पक्ष थियो भनि हामी स्वीकार गर्छौ । त्यो समय भनेको समग्रतामा मानव भएर संसारलाई चिन्ने क्रम हो । त्यो क्रममा जतिपनि संसर्गमा आए बाल हृदयले ती सबैबाट केही न केही सिक्यो, त्यसैले त्यो पल भनेको जीवनयापन सिक्ने संघर्षको पहिलो पटको हो । जसमा दायित्व भने मातापिता, परिवार वा परिवेशले वहन गरेको हुन्छ । यहि भएर जननी सितै जन्मभूमिलाई जोडिएको हो, जननी जन्मभूमीश्च स्वर्गादर्पगरियसी भनिएको हो।

“आजको परिवेशमा” जन्मभूमिको परिवेश स्थान विशेष मात्र नहुन सक्छ । किनकी आजको सामाजिक परिवेश अत्यन्तै चलायमान छ । बाल्यकाल नै यात्रामय स्थानान्तरणमै वितेको हुनुसक्छ र आफ्नो पनको मूलाधार नै स्थापित नभएको पनि हुनसक्छ (शरणार्थी, बसाई सराई, स्वराष्ट्रिय, अन्तरदेशीय अथवा अन्तर्राष्ट्रिय) तर त्यो मुलधार, आमाको मूल, कुनैपनि अवस्थामा आमाले आफ्ना सन्ततीलाई संचार गराएकै हुन्छिन् । त्यस अर्थमा आमाले नै जननी जन्मभूमीस्व स्वर्गदपीगरियसीको महानतालाई बुझाएकी हुन्छिन् त्यसकारण जुनसुकै अवस्थामा पनि राष्ट्र र राष्ट्रियताको पहिचान भने हराउँदैन ।चाहे राष्ट्र नै हराओस् तर राष्ट्रियता भने हराउँदैन किनकी राष्ट्रियता नै एक प्रकारको चिनारी हो।संसारको कुनै पनि कुनामा किन नहोस् राष्ट्र भन्दा मानिसले पहिला आफू जन्मेका स्थललाई नै सम्झन्छ र राष्ट्रियता भन्दा समग्र रुपमा त्यो राष्ट्रप्रति अन्तरहृदयमा लुकेको प्रेम नै उजागर हुने हो, चाहे त्यो व्यक्ति कुनै अर्को राष्ट्रको नागरिक नै किन नहोस् । कालान्तरमा मानसिक परिवर्तन हुन सक्छ, थातथलो नया भएपछि सोच्ने प्रकृयामा पनि परिवर्तन आउन सक्छ तर मूल थलोको आन्तरिक प्रेममा भने कुनै परिवर्तन आउँदैन । जीवन पर्यन्त त्यो मूलराष्ट्रियतामै मानिस बाँच्दछ । एक शब्दमा भन्ने हो भने देशान्तरहुँदैमा राष्ट्रियता चाहि फेरिदैन, पुस्तौ पुस्तासम्म पहिचान स्वरुप रहिरहन्छ । त्यो आमाको पहिचान हो त्यसैले आफ्नो पहिचान बन्छ र कायम रहन्छ । यस अर्थमा स्वराष्ट्रमै जीवनयापन गर्ने मानिस र वाध्यतावश स्वराष्ट्रमा गरिखान नसकेर परदेशमा हेलिएकाहरू बीच राष्ट्र र राष्ट्रियताको प्रश्नमा कुनै फरक हुँदैन । अझ हुनसक्छ वाध्यताले विदेशिएकाहरूले स्वराष्ट्र अर्थात् थातथलोको बढी प्रेम गर्ने पनि हुन सक्छ । सामान्यता आफ्नी आमा भन्दा राम्री कोही हुँदैन ।आफ्नो राष्ट्र जति सुन्दर कुनै ठाउँ हुँदैन र आफ्नो राष्ट्रियता जस्तो प्रीय कोही हुँदैन।उदाहरणको रुपमा विश्वमा भएका असंख्य राष्ट्र पहिचान सम्बन्धित संस्थाहरूलाई लिन सकिन्छ । उनीहरूले आफ्नो राष्ट्रियतालाई बचाउन मूलथलोसित जोडिएर गरेका कामहरूलाई लिन सकिन्छ । गैह्रआवासीय संघसंस्थाहरू यसका ज्वलन्त उदाहरण हुन्।स्वफूर्त राष्ट्र प्रेमबाट अभिप्रेरित भएर नै दुरदेशमा हुनेहरू मूल राष्ट्रसित जोडिएका अथवा जोडिन प्रयास गरेका हुन त्यो प्रेम हो राष्ट्रियता हो र पहिचान हो।

त्यो पहिचान भनेको आमाको पहिचान हो, आमाको सम्मानको पहिचान हो– ती धन्यमार्गहरू हुन् जो स्वराष्ट्रमै जीवनयापन गर्न समर्थ हुनुहुन्छ । दूरदेशमा पर्ने ताडन, अपहेलना, विभेदको सामना गर्नु परेको छैन । भाषाभेद, जातीयता भेद अनि यावद प्रकारका सामाजिक रितीथितीहरूको भेद अनि दूरदेशमा वसेर स्वराष्ट्रप्रति उम्लिने प्रेमलाई स्वराष्ट्र मै जेनतेन गुजारा चलाउन पाउनु भएका भाग्यमानीहरूले सायद बुझ्न कठीन पर्छ होला ।तर म,हामी जस्तै कयौहरूले जसले स्वदेशमा गरिखान नसकेर बाध्यताले दूरदेशमा पलायन हुनु परेकाहरूलाई नत स्वदेशले स्वागत गर्छ न परदेशले ।आफूसित भएका शिप, दक्षता, ज्ञान, कौशलतालाई प्रयोग गर्न स्वदेशले वातावरण दिने हो भने, मनैदेखि स्वराष्ट्रको सेवा गर्न पाए हुने भन्ने कति छौ होला कति छौ होला ?? राष्ट्रलाई परेका बेला मन वचन र कर्मले हुन सक्ने सहयोग विदेशमा भएकाहरूले जो हाम्रो थातथलो हो त्यसको लागि विश्व भरिका हामी कुनै न कुनै रुपमा गर्न खोज्नु भनेको त्यही आफ्नो राष्ट्रले चिनिराखोस् भन्ने ध्येयको परिणाम हो । संसारका हामी सबै परदेशीएकाहरूको यस्तै अवस्था छ।

आमाको महत्व आमाबाट टाडा हुनेलाई अथवा आमा नहुनेलाई थाहा हुन्छ, जो आमाका काखमा छौ हुन सक्छ हामीलाई आमाको बोली कचकच लाग्न सक्छ, चिच्चायाएको लाग्न सक्छ, आमाको खोकीले निद्राभङ्ग भएकोमा क्रोध चडिराखेको हुन सक्छ अथवा यदि सम्पत्तिसँग आमा जोडिनु भएको छ भने त ? उल्लेख नै नगरौं ?

यस्तै स्थिति राष्ट्रसितपनि जोडिएको छ, राष्ट्रियतासित पनि जोडिएको छ । मानिसको वास्तविक हृदयको वेदना एउटा हदसम्म लुकाएर राख्न सक्छ तर जब अति हुन्छ त्यो प्रष्फुटन हुन्छ।

आजको विश्व परिस्थिति यस्तै चरम पीडा प्रदायक छ । संसारका सबै मानिसहरू कोभिडले करिब करिब चेतना शुन्य भएका छौ । म को हु कहाँबाट आए मेरा साथीसंगीहरू कहाँ छन्, म कहाँ सुरक्षित हुन सक्छु अथवा प्राण जाने नै अवस्थामा कहाँ प्राण अन्तहोस् भन्ने अत्यन्त सत्य र विश्मयकारी चेतना सबैमा जोगेको छ । माथि शुरुमा भनिएअनुसार यसबेला हामीलाई आ… मा चाहिएको छ । जननी र जन्मभूमिको आश्रय चाहिएको छ । मूल थातथालो चाहिएको छ हाम्रा संगतिहरू चाहिएको छ जो सित टाडै बसेर भएपनि हाम्रा मनको रोदन साझा गर्न मन लागेको छ । हामी परदेशमा जुनसुकै उद्देश्यले (धन, विद्या, यस, सौदर्य प्राप्ती गर्न होस् अथवा स्वदेशमा जीविकै गर्न नसकेर वा अव मूल्यनमा परेर, द्वन्द्वको घाउमा महलम लगाउने या अरु कुनै युद्धाआदी चपेटाका कारणले होस्) विदेशीएका थियौ । हामीलाई सबै भन्दाबढी थातथलोको याद आई रहेको छ । आमाको याद आएको छ । हामीलाई मृत्युको भन्दा बढी पीडा आमाको बात्सल्यताबाट टाडा हुनु पर्दाले गर्दा भएको छ । जन्मभूमीको वात्सल्यमय प्रेमबाट बञ्चित हुनु पर्दाले भएको छ । हामी समस्त मानवहरूलाई यसबेला तीनै हाम्री राम्री आमाको वात्सल्यता चाहिएको छ । ती नै बुबाहरू चाहिएको छ जसले आफ्नो रोग, कष्ट र जीवनमा आएका सबै दुःखहरू लुकाएर हामीलाई काध थाप्नु भयो र थापी रहनु भएको छ । त्यही हाम्रै बोझको भारी ओसार्दा ओसार्दै सुखद् भविष्यको कल्पनासितै जीवनको यथार्थत जान्ने कोशिश गर्दागर्दै अन्तिम श्वास लिनु भयो।हामीलाई निजधामको महत्व ज्ञात भएको छ । स्वः राष्ट्रको चेत राष्ट्रियताको महत्व अनि जननी जन्मभूमीश्च स्वर्गादपीच गरियसीको मर्मको ज्ञान भएको छ।

तर, हामी, हाम्रो मानसिकता र हाम्रो मन साह्रै आतिएको छ, यति धेरै हामी मध्येकाहरू नर्फकने गरी गइसके, कति धेरै हामीहरू त्यहि बाटोमा लामवद्ध भएर लागेका छौ र पालो पर्खेर अन्तिम श्वास लिदैछौं । अनि कति हामीहरूको पनि त्यही बाटो हुने हो कि भनेर त्रसित छौ।अझ बढी चाहिँ त्यसकारण छौ की यस्तो विश्व नै आतंकीत भएको बेलामा पनि संसारमा मानवीय दुर्गुणहरू (क्रोध, लोभ, मोह, ऋणा, ईश्र्या, विवाद, घमण्ड आदि)लाई कमी गराउने तर्फ कसैको चासो गएको देखिदैन ।विश्व वन्धुत्वको भावना जागृत भएको देखिदैन, र यस अनुकूल अर्थात् हामी संसारका सबै मानवहरू एक अर्कासित जोडिएका छौ, ठूला कोभिड जस्तै विपतले राजनैतिक उद्देश्यले विभाजित सिमानालाई चिन्दैन र समग्र रुपमा मानवताको रक्षा, मानव जीवनको रक्षा संसार भरि भएका सबैजना मिलेर गर्नुपर्छ भन्ने बाँच र बाँच्न देउको मर्म अनुसारका कृयाकलाप अझ भएका देखिदैन।

हामी सबै अत्तिएका छौ, मनस्थिति खल्बलिएको छ र येस्तो बेलामा सबै भन्दा धेरै आमाको मायाको जरुरत छ आबस्यकता छ र त्यसै गरि आमा लाई पनि उनको सम्रक्क्षण जरुरि छ सम्बर्धन जरुरि छ ।यस दोहोरो जरुरि लाई मनन गरि हामीले आ …. मा लाई साँच्चै संरक्षण गर्ने हो र वहाँहरूको त्यागको आदर्शताको, प्रेममयताको, वात्सल्यताको महानतालाई मनन गर्ने हो भने र तदनुसार व्यवहार गर्ने हो भने अवश्यपनि बशुदैव कूटुम्वकमको धारणा बलवति हुनेछ, बिस्व बन्धुत्व को भावना बलबति हुनेछ । विश्व वन्धुत्वको भावनाको विकासले मात्रै संसारलाई शान्तिको वाटामा अग्रसर गराउने छ, अनि त्यही नै आमाको भावनालाई बुझ्ने कडी हो । शुभम् ।

(लेखक अकमाइ युनिभर्सिटी अमेरिका र सुमी स्टेट युनिभर्सिटी युक्रेन मा पढाउनुको साथै ग्लोबल जर्नल स्ट्राटेजिक प्लानिङ फर इनर्जी एण्ड द इन्भाइरोमेन्टको प्रधान सम्पादक हुनुहुन्छ ।)

प्रतिक्रिया