कर्म गर फलको आश नगर

विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड, अमेरिका । २०७७ असार १९ गते २०:४८ मा प्रकाशित

हामी भर्खर कलेज पढथ्यौँ “कर्म गर फलको आशा नगर”,भन्ने वाक्य वारम्वार सुन्ने गर्दथ्यौँ गुरुहरू र आफूभन्दा ठूला बडा बाट। त्यति बेला उहाहरुको कुरा सुन्दा बकबास जस्तो पनि लाग्दथ्यो। के भन्या होला काम पनि गर भनेको छ, अनि फलको आश पनि नगर भनेको छ। कहिले काहिँ साथी भाइ बीच त्यस्तो कुराहरू आयो भने हावामै उडाइ दिन्थ्यौँ त्यस्ता कुराहरू। त्यसै त उमेरै त्यस्तो अल्लारे त्यसमाथि काचा बुद्दिकाका हामी। त्यसको अर्थ गहिरिएर बुझ्ने फुर्सत पनि थिएन अथवा भनौँ फुर्सद नै भएपनि हामीलाई लाग्थ्यौँ “नजाने गाउँको बाटो किन सोध्नू”?

उमेर पाको हुँदै जाँदा उमेर, समय अनि परिस्थितिले धेरै कुराहरू सिकाउदै पनि गयो जीवनमा । जुन कुरा विश्वविध्यालयका डिग्रीका प्रमाणपत्रहरू लिएर मात्र किमार्थ पाइदो रहेनछ। तर जीवनमा धेरै कुरा सिक्दा र जान्दा पनि यो वाक्यको अर्थबाट भने म एक किसिमले अन्योलमै थिएँ। अनि यसको वास्तविक अर्थ के होला जस्तो पनि लागिरहन्थ्यो सधै।

दुई चार वर्ष पहिलेको कुरो हो, मलाई केही अध्यात्ममा रुचि भएका साथीहरूसंग संगत गर्ने सु-अवसर प्राप्त भयो। साथीहरूको संगत एक किसिमले मेरो लागि वरदान नै सावित भयो भन्नुपर्छ। साथीहरूको संगतबाट अलि अलि गीताको वोध हुदै गयो। गीताप्रति रुचि पनि जाग्दै गयो। युटुवमा गीता बारे खोज्दै गएँ। अनि पो थाहा भयो, सानैदेखि बुझेको श्रीमद् भागवत गीता र व्यबहारिक गीतामा आकाश र जमिनको फरक रहेछ। हामीलाई यस्ता दर्शनका गाह्रा गाह्रा श्लोक हामीले पढ्ने कुरो होइन जस्तो लाग्थ्यो। अझ वास्तविक रूपमा भन्नुपर्दा, यस्ता जीवन उपयोगी कुराहरूलाई अलि सजिलो गरि सिकाइएन/बुझाइएन कि जस्तो लाग्छ। अनि हाम्रो दिमाखमा दर्शन, धार्मिक गन्थ्र पढ्ने बुझ्ने अनि लागू गर्ने त बुढो भएपछि हो भन्ने पर्यो। अझ हाम्रो समाजले त महिलाले गीता पढन नै हुन्न भनेर वन्देज लगाइएको थियो, पहिला पहिला। आजभोलि किन त्यसो गरेका होलान भन्ने पनि लाग्छ कता कता। वास्तवमा श्रीमद भागवत गीता त मानव जीवनको लागि अत्यावश्यक पर्ने संजीवनी वुटी नै रहेछ।

श्रीमद् भागवत गीता आफैमा सम्पूर्ण ज्ञानहरूको पनि ज्ञान, वेदहरूको पनि वेद हो। ‘गयते इति गीता’ यसलाई गाउन मिल्ने भएकोले नै गीता भनिएको हो। वास्तवमा श्रीमद् भागवत गीता हिन्दूहरूको मात्रै पवित्र गन्थ्र नभएर संसारकै एउटा अति नै उपयोगी मार्गदर्शक ग्रन्थ पनि हो। विद्द्वानहरूले पनि गीतालाई सम्पूर्ण वेदहरूलाई मन्थन गरेर निकालिएको अमृतरुपी स्वपान नै हो भनेका छन।

यहि श्रीमद् भागवत गीतामा अन्तर्निहित मानवीय जीवनमा अत्यन्त सान्दर्भिक र व्यवहारिक कुराहरू स्वयम् भगवान श्रीकृष्णले आफ्नो मुखारविन्दुबाट निकालेर अर्जुनलाई सम्झाउनु भएको वाक्य हो,” कर्मण्य वाधिका रास्ते माफलेषु कदचना” अर्थात कर्म गर फलको आश नगर।

‘कर्म गर फलको आश नगर” यो वाक्य श्रीमद भागवत गीतामा भगवान श्रीकृष्णले अर्जुनको जिज्ञासालाई मेटाउदै कर्म के हो ? मनुष्यले कर्म किन गर्नु पर्छ ? कर्मका प्रकारहरू कस्ता हुन्छन ? अनि मनुष्यले कर्म कसरी गर्नुपर्दछ भनेर अर्जुनका माध्यमबाट सम्पूर्ण मानव जातिलाई संदेश प्रवाह गर्नुभएको छ।

सामान्यतया: हामीले जुनसुकै काम गर्दा पनि फल प्राप्तिको अभिलाषा पनि त्यो संगसंगै जोडिएर आउने गर्दछ।। अझ फल नपाइने काम गर्ने हामीलाई खासै जाँगर नै चल्दैन। जुनसुकै काम गर्दा पनि हामी परिणाम हेरेर वा परिणाम राम्रै आउने आशमा गरिरहेका हुन्छौं। वास्तवमा भन्ने हो भने हाम्रो मानवीय स्वभाव नै पनि हो यो। अझ हामी त्यस्को परिणाम आफूले सोचेको जस्तो आओस भन्ने चाह्न्छौ। अनि परिणाम आफूले सोचेको जस्तो आएन भने हाम्रो मनमा असन्तोष, निराशा र वेचैनीले डेरा जमाउन थाल्छ। निराशाले पराकाष्टाको रुपलिदा मानिस दीर्घ रूपमा मानसिक रोगी बन्न सक्छ। असफलताले गर्दा नै उसले आत्महत्या जस्ता अत्यन्त दु:खद कार्यहरू गर्ने गर्दछ। कर्म गर्नुभन्दा पहिले नै परिणाम प्रति मान्छेमा देखापर्ने यस्ता आसक्तिका कारण आज यस्ता घटनाहरू छ्याप्छ्याप्ती देखन र् सुन पाईन्छ। श्रीमद् भागवत गीतामा मानवीय यिनै स्वभावलाई नै त्यागेमा मात्र मानवको हीत हुन्छ भनिएको छ।

मानिसमा आफै भित्र सम्पूर्ण खुसी, आन्नद अनि सुख लुकेको हुन्छ। त्यो उसले थाहा पाउदैन वा पाएर पनि अझ बढी प्राप्त गर्ने लालसामा आफूलाई प्राप्त बस्तुहरूसंग खुसी हुन् नसक्नु नै मानवीय जीवनको सबैभन्दा ठूलो कमजोरी हो। भागवत गीताले प्रवाह गर्न खोजेको मुख्य जीवन दर्शनले पनि भन्छ, जे छ त्यसैमा रमाउन सक्ने मानिस नै सुखी मानिस हो। तर दर्शन र मानवीय वास्तविक जीवन वीच एक अंश पनि तारतम्य मिलेको भने देखिदैन। किनभने गीताको व्यवहारिक दर्शनतिर हाम्रो ध्यान कहिल्यै जादै गएन। न यी कुराहरु हाम्रा स्कुलमै पढाईयो न त विश्वविध्यालयमै यी कुराहरूलाई सरल भाषामा बुझाउने प्रयत्न गरियो। फलस्वरूप लगभग हाम्रो पुस्ता र हामीभन्दा पछिको अहिलेको पुस्ता पूर्वीय दर्शनका जीवन उपयोगी अमृत रसहरूबाट वन्चित हुनुपर्यो।

श्रीमद भागवत गीतामा भनिएको छ, मनमा आसक्ति (लोभ, मोह) राखेर कर्म नगर। मनुष्यका कर्मलाई बुझाउने क्रममा कर्मलाई तीन भागमा विभाजन गरिएको छ। राजस, तामस र सात्त्विक। जुन कर्म परिणाम, हिँसा र पुरुषार्थको विचार नगरी मोहले आरम्भ गरिन्छ त्यस्तो कर्मलाई तामस कर्म भनिएको छ। यसैगरी जुन कर्म धेरै परिश्रमले गरिएको छ र फलको पनि आशा, इच्छा राखेर अहंकारी भावना मनमा लिएर गरिन्छ, त्यस्तो कर्मलाई राजस कर्म भनिएको छ। मनमा ठूलो आसक्ति (लोभ, मोह) राखेर गरिएको कामले मानिसलाई नै हानि गर्दछ। श्रीमद् भागवत गीतामा आसक्ति रहित राग द्वेष, बिना फलको आशा, इच्छा नगरि गरिने कर्मलाई सात्विक कर्म भनिएको छ र यहि कर्मलाई नै मनुष्य जातिको उत्कृष्ट कर्म पनि मानिएको छ। मनुष्य जातिले आफ्नो जीवनमा पनि यहि कर्मलाई अपनाउ भनिएको छ।

श्रीमद भागवत गीतामा कर्म गर तर परिणामजस्तो आउछ स्वीकार पनि गर भनिएको छ। गीतामा प्रष्टसंग भनिएको पनि छ, मनमा फलको आशा राखेर गरिएका कर्महरूले मानिसको जीवनमा भलो गर्दैनन्। तसर्थ जुनसुकै कार्य गर्दा पनि फल प्राप्तिको आश राखेर नगर।

वास्तवमा भन्ने हो भने यो अत्यन्तै सत्य भनाइ पनि हो किनभने जब मानिसले अनेक दुख कष्ट गरेर कर्म गर्छ र मानि लिउ कि उसले खोजेको कुरा पनि प्राप्त गर्ला तर त्यसबाट ऊ सन्तुष्ट बन्न सक्दैन। अर्थशास्त्रमा पनि मानिसलाई इच्छाहरुको मुट्ठा को रुपमा बर्णन गरिको छ, यौटा इच्छा पुरा हुन साथ अर्को इच्छाको जन्म भै हाल्छ। वर्तमान मानिसका असीमित इच्छा र थेग्नै गाह्रा महत्त्वकांक्षाहरूले उसलाई अझ बढी प्राप्तिको लोभ जगाइदिएको छ ।

मानिसको असन्तुष्टि स्वभावकै कारण उसमा अझ बढी प्राप्त गर्ने लालसाले ऊ निदाउन सक्दैन। फेरि नयाँ प्राप्तिको खोजीमा भौतारिन्छ। तर अफसोच त्यो नयाँ प्राप्ति पछि पनि ऊ खुसी बन्न भने सक्दैन। साच्चै भन्नुपर्दा, मानिसको सन्तुष्टिको सीमा निर्धारण गर्ने यन्त्र संसारमा अहिलेसम्म बनेकै पनि छैन।

यी उदाहरणहरूलाई नै हेरौं, जस्तो कुनै मान्छेले परीक्षामा सफल हुन दिनरात मिहिनेत गर्ला अनि ऊ सफल पनि होला तर फेरि अर्को सफलाताको लागि दौडन्छ। अनि कसैले जागिर पाउन, कोही जागिरमा उच्च ओहोदा पाउन, घर नहुनेले घर पाउन, गाडी नहुनेले गाडी पाउन, धन सम्पति नपाउनेले धनसम्पति पाउन एक पछि अर्को आकांक्षा पूरा गर्न मान्छे दौडिएको दौडै छ। मान्छेले जुनसुकै कर्म गर्दा पनि फलको आश राखेर गर्छ अनि दिन रात परिश्रम गरेर उसले राम्रो फल पनि हात पार्ला, तर फल प्राप्त गरेपछि पनि ऊ सन्तुष्ट रहन्छ त ? अहँ रहदैन। क्षणभरको लागि त ऊ आफ्नो सफलतामा रमाउला पनि तर त्यसैको लगत्तै ऊ फेरि अर्को सफलाताको लागि दौडधुप गर्छ। तर यहाँनेर हामी सम्पूर्ण मानवजातिले बुझ्नुपर्ने कुरा के छ भने, मानिसलाई सधैँ उसले नै भनेको जस्तो हुन्छ भन्ने छ र ?

कहिलेकाही व्यक्त्ति ,परिस्थिति, परिवेश, समय मान्छेको वशमा रहदैन र परिणाम मान्छेले सोचेको भन्दा फरक पनि आउन सक्छ। उदाहरणका निम्ति कुनै एउटा किसानले बढो मिहिनेत गरेर धान, मकै अथवा भनौँ कुनै खेती लगाएको हुन्छ। तर अपसोच, कहिलेकाँही बाली भित्र्याउने बेलामा ठूलो असिना पानी परिदिन्छ र उसको बाली क्षणभरमै सोत्तर पारिदिन्छ। यदि उसले कर्म गर्दा नै फलको धेरै आशा गरेको छैन भने अथवा भनौँ प्राकृतिक विपदलाई सहज रूपमा स्वीकार गर्न सक्यो भने आफ्नो क्षतिमा त्यति धेरै दुखी हुँदैन र् फेरि खेतीपाती गर्छ तर यदि स्वीकार गर्न सकेन भने त्यसको परिणामले किसानलाई मानसिक आघात पनि पुग्न सक्छ। यसै गरेर मान्छेले कर्म गर्दा पनि त्यसको फल राम्रो पनि आउन सक्छ र नराम्रो पनि आउन सक्छ। त्यसो भन्दैमा उसले कर्म नै नगरी बस्न त भएन नि ? अनि म यो काम गर्छु मलाई यसबाट यति फाइदा हुन्छ भनेर कर्म गर्न भन्दा पहिले नै ठूलो महत्त्वाकांक्षा राख्नु पनि भएन।

वर्तमान समयमा मनिसका उच्च महत्वकाक्षा अनि असीमित इच्छाहरू नै मानिसका चरम निरासाका जडहरू हुन् । यसले नै मानिसका जीवनमा अनेकन समस्या उत्पन्न गरिदिन्छन। जसको परिणाम स्वरूप, आजको वर्तमान युगमा संसारका करोडौँ मानिसहरू विभिन्न खालका मानसिक रोगको सिकार बन्न विवश बनेका घटनाहरू दिनहुँ बजारमा आइरहेका छन। अझ दिनहुँ कयौँ कलिला केटाकेटी अथवा भर्खरका युवा पुस्ताले तनावका कारण उत्पन्न हुने मानसिक रोगबाट ज्यान गुमाएका खबरहरू अखबारका पानाहरूमा बारम्बार आउने गर्दछन। हाम्रो पूर्वीय दर्शन एकातिर छ अनि अहिलेको वर्तमान पुस्ता एकातिर छ। अझ दुखको कुरा त आजको मेशिनकै गतिमा दौडिन खोज्ने मान्छे यी सबै कुराहरूबाट वेखबर जस्तै बनेको छ। अनि आफूले नै खनेको खाल्टोमा आफैँ पर्दैछ। हत्या, हिंसा, आक्रोश, निरासा, लालसा, आसक्ति, कुण्ठा, ग्लानी, अहंकार, प्रतिष्पर्धा, घृणा जस्ता असुन्दर कुराहरूबाट मानवीय सुन्दर जीवन आक्रान्त बनेको यथार्थ हामी माझ छ।

यिनै कुराहरूको शाश्वत ज्ञान संसारका सम्पूर्ण मानव जातिलाई श्रीमद् भागवत गीताका माध्यम द्वारा दिन खोजिएको पाइन्छ। त्यसैले पनि भनिएको छ कर्म गर फलको आश नगर। अझ गीतामा कर्म गर, तर त्यो कर्मले आफ्नो हीत नभएर लोकको समाजको हीत हुने कर्म गर पनि भनेर भनिएको छ। मान्छेले कर्म गर्नु उसको वशको कुरा हो भने परिणाम उसको वशको कुरा होइन। यदि मनुष्यले कर्म गर्दै जाने र फलको बारेमा चिन्तित नहुने हो भने उसको जीवनमा निराशा, हीनता, असन्तुष्टिजस्ता कुराहरूले प्रवेश नै गर्न पाउदैन। अनि ऊ सदा खुसी, सन्तुष्ट भएर जीवन व्यतित गर्न सफल हुन्छ।

अबको समाज झनै जटिल बन्दै छ, हाम्रा पूर्वीय दर्शनका राम्रा कुराहरूलाई सहज र सरल तरिकाबाट जनस्तरमा बुझाउनु अबको पुस्ताको ठुलो चुनौती हो। आज विश्वका मानिसमा तीव्र प्रतिस्पर्धा, यान्त्रिकताको बढ्दो नियन्त्रिकरण, घडीको वेगसंगै दौड्न पर्ने वाध्यताका कारण मानिसको जीवन पनि झन् झन् कठीन र जटिल बन्दै गैइरहेको छ्।

यो तीव्र प्रतिस्पर्धाको जमानामा जब मानिसले सफलता हासिल गर्दै जान्छ, आफूले आफूलाई सबै कुरामा सर्वशक्तिमान सम्झदै जान्छ। तर जब आफूले गरेका कामबाट असफलता हासिल गर्छ अनि उसमा चरम निराशा, ग्लानी, कुण्ठा भरिदै जान्छ। जसका कारण आजको मानिस विभिन्न समस्याहरूबाट ग्रसित भएको छ। वास्तवमा अहिलेको पुस्तामा देखिएको मानसिक तनावलाई कम गर्न र मानिसका असन्तुष्टि र कुण्ठाका कारण समाजमा देखापर्ने अनेकौँ घटनाहरूको न्यूनीकरण गर्न श्रीमद भागवत गीता उपयोगी सिद्द साबित हुन्छ।

हामीले विद्यालयका, क्याम्पस र विश्वविध्यालयका पाठ्यक्रमका पुस्तकहरूमा श्रीमद भागवत गीताजस्ता पूर्वीय दर्शनका जीवन उपयोगी कुराहरूलाई राखेर सरल भाषामा विद्यार्थीहरूलाई बुझाउन ढिलो गर्नु हुँदैन। अझ मलाई त हाम्रा पूर्वीय दर्शन लाई विश्वव्यापीकरण गरेर संसारका सम्पूर्ण मानव जातिमा फैलाउन सकियो भने त विश्वमा बढ्दो मानसिक तनाव र यसबाट हुने दुर्घटनाबाट् नै मानव समुदायलाई माथि उतार्न सकिन्थियो भन्ने लाग्छ। यसो गर्न सकिएमा सम्पूर्ण मानव समाज नै आपसी प्रेम, सदाचार, सौहार्दता भाइचारा जस्ता कुराहरूले झकि झकाउ हुने थियो र संसार स्वर्ग बन्ने थियो।

विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड, अमेरिका ।

प्रतिक्रिया