नायक भुवन केसीले नायिका साम्राज्ञीलाई दिए कानुनी कारवाही गर्ने चेतावनी

इनेप्लिज २०७७ असार १८ गते ११:४३ मा प्रकाशित

नायक भुवन केसीले आफु विरुद्धको प्रचारवाजी नरोके साइवर र मानहानी विरुद्धको कारवाही गर्ने चेतावनी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई दिएका छन् । उनले फेसवुकमा साम्राज्ञीलाई एक पत्र लेख्दै सो चेतावनी दिएका हुन् ।

साम्राज्ञीले केहीदिन देखि सामाजिक सञ्जालहरुमा भुवन केसी विरुद्ध भिडियोहरु पोष्ट गर्दै आएकी छिन् । नायक केसीले आज नै नेपाल चलचित्र कलाकार संघमा पनि साम्राज्ञी विरुद्धमा छानवीनका लागि उजुरी दिएका छन् ।

उनले साम्राज्ञीलाई लेखेको पत्र जस्ताको तस्तै :

डियर साम्राज्ञी,

तपाईंलाई पहिलो पटक नाइकाको रुपमा सुपर काजल फिल्मको चलचित्र ड्रिम्स बाट चलचित्र क्षेत्रमा पदार्पण गर्ने मौका दिने ब्यक्तिप्रति, तपाईं धन्यवादी हुनुहुन्छ भन्नेमा म अपेक्षा गर्दछु । करिब ६ बर्ष अगाडि निर्माण भएर प्रदर्शन समेत भइ सुपर हिट भएको चलचित्र ड्रिम्सको शूटिङको क्रममा पानी खान पाइन ,छाता ओड्न पाइन, सुबिधा प्राप्त भएन भन्ने जस्ता झुठा कुराहरु उठाएर चलचित्र प्रदर्शन भएको लगभग तीन बर्ष पछाडि र आज भोली मात्र म लगायत अरु निर्माताहरुलाई पनि गाली गलौज गरेको देख्दा आस्चर्य लागेको छ ।

आफुलाई ब्रेकदिने पितातुल्य व्यक्तिको बारेमा अनर्गल तथा झुटा कुराहरु ऊुल्लेख् गरी तपाईंले मेरो बारेमा आफ्नो इन्ट्साग्रममा भिडियो पोस्ट बनाइ पोस्ट गर्नु भएको सामाग्री हरुको सम्वन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

अब उप्रान्त तपाईंले म भुवन के सी ले बिगत करिब ४० बर्ष देखी नेपाली चलचित्रमा काम गरी बिभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आजसम्म यही चलचित्रको क्षेत्रमा रात दिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिस्ठाहरुमा आघात पुग्ने गरी पुन त्यस्ता मानमर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्रम , फेसबूक या अन्य कुनै पनि सामाजिक सन्जाल्मा पोस्ट नगर्नु हुन सुचित गर्दछु ।

मेरो यो सुचनाको बाब्जुद तपाईंले यस्ता झुठा लान्छना लगाउने कार्यहरु गरे गराएमा तपाईं ऊपर प्रचलित साइबर कानुन र मानहानी सम्बन्धी कानुनको प्रगोग गरी मलाई पुग्न गएको मानसम्मानको हानी नोक्सानी उपर तपाईंबाट यथोचित क्षतिपूर्ति गराउने र तपाईंलाई कानुन बमोजिमको सजायको भागेदारी गराउनुको निमित्त आवश्यक कानुनी प्रकृयाको थालनी गर्ने व्यहोरा तपाईंलाई बढो दुखका साथ जानकारी गराउदछु ।

भवदिय भुवन के. सी.

साम्राज्ञीले भुवन केसी विरुद्ध सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेपछि भुवनले पनि फेसवुकमा यसअघि जुन थालमा खायो त्यही थालमा प्वाल पार्ने भन्दै जवाफ दिएका थिए । भुवनको यो जवाफ पछि साम्राज्ञीले पनि जापानमा आयोजित अवार्ड सेरेमोनीमा समेत भुवनले दुव्र्यवहार गरेको आरोप लगाउंदै भिडियो पोष्ट गरेकी थिइन ।

फेसवुकमा भुवनले लेखेका थिए, ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी ।’

प्रतिक्रिया