आइतबार, साउन २५ २०७७
काठमाडौं ०८:४७
वासिङटन डिसी 23:02

आखिर के रहेछ त ‘खुशी’ ?

शशी के.सी २०७७ असार १६ गते २२:४२ मा प्रकाशित

कतै पढेको “एकजना साधु नदी किनारामा बसिरहेका रहेछन्। कसैले सोधेछ, के गरिरहेको? साधुले भनेछन्, पुरै नदी बगेर सकिन्छ, अनि पारी जान्छु भनेर कुरिरहेको। सोध्नेले भनेछ, के कुरा गरेको बाबाले, कहाॅं पुरै नदी बगेर सकिन्छ र, निरन्तर बगिरहन्छ नी।त्यसपछि बाबाले भनेछन्, हो मैले संझाउन खोजेको नै त्यही हो। तिमीहरू यो,यो कुराहरू पुरा होस् अनि म खुशी हुन्छु भन्छौ। तर जब सोचेको कुरा पुरा हुन्छ, फेरी अर्को इच्छा गर्छौ। जसरी नदीको पानी बगेर सकिॅंदैन, त्यसरी नै इच्छा सकिॅंदैनन्, अनि कहिले हुन्छौ खुशी।” हो त्यस्तै अवस्था छ हामी सबैको, मनमा अनेक इच्छाहरू, त्यो पुरा गर्न दिन रात खट्टिई रहयो। सोचेको पुरा हुन्छ, तर खुशी गायब,फेरी अर्को इच्छा शुरू ।

खासमा के रहेछ त खुशी  खोज्दै जाॅंदा चार पाॅंचवटा कुरामा केही लेख्न मन लाग्यो।

जे छ तेसमा संतोष गर्न सक्नु पनि ‘खुशी’ रहेछ। हाम्रो इच्छाहरू यति असीमित हुन्छन् की कहिल्यै पुरा नहुने। स्कुल हुॅंदा कहिले कलेज पढ्नु, कलेज पढ्दा, कहिले जागिर खानु, जागिर खाॅंदै गर्दा कहिले ठुलो पदमा पुग्नु। फेरी ठुलो पदमा पुगेर पनि खुशी छैन्। मैले गरेको कामको मुल्याकंन भएन, मेरो कदर भएन आदी इत्यादी। त्यस्तै व्यापारी हो भने व्यापार बिस्तार गर्दै एकबाट दुई, तिन, अनेक। अरूले हेर्दा सफल, सुखी देखिए पनि, उसको इच्छा पुगेको छैन र उ चाहीॅं खुशी छैन। हो मेहेनत कस्ले गर्दैन। तर मेहेनत गर्दा गर्दै पनि सबैले सोचे जस्तो कहाॅं पाउन सक्छन र । म त भन्छु मेहेनत गरेर सोचे जस्तोआर्थिक, सामाजिक, पारिवारिक र कार्य क्षेत्रमा पनि राम्रो उन्नति भएको छ भने, जे छ त्यसैमा खुशी हुन सक्नु पर्छ।

अरूको खुशीमा रमाउन सक्नु पनि ‘खुशी’ नै रहेछ। केही बर्ष पहिले नेपाल जाॅंदाको कुरा हो। नेपालमा त्यही त हो गाडीको आवाज, अनि कुकुर रात भरि भुक्ने, गएको शुरूको केही दिन सुत्नै गार्र्हो हुने। बल्ल बल्ल सुतेको थिॅंए, बिहान ३ बजे तिर त ‘हा हा हा हा’ मान्छे हाॅंसेको सुन्छु। ल भो अब, गाडी, कुकुरको हल्ला, साथै हाॅंस्ने पागल, त्यसमाथी अमेरिका र नेपालको समय फरकले गर्दा ‘जेट ल्याग’ पनि छ, के सुत्न सक्नु र। को पागल रहेछ टोलमा बिहानै हाॅंस्ने सोधेको त, कहाॅं पागल हुनु छिमेकी बुढा बिहानै ‘रामदेवको हाॅंस्ने योगा’ गर्ने रहेछन्। छिमेकी बुढा कस्तो भने घर भाडामा बस्नेलाई कराई रहने, पानी नचलाउ, फोहोर सफा गर, केटा केटीलाई खेल्न नदिने, सॅंधै अध्यारो अनुहार, दिनमा कहिल्यै हाॅंसेको देखेको हैन। अरू सॅंग राम्रो व्यवहार, खुशी भइदिए, किन गर्न पर्थियो होला र जवरजस्ति ’हाॅंस्ने योगा’ बिहानै।

त्यस्तै अहिले सोसल मिडियाको जमाना छ। सबैले केही न केही आफ्ना खुशीका क्षणहरू शेयर गरेका हुन्छन्, जन्मदिन, बर्षगाॅंठ, स्कुल, कलेज ग्र्याजुएशन, मिठो खाएको, नयाॅं ठाउॅं घुमेको, साथीहरू सॅंग रमाइलो गरेको आदी। हेर्दा पनि खुशी नै लाग्छ। उनीहरूको खुशीमा सॅंग सॅंगै रमाउन पाउनु पनि खुशी नै हो। सबैका दु:ख पिडा आ-आफ्नै छन्। कसले पो सुनाउॅंदै हिॅंड्छ र, बाॅंड्ने भनेकै खुशी त हो।

‘खुशी’ मनदेखि आउने कुरा रहेछ। जब सम्म मन खुशी हुॅंदैन, तबसम्म न त कसैले वा कुनै कुराले नै तपाईॅं खुशी हुन सक्नु हुन्छ। मनलाई खुशी बनाउन सजिलो पनि छ, तर कोशिश चाहीॅं गर्नु पर्छ। हामी सबैको आफ्नो स्वभाव अनुसार बिभिन्न कुरामा अभिरूची हुन्छ। नाच्ने, गाउने, खेलकुद, लेख्ने, पेन्टिंग, कुकिगं,गार्डेनिंग, फोटोग्राफी, आदी। आफ्नो व्यस्त समयबाट फुर्सद निकालेर रूचिको काम गर्दा मन खुशी हुन्छ। त्यस्तै कुनै बेला रहर लागेर गर्न नसकेका कुराहरू पनि गर्न सकिन्छ।

एकजना बिदेशी साथी दुई बर्ष अगाडि सगरमाथा बेसक्याप सम्म पुगेर आएको फोटो फेसबुकमा देखें। ओ हो गज्जब गरेछौ त भन्दा, सानैदेखि कस्तो सगरमाथा जान मन लाग्थ्यो। माथि जान नसकेपनि बेसक्याम्पसम्म पुगें। जानु अगाडि ३-४ महिना ‘ट्रेनिगं’ गरेर गएको रहेछ। त्यहाॅं पुगेर आउनु नै सबैभन्दा खुशीको क्षण मेरो जिन्दगीको भन्थ्यो।

‘खुशी’ क्षणिक पनि हुने रहेछ। कुरा आज भन्दा तिन महिना अगाडि मार्चको पहिलो हप्ता, कोरोना भाइरसको महामारीले लकडाउन शुरू हुनु अगाडिको हो। त्यो बेला हामी सबैको दिनचरीया भनेको बिहान हतारमै केही ब्रेक फास्ट टिपेर कामतिर लाग्यो। बेलुका आयो हतारमा खाना बनायो खायो। यस्तै सॅंधै, के के न बितेको जस्तो, गुनासो सबैको, यसरी कुदाकुद गर्न नपरे कति खुशी लाग्थ्यो होला।

अझ स-साना केटाकेटीहरूका आमाबुबाको गुनासो त बेग्लै, के गर्नु बिहानै निन्द्रामै डे केयर छोड्नु पर्छ। कहिले काहीॅं त रोएर जान मान्दैनन्। जागिर पनि खानै पर्र्यो, कति दु:ख गरेर पढेको, अफिसमा पनि कम्प्युटरमा बसेर काम गर्ने त हो, बरू घर बसेर काम गर्न पाए बच्चाहरू सॅंग समय पनि बिताउन पाइन्थ्यो।

‘तॅं चिता, म पुर्र्याउॅंछु’ भने जस्तो लकडाउनले त सबै बन्द, केटाकेटीको डे केयर पनि र काम पनि घरबाट। शुरूको केही दिन त सबै खुशी । अहिले के छ त हालखबर सोध्दा, सबै भन्दा आपत उनीहरू लाई, एकातिर अफिसको मिटिगं र काम को चाप, अर्कोतिर केटाकेटीलाई खान दिनु, खेलिदिनु त्यही बेला। ओहो, कहिले सकिएला लकडाउन र डेकेयर खुल्ला, हैरान भइयो पो भन्छन्। अरूको हालत पनि त्यही छ। घर बस्दा बस्दा कहिले काममा जाउॅं, पुरानै दिनमा फर्कौं ।

अरूलाई सहयोग गर्न सक्नुमा पनि ‘खुशी’ रहेछ।

अरूलाई सहयोग गर्ने भन्ने साथ ‘ म सॅंग त पैसा छैन, केही गर्न सक्दिन भन्ने सोच्छौं’। आर्थिक सहयोग मात्र कहाॅं सहयोग हो र, आफ्नो समय दिनु, राम्रो बोलिदिनु, दु:खमा परेकाको कुरा सुनिदिनु पनि सहयोग हो। जब लकडाउन शुरू भयो।सबैलाई यसले असर पार्यौ ।जागिर बन्द, आम्दानी शुन्य, त्यस्तै पैसा हुनेलाई पनि बजार जान डर। हाम्रो टोलतिर“बुढा बुढीहरू लाई केही सहयोग चाहिएमा यो-यो फोन नंबरमा कल गर्नु, हामी तपाईॅंको ग्रोसरी, औषधी तथा अरू केही बाहिरबाट ल्याउने काम सित्तैमा गरिदिन्छौं” लेखेको पम्पप्लेट घर घरमा ल्याएर टाॅंसेका थिए। कति राम्रो कुरा, के थाहा कति लाई खाॅंचो पनि थियो की।

त्यस्तै नेपालमा बिभिन्न टोलमा सित्तैमा खाना खुवाएको देखियो। पैसा दिन नसके पनि, आपत को बेला, आफ्नो समय दिएर खाना पकाउन, खुवाउन सहयोग गर्नु पनि त ठुलो कुरा हो। कतिले ठाउॅं ठाउॅंमा आफ्नो साथै अरूले पठाएको पैसा तथा राहत बाॅंडेको देखियो। आपत परेकालाई समयमा नै अरू बाट प्राप्त सहयोग दिन सक्नु, त पाउने र दिने दुबैको लागि खुशीको क्षण हो।

अन्त्यमा, मेरो आफ्नो बिचार, बितेको कुरा बितिसक्यो, त्यसलाई बिर्सने, भविष्य के हुने हो चिन्ता नगर्ने र बर्तमान अवस्थामा जुन क्षणमा बाॅंचिरहिएको छ तेसैमा रमाउनु नै ‘खुशी’ रहेछ।

-शशी के.सी

प्रतिक्रिया