बडहर्वा : आफ्नै इतिहासको खोजीमा

सञ्जय मित्र, रौतहट २०७७ असार १५ गते २१:५५ मा प्रकाशित

आफ्नै इतिहासको पनि महत्व हुन्छ।इतिहासको महत्व आफ्नो लागि हुन्छ र अरुको लागि पनि । आफ्नै इतिहासको महत्व नबुझ्नेहरुले इतिहासको संरक्षण गर्न सक्दैनन् । इतिहासको संरक्षण नहुँदा कालान्तरमा इतिहास पनि हराउँछ । हराएको इतिहासको खोजी चानचुने कुरो होइन।

इतिहासको खोजी कसले गर्ने ? किन गर्ने ? कसका लागि गर्ने ?

जुन व्यक्ति, समाज वा ठाउँको इतिहासको खोजी कसैले गर्न खोज्दछ भने त्यसमा इतिहासको खोजी गर्नेकै स्वार्थ छ भनी असहयोग गर्ने समाज भइदियो भने के गर्ने ? के इतिहासलाई झन् मर्न दिने ? कि इतिहासको खोजीमा सक्षम हुनेले आफ्नो जिम्मेवारी मानेर आफ्नो कर्म गरिरहने ?

इतिहासमा ठूलो भूमिका रहेको तर वर्तमानले चाहिँ इतिहासलाई बिर्सेको धेरै उदाहरण छन् । यसकारण समृद्ध वर्तमानले पनि कहिलेकाहीँ आफ्नो विगत बिर्सेर अर्काको विगत प्रति गर्व गर्न पुग्दछ । आफ्नो विगतको विरासत प्रति अज्ञात तर अर्काको विगतप्रति जानकार बन्ने कुनै इतिहासले आफूलाई कमजोर ठान्न पुग्दछ।

रौतहटको एउटा सानो गाउँ छ बडहर्वा । गाउँको नाम हेर्दा यस्तो अनुमान हुन्छ कि कुनै जमानामा यहाँ बडहरको जंगल थियो । बडहरको जंगल नभए पनि बडहरको ठूलो रुख थियो वा यहाँको बडहर असाध्यै प्रसिद्ध थियो । गाउँको नाम किन बहडर्वा रहन गएको हो भन्ने इतिहास वा किंवदन्ती प्रति वर्तमानलाई खासै चासो छैन।

वर्तमानमा दुर्गा भगवती गाउँपालिका अन्तर्गत पर्ने एउटा गाउँ बडहर्वा हरेक दृष्टिले पछाडि छ । बागमती नदीको किनारको गाउँ बम नहरको पानीले पनि सिंचित छ । पुरानो पिपरा बजार र गौर बजारको मूल बाटोमा भएर पनि बडहर्वाले अपेक्षित विकास गर्न सकेन । भौतिक विकास त एउटा पक्ष हो, आफ्नो गौरवमय अतित लाई पनि विस्तारै बिर्सदै गएको छ।

बडहर्वाले आफ्नो इतिहास बिर्सियो कि यसलाई बिर्साउने काम भयो ? यो पनि चासोको विषय होइन तर बागमती नदीको निरन्तरको बाढी र कटानले भने यसको ऐतिहासिकता लाई मात्र बगाएन, स्मृतिको पुस्तान्तरणलाई भेलले लग्यो र आज कसैले बडहर्वाले कति ठाउँमा बसाइँ सर्यो , त्यसको यकिन साथ वर्णन गर्ने सामर्थ पनि खोज्नु परेको छ।

हो, सम्भवतः यसैले बडहर्वाको इतिहास ओझेलमा परेको छ वा पर्दै गएको छ ।महारानी राजराजेश्वरी केही समय बडहर्वामा आएर बसेकी थिइन् । नेपालको एकीकरणमा पनि भूमिका निर्वाह गर्ने महारानी राजराजेश्वरी राजा रणबहादुर शाहकी रानी तथा गीर्वाणयुद्ध विक्रम शाहकी आमा थिइन् । राजा रणबहादुर शाह राजापाठ छाडी काशी जाने बेलामा महारानी राजराजेश्वरी पनि गएकी थिइन् । केही समय त्यहीँ बसिन् तर केही समय पश्चात महारानी राजराजेश्वरी भने नेपाल फर्किन खोजिन् । बनारसबाट आफ्ना सहयोगी चौतारा बलभद्र शाह तथा आफ्ना केही सुसारेहरुका साथ नेपाल अधिराज्य फर्किइन् र १८५८ साउन १३ गते (सन् १८०१ जुलाई २६) का दिन बडहर्वा आइपुगेकी थिइन्।

महारानी राजराजेश्वरीका प्रमुख सहयोगीको रुपमा कार्यरत रहँदै आएका चौतारा बलभद्र शाहको अचानक मृत्यु सम्भवतः बडहर्वामा नै भएको थियो । प्रमुख सहयोगीको मृत्यु भएपछि महारानीलाई काठमाडौँ जानुपर्ने हुन्छ । बनारसबाट फर्केर महारानी राजराजेश्वरी किन बडहर्वामा केही समय बसिन् ? बडहर्वा सम्भवतः रौतहटको प्रमुख प्रशासकीय केन्द्र थियो । अर्थात् त्यत्तिवेला रौतहटको सदरमुकाम नै सम्भवतः बडहर्वा थियो।

नेपाल–अंग्रेज युद्ध हुनै लागेको बखतको कुरो हो।युद्ध सुरु हुनुभन्दा पहिले रौतहटका २२ मौजामाथि आफ्नो अधिकार भएको अंग्रेजहरुको दाबी थियो र २२ मौजाबाट कर संकलन गर्ने असफल प्रयास गरेका पनि थिए । रौतहट र अन्य केही विवादलाई समाधान गर्ने उद्देश्य लिएर कलकत्ता सहर तर्फ लागेका नेपाली राजकीय दूत टक्सारी चन्द्रशेखर उपाध्यायले कलकत्ता जानका लागि तिरहुत क्षैत्रमा कार्यरत अंग्रेज सरकारका प्रशासकबाट राहदानी प्राप्त गरेका थिए तर उता जानै नपाई युद्धको घोषणा भएकाले उनी फर्केर आई रौतहटमा प्रमुख प्रशासकका रुपमा कार्यरत सरदार परशुराम थापाका साथमा रहन थाले । स्मरणीय छ – त्यत्तिवेला प्रमुख प्रशासक नै सम्भवतः सेनाको पनि प्रमुख हुन्थे । यसको पुष्टि कसरी हुन्छ भने नेपाल–अंग्रेज बीच रौतहटमा पहिलो युद्ध हुँदा त्यसका प्रमुख सरदार परशुराम थापा नै थिए।

बडहर्वामा नेपाल–अंग्रेजबीच भयंकर युद्ध भएको थियो ।बडहर्वामा भयंकर युद्ध भएको दिन थियो –वि.सं. १८७१ मंसिर ११ गते (सन् १८१४ नवम्बर २४)। बडहर्वामा सरदार परशुराम थापा (सम्भवतः यिनी तिनै परशुराम थापा थिए जसले काँगडा युद्धमा पनि आफ्नो नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए) नेपाली पक्षका सेनाको नेतृत्व सम्हालेका थिए।त्यत्तिवेला सरदार परशुराम थापा करिब ७५ वर्षका भइसकेका थिए।यस उमेरमा पनि उनमा शौर्य र ऊर्जा कम थिएन । कुनै युवाभन्दा कम थिएनन्।थापाको नेतृत्वमा तीन सय जति नेपाली सैनिकहरु रहेका थिए।

अंग्रेजतर्फको सेनाको नेतृत्व मेजर ब्राडसाले गरेका थिए।आधुनिक तोप र अन्य हातहतियारसे सुसज्जित थिए अंग्रेजी फौज।करिब १५ सयको संख्यामा आएका अंग्रेजी फौजले बडहर्वामा रहेको नेपाली फौज माथि अप्रत्याशित आक्रमण गरेको थियो । नेपाली फौजले अंग्रेजी आक्रमणको डटेर मुकाबिला गर्यो।घमासान युद्ध भयो । सरदार परशुराम थापा अंग्रेजी फौजका लेफ्टिनेन्ट बायलुसित भिड्न पुगेका थिए । सरदार थापा र वायलुबीचको घमासान युद्धमा वायलुकै हातबाट सरदार थापाले वीरगति प्राप्त गरे।एक महान योद्धाको रगतले मातृभूमि–युद्धभूमि रंगियो।

बडहर्वा युद्धमा नेपाली पक्षको ठूलो क्षति पुग्यो । सरदार परशुराम थापाले वीरगति प्राप्त गरे । बडहर्वामा नेपाली पक्षको पराजय भयो । करिब डेढ सय नेपाली फौज या त मारिए या त अंग्रेजी फौजले पक्रेर लग्यो (स्मरणीय छ, नेपाल अंग्रेज युद्धको अवधिमा अंग्रेजले करिब तीन हजार नेपाली सेनालाई पक्रेर राखेको थियो र युद्ध समाप्त भएपछि तत्कालीन बृटिशकालीन भारतीय फौजमा गोर्खा सैनिक राखेका थिए । भारतबाट अंग्रेजहरु फिर्ता भएर जान लाग्दा त्यही गोर्खा फौजका केही रेजिमेन्टलाई बेलायत लगेको थियो । त्यही भएर भारतीय तथा बेलायती सेनामा अहिलेसम्म गोर्खा फौज रहिआएको छ)।

ठूलो संख्यामा रहेका अंग्रेजी फौजतर्फ पनि बडहर्वा लडाइँमा ठूलो क्षति भयो । पचास जना सैनिक त हताहत भएको उल्लेख पाइन्छ । लेफ्टिनेन्ट बायलु शख्त घाइते भएका थिए।तर पनि विशाल संख्यामा रहेको अंग्रेजी फौजको बडहर्वामा विजय भएको थियो।

बडहर्वामा रहेको नेपाली फौजका साथमा टक्सारी चन्द्रशेखर उपाध्याय पनि बसेका थिए केही दिनदेखि । उनी कलकत्ता जान खोजेका थिए तर राहदानी प्राप्त गर्दा नगर्दै युद्धको स्थिति आइलागेकोले फर्केर बडहर्वामा आई बसेका थिए । बडहर्वा युद्धमा नेपाली पक्षको पराजय भएपछि टक्सारी चन्द्रशेखर उपाध्यायलाई अंग्रेजी पक्षले आफ्नो सैन्य शिविरमा लगेका थिए ।(सम्भवतः यिनै टक्सारी चन्द्रशेखर उपाध्याय हुन् जसले सुगौली सन्धिमा हस्ताक्षर भएपछि सन्धिपत्र लेनदेन गर्ने काम गरेका थिए । नेपाली पक्षका यिनी वार्ताकार मध्ये पनि एक थिए । वार्ताकारहरुद्वारा सुगौली सन्धिको मस्यौदामा वि.सं. १८७२ मंसिर १९ गते तदनुसार १८१५ डिसेम्बर २ मा हस्ताक्षर भएपछि त्यसलाई आधिकारिता दिनुपर्ने थियो । तत्कालीन नेपाल सरकारको तर्फबाट हस्ताक्षर गरिएको सुगौली सन्धिको एक प्रति टक्सारी चन्द्रशेखर उपाध्यायले वि.सं. १९७२ फागुन २३ तदनुसार १८१६ मार्च ४ का दिन मकवानपुरमा लगी लेफ्टिनेन्ट कर्नेल पी. ब्राडसालाई बुझाएका थिए । त्यसै दिन अंग्रेज सरकारको तर्फबाट नेपालले प्राप्त गर्नुपर्ने अंग्रेज सरकारको तर्फबाट हस्ताक्षर गरिएको सन्धि पत्र टक्सारी चन्द्रशेखर उपाध्यायले ब्राडसाबाट प्राप्त गरेका थिए।)

बडहर्वामा भएको लडाइँमा अंग्रेजी पक्षको विजय भएपछि तिनीहरु बारातर्फ बढेका थिए । बारागढीमा नेपाली फौज रहेको थियो।

सुगौली सन्धि भएपछि केही समय यो भूभाग अंग्रेजको नियन्त्रणमा गएको देखिन्छ तर केही महिनापछि अंग्रेजले फेरि फिर्ता गरिदिएको थियो।

अंग्रेजले यो भूभाग एउटा सन्धि मार्फत फिर्ता गरेपछि नै हुनुपर्छ रौतहटको सदरमुकाम कटरवन गएको । बागमती नदीको किनारमा रहेको कटरवन नेपाल–अंग्रेज युद्ध हुनुभन्दा केही शताब्दी पहिलेदेखि नै राजदेवी मन्दिर प्रसिद्ध शक्तिपीठको रुपमा रहेको थियो । वि.सं. १९९० को महाभूकम्पपछि गौर बजारमा सदरमुकाम सारिएको उल्लेख पाइन्छ।

बडहर्वाले आफ्नो इतिहासको संरक्षण गर्नु आवश्यक छ।आफ्नो इतिहासबारे आफैँले बुझ्नु जरुरी छ र अहिले ऐतिहासिक पर्यटनको मनोविज्ञान विकास भइरहेको सन्दर्भमा स्थानीय सरकार तथा प्रदेश सरकारले पनि सम्भव भएसम्म अन्य निकायसितको सहकार्यमा इतिसाससम्बद्ध पर्यटनकीयस्थलको रुपमा आफ्नो पहिचानलाई विस्तार गर्नु पनि आवश्यक छ।

-सञ्जय मित्र, रौतहट

प्रतिक्रिया