धान रोपाँई २१ प्रतिशत

मनोज दाहाल २०७७ असार १५ गते २१:४४ मा प्रकाशित


मनोज दाहाल,

विराटनगर, १५ असार । ‘ धान उत्पादन वृद्धि, आत्म निर्भरता समृद्धि’ प्रमुख नाराका साथ आज राष्ट्रिय धान दिवस मनाई रहेको पाइएको छ ।आजको दिनलाई महत्वपूर्ण मानिएकोले किसानहरु साजबाजका साथ धान रोपाँईमा व्यवस्त छन् । यसलाई टेवा प्रदान गर्न सरकारका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारीहरु एकजुट भएर लागेका पाइन्छ।

धान दिवसको सन्दर्भमा खेतीपाती नहुने मानिसहरुले आज दहि,चिउरा, आँप खाएर दिवस मनाउने प्रचलन रहिआएको छ।

मनसुनको सक्रियतासँगै पूर्व क्षेत्र प्रदेश नं.१मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाँई भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ।

मौसम अनुकुल छ, बर्षा भइरहेको छ, किसानको खेत र बीउ तयार अवस्थामा रहेकोले एक साता भित्रै रोपाँईको प्रतिशत उल्लेखीय वृद्धि हुने अनुमान निर्देशनालयका निमित्त निर्देशक प्रकाश डाँगीले जानकारी दिनुभयो ।यस प्रदेशमा अहिले सम्म ३७ प्रतिशत मात्र सिँचाई सुविधा पुगेको छ भने सिँचाई सुविधा नभएका क्षेत्रका किसानले कुलोपैनी, बर्षा, बोरिङको भरमा खेती गर्ने गरेका छन्।

यस प्रदेशमा तीन लाख ४० हजार ८२९ धान लगाउने क्षेत्रफलमा गएको वर्षमा एक लाख ९३ हजार ३९८ हेक्टर जग्गामा धान लगाएको थियो ।समग्रमा गएको वर्षमा यस प्रदेशमा ५६दशमलव ७४ प्रतिशत रोपाँई भएको थियो।

वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले मनसुनको सक्रियता बढ्दा किसानको अनुहार हँसिलो हुने र रोपाँई पनि समयमै गर्न सकिने भएकोले उत्पादनमा पनि वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।परनिर्भरतालाई हटाउन अब स्वदेशमै उत्पादन बढाउनुको विकल्प नरहेको वरिष्ठ अधिकृत तिम्सिनाको भनाई छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया