प्रादेशिक सडक योजना प्राथमिकता परेको छ

मनोज दाहाल २०७७ असार १५ गते २१:३९ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, १५ असार । प्रदेश नं.१ को भौत्तिक पूर्वाधार विकास राज्यमन्त्री अम्विर बावु गुरुङले सरकारले बहुवर्षिय सडक योजना, मुख्यमन्त्री ग्रामीण सडक र प्रादेशिक सडक योजनालाई प्राथमिकता राखेको बताउनुभएको छ ।

प्रदेश नं.१ को प्रदेश सभाको आज बसेको बैठकमा विनियोज विधेयकमा निर्दिष्ट गरी राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौत्तिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा उहाँले खानेपानी र सिँचाईको योजना छनौट गर्दा सांसदहरुकै माग अनुसार गरेको प्रष्ट पार्नुभयो।

राज्यमन्त्री गुरुङले डिपिआरको नाममा राखिएको बजेट घटाउने जानकारी दिँदै राजनीतिक निर्णयको आधारमा मुख्यमन्त्री ग्रामीण सडक र प्रादेशिक सडक योजना छनौट भई बजेटको व्यवस्था भएको छ भन्नुभयो।

उहाँले बोलपत्र आह्वानबाट ठेक्का लागेको योजना कुनै पनि नकाटिएको र यदि त्यसो भएको छ भने समाधान हुने भन्दै बजेट न्यायोचित ढङ्गले वितरण गरेको दावी गर्नुभयो।

बहुवर्षिय सडक भूगोल र क्षेत्रको आधारमा फरकफरक भएकोले सोही अनुसार बजेट विनियोजन भएको जानकारी दिँदै राज्यमन्त्री गुरुङले आगामी दिनमो यस्ता योजनाहरुको मापदण्ड निर्धारण गरिने धारणा राख्नुभयो।

उहाँले नयाँ योजना कुनै पनि नराखेको र योजनाहरुको प्रस्ताव एवं छनौट एकद्वार प्रणालीबाट गरेको जानकारी दिनुभयो।

प्रदेश सभा नियमावली, २०७४ को नियम ११८(७) बमोजिम विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल शुरु भयो।

छलफलमा प्रदेश सभा सदस्यहरुले मन्त्रालयले विनियोजन गरेको बजेट न्यायोचित नरहेको र प्रदेशका महत्वपूर्ण पर्यटकीय क्षेत्रको विकास एवं सम्वद्र्धनमा ध्यान नदिएको धारणा राख्नुभयो।

उहाँहरुले सुनसरी, मोरङ, झापामा धार्मिक एवं पर्यटकीय स्थलको विकासका लागि धेरै योजना पर्नु र पहाडी जिल्लामा सम्भावित स्थानहरुको बारेमा बजेट नपर्नुमा मन्त्रालयको ध्यानाकर्षण गराउँदै सांसदहरुले सकिन्छ भने कमी कमजोरीलाई सच्याउन आग्रह गर्नुभयो।

वैज्ञानिक वनको विषयमा सांसदहरुको मिश्रित अवधारणा देखियो भने कसैले यो राम्रो त कसैले यो वन मास्ने व्यवस्थापन हो भन्नुभयो ।


मन्त्रालयले जातीय संस्कार र संस्कृति जगेर्ना एवं संरक्षणमा कुनै योजना नल्याएको तर्फ मन्त्रालयको ध्यानाकर्षण गराउँदै सांसदहरुले होटल व्यावसायी, साना उद्योग व्यावसायीहरुको संरक्षणमा कुनै बजेट व्यवस्था नहुनु चित दुःखाएकाछन्।

प्रकृतिले हामीलाई अनुपम चिज दिएको छ तर त्यसको संरक्षण एवं विकासमा मन्त्रालयको ध्यान नजानु गलत हो भन्दै सांसदहरुले पर्यटकीय स्थलको विकास गर्न निजी क्षेत्रको पनि सहभागी गराउनु पर्छ भन्ने कुरामा जोड दिनुभएको थियो ।

छलफलमा सांसदहरु उपेन्द्रप्रसाद घिमिरे,उषा कला राई, कुलप्रसाद साम्बा, केदार कार्की, खिनु लङवा लिम्बु, प्रतापप्रकाश हाङ्गाम, राजकुमार ओझा, बलबहादुर साम्सुहाङ, लछुमण तिवारीले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

शुन्य समयमा सांसद सरिता थापाले बर्षा र हावा चल्दा बिजुली नजाने समस्याबाट बचाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।सदस्य सञ्जाकुमार दनुवारले आज राष्ट्रिय धान दिवसमा आफ्नै जिल्लामा वृहत कार्यक्रम रहेको र सवारी साधनको अभावमा जान नपाउँदा दुःख लागेको छ भन्नुभयो।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया