अनि चर्चित बने ‘चंखे’ र ‘नक्कली’

इनेप्लिज २०७७ असार १५ गते ०:०८ मा प्रकाशित

संस्मरण

०३५ सालतिर प्रकाश थापाको निर्देशनमा फिल्म ‘सिन्दूर’ बन्दै थियो । हास्यकलाकारका रूपमा गोपालराज मैनालीको जोडीको भूमिकामा थिएँ, म । फिल्ममा मैनालीले अभिनय गर्ने पात्रको नाम थियो, चंखे । उहाँकी जोडी ‘नक्कली’को भूमिकामा थिएँ । नेपाली सिने उद्योगका प्रारम्भिक चलचित्रको सूचीमा पर्ने ‘सिन्दूर’ हिट भयो । सोही फिल्म मार्फत ‘चंखे’ र ‘नक्कली’ पनि चर्चित बने । त्यसपछि दुवैजनालाई सिनेमामा धमाधम अफर आउन थाले ।

कतिपय दर्शकलाई लाग्दोरहेछ, ‘चंखे’ र ‘नक्कली’ पति–पत्नी हुन् । त्यतिवेलाको समाजमा त्यस्तो लाग्नु स्वाभाविकै थियो होला । एकपटक न्युरोडमा म श्रीमान् चेतनारायण भुसालसँग घुम्दै थिएँ । एकजना प्रशंसकले भने, ‘चंखे त फिल्ममा देखेको भन्दा भिन्दै रहेछ ।’ मेरो श्रीमान्लाई गोपालराज मैनाली ठानेछन्, उनले । मैले ‘चंखे त मेरो दाजु हुनुहुन्छ’ भनेँ ।

फिल्म ‘सिन्दूर’मा हास्यकलाकार गोपालराज मैनाली अभिनीत पात्र ‘चंखे’की जोडी ‘नक्कली’को भूमिकामा थिएँ । नेपाली सिने उद्योगका प्रारम्भिक चलचित्रको सूचीमा पर्ने ‘सिन्दूर’ हिट भयो । सोही फिल्म मार्फत ‘चंखे’ र ‘नक्कली’ पनि चर्चित बने ।

दाजुबहिनीको सम्बन्धलाई खराब नजर बाट हेर्दा दुःख लाग्थ्यो, त्यतिवेला । छोराले पनि सानो छँदा भन्थ्यो, ‘त्यो चंखे मामा सँग फिल्म नखेल्नु ।’ मैनालीको मृत्यु पछि मलाई लाग्यो, हास्य विधाको एउटा खम्बा नै ढल्यो । अहिले पनि मन पर्ने हास्य कलाकारको नाम लिनुपर्दा उहाँकै नाम पहिलो नम्बरमा आउँछ । त्यसपछि मलाई मन पर्नेमा कलाकार राजाराम पौडेल हुनुहुन्छ । उहाँ सँग काम गर्न सहज लाग्छ । पौडेलसँग पनि धेरै चलचित्रमा अभिनय गरेँ । पहिलो डेब्यु फिल्म ‘आमा’मा भुन्टीको भूमिकामा देखिएकी थिएँ । यस्तै, फिल्म ‘हिजो आज भोलि’मा च्यान्टी बनेकी थिएँ ।

हास्यकलाकारलाई उमेरले छेक्दैन । नेपाली सिनेमाकी पहिली अभिनेत्री भुवन चन्द देखि हालका साम्राज्ञी राज्यलक्ष्मी शाह र आँचल शर्मा सँग पनि काम गरेकी छु । कला क्षेत्र समाजको ऐना हो । हास्य विधा अझ लोकप्रिय बन्दै छ । हास्य कलाकारको पनि मान सम्मान बढेको छ । हाम्रो समयमा जस्तो जिस्क्याउने र हेप्ने अवस्था छैन ।

#बसुन्धरा भुसाल

शाभार :नया पत्रिका

प्रतिक्रिया