बिहीबार, असार २५ २०७७
काठमाडौं १६:२२
वासिङटन डिसी 06:37

पत्रकारले पत्रुकारिता गर्दा सर्वसाधारणले कस्तो पीडा भोग्नु पर्छ ?

सच्ची मैनाली २०७७ असार १४ गते २३:३७ मा प्रकाशित

पत्रकार र संचारकर्मीको खोल ओढेर नातामा भिनाजु पर्ने संग प्रेमको चर्चा टाइटल राखेर आफ्नो कमाइको निम्ति अरुको इज्जतको लिलामी गर्ने पातकी दलाल युट्यूबे, र नाम चलेका अन्य केहि मीडिया र तिनका संचालकहरुको नाममा –

नायिका सज्जा मैनाली मेरो बहिनी हुन् । ४ बर्षको उमेरमा पाटीको बास नामक टेलिफिल्मबाट यस क्षेत्रमा प्रवेश गरेकि उनले बालकलाकारको रूपमा बिभिन्न टेलिफिल्महरूमा खेल्दै १६ बर्षको उमेरमा चलचित्र नौं डॉडा पारी बाट नायिकाको भुमीकामा डेब्यु गरेर छोटो समयमा केहि दर्जन चलचित्रहरू खेलेर झन्डै १४ बर्ष अघि देखि नेपाली चलचित्रमा खेल्न छोडेकि हुन् । २ महिना अघि मात्रै Rato Khursani नामक यूट्यूब च्यानलमा बिकाश सुबेदी भन्नेले उनको बिषयमा अपलोड गरेको यो (https://youtu.be/pEf_6FWz2L0) भिडियो मेरो ऑखामा परेपछि गैरजिम्मेवार मिडीयाहरूको कारण बचपनमा झेल्नुपरेको मेरो पीडा पुन बल्झियो । यो भिडियोमा उनको बिबाह कसरी भयो भन्ने कुरामा भरिएको मसालाले त झनै युट्यूब भिडियोहरु बिरलै हेर्ने मलाई अब नेपाली युट्यूब नहेर्ने निष्कर्ष मै पुर्यायो।

म एउटा त्यस्तो कलाकारको परिवारमा हुर्किएँ जसलाई धेरै नेपालीहरूले निकै माया गर्नुहुन्थ्यो र गर्नुहुन्छ । आजसम्म पनि हामीले बेलाबखतमा त्यो मायाको ब्याज पाउने गरेका छौं । मेरो बुबा स्वर्गीय हास्यकलाकार गोपाल राज मैनाली “चंखे” को उपनामले विख्यात हुनुहुन्थ्यो । आफु सानै छँदा घरमै भएको आफ्नो बुबा अस्पतालमा भर्ना हुनुहुन्छ भनेर रेडियो नेपालबाट सुनेको म अझै बिर्सन सक्दिन । केही पत्रुकारहरुको पत्रुकारिता को कारण यो मात्रै होइन यस्ता धेरै दर्दनाक मानसिक पीडा हामीले पटक पटक झेलेका छौ। यस्ता पीडाको अनुभूति त्यसलाई मात्रै हुन्छ जसलाई परेको हुन्छ। कलाकारको परिवारमा जन्मिएकोले होला हाम्रो जीवन गोप्य कहिले रहेन। बचपन देखिनै केहि पत्रकार भनाउँदाहरूको पत्रुकारिताको कारण मेरो परिवारले खेप्नुपरेको चरम मानसिक पीडा म संग अझ पनि ताजै छ । म त के मेरो ६५ बर्ष कटिसक्नुभएको ममिको मस्तिष्कमा पनि पत्रकार भनाउँदा केहि दलालहरूले दिएको मानसिक पीडा यति ताजै छ कि अघिल्लो महिना मात्रै ममिले त्यस्ता पीडाको सम्झना गर्नुभएको थियो । त्यो पीडा सम्झिदा मेरो रगत अझै उम्लिंछ। त्यसबेला सामाजीक संजाल थिएन । केहि बोल्न र भन्न उनीहरूकै मुख ताक्नुपर्थ्यो । सोच्नुस् ति गैरजिम्मेवार पत्रकार भनाउँदा पत्रुकारहरुको डनगिरी त्यसबेला कति थियो होला, कस्तो थियो होला? समय र सन्दर्भ मिलेको बेला त्यो अनुभव पक्का शेयर गर्नेछु । यस्तै दलालहरूले दिएको पीडाको कारण नै म संचारकर्म मार्फत भ्रष्टाचार बिरुद्धको अभियानमा होमिएको थिएँ ।

मैले मेरो बाल्यकालमा भोगेको पीडा अब मेरो र उनको बच्चाहरूले पनि झेल्नुपर्ने? बिकाश सुबेदी भन्ने त्यो दलाललाई यति पनि थाहा रहेनछ कि निखिल उप्रेति नाताले सज्जाको (हाम्रो) भिनाजु हुनुहुन्छ । मेरो ममिको भानदाईको छोरी मेरो दिदी कोपिला उप्रेतिको श्रीमान । यति त थाहा पाएननै बकाइदा हल बुक गरेको बिबाहलाइ समेत गोप्य बिबाह भनिदियो। बिहेको केहि बर्ष पछि नै डिभोर्स भैसकेको उनको २०२० मा बनाएको भिडियोमा सज्जा मैनाली श्रीमानसंगै छिन भन्ने जानकारी दियो त्यो पनि 258K subscribers भएको च्यानलबाट । बिचरा ति भिडियो हेर्नेहरुको समय बर्बाद ।

यो त एउटा उदहारण मात्रै हो। बिगतमा पनि यस्ता घटना नभएका होइनन। “सज्जालाई गम्भीर रोग” शिर्षकमा २००९ नोभेम्बर महिनाको कान्तिपुर साप्ताहिकको मुख्य समाचारले हाम्रो परिवारमा एक किसिमको भुकम्पै ल्यायो । त्यतिखेर मात्रै होईन २०२० मैं पनि केहिले मलाई मेसेन्जर मार्फत सज्जा दिदीलाई अहिले कस्तो छ भनेर सोधेका थिए। बिनाकारण बेलाबेलामा तिनका गैरजिम्मेवार पन र पत्रुकारिताको मूल्य हामीले चुकाउनु परेको थियो र परिरहेको छ। बिशेष गरि अमेरिका आइसकेपछि जतिखेर सज्जाको बिषयमा यस्ता आधारहिन समाचार छापिन्छन् त्यसबेला ति पत्रकार भनाउँदाहरूले एउटै जवाफ दिन्छन् – सज्जा जी को फेसबुक, इन्स्टाग्राम, ट्विटर केहि छैन । खोज्दा भेटेनौ त्यसैले यस्तो लेख्यौं । तिमीहरू जस्तै दलालहरूले दिएका पीडाका कारण उनी यि सबै कुराहरूबाट टाढा बस्न रूचाउँछिन ।

हात चलाउन नसक्ने भएर अमेरिकामा अपरेशन गरेर १८ दिनसम्म सोफाबाट बेडमा जान नसक्ने अवस्थामा रहेको मेरो ममि सोफाबाट उठेर मेरो बुबा बिरामी भएको बेलामा नेपाल जान सक्नु भएन भनेर नेपाली चलचित्र क्षेत्रका नाम चलेका पत्रकारले त्यसबेला लेखेका थिए “सबैलाई हसाउने चंखेको ऑसुमा रूने कोहि भएन” आफ्नो समाचार बिकाउनकै लागी तथ्य नबुझि समाचार बनाउने ति पत्रकार मरे कि जिउँदै छन्? किनकि त्यसपछि उनी लगायतका चंखेलाई उनको श्रीमती भन्दा बढि माया गर्ने जस्तो गरी समाचार बनाउने दलालहरूले मेरो बुबा स्वर्गीय हुनुभएको १२ बर्षमा पनि श्रद्धाञ्जली दिएको मैले कतै पढ्न पाईन । कि मैले पो पढ्न छुटाएँ ???

बिगतमा पत्रूकारहरूले दिएको मानसिक पीडा र वर्तमानमा समेत टर्चर दिएका दर्दनाक दिनहरू सम्झिंदा अरूको जीन्दगी तहस नहस पार्ने पत्रकारको खोल ओढेर दलाली गर्नेलाई आजको दिनमा अगाडि भेटें भने दलालहरूको जिब्रो थुतेर अनि २ हात काटेर हैन लाईन लगाएर गर्दन छप्काएर गर्वसाथ जेल जाउँ जस्तो लाग्छ कहिलेकाहिं । दशकौं देखि यस्ताका पत्रूकारिताको शिकार भएको म र मेरो परिवारले पाएको मानसिक पीडा सम्झँदा मैले यतिखेर अर्को विकल्पनै सोच्न सकिन ।

यस्ता दलालहरूलाई ठेकान लगाउने कानुन बन्ला र यि तह लाग्लान भन्ने विश्वास मलाई छदै छैन ।आजको युगमा यि र यस्तालाइ तह लगाउने भनेको यिनका पाठक र दर्शकहरूले हो । आफ्नो धन्दा चलाउन तपॉईं हामीले जान्न चाहेका ब्यक्ति, ब्यक्तित्वहरूको बिषयमा एउटा कोठामा बसेर भिडियो बनाउँदै गलत र झुठो सुचना दिने, युट्यूबलाइ कमाई खाने बाटो बनाउने र समाचार बिकाउन र भिडियो बनाउनकै लागी जे पनि गर्ने, जे पनि बोल्ने, बोल्न लगाउने र आफ्नो धन्दा टिकाउने अभिप्राय स्वरूप सनसनीपूर्ण शिर्षक राख्ने, भिडियो बनाउनेहरूले गंदगी धेरै फैलाए । आफ्नो समय बर्बाद नगर्नुहोस । दलालहरुलाई आजैदेखि अनफलो गर्नुहोस्, बहिष्कार गर्नुहोस् ।यस्ता पत्रुकारहरुले सच्चा र इमान्दार पत्रकार र संचारकर्मीहरुको बदनाम गरेका छन्।

#युट्यूबे_धन्दा_चलाउन_आफ्नो_समाचार_बिकाउन_जे_पनि_गर्ने_जे_पनि_बोल्ने_बोल्न_लगाउने_र_
आफ्नो_धन्दा_टिकाउने_अभिप्राय_स्वरूप_सनसनीपूर्ण_शिर्षक_राख्ने_भिडियो_
बनाउने_गंदगी_फैलाउने_दलालहरुलाई_बहिष्कार_गरौ ।

 

प्रतिक्रिया