सोमबार, असार २९ २०७७
काठमाडौं १८:०८
वासिङटन डिसी 08:23

“राजा”,”रवाफिलो भारदार” र “रम्झम राजनीति”_भक्त गुरुंग बोस्टन यु.एस…

भक्त गुरुंग बोस्टन यु.एस… २०७७ असार १३ गते १८:०६ मा प्रकाशित

नेपाल,बिश्वको अत्यन्त सानो देशहरू मध्य एक भए पनि यसको भौगोलिक,जातीय र धार्मिक बिबिधताले गर्दा संसारकै आँखा यो सानो देशमा सदियौं देखि पर्दे आएको छ। संसारकै अग्लो टाकुरादेखि संसारकै होचो भाग ,अनगन्ति जात जनजाति तथा संसारकै एक मात्र” हिन्दू अधिराज्य” भनि घोषणा गरिएको देशमा शान्तिका अग्रदूत “बुद्ध” जन्मनुले कति विविधता छ भन्ने प्रष्ट हुन्छ।

तर आर्थिक रूपबाट संसारकै गरीब देशमा गनिंदा त आफैमा हिनाता बोधको भावना नआउनु अस्वाभाविक होइन। नेपाल सांस्कृतिक,भाषिक,जातिय ,भौगोलिक एव धार्मिक रूपबाट यति धनी भएर पनि किन एउटा गरीब मुलुकमा गनिन पुग्यो? यो एउटा खोजको बिषय हो।

के यिनै विविधताहरु नै हाम्रो अभिशाप हो त ? अवश्य नै होईन।

अमेरिकामा १५ वर्षको बसाई अवधिमा के बुझियो भने अमेरिकाले विविधतालाई महत्व र शक्तिमा बद्लेको छ। हामीले त्यति मात्र बुझ्ने प्रयास गर्यौं भने पनि हाम्रो देश कायापलट हुन समय लाग़्ने छैन।

मेरो अध्ययन वा बुझाईमा नेपालको यो अधोगति हुनुमा बिशेशत:तीन मुख्य कारक तत्वहरु छन् ।ति मुख्य ३ कारणहरु मैले शीर्षकमा नै राखेको छु र बुंदागत रूपमा प्रस्तुत् गर्न चाहन्छु ।

प्रथम कारक तत्वमा राजा र राजतन्त्र नै थियो। राजाका बोली, कानून र शब्दहरु, नियम थिए। राजाले जहिले पनि एउटा यस्तो परम्पराको सुरुवात गर्यो जसबाट समाज उच्च बर्ग र नीच बर्गमा बिभाजित हुन पुग्यो ।

सडकमा हिंडीरहेका नागारिकको हत्या हुँदा वा भनौं सर्वसाधारणको सुरक्षामा राज्यले खासै चासो नदिएको अवस्था थियो। राजा र राज्-परिवारलाई कानूनी ब्यबस्था थिएन।दण्डहीनताले गर्दा नेपालका बहुमूल्य चिजहरू यूरोप र अमेरिकी मुलुकहरूका संग्रहालयहरुमा सजिन पुगे।

दरबारमा शक्ति संघर्षका लाग़ि विभिन्न किसिमका षड्यन्त्रहरू हुन थाले। सुरा सुन्दरीहरूका साथ बिलाशितामा डूबेका शाशक र दरबारका वरीपरी घुम्ने,मुट्ठी भरका सामन्तहरूले दुःखी जनताको पीर मर्का बुझ्ने प्रयास रत्ती भर गरेनन्।

राजालाई २००७ साल देखिनै संबैधानिक भनेर कानूनत: बाध्न खोजिएता पनि;राजतन्त्र त्यसको शर्तमा कहिलै छिर्न चाहेन।बिदेशबाट थुप्रै सामान तश्करी हुन थाल्यो र नेपालमा ठुलो बिकृतिको शुरुवात हुन पुग्यो राजा भनेका बिष्णुको अवतार भनेर हिन्दू हरुले बढवा तथा उच्च किसिमको महत्व दिए तर बुद्ध जस्ता महामानव नेपाल मै जन्मेर पनि शाशक बर्ग द्वारा बेवास्ता भयो।

बिभिन्न देशहरूले आफ्नो देशमा बुद्ध जन्मिएको दावी गर्दा पनि हिन्दुबादी सोचले ग्रस्त भएका राजाले बिरोध गरेनन्।हिन्दू धर्मले जातीय भेदभाव अनि समाजमा वैमनष्यता ल्याई रह्यो। (तत्कालीन अवस्थामा धार्मिक सहिष्णुता भनिएता पनि त्यो बैमनष्यताको शुसुप्त अवस्था थियो।)शिक्षा उच्च जातका भनौं दा बिशेष गरी पुरुषहरुले मात्र पाउनु पर्छ भन्ने अघोषित मान्यता रह्यो।

पक्कै पनि शिक्षामा समान अवसर नहुँदा समाजमा दिगो बिकासको परिकल्पना हुन सकेन र त्यो स्वाभाविक नै थियो। दोश्रो कारक तत्वमा रवाफिलो भारदार नै हो भन्ने मेरो मान्यता छ।शिक्षा जब उच्च बर्गको पहुँचमा पुग्यो तिनिहरूको पहुँच दरबार सम्म हुनु स्वाभाविक नै थियो।दरबारलाई कसरी नचाउने उनीहरूले सोच्न थाले। नेपालमा चाप्लुसी,चाकडी र चूक्ली पुरानो परम्परानै हो। अझै बिद्यमान छ। राजालाई परामर्श र सर-सल्लाह उनीहरुको निहित स्वार्थमा आधारित हुँदै दिन थालियो एवंरीतले त्यही चाप्लुसी नै नेपालको मूल-कानून (संबिधान) बन्न पुग्यो। संबिधानले सर्बसाधरण लाई कुनै अवसर दिएन। कानुनको दायरता मात्र दिइयो जसले गर्दा माथिका मान्छेले शोषण ,दमन ,अत्याचार गर्दा पनि कानून नलाग्ने भयो र गरीब लाई केहि हक़ अधिकार माग्दा पनि फसाइयो या कथित प्रतिग़ामी या अराष्ट्रिय तत्वको दर्जा दिइयो। गरीब हरु अत्यन्त गरीब हुन थाले साथै गरीबलाई प्रोत्साहित गर्ने त्यस्ता कुनै पनि योजना हरु आएन। यस कारणले गर्दा पनि देश पछि पछि पर्दे गयो।

तेश्रो मुख्य कारक तत्वमा “रम्झम राजनीति पर्न आउँदछ। हाम्रो राजनीतिज्ञ हरु देश र जनता का बिकाश भन्दा पनि ;आफ्नो, परिवारको अनि दलगत स्वार्थ पूरा गर्न अभिप्रेरित हुने भएकाले पनि देशले कोल्टो फ़ेर्न सकेको छैन। देशको लागि केही गर्छु भनी संकल्प गरेर आएका पार्टीहरु आफैं गरीब,पीड़ित,शोषित जनता हरुलाई बिर्सेर आरामदायक जीवन तर्फ़ अग्रसर हुदैछन ।

पार्टीहरु मिलेर देशको बिकास गर्ने भन्दा पनि कसरी अर्को पार्टीको दोष र कमज़ोरी पत्ता लगाउने अनि बिरोध गर्ने भन्ने मनस्थितिले ग्रस्त छन्।जनताहरू पनि पार्टीको अघि पछि भएको अवस्थाले गर्दा व्यापक रुपमा विभाजित भएको अवस्था छ।

यसरी योजना बनाउने र निर्णय गर्ने राजनीतिज्ञ बर्ग नै निहित स्वार्थमा लागे पछि देशको स्थिति बर्बाद हुनेनै भयो। हाम्रो यति राम्रो देशलाई रक्त पिपाशुहरूले लुछेका लुछेकै छन्,लुटेका लुटेकै छन्।विदेशीहरूले हाम्रो देशलाई युद्ध मैदान बनाउन गिद्दे नजर लगाएका लगाएकै छन्।यति धेरै युद्ध ,यति धेरै आन्दोलन ,यति धेरै बलिदानीहरु भएर पनि हामीमा चेतना पसेको छैन।

हामी संसारका गरीब देशको नागरिक भनेर की त तिरस्कृत या सहानुभूतिपुर्ण संज्ञा दिंदा पनि किन हो कुन्नी कति लाज लाग्दैन हामीलाई। अर्थमन्त्रिहरु बिदेशी सहयोग भनेर भिकारीले झै बिश्व समुदायसंग हात फैलाउँदा दिलमा घोचेको छैन उल्टो यति सहयोग ल्याउन सफल भएको मा गर्ब गर्दछन्।

देशबाट थुप्रै सिपालु जनशक्ति पलायन हुंदा सरकारलाई कुनै चित्त दुख्दैन न त नेपाली नारी हरु संसारका बिभिन्न देश मा बेचिएकोमा ….! देश बिदेशमा सेनामा भर्ती गरेर सेनाको अकूत बिदेशी रोयल्टी तथा बैदेशिक रोज़गारीको रेमिट्यान्सले शाषक खुशी छन् तर भबिष्यमा त्यसको के असर पर्छ भन्ने नसोचें पछि के गर्ने ?

अन्तमा,म साथी हरुलाई के अनुरोध गर्दछु भने यी तीन तत्वलाई चिन्नू,बुझ्नु र मनन गर्नु जरुरी छ।

यी तीन तत्व या प्रबृति हावी भए सम्म हाम्रो देशले कहिल्यै टाउको उठाउन सक्ने छैन। “राजा” दरबारबाट भागे पनि यस्क़ो धड़कन त छंदैछ, जसलाई “दोश्रो” कारणले ब्युँताउन खोजी रहेको छ। मेरो बिचारमा केही बर्षमा यी प्रबृतिहरुलाई छिचोल्न सकेमा देशले आमूल परिबर्तन गर्नेछ। अब आधुनिक नेपाल गणतंत्रमय बनेको छ! तै पनि हत्या हिंसा, बलात्कार र भ्रष्टाचार बढ़ेको बढ़ेकै छ ।  सामाजिक,आर्थिक अनि राजनैतिक रूपान्तरणका लाग़ि र भ्रष्टाचारमुक्त र भेदभावमुक्त समाज निर्माणका लाग़ि आवाज़हरू उठी रहेका छन् ।

आशाका किरणहरू क्षितिजमा देखिएको भए पनि इतिहासका यी ग़ल्तीहरू सच्याउँदै गएमा अवश्य नै हाम्रो नेपाल यो धर्तीको स्वर्ग हुनेछ भन्ने लाग्छ।
प्रण गरौं जातीय बिभेद र जातीय अहंकारलाई निर्मूल पारौं ।

-भक्त गुरुंग बोस्टन यु.एस…

*-अश्तु-*

प्रतिक्रिया