विराटनगर महानगरपालिकाको रु.तीन अर्व भन्दा बढीको बजेट

मनोज दाहाल २०७७ असार १० गते ११:११ मा प्रकाशित

 


मनोज दाहाल,

विराटनगर, १० असार(रासस)

विराटनगर महानगरपालिकाको छैठौँ नगर सभाले आर्थिक वर्ष २०७७÷७८ का लागि कुल रु.तीन अर्व ३७ करोड ८१ लाख १० हजारको वार्षिक बजेट आज सार्वजनिक गरेको छ।

जसमा आन्तरिक आम्दानी तर्फ रु.८९ करोड ८२ लाख ९६ हजार ७००, सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड तर्फ रु.७६ करोड ८२ लाख ५२ हजार, सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण तर्फ रु.३८ करोड सात लाख ६८ हजार, सङ्घीय सरकार सशर्त अनुदान तर्फ रु.एक अर्व दुई करोड नौ लाख, प्रदेश सरकार सशर्त अनुदान तर्फ प्राप्त हुने रु.दुई करोड १० लाख नौ हजार, सङ्घीय सरकार विशेष अनुदान तर्फ रु.१३ करोड, प्रदेश सरकार समपुरक अनुदान तर्फ रु.तीन करोड, वैदेशिक र अन्य संघसंस्था अनुदान तर्फ रु.तीन करोड २६ लाख ७८ हजार र जनसहभागिताबाट प्राप्त हुने रु.नौ करोड ६२ लाख पाँच हजार रकम देखाइएको छ।

विनियोजित कुल व्यतर्फ रु.तीन अर्व करोड ३७ करोड ८१ लाख १० हजार मध्ये महानगरपालिकाको प्रशासनिक खर्च तर्फ रु.३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षा तर्फ रु.३६ करोड, वातावरण तथा फोहोरमैला व्यवस्थापन तर्फ ल्याण्डफिल्ड साइडको जग्गा खरिद सहित रु.११ करोड ४९ लाख ५० हजार, नगर स्वास्थ्य तर्फ सङ्घीय सरकार समेत रु.११ करोड ५७ लाख ९५ हजार, शैक्षिक विकास कार्यक्रम तर्फ सङ्घीय सरकार समेत रु.५६ करोड १३ लाख पाँच हजार, महिला बालबालिका एवं युवा विकास तथा खेलकुद तर्फ रु.दुई करोड नौ लाख २४हजार, अन्य कार्यक्रम तर्फ रु.छ करोड ५२ लाख २१ हजार र भौत्तिक पूर्वाधार लगायत अन्य पूँजीगत खर्च रु.एक अर्व ७१ करो ७९ लाख ६५ हजार विनियोजन गरेको उपप्रमुख इन्दिार कार्कीले सार्वजनिक गर्नुभयो।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आर्थिक वर्ष २०७७÷७८ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो।

उहाँले नीति तथा कार्यक्रमको आधारमा बजेट निर्माण गरेको जानकारी दिँदै पूर्वाधार सम्बन्धी नीति, सूचना सम्बन्धी नीति, वित्तीय व्यवस्थापन राजस्व परिचालन, सामाजिक विकास सम्बन्धी नीति अन्तर्गत शैक्षिक, युवा, खेलकुद , नगर स्वास्थ्य सम्बन्धी, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी नीति, पर्यटन, भाषा, कला तथा संस्कृति संरक्षण सम्बन्धमा लिएको नीतिले नगर क्षेत्रमा आमूल परिवर्तन आउने विश्वास दिलाउनुभयो।

उहाँले बालबालिका सम्बन्धी, गैर सकारी संघसंस्था सम्बन्धी, सहकारी सम्बन्धी, विपद् व्यवस्थापन, वातावरण संरक्षण एवं प्रवद्र्धन, खानेपानी तथा सरसफाई, पशुपंक्षी तथा कृषि विकास सम्बन्धी र भूमि सम्बन्धी लिएको नीतिबाट बनाइएको बजेटले विराटनगरको ऐतिहासिकता प्रष्ट भई आधुनिक विराटनगर निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रदेश नं.१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ूप्यासी’ले नगर सभाको उद्घाटन गर्दै जनप्रतिनिधिले आफ्ना उचाई र गरिमालाई खस्किन नदिन जनप्रिय भएर काम गर्नु पर्ने बताउनुभयो।

उहाँले विगतका वेतिथि र गलत संस्कारलाई हटाउन जनप्रतिनिधिले अग्रसरता लिनु पर्ने भन्दै अहिले अवस्थालाई अवसरको रुपमा लिएर जनप्रतिनिधिहरु जनताका भावना र इच्छा अनुसार काम गर्नु पर्ने सुझाव दिनुभयो।

प्रदेश प्रमुख ‘प्यासी’ले भ्रष्टाचारमुक्त समाज निर्माण भएमा सुशासनको आधारशिला मजबुत हुने भन्दै विराटनगरको ऐतिहासिकतालाई कसैले पनि मेटाउन नसकिने कुरामा जोड दिनुभयो।

उहाँले महानगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई दिएको प्राथमिकताबाट नगरमा समृद्धि आउने विश्वास व्यक्त गर्दै नगर सभाको सफलताको शुभकामना दिनुभयो।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोनाको कारण तीनै तहका सरकारको नीति तथा कार्यक्रम प्रभावित भएको चर्चा गर्दै प्रदेश सरकारले विराटनगर क्षेत्रमा वीरेन्द्र सभागृह, शहीद मैदान, बैजनाथपुर रंगशाला, विराट राजाको दरवारको संरक्षण, केशल्या नदीमा तटबन्ध, परोपकार घाटको स्तरोन्नतिमा गर्न बजेट विनियोजन गरेको छ भन्नुभयो।

सांसद अमनलाल मोदीले ऐतिहासिक शहर विराटनगरलाई आधुनिक शहर बनाउन सबैको चिन्तन र चाहनालाई महानगरपालिकाबाट पूरा हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सभा सदस्य केदार कार्कीले सङ्घीय सरकारले विराटनगर महानगपालिकामा बजेट कम दिएकोमा दुःख व्यक्त गर्नुभयो । नेपाली काङ्ग्रेस मोरङका सभापति डिकबहादुर लिम्बु, जनता समाजबादी पार्टीका नगर सभापति मोहम्मद नसरुल, नेपाली काङ्ग्रेसका नगर सभापति अरुण न्यौपाने, नेपाल कम्युनिस्ट पार्टीका नगर संयोजक सागर थापा र प्रजातन्त्र सेनानी शिवदत्त भट्टराईले नगरपालिकाका जनप्रतिनिधिले जनतालाई केन्द्रमा राखेर काम गर्नु पर्ने बताउनुभयो।

कार्यक्रममा प्रजातन्त्र सेनानी एवं ज्येष्ठ नागरिक रमाप्रसाद रिजाल, शान्ता अधिकारी, शिवदत्त भट्टराई, श्यामबहादुर सुब्बा लिम्बु, तोरेन्द्रमान प्रधान र गोपालप्रसाद शर्मालाई नयाँ आर्थिक वर्ष देखि लागू हुने गरी जीवन निर्वाह भत्ता वापत जनही मासिक रु.दुई हजार ५०० सहित दोसल्ला र सम्मानपत्रबाट सम्मान गरियो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया