मनोज दाहाल,
विराटनगर, ८ असार ।
प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयका शिक्षकहरु प्रविधिमा सवल बन्दै गएको बताउनु भएको छ।
प्रदेश १ का शिक्षकहरुको आज अनलाईन परियोजना प्रस्तुति कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो।
शिक्षकहरुले सामुदायिक विद्यालय प्रतिको हेराईलाई जवाफ दिदै उहाँले सामुदायिक विद्यालय भन्ने वित्तिकै अंगे्रजी र प्रविधिमा कमजोर हुन्छन् भन्ने बुझाईलाई शिक्षकहरुले दर्विलो जवाफ दिएको छ भन्नु भयो।
मन्त्री घिमिरेले लकडाउनको अवधिमा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सुझाव दिदै उत्कृष्ट प्रस्तुतीलाई मन्त्रालयले सम्मान गर्ने बताउनुभयो।
मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले शिक्षाको गुणस्तर बृद्धिमा सूचना प्रविधि तालीमले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राख्नु भयो।
इक्वालिटी फाउण्डेसन अमेरिकाका कार्यकारी निर्देशक मेदनी अधिकारीले प्रविधिमैत्री विद्यालय निर्माणमा प्रदेश सरकारले शुरु गरेको कार्यको प्रशंसा गर्नुभयो । प्रदेशका विभिन्न विद्यालयका शिक्षकहरुले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक लगायतका विषयको प्रस्तुती प्रस्तुत गरेका थिए।
मन्त्रालयले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षक समाजसँगको सहकार्यमा प्रदेशका छ सय शिक्षकलाई सूचना प्रविधि सम्वन्धि अनलाईन शिक्षक तालीम सञ्चालन गरेको छ । परियोजना कार्यप्रस्तुती कार्यक्रममा चार सय बढीको सहभागिता रहेको थियो ।
पत्रकार
प्रतिक्रिया