स्मृतिमा अमर अजर ती आर्शिवाद दिने आमाहरु

डा. गोबिन्द रावत, टोरन्टो २०७७ असार ७ गते २३:३९ मा प्रकाशित

डा. गोबिन्द रावत,

मई ३० शनिवारका दिन एजेस्स शहरको अन्त्यष्टी गृहमा मुवा पर्ब श्री गुरुङ्गको अन्त्यष्टीका लागि जाने क्रममा बाटोभरी आमासँगै मुवाहरुसँग बिताएका दिनहरु सम्झदै थिए । एक–एकजना गर्दै समुदायका मित्रहरुले मुवालाई श्रद्धाञ्जली दियौं । चीर निन्द्रमा मुवालाई देखे । मुवाको हात खोजे । आफ्नो ढाडमा धाप अनुभव गरे अनि कानमा मुवाले सधै दिने गरेको लामो आर्शिवादका शब्दहरु गुञ्जन थाल्यो । २५ मईको अन्त्यतिर जमुना बैंनीले हजुर मुवालाई अचानक अस्पताल भर्ना गर्नु परेको र अवस्था चिन्ताजनक भएको जानकारी गराए पछि चाहदा चाहदै पनि हामी अस्पतालमा भेट्न जान सक्दैन्थ्यौं । तर त्यसको भोलीपल्ट नै जमुनाले हजुर मुवाको स्वर्गवासको समाचार पठाइन् । यसअघि फरवरीमा वहाँलाई अस्पताल भर्ना गराएपछि प्रोभिडेन्स हेल्थकेयरमा भेट्न गएका थियौं । मुवाबाट हामीले त्यहीँ नै अन्तिम आर्शिवाद पाएको थियौं ।

फर्केर आउँदा पनि एकपछि अर्को सम्झनामा आमा र मुवाहरु आईरहनु भयो । २८ अगस्त २०१८ मा ९९ वर्षमा आमा बित्नु भएको थियो । त्यसको वर्षदिनपछि ३ अक्टुबर २०१९ मा नवराजजीको मुवा थिर्सुबा गुरुङ्ग ९४ वर्षमा बित्नु भयो र फेरी सात महिना पछि जमुनाको हजुर मुवा पर्ब श्री ९५ वर्षमा बित्नु भयो । वहाँ तीनैजना विशाल टोरोन्टोमा नेपाली समुदायका अभिभावक र आर्शिवचनका रुपमा चिनिदै आएका थिए । कता कता मलाई हामी अब अभिभावनहीन भएको जस्तो लाग्यो । मलाई केही लेखु लेखु जस्तो लाग्यो । अनि जमुना र नवराजजीसँग जानकारी बटुल्न थाले । आमा र मुवाहरुमाथि शब्दाञ्जली दिने विचार गरे अनि उनीहरुको आगमन खोज्न थाले ।

नेपालबाट २००२ मा क्यानडालाई नयाँ घर बनाएर आएपछि त्यस वर्षको दशै एन।सि।सि।एस। ९ नेपाललिज् क्यानेडियन कम्युनिटी सर्भिसेस० ले २४० वेलेस्ली स्ट्रिट, टोरोन्टोमा मनायौं । दशैको टिका सबैले समुदायको वयोवृद्ध रीता कटोज बाट ग्रहण गरेको सम्झना छ । राज जीत सिंह कटोज र रीता कटोज परिवार सहीत सन् १९६१ मा क्यानडा आउनु भएको थियो । वहाँहरु क्यानडाकै वरिष्ठ नेपाली हुनु भएकोले अर्को वर्ष पनि रीता मुवा र राजवीर कटोज बुवाको हातबाट दशैं टिका ग्रहण गरेका थियौं । त्यसबेला नेपाली समुदायमा वयोवृद्ध हातबाट दशैंको टिका ग्रहण गरेपछि खानपान र नाँचगान कार्यक्रम हुने गर्थियो । यो एउटा परम्परा जस्तै बसी सकेको थियो । त्यतिमात्र नभएर वरिष्ठ र वयावृद्धको करकमलबाट समुदायले आयोजना गरेको कार्यक्रमको उद्घाटन पनि गर्ने गराउने चलन थियो । क्यानडामा नेपाली राजदूतावास नबनेसम्म यहाँका महावाणिज्यदूत डा। कुञ्जर शर्मा प्रमुख अतिथिका रुपमा मात्र नभएर प्रायः सबै कार्यक्रमहरुमा सहयोगी र अभिभावकका रुपमा उपस्थित हुँदै आउनु हुन्थ्यो र आजको मिति सम्म डा। शर्मा नेपाली संस्थाको कार्यक्रममा एक अभिभावकका रुपमा उपस्थित हुँदै आउनु भएका छन् । त्यसबेला एन।सि।सि।एस।बाट विश्व वर्माजी सबै वरिष्ठ नेपाली नागरिकहरुलाई बटुलेर नियाग्रा फल्स डुलाउने काम पनि गर्नु भएको थियो । वर्माजीका बुवामुवा पनि यहीँ नै हुनुहुन्थ्यो । म आउँदा गोपाल भण्डारीजीको मुवालाई जेराटको घरमा नै गएर भेटेको थिए । यहाँ मन्दिर स्थापना गर्ने अवधारणका रुपमा २००४ मा भएको पहिलो भेलामा हाम्रा वरिष्ठ नागरिकहरुलाई पनि समय बिताउने स्थल बन्न सक्छ भनेर पिएनसिसिको स्थापना भएको थियो । आजको मितिमा वरिष्ठ नागरिकमा मैले थाहा पाएकोमा शुसिला भण्डारीको मुवा हुनुहुन्छ । वहाँलाई पनि सामुदायका विभिन्न कार्यक्रममा आर्शिवचनका लागि बोलाउदै आएको छ । प्रसङ्गवस आएका माथिका कुराले त्यसबेला यहाँको समुदायमा वरिष्ठ नागरिकको सम्मानको प्रसङ्गमा नै आएको हो यो चलन अहिलेसम्म यथाबत छ ।

२५ डिसेम्बर, २००५ मा आमा क्यानडा आउनु भयो । त्यसबेला वहाँ ८६ वर्षको हुनु हुन्थ्थो । आमा क्यानडा आएपछि वहाँ हाम्रो मात्र अभिभावक नभएर विशाल टोरन्टोकै आमा भएर परिचित हुनु भएको थियो । दशैमा टिका थाप्न आउनेहरुको रौनकनै देखिन्थ्यो । उमेरले वयोवृद्ध भएर होला महिला दिवसमा एनआरएन क्यानडाले समेत सम्मान गरेको थियो । आमा एउटा अभिभावक भएर होला समुदायमा कुनै पनि शुभकार्यमा आर्शिवादका लागि आमालाई निम्त्याउने गरिन्थ्यो । समुदायका साथीहरु आमालाई भेट्न आउने गर्थे । आमाको स्मरण शक्ती कम भएकोले प्रायः भेटेकाहरुलाई फेरी सम्झन सक्नु हुँदैन थियो र उनीहरुले दोस्रो तेस्रोपटक आमालाई भेटेर चिन्नु भयो आमा भनेर सोध्दा निर्धक्कका साथ चिने भन्नु हुन्थ्यो । अनि मैले कहिले काँही को हो आमा भनेर सोध्दा ओठ लब्राएर नचिनेको ईशारा गर्नु हुन्थ्यो । तर आउनेहरु आमाले सम्झी रहेकोमा दङ्ग पर्थे । मैले थाहा पाएदेखि नै आमाको कम बोल्ने बानी थियो । बिरामी परेपछि झनै कम हुँदै गयो ।

आमा क्यानडा आउनु भएको ठिक एक वर्षपछि २६ डिसेम्बर, २००६ मा क्यानडामा दुईजना मुवाहरु थपिनु भयो । पर्ब श्री गुरुङ्ग र थिर्सुबा गुरुङ्ग । पर्ब श्री मुवा जमुना गुरुङ्गको हजुरआमा हुन भने थिर्सुबा मुवा नवराज गुरुङ्गको आमा । दुवैजना मुवाहरुका बीच दिदीबैनी पर्ने टाढाको साईनो पनि थियो । त्यसैले जमुनाको हजुरमुवा र सासु क्यानडामा सँगै आएर सँगैमात्र बसेनन् । वहाँहरु जहाँ पनि सँगै आउनेजाने गर्नु हुन्थ्यो । जुम्लिया दिदीबहिनी जस्तै देखिने मुवाहरु विशाल टोरोन्टोमा आयोजना हुने कार्यक्रमका मान्यवर अतिथि हुने गर्नु हुन्थ्यो । वहाँहरुबाट वार्षिक रुपमा मनाउने नेपाली मेला : हिमालयन फेस्टिभलबाट लिएर अन्य धेरै समुदायका कार्यक्रमहरुको उद्घाटन बाट लिएर समुदायको वार्षिक वनभोजका मुख्य आर्कषक बनेर सबैको फोटोको शोभा बन्दै आउनु भएको थियो । नेपाली साहित्य समाज, क्यानडाले एकपटक नवराजजीको घरमा भानु जयन्ति कार्यक्रमको आयोजना गर्दा मुवाहरुले रामायणका श्लोक सुनाउनु भएको सम्झना आलै छ । नवराजजीकै घरमा लक्ष्मी जयन्ती मनाउँदा दुवै मुवाहरुले गीत गाएको सम्झना पनि आलै छ । वहाँहरुले तत्कालिन समाजमा रामायणको प्रभावका बारेमा अनि कसरी श्रुति परम्पराबाट त्यसबेला रामायणको प्रभाव रहेको बारे जानकारी पाएको थिए । वहाँहरुको सहभागिताले समुदायको कार्यक्रममा नै रौंनक आउने ग¥थ्यो । वहाँहरुको आर्शिवाद नपाउने नेपाली समुदायमा विरलै होलान भने वहाँहरुसँग फोटो नखिचाउनेहरु पनि विरलै होलान ।

१३ अक्टुबर, २०१८ मा नवराज–जमुना दम्पत्तीले दुवै मुवाहरुको ९३ र ९४औं वर्ष हर्सोल्लासका साथ समुदायका सदस्यहरुको उपस्थितिमा मनाईएका थियो । त्यो एउटा सुखमय अवसर थियो । यी दुई मुवाहरुमा थिर्सुबा मुवा सांस्कृतिक चाँड पर्वको अवसरमा मञ्चमा उभिएर गुरुङ्ग भाषामा मज्जाले भाषणका साथ आर्शिवचन दिन सिपालु हुनु हुन्थ्यो भने पर्ब श्री मुवा ढाडमा हातले धाप दिदै धारावाहिक निरोगी र सुखमय जीवनको आर्शिवाद दिन सिपालु हुनुहुन्थ्यो । वहाँले पीठमा आफ्नो हातले थप्थपाएर दुईचार मिनटसम्म आर्शिवचन दिने गर्नु हुन्थ्यो र उनको धाप नपाएका ढाड विशाल टोरन्टोमा विरलै होलान । मञ्चमा उभिएर हाम्रो चाँडपर्वको गरिमा र गौरवताहरु देखाएर हामीलाई भाइचारा र विश्वबन्धुत्वको पाठ सिकाउदै बोल्ने थिर्सुबा मुवाका ती आर्शिवचनका शब्दहरु अब कहिल्यै सुनिने छैनन् । पर्ब श्री मुवालाई भेटेर दर्शन गर्दा उनको वाणीबाट आउने धाराप्रवाहका आर्शिवादहरुमा उन्नतिप्रगतिसँगै शत्रुनासमा शब्दहरु अब गुञ्जिनै छैनन् ।

सेप्टेम्बर ३०, १९२४ अटीघर मंछाप कास्कीमा जन्मनु भएको पर्ब श्री गुरुङ्गको बिहे १३ वर्षको उमेरमा भएको थियो । मुवाको एकमात्र छोरीको ९ जमुनाको आमा ०४६ वर्षको उमेरमा मृत्यु भएको थियो । उनका तीन नातिनीहरुमा जमुना गुरुङ्गले डिसेम्बर २००६ मा आफ्नो हजुरमुवालाई सासु ९ थिर्सुबा गुरुङ्ग० सँगै क्यानडामा बोलाएर हेर विचार गर्दै आउनु भएको थियो । पर्व श्री मुवाका अरु दुई नातिनीहरु नेपाल र अमेरिकामा छन् । माइली नातिनी जमुनाका दुई सन्तान सहीत पर्वाश्री मुवाका दुई पनातिनी र तीन पनातिहरु छन् । वहाँको ससुरा कास्की जिल्ला तप्राङ्ग गाँउको अगुवा समाज सेवी भएको हुनाले होला आफ्नो एक्ली नातिनीलाई शिक्षा दिनमा पछि परेनन् । यही शिक्षा वहाँको जीविको पार्जनको माध्यममात्र नबनेर गाँउमा शिक्षिकाका रुपमा आफुलाई स्थापित गराउन सफल भएको थियो । एकमात्र छोरीबाट तीन नातिनी र जाँचजना नाति–नतिनीहरु छन् । संगीतमा बढी रुचि राख्ने मुवालाई भेट्नजादा वहाँ प्रायः लेपटपमा साँगीतिक कार्यक्रम हेरेर रमाई रहेको देखिन्थ्यो ।

डिसेम्बर २००६मा क्यानडा आउनु भएकी थिर्सुबा गुरुङ्गको जन्म सेप्टेम्बर ३०, १९२५ मा कास्कीको अटिघरमा भएको थियो । कलिलै उमेरमा लामडाँडा, मौजा, कास्कीका लाहुरेसँग बिहे भएरको थिर्सुबा मुवाको श्रीमान दोस्रो विश्वयुद्धको लडाकु सिपाही हुनु हुन्थ्यो । वहाँका चार छोरा र चार छोरीहरुमा नवराज गुरुङ्ग काञ्छो छोरो हो । वहा तेह्र नाती(नातिनी र सात पनाति(पनातिनिका धनि हुनुहुन्थ्य। २००३ मा श्रीमान गुमान सिंह गुरुङ्ग्को को देहावसान पछि वहा छोरा (बुहारी संग बस्न क्यानाडा आउनुभयो।

पर्ब श्री गुरुङ र थिर्सुबा गुरुङ बाल्यकालदेखिको साथि हुनुहुन्थियो। कास्की को आतिघर गाउँमा वहाहरुको बाल्यकाल संगै बित्यो। बिहे भएर छुट्टा छुट्टै गाउमा पुगे पनि पछी दुवै जनाको परिवार पोखरामा बसाइ सराइ भयो र वहाहरु फेरि नजिक हुनुभयो। जीवनको अन्तिम बर्षहरु पनि वहाहरुले सात समुन्द्र पारि संगै बिताउने मौका पाउनु भयो। बुढेसकालमा वहा हरु एकअर्काको राम्रो सहारा हुनुभयो। शायद भाबि कै लेखा होला एकै अस्पताल र एउटै अन्त्यष्टी गृहबाट यो संसार बाट बिदा लिनु भयो।

आमा गंगादेवी रावतको जन्म १९७६ सालमा पोखरामा भएको भन्नु हुन्थ्यो । गर्जबहादुर भण्डारी र जयन्तीकी जेठी छोरी गंगादेवी रावतका दुई भाइ र चार बहिनीहरु थिए । अहिले सिक्किममा एकजना बहिनी र दुईजना बहिनी नेपालमा हुनु हुन्छ । सानै उमेरमा बिहे भएको र सात सन्तानका जननी गंगादेवीले चालिसको उमेरमा श्रीमान गुमाउनु परेको थियो । त्यसपछिका कठिन दिनहरुलाई उनले धेरैनै संघर्ष गरेर आफ्ना सन्तानहरुलाई राम्रो शिक्षा दिक्षा दिनु भयो । आमाका सात सन्तानमा दुई जनाको बाल्यावस्थामै देहवसान भएको थियो भने पाँच सन्तानबाट वहाँका १७ जना नातिनतिनी र चौधजना पनातिनीहरु छन् । आमा बित्नु हुँदा वहाँको उमेर ९९ वर्ष ८ महिना थियो । शतक पुग्न चार महिना बाँकि थियो भने नातिनीको बिहे हुन चार दिन । तर नियति त्यस्तै भयो र अगस्त २७ , २०१८ गाईजात्राको दिन हामीलाई अन्तिम आर्शिवाद दिएर ब्रह्माण्डमा विलय हुनु भयो ।

आज फादर्स डे । डेड वर्षको उमेरमा बुवा बितेपछि मेरो लागि आमानै बुवा हुनु हुन्थ्यो । आमा र मुवाहरुलाई आज फदर्स डेमा सम्झन पाएर यो शब्द सुमन चढाउन पाएकोमा आफुलाई भाग्यवान सम्झेको छु । – जुन २१

प्रतिक्रिया