काग जति कराए पनि पीना सुकाउने तरिका फेरिएन

    दुर्गा दाहाल  ,क्यालिफोर्निया अमेरिका            २०७७ असार ६ गते २:२६ मा प्रकाशित

विकासमा पछि परेको देशमा जन्म भएपछि विश्वले हेर्ने दृष्टीकोण पनि फरक हुने रहेछ । विश्वलाई कुशल प्रशासक भएर दिशाबोध गराउने राजनैतिक अनुभव र साहस भएका ब्यक्ति हामीले नपाएको हैन तर गुमाई सकेका छौ। फेरि त्यस्तै दूरदर्शी, साहसी र विश्व स्तरको नेतृत्वदायी क्षमता भएका महापुरुष जन्मिनका लागि नेपाल आमाको प्रस्रबको पर्खाइमा छौं । वर्तमान नेपालको परिप्रेक्षमा हेर्दा स्वनामधन्य नेता घर घरमा छन् । तर प्रतिबद्धतामा,दर्शनको ज्ञानमा, ब्यबहारमा , ईमानदारितामा , त्यागमा, निष्ठामा वर्तमान नेतृत्वो स्तर कहाँ छ ? धन्य हुन् हाम्रा नेपाली दाजु—भाई र आमा, दिदी—बहिनीहरु, जतिपनि अन्याय, अत्याचार र दमन सहन सक्ने क्षमताले भरिपूर्ण छन् । इतिहास हेरौं देखादेखी बलत्कार र कलिला बालकको हत्या गरियो,देशका सुन्दर पहाड र नदीनालाहरु बेचियो, देखादेखी

सिंहदरबारबाट गोप्य फायलहरु विदेशी राजदुतावासलाई विक्रि गरियो । हजारौं नेपाली दाजु—भाई, दिदी—वहिनी र आमाहरुको रगतले होली खेल्ने हत्याराहरुलाई सिंह दरवारको घुम्ने कुर्चिमा बिराजमान गराईयो । यावत क्रियाकलापहरु हामी टुलुटुलु हेरि रहेका छौं । हामी केही बोल्दैनौं । सानो आकारको कोठे राजनीतिमा मात्र हामी बलवान छौं । त्यसैमा रमाएका छौ । भ्रष्टचारीहरु नै कुशल राजनीतिज्ञ बनेर आउँछन् । किन हामी तिनीहरुकै समर्थनमा ताली बजाउछौं ? किन हामी हरेक अन्याय, अत्याचार र दमनको समर्थन गर्छौं ?

किनकी सबैलाई थाहा छ त्यहाँ “काग कराउँदै छ पिना सुक्दैछ ”
भनिन्छ “ यो देशमा सतीको सराप परेको छ ”

विश्व मै निडर, साहशी र वीर योद्धाहरुको जन्म यही मुलुकमा भएको ईतिहासमा प्रमाणित छ । राजा महाराजादेखि प्रशासनको तल्लो खुड्कीलोसम्म कुशल राजनीतिक नेतृत्व गरेर मुलुकको हँसिलो मुहारलाई संधै चम्काई राख्न सफल देशभक्तहरुको अनुहार सम्झँदा पनि तातेतेकोे रगत उम्लिने हामी नेपालीहरु चुपचाप बसेका छौं । के सतीको सराप परेकै कारणबाट हो त ? यो मुलुकको स्थिति यस्तो बनेको
एउटा गाउँले ठट्यौली संझना आउछ “होईन यो जुलेवीभित्र गुलियो रस कसरी पसेछ ” भने जस्तो , होईन यो देशका कर्मीहरुमा पनि कतै न कतै केही गुलियो रस पो पसेछ कि के हो ?

अव चाँडै नै हिन्दीका दुई शब्दहरु सापट लिने समय आई सकेको छ ।
“मरता क्या नही करता ”

बिरालो सानो जन्तु हो तर सानो छ भनेर लखेट्यो भने स्वयं लखेट्नेको घाँटीमा आएर स्वास नली नै समाइदिन सक्छ । हरेक समय र परिस्थितिको एउटा सिमाना हुन्छ तर सिमानाभन्दा बाहिर भएपछि त्यसको अस्तित्व खत्तम हुन्छ भने हामी नेपालीहरुको अस्तित्व किनारा लाग्न सुरु भएको अनुभूति हुन्छ । जव नेपाली भूमि नै रहन्न भने नेपालीको अस्तित्व कसरी सुरक्षित हुन्छ होला ?
तर यहाँ “काग कराउँदै छ पिना सुक्दै छ”

जतिसुकै सदनमा बस्ने, भत्ता कर्मीहरु कुर्लिए पनि हालको परिपेक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालको नक्सालाई सगरमाथामा पुर्याउनु अर्थात इतिहासमा उल्लेख गर्न लायक एउटा साहासी कदम हो । सम्पूर्ण देशभक्ती नागरिकले यो कदमलाई एउटा महत्वपूर्ण साहसी कदमका रुपमा लिनुपर्ने हुन्छ । यो कदमले ईतिहासका पानाहरु थपिएका छन् । मुलुकको नयाँ नक्साको कारण देश विदेशमा राजनितीक र कुटनितीक टिका टिप्पणी गहन रुपमा सुरु भै सकेका छन् । यस महत्पूर्ण घडीमा सम्पूर्ण राष्ट्रभक्ती नेपाली एउटै घेराभित्र हुनु अनिवार्य महशुस हुन्छ । यो बिषयलाई निरन्तरता दिन सक्नु सम्पूर्ण नेपालीको कर्तव्य हुन जान्छ । सरोकार पक्षले गम्भिर रुपमा सोच्नु र काम गर्नु पर्दछ ।

ईतिहासका बिभिन्न घडीहरुमा बिभिन्न किसिमका घटनाहरु मुलुकले ब्यहोर्नु परिरहेको ब्यहोरा हामी सबैलाई अवगत नै छ । सरकारका पदाधिकारीहरुको फेरवदल हुने क्रममा मुलुक भित्र घटनाहरु, महत्वपूर्ण निर्णयहरु भै रहेका हुन्छन् । यस किसिमका घटना र निर्णयहरुलाई मलजल गर्ने काम मुलुकको जिम्मेवार पदमा बस्नेहरुले नै गरेका हुन्छन् । यस किसिमका घटना र निर्णयहरु कहिल्यै पनि जनताको सामु ल्याईएको हुँदैन जसले गर्दा जनताको विश्वास जित्ने काम सरोकारवालाहरुमा छैन ।

हरेक घटनाहरु र निर्णयहरु लुकाउने प्रवृत्तिले मुलुकभित्र अन्यौलका बादलहरु मडारिईरहेका छन । मनन गरौं, अवको दुनियाँ, ढुंगे जमाना हैन । हरेक पलमा दुनियाँमा के भै रहेको छ ,तुरुन्त प्रकाशमा आउँछ । सानो मुलुकमा जन्म भएपनि दुनियाँ हाँक्न सक्ने नेपालीहरुमा बुद्धी र सामथ्र्य छ ।

निती श्लोकले हामीलाई प्रेरणा प्रदान गरेकै छ ।
“ काकया कनन शुत्रेण कृष्ण सर्पो नियातित”
तर
“ काग कराउँदै छ पिना सुक्दैछ ”

हरेक पटक सरकार फेरवदल हुँदा कुनै न कुनै नदी वा हिम सिखरको उपहार प्रदान गर्ने हाम्रो सिंह दरवारको प्रकृया नै भै सकेको छ । हामी सिधासादा देशबासीहरु मुक दर्शक भएर बसेका छौं । आफ्नो ब्यक्तीगत स्वार्थको लागि मुलुकलाई धितो राख्ने प्रवृत्तीले राष्ट्रभक्त नेपालीलाई गहिरो चोट पर्नु स्वभाविक नै हो ।

नदिनाला र हिमालको उपहार पछि के को उपहार चढाउनु हुन्छ तपाँईहरु त्यसपछि नेपाल आमाका सपुतहरुलाई नै उपहार चढाउन पछि पर्नु हुन्न होला जस्तो लाग्छ । जसरी सिक्किमका राजाले आफ्ना जनताहरु हिन्दुस्थानलाई उपहार स्वरुप प्रदान गरेर आफू नजरबन्दमा ऐस आराम गरि बसेका छन् । कता कता भान हुन्छ, सतीको सराप परेकै कारणबाट होला की बाबुराम भट्टराई जस्ता ज्यानमाराको नेपालमा जन्म भएको । आफ्नो स्वार्थ पुरा नभएमा कहिले नयाँ पार्टी खोल्ने, कहिले मुसापार्टीमा लाग्ने त कहिले बिराला पार्टीमा कहिले हिन्दु धर्म त कहिले ईसाई । कहिले के सम्मेलन नेपालगञ्जमा त कहिले पहाडगञ्जमा अनि कहिले दिल्ली । यि सबै कारणबाट भएको छ, आम नेपालीको चिल्ली बिल्ली । तर सबै कुरा भन्न मिल्दैन भनेर पनि के गर्नु किनकी यि सबै हाम्रै नेताहरु हुन्

सतीको सराप परेको देशुमा यहाँ नेताहरुले जे जे गरेपनि हुन्छ, सबै कुरा छुट छ ।

यो मुलुकमा कुनै नेताबाट मुलुकको न्यायको रक्षा गर्ने प्रधान न्ययाधिशलाई रातारात कठघरामा उभ्याईन्छ त अमुक र राष्ट्रप्रेमी जनताको सेवा गर्ने जिम्मेवार पुलिस अधिकारीलाई स्वास प्रणाली नै बन्द हुने गरि लखेटिन्छ । अनि भ्रष्टचार नियन्त्रण गर्न कोशिष गर्ने अधिकारीलाई बलिको बोको बनाईन्छ । करोडौं करोड मानिसहरुको आस्थाका रुपमा रहेको विश्व प्रसिद्ध पशुपतीनाथमा जवरजस्ती विषालु जहरको जल चढाउन कोशिष गरिन्छ । देखादेखी बिदेशीहरुलाई नागरिकता विक्री गर्ने, राष्ट्रिय सम्पत्ती विक्री गर्ने धुन्धकारीलाई जन नायक पदवीले विभुषित गरिन्छ । बलत्कार, हिंसा र अपराधको बचावट गर्नेलाई संसद भवनमा आसन ग्रहण गराईन्छ । किनकी यो मुलुकमा केही भन्न मिल्दैन । सबै हाम्रा कार्यकर्ताहरु हुन् । सबै हाम्रा नेताहरु हुन् । त्यसैले यहाँ “काग कराउँदै गर्छ पिना सुक्दै गर्छ ”

मुलुकका ९८ प्रतिशत राष्टवादी बुवा आमा, दाजु भाई, दिदी बहिनीको आवाज सुनिन्छ । “यो देशमा केही हुनेवाला छैन” ।
कति अमिला बोलीहरु सुन्नु परेको छ । हामीहरु आफैंमा दंग पर्दै भन्छौं मेरा छोरा बुहारीहरु, छोरी ज्वाईंहरु, मेरा भाई बुहारीहरु, कोही अमेरिका त कोहि अष्ट्रेलिया अनि कोही बेलायत त कोही क्यानडा ।

बच्चादेखि पालन पोषण गरी आफ्नो भए नभएको सम्पत्ती खर्च गरी,सक्षम र कर्मठ भएपछि हाम्रा सन्तानलाई बिदेश पठाईरहेका छौं । यो कुरा विदेशीहरुको लागि अति फाईदाजनक हो । इमान्दार, सक्षम र देशभक्त सन्तान मुलुकबाट बाहिरिए पछि मुलुकको आसा निरासामा बिलिन हुँद गै रहेको छ ।

त्यसैले होला भन्छन “यो देशलाई सतीको सराप परेको छ ।”

जव म एक पटक एउटा जिम्मेवार शिक्षक थिएँ । मेरा बिद्यार्थी भाई बहिनीहरुलाई डराउँदै डराउँदै भन्ने गर्थें, “शहिदहरुले प्रजातन्त्रको लागि जीवन गुमाए । विपि कोईराला, गणेशमान, पुष्पलाल ईत्यादी प्रजातन्त्रका नेता र योद्धाहरु जेल जीवन बिताईरहेका छन् । ”

स्वर्गीय पृथ्वी नारायण शाह, जंग बहादुर राणा र राजा महेन्द्र जस्ता कुशल राज प्रशासकहरु जन्मेको यो देश आज कुशल नेता र कुशल प्रशासकको खोजीमा छ । तर के गर्नु

“काग कराउँदै छ पिना सुक्दै छ”
भनिन्छ “यो देशमा सतीको सराप परेको छ ”

 

प्रतिक्रिया