ह्याप्पी फादर्स डे

सुरेन उप्रेती अटवा क्यानडा २०७७ असार ५ गते २०:३५ मा प्रकाशित

 

सुरेन उप्रेती अटवा

त्यो बेला निकै जाडो थियो । माघे संक्रान्तीको दिन भने पछी जाडोले शिखर छोएको दिन थियो । हाम्रो गाउँ पिस्कर भनेर धरै टाढा सम्म परिचित नभए पनि सिन्धुपाल्चोकमा धेरैलाई थाहा थियो । त्यो ठाउँमा हरेक बर्षको माघे संक्रान्तिमा मेला लाग्छ । पहाडको ठाउँ भए पनि मेला लाग्ने ठाउँ अलि समथरिलो जमिन छ । अघिल्लै दिन देखि चौकटी , धुर्सुन, टेकनपुर, तौथली ,धुस्कुन आदिका मानिसहरू मेलामा भेला हुन्थे । मानिसहरू मेलामा आफ्ना घरवारीमा फलाएका अन्नपात फलफूल आदि बेच्न लैजान्थे । कोही दही चिउरा बेच्थे भने कोही जाँड रक्सिको व्यापार गर्थे । बजारमै सेल रोटी पकाएर बेच्ने देखि दाल भात पकाएर बेच्नेको पनि राम्रै उपस्थिति हुन्थ्यो । मेलामा गीत गाउँन टाढा टाढा देखिका मानिसहरू आउँथे । डाइस खेलाउँने मान्छेहरू ग्राहक बोलाउँन खत्र्याक खत्र्याक पार्दै झण्डी चार, मुकुट तीन भन्दै मार्रा भनेर कराउँथे । म त्यस बेला भर्खर सोह्र बर्ष लाग्दै थिँएँ । छिमेकिहरू सँग अर्मपर्म गरेर जोत्ने, खन्ने, बाउसे गर्न सक्ने भएको थिएँ । मैले यसरी मेलापात गर्न थालेको नी दुई बर्ष भै सकेको थियो । नेपाल शाहुको सबै खेतबारी एक्लै जोतेर भर्खर सकेको थिए।

मैले घर छेउको स्कूलमा तीन कक्षा मात्रै पढेको भए पनि नेपाली पढ्न लेख्नलाई खेताला लगाउनु पर्दैन थियो । उल्टै थुप्रै गाउँले दाजु दिदीका प्रेमपत्र लेखी दिएको थिए । एक किसिमको चिठी लेख्ने लेखन्दास नै भएको थिए । गाउँमा धेरै पढ लेखेका मान्छे पनि नहुने । एक दुई जना भए पनि अरूले बिश्वास पनि गर्नु पर्यो । माया प्रिति गर्ने मान्छेले जात पात धनी गरिब हेर्ने कुरा पनि भएन । अलिकति माया बसेको कुरा गाउँलेले सूँइको पाए भने गाउँमा बस्नै गाह्रो हुन्थ्यो । कती त गाउँका त्यस्ता प्रेमिल जोडीहरू आफ्नो प्रेम बचाउन गाउँ छोड्दै हिँड्न बिवश भएका थिए । त्यस्ता दाइ दिदीहरूको प्रेम लहराउँन र जोगाउन मैले पनि निकै मद्धत गरेको छु । चिठ्ठीहरू लेख्दा लेख्दा माया पृतिका थुप्रै कुराहरूका तानाबाना मिलाउन जान्ने भै सकेको थिँएँ।

गाउँका सबै मानिसहरू मेला भर्न जाने भए । हाम्रा बुबा पनि उनका भारी बोक्ने दौँतेरीहरू सँगै मेला जाने भएछन् । छिमेकी कान्छा काका, डाँडाको हर्के बडाबाहरू सँगै बुबाहरू मेला हिँडे । हाम्रा बुबा पनि औधि रहुसे मान्छे । मादल बजाएर नाचगान गर्न पायो भने दिन रात गएको पत्तै नपाउने । मेलामा नाचगान गर्छन् रे भनेर धने, कृष्णे ,शेरे र म पनि मेला जाने भयौ । मैले नेपाल कान्छा साहुको खेतवारी जोत्दा पाएको ज्यालाको पैसा अलि कती जोगाएर राखेको थिएँ । आ-आफ्ना भए भरका ताता लुगा लगाएर हामी पनि उकाली लाग्यौँ । पुस महिनाको अन्तिम दिन त्यसै पनि चिसो हुने । त्यस माथि सिरेटो चल्ल्दै थियो । मान्छेहरू धुसा कम्बल त कोही खाँडिको बर्को र पछ्यौरा ओडेर जाडो सँग जुझ्दै थिए । त्यो अध्यारो चिसो रातमा कोही नजिकैको जँगलबाट सेउला र पतिंङगर भेला गरेर चिसोबाट बच्न खोज्दैथिए । त्रिपाल टाँगेर ओत लाग्ने ठाउँ बनाएको थियो । बाँसका खाँबा गाडेर प्लास्टिकको त्रिपाल टाँगेको ठाउँबाट निस्किएको बाँसमा मैनटोल झुण्ड्याएको थियो । त्रिपालकै छेउमा केही मुढाहरू बालेर त्यसैको वरिपरी मान्छेहरू बसेका थिए । मैनटोलको उज्यालोमा जोर मादल घन्काएर नाचगान हुँदै थियो । पल्ला पटीका हिमाल काकाहरू पनि मेलामा आएका रहेछन् । पानी तालैमा, मलाई बोलाउ है जाने बेलैमा भन्दै दोहोरी गीत गाए । हिमाल काकाले अघि नजाउ हजुर सँगै जाउँ जाउँ, रिङ्केबुङको राँगालाई, उठ उठ नारी हो, गरिबको चमेली जस्ता गीत गाउँदा सबैले ताली बजाउँदै नाचगान गर्दै थिए । सबैजना एकै ताल र स्वरमा गीत सँगै ताली बजाउँदै रमाइ रहेका थिए।

मेलामा कतै कतै भने चिडी तीन भनेर कराउदै थिए । ठाउँ ठाउँ क्यासेटमा गीतहरू पनि घन्कँदै थिए । त्यो अँध्यारो रातमा एक्कासी फ्रिररर्र गरेर सिटी बज्यो । पुलिसहरूले घेरा हालेर बन्दुक ताकेका रहेछन् । हामी चारभाइ अलि छेउतिर बसेका थियौँ । सबै त्राहीमाम भयौँ । नजिककैको कालिझारको झाडीतर्फ फाल हानेर भाग्यौ । पछाडी फर्किएर नहेरी ठूलो ढुङ्गामा आइपुग्दा ड्याम ड्याम बन्दुक भुकेको आवाज आयो । हामी अझ त्रसित हुँदै स्वाँ स्वाँ भएर गाउँ झर्यौ । सबै जना हाम्रै घरमा गएर बस्यौ । रात भरी के भयो होला । पुलिसले कसलाई मारे होला भन्दै कुरा गर्दै थरथरी काँपेर बितायौँ । भोलिपल्ट गाउँमा गाइँगुई कुरा हुन थाल्यो । पुलिसले आठजानालाई मार्यो रे भन्ने सुनियो । विहान नौ बजेको थियो । ढाँड घरे काका हाम्रोमा आइपुगे । प्रधानपञ्चले लिन पठाएको आउनु अरे भाउजु भनेर आमालाई भने । आमा ज्वरोआएर सुतिरहेकी थिइन । देवर नानी म त ज्वरोआएर हिँड्न पनि सक्दिन । छोरालाई लिएर जानुनी कहाँ जानु पर्छ । किन बोलाए छन नी प्रधानले आमाले सोधिन । खै सबै त थाहा भएन । दाइहरू त अराष्टे रछन अरे । पुलिसले गोली ठोकेर मारे छन । ढाँडघरेका कुराले आमा आत्तिँदै उठिन । तिमी के भन्छौ ए नानी । घरमा शाहुको चौतारा लाने भारी त्यसै छ । अब त्यो भारी भनेर आमा रोकिइन । आमा जरो नै नआए जसरी जुरुक्क उठिन । ती ढाँडघरे काकाका पछी पछी आमा थरथर् काँप्दै हिँड्न थालिन । म उनीहरूलाई पछ्याउँदै गएँ । डाँडाको पुरानो पाटीमा आठवटा मान्छेका लास लडाएका रहेछन् । मेला भर्न आएका मान्छेले ओढेका बिभिन्न रंगका बर्काहरूले ढाकेको हुनाले को को हुन भन्ने चिनिँदैन थियो । हेर्न आएका मान्छेहरुको भिडलाई पुलिसले नजिक आउन दिएको थिएन । प्रधान बाजे र पुलिसको ठुलो मान्छे अली पर कुर्सिमा बसेर चिया खाँदै थिए । हामीलाई पनि पुलिसले ती मान्छेका लडाए ठाउँ तीर जान दिएन । हामी प्रधान भए तिर नै गयौं।

हामी प्रधानहरूको नजिकै चौरीमा ढुँगा जस्तै अचल भएर बसेका थियौ । मेरा मन भित्र असार साउन महिनामा सुन कोशीमा आउँने भेला जस्तै अनेक कुराहरू आइरहेका थिए । वाल्यकाल देखि बुबा सँग बिताएका पलहरू तँछाड मछाड गरेर आउँथे । बुबाले मलाई छाती माथि सुताएर कथा सुनाएको । हरेक पटक भारी लिएर आउँदा केहि न केहि मिठाइ खेलौना आदि ल्याइ दिएको । एक पटक मैले बुबा सँगै चौतारा जान ढिप्पी गरेँ । बाटोमा म हिँड्न सकिन । बुबाले उनको गह्रौगो भारीमाथि मलाई राखेर लगेको । सबै कुराहरू चलचित्र जस्तै भएर तँछाड मछाड गर्दै आउँदै थिए । अब मेरो त्यो प्रिय मान्छे म सँग हुँदैन । मेरा आँखाबाट आँशु बर्बर झर्न थालेछन् । आमालाई झन कस्तो हुँदै होला म कल्पना पनि गर्न सक्दिन । मैले आमातिर हेरेँ । मैले नदख्ने गरी आमा पछ्यौराले मुख छोपेर रूँदै थिइन । प्रधान बाजेले आमालाई र मलाई लिएर अलि पर झाडी तर्फ गए । प्रधान बाजेले आमालाई साँइलो र उसका साथीहरू त अराष्ट्रिय भएका रहेछन । व्यवस्थाको बिरोध गर्ने काम गरेछन् । मलाई ईसारा गर्दै यसलाई कतै पठाउ बुहारी, पुलिसले पक्डिन सक्छ । तौथली र धुर्सुनका बिसजना गाउँलेहरूलाई पक्डी सक्यो। अरू केटाहरूलाई पनि पुलिसले खोज्दै छ । उनीहरूलाई पुलिसले पक्डिए पछी मार्न पनि सक्छ । यी आठजनालाई गोली हानेर मार्यो । कमसेकम बाँच्यो भने एकथोक त हुन्छनी । प्रधानबाजेका कुरा सुने पछी आँखा भरी आँशु पारेर आमाले मलाई अँगालो मारिन । अनि घुँक्क घुक्क गरेर रून थालिन । मैले पनि केही सोच्न सकेको थिएन । मेरो जीउ थर्ररर गरेर काम्दै थियो । आमाले रूदै जा । आजै काठमाण्डु जा र उतै बस्नु । कमसेकम त्यहाँ त मार्दैनन होला । मेरो ओठ मुख सुकेर च्याप्प च्याप्प भयो । वोली पनि निस्किएन । एक पटक आमालाई हेरेँर उतैबाट बाटो लागें।

म भर्खर सोह्र बर्षको उमेरमा हिँड्दै थिएँ । एक दुई पटक बुबा सँग चौतारा गएको भन्दा अन्त कतै गएको थिँइन । गाउँघर मेलापात मात्रै मैले जानेका बिषय थिए । अस्ती दशैमा नेपाल पण्डितका छोरा शहरबाट गाउँमा आएका थिए । उनले गरेको शहरको बयान सुन्दा मेरो मन पनि शहर हेर्न लालहित भएको थियो । तर त्यो सबै मेरो कल्पना भन्दा माथिको कुरा थियो । उनी धेरै पढेका मान्छे । उनको काठमाण्डौमा घर छ भन्थे । शहरमा आयौ भने सानोतिनो काम खोज्न सहयोग गरौँला भनेर उनको नाम लेखेको कार्ड दिएका थिए । म त्यही कार्ड लिएर म शहर पसेँ । सोद्दै खोज्दै पुतली सडक छेउ कालिका स्थान नजिक पुगेँ । चाइनिज ईटाले बनाएको तीन तले घर रहेछ । उनी धेरै पढेका भए पनि सरल र सहयोगी मान्छे लाग्यो । कोठा नपाउँजेल सम्म त्यँहीँ खान र बस्न दिए । उनले चिनेको मान्छे सँग कुरा गरेर ट्राभल एजेन्सीमा काम पनि खोजीदिए । त्यो ट्राभलएजेन्सिले नेपाल आएका बिदेसीहरूलाई बिभिन्न ठाउँमा घुमाउँदो रहेछ । त्यस ट्राभल एजेन्सिमा तीन बर्ष सम्म काम गरेँ । त्यस पछी आमा भाइ बहिनीलाई पनि काठमाण्डौमा ल्याएँ । आफुले पढ्न नपाएको पिडाले सँधै सताई रहन्थ्यो । भाइ बहिनीलाई स्कुल भर्ना गरिदिएँ । म टुरिस्टहरू लिएर कहिले कता कहिले कता पुग्नु पर्थ्यो । आमालाई घरमा बस्दा बस्दा दिक्क होला भनेर सानो चिया पशल खोली दिँएँ । भाइबहिनीले बिहान बेलुका आमालाई काममा सघाउँथे । मेरो पनि बिवाह भयो । एउटा छोरा र एउटी छोरी जन्मिए । परिवारमा खर्च बढ्दै गयो । आफुलाई जस्तै दुख परे पनि भाइ बहिनी र छोराछोरीलाई जसरी भए पनि पढाउँने सपना थियो । मेरो रात दिनको सोचाई नै कसरी उनीहरूलाई भोको पेट र अशिक्षाबाट बचाउँनु भन्ने थियो।

म सँगै गाउँबाट भागेका शेरे कृष्णे र धने पनि काठमाण्डौमा आएका रहेछन् ।उनीहरू पनि कोही कता कोही कता काम गर्दा रहेछन् । उनीहरू सँग पनि धेरै पछी भेट भयो । उनीहरूका पनि बालबच्चा भएछन् । उनीहरू पनि परिवार पाल्न बिदेश जान खोज्दै रहेछन् । केहि महिना पछी शेरे र कृष्णे साउदी अरब गए । धने कतार गयो । मलाई पनि एउटा मन्त्रीको पिएले साठी हजार लिएर अमेरिका ल्याइदिए । त्यसबेलाको त्यो साठी हजार भनेको निकै ठूलो रकम थियो ।प्लेनको टिकट काट्दा पनि हाम्रो घरबारी बेच्दा नपुग्ने महँगो थियो । सबै साहु काडेर म विदेश आएको थिँएँ । आमा र परिवारहरू लाई समय समयमा पैसा पठाउँदै गर्नु पर्यो । तीन चार बर्ष सम्म काम गरेको पैसा त साहुको ऋण तिर्दातिर्दै सकियो । इन्डियनका रेष्टुरेण्टमा काम गर्न पसे पछी महिना बर्ष वितेको पनि पत्तै नहुने । काम, काम, काम भन्दै समय बित्ने । आफुभन्दा अग्लो जुठा भाँडाको थुप्रो माझ्ने र बोक्ने गर्दा गाउँमा हिलोआली गरे भन्दा बढी थाकिने । बल्ल तल्ल काम सकेर कोठामा पुग्यो । भोलिपल्ट बिँउझदा फेरि काममा जाने बेला भैसकेको हुन्छ।

हप्ता दिनमा बल्ल तल्ल एक दिन बिदा दिन्छ । आमा भाइबैनी श्रीमति र छौराछोरी सँग फोनमा कुरा गर्यो । फेरि अर्को हप्ता कुर्दा बर्ष दिन पर्खे जस्तै लाग्ने । छोरा छोरीले बाबा कहिले आउने भनेर सोद्दा उनीहरूलाई दिने जवाफ पनि हुँदैन । पासपोर्ट र भिसाको म्याद सकिएको बर्षौ भयो । अन्त काम खोज्न जान पनि गैह्रकानूनी भएर बसे पछी पुलिसको डर हुन्छ । अमेरिका आउने बित्तिकै भए त बुबाको हत्या भएको कुरा देखाएर पनि शरणार्थीमा आबेदन दिँदा हुने रहेछ । थाहा पाउँदा पाउँदै चारपाँच बर्ष बितिसकेको थियो । ग्रिनकार्ड बनाउन र सोसल सेक्यूरिटी नम्बर बनाउन भन्दै निकै पैसा खर्च गरी सकेँ । अब भै हाल्छकी भन्दै बसेको बिसौँ बर्ष हुन लाग्यो । नयाँ राष्ट्रपति फेरिए पछी अलिकति आशा पलाउँछ । कुनै राष्ट्रपति आउँदा अब सबै ग्रिनकार्ड नहुनेहरूलाई निकाल्छ रे भन्छन् । फेरि त्राश बढ्छ । उता नेपालमा आमा बिरामी हुँदा पनि जान पाइँन । छोराछोरी ठुला भै सके । अब त कहिले आउने भनेर भन्न पनि छोडिसके । उनीहरूले पनि यो नआउने रहेछ भन्ने ठाने होला । रात दिन काम गर्यो । अलिकति फुर्सद मिल्दा नेपालकै खवर हेर्यो । सामाजिक सन्जालमा धेरै खान देश छोडेका भनेर लेख्छन । मन्त्रीहरूले समेत भगौडा भनेर टिप्पणी गरेको सुन्दा चस्क्क मुटु दुख्छ।

यो बेला कोरोनाले सन्सारभरी नै हाहाकार बनाएको छ । न्यूयोर्क शहर अमेरिकाको प्रभावित शहर मध्यको एक हो । यहाँका थुप्रै मान्छेहरूले आफ्ना पृयमान्छेहरूलाई गुमाइ सकेकाछन् । कति खेर के हुन्छ भन्ने कसैलाई थाहा छैन । ग्रिनकार्ड बने देखि छौराछोरीको भविष्य बन्ने थियो भन्ने सपना देख्दा देख्दै नेपालमा आमाको मृत्यु भयो । उनलाई गाउँबाट शहरमा ल्याएँको थिएँ । सुख सयल दिएँ । पेटभरी खान पनि पाईन । भाइबहिनीले पनि राम्ररी पढे । तर आमा बिरामी हुँदा र अन्तिम क्षणमा साथ दिन सकिन । म ऐले कोरोना सक्रमित भएर एक्लै कोठामा थुनिएर बसेको छु । बेस्सरी ज्वरो आउँछ । घाँटी बेस्सरी दुख्छ । थुक निल्न पनि गाह्रो हुन्छ । दिनभरी हिलोआली गरेर थाकेको झैं थकित भएको छ शरिर । म मेरो जन्मस्थान पिस्कर सम्झन्छु । वाल्यकालमा गरेका रमाइला र दुखका पलहरू सम्झन्छु । मलाई छातीमा टाँसेर भारीमाथि राखेर हिंड्ने बुबालाई सम्झनुछु । माघे सक्रान्ती मेलाको क्षणिक रमाइलो र त्यस पछी भएको नरसंहार सम्झन्छु । म किन हाम्रा बुबाहरूलाई मारे होला प्रश्न गर्छु । अब म पनि यो कोरोनाबाट मर्छु होला । म मर्दा खबर गर्ने मान्छे पनि कोही छैन । म सोच्दै थिएँ । सास फेर्न गाह्रो मए जस्तो हुँदै थियो । छातीमा कुनै गह्रौ बस्तुले थिचे जस्तो भयो । रातको बाह्र बजेको रहेछ ।एक्कासी फोनको घण्टी बज्यो । मैले झस्कँदै मुष्किलले फोन उठाएँ । फोन बोक्न पनि गाह्रो भयो । फोनलाई हेण्डफ्रीमा राखेँ । उताबाट दुईजनाको आवाज आयो । आज जून महिनाको तेश्रो आइतबार एक्काइस तारिख हो । आज अमेरिकाको त फादर्स डे हो नी । ह्याप्पी फादर्सडे बाबा । We love you baba. छोराछरी दुबैको आवाज आयो । मेरा आँखाका कोशबाट तातो पानी लडेर गालामा ओर्लियो । सास फेर्न अलि सजिलो भए जस्तो भयो ।

प्रतिक्रिया