म प्रधानमन्त्री ओलीको समर्थक हैन, शुभ–चिन्तक

रमेश ढकाल भद्रपुर झापा (हाल दोहा, कतार) २०७७ असार ४ गते ११:३३ मा प्रकाशित

 


हाम्रा प्रधानमन्त्री ओली तपाईंलाई कस्तो लाग्छ भन्ने साथीहरुको जिज्ञासामा मैले अहिले भएका सबै शीर्षस्थ नेताहरूलाई हेर्दा प्रधानमन्त्री ओलीका ठाउमा फलानो चै प्रधानमन्त्री भैदिएको भए अहिलेको भन्दा राम्रो अवस्था हुनेथियो होला भन्ने खाले कोही पनि देख्दिन भनेर भन्ने गरेको छु।

यसो भनेर मैले प्रधानमन्त्री ओलीको अनावश्यक बूस्टिङ् गर्न खोजेको नठान्नु होला तर देशलाई जाति र क्षेत्रका नाममा टुक्रा टुक्रा हुन बाट जोगाउनका लागि वहाँले कुनै समयमा लिनु भएको स्ट्यान्ड्लाई हामीले मात्र नभएर हामी पछिको पुस्ताले पनि याद गर्ने छ। यसैगरेर देशको विकास र समृद्धिका लागि प्राधानमन्त्री ओलीले देखाउनु भएका रेल पानी जहाज लगायतका सपनाहरु ढिलो चाँडो एकदिन यथार्थमा रुपान्तरित हुँनै पर्ने भएकाले यि सबैकुरामा वहाँको आजको पहललाई हामी पछिको पुस्ताले पक्कै पनि सम्झने छ।

अझ मुलुकको राष्ट्रियता स्वाधीनताका पक्षमा वहाँले लिएका आडान र पहलहरुलाई हामी नेपालीले जुग जुग सम्म याद राख्ने छौं। अहिले वहाँको नेतृत्वमा भारत द्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका भूभागहरु फिर्ता लिनका लागि जुन पहलहरु सुरुभएका छन् यसको जतिसुकै प्रशंसा गरे पनि कम्तिनै हुन्छ।

यसो भनेर मैले प्रधानमन्त्री ओली भन्दा उत्तम अर्को कोही थिएन र हुँदैन भनेर भन्न खोजेको भने बिलकुल हैन। एउटा सँच्चा शुभ–चिन्तकका रुपमा वहाँका केही अभिव्यक्तिले कहिलेकाही धेरै दुखी पनि बनाउछ। सर्वहारा श्रमजीवी जनताको प्रतिनिधि पार्टिको एउटा उच्च नेता तथा प्रधानमन्त्री, जसले जीवनका विभिन्न कालखण्डमा अनेकौं दुखकष्ट जेलनेल भोग्नु पर्दा पनि कहिल्यै हिम्मत हारेन। त्यति धेरै धर्य र आत्मविश्वास भएको हाम्रो प्रधानमन्त्रीको हालै संसदमा बोल्नुभएका केही कुराले म जस्ता वहाँका थुप्रै शुभ–चिन्तक शुभेच्छुकहरुलाई निक्कै उदास बनाएको हुनुपर्छ।

वहाँ भन्दै हुनुहुन्थ्योः कुर्सी कसले किनेर ल्यायो, कतिमा किनेर ल्यायो भने जस्ता कुराहरु राष्ट्रपतीलाई थाहा हुने कुरा हो र? प्रधानमन्त्रीको निवासमा कार्पेट कहाँनेर राखियो, यो प्रधानमन्त्रीले थाहा पाउने कुरा हो र? यस्तो काम प्राधानमन्त्रीको हो र? कुर्सी कार्पेट कसले खरिद गर्यो, कहाँ राख्यो यो प्रधानमन्त्री राष्ट्रपतीले थाहापाउने कुरा हो र? आम जनताको अभिभावकका रुपमा प्रधानमन्त्रीको त्यस्तो रवैया देख्दा पञ्चयतिकालमा पढिने प्रगतिशिल कथा नाटकहरुमा मुखिया साहुकार महाजनको भूमिकामा देखिने ति अभिमानी सामन्ती पात्रहरु मेरो आँखा अगाडि झलझली आए।

हुनत टेक्निकल्ली यस्तो कुराको लेखाजोखा राख्ने काम राष्ट्रपती प्रधानमन्त्रीको पक्कै पनि नहुन सक्छ। तर यसो भन्दैमा वहाँहरुलाई यस्ताकुरामा बेखबर रहने छुट पनि त पक्कै हुँदैन होला? खास गरेर अहिलेको यो संवेदनशील अवस्थामा यहाँ एक एक रुपैयाँको महत्व छ। आम जनताहरु आफ्नो गांस काटेर एकअर्का संग शेयर गरेर छाक टार्दै गरेको अवस्थामा मलाई लाग्छ हाम्रो राष्ट्रपती प्रधानमन्त्रीले कुर्सी कारपेटको मात्र हैन दैनिक जीवनमा वहाँहरुले प्रयोग गर्ने हरेक कुराको मुल्य थाहापाएको हुनुपर्छ।

अझ भन्ने हो भने वास्तबमा वहाँहरुले अफुले तातो चिसो छल्न लगाउने नाना देखी ज्यान बचाउन खाने खाना तथा पिउने पानी यी सबै कुराहरुको लागत कति हुनेगरेको छ? यि कुराहरुको जोरजाम कसले र कसरी गर्ने गरेको छ? यो सम्पूर्णकुराको जानकारी हाम्रा राष्ट्रपती प्रधानमन्त्रीलाई हुनै पर्छ। यस्ता कुरा जान्ने तथा थाहापाउने हाम्रो काम हैन भनेर वहाँहरुले भन्न पाउनु हुन्न र यसो भन्नु भनेको एउटा सिंगो देशको अभिभावकका रुपमा हामी आम जनता प्रति अनुत्तरदायी हुनु हो।

अन्यथा कुनै दिन यहाँहरुको कुनै चाकरीदारले कमिशन खानका लागि या यहाँहरुलाई अतिरिक्त खुशी पार्नका लागि राष्ट्रको ढिकुटी खर्चेर पचास हजार अमेरिकी डलर पर्ने मोनार्क म्याट्रस् ल्याएर ओच्छाइदेला, त्यस माथि अत्यन्तै महंगा मखमल तथा रेसमी च्यादरहरु राखिदेला। त्यो अवस्थामा यो कसले ल्यायो? कतिमा ल्यायो? यो थाहा पाउने हाम्रो काम हैन भनेर अझ मख्ख परेर यहाँहरु त्यसमा आनन्द मानेर सुतिदिने? विलासी बस्तुहरुको सुखभोगमा रमाउने? कि हैट उता कति जनतालाई अहिले बिहान बेलुकाको हातमुख जोर्न समस्या छ, सिटामोल खान नपाएर ज्यान गुमाउनु पर्ने अवस्था छ। यस्तो अवस्थामा हामीले यस्ता विलासी बस्तुहरु कसरी प्रयोग गर्न सक्छौं भनेर त्यो सम्बन्धित व्यक्तिलाई भविष्यमा कुनै पनि यस्ता समानहरु फेर्नु पर्दा किन्नु पर्दा एकपटक आफुसंग परामर्श गरेर मात्र किन्ने फेर्ने गर्नु भनेर चेतावनी दिने नकि तिनै चाकरीदारहरुको पक्षपोषण गर्ने?

एउटा कम्युनिष्ट नेताका रुपममा यहाँले सधैं न्यूनतम कुरामा चित्त बुझाउनु भएको छ। विलासी जीवनको कहिल्यै चाहना राख्नु भएन। बरु त्यस्तो जीवनशैलीलाई सधैं घृणा गर्नु भएको छ भन्ने मेरो बुझाई रहेको छ र शायद यहाँहरुका कार्यकर्ताहरुले पनि यहींनै बुझेको हुनु पर्ने हो। यदि बुझ्नुभएको छ भने कदाचित् यहाँहरुले आफ्ना नेताहरु विलासी बन्दै गएको दिख्नु भयो भने उनिहरुलाई खबरदारी पनि गर्नुस्। असल कार्यकर्ता उही हो जसले आफ्नो नेताको राम्रो कामाको प्रशंसा मात्र गर्दैन, उसले बाटो बिराउन खोजे सचेत गराउछ र गलत कार्यको खुलेर बिरोध पनि गर्छ।

अहिले महामारीका कारण विश्व भरिनै एकप्रकारले त्राहि त्राहि मच्चिएको अवस्था छ। यो अवस्थाले सिर्जना गरेको आर्थिक संकट संग जुद्न विश्वका विभिन्न देशहरू ’ओभरहेड कस्ट्’ कसरी कम गर्न सकिन्छ भनेर कस्ट् कन्ट्रोलका लागि नयाँ नयाँ नीतिहरु अपनाइरहेको अवस्थामा हाम्रो देशमा भने यो बिषयमा अहिले सम्म कुनै स्पस्ट पहल हुन नसक्नु आमजनताका लागि निक्कै निराशाजनक छ।

देश गम्भीर आर्थिक संकटमा फस्दै गएको अवस्थामा हाम्रो सरकारले विभिन्न वरिष्ठ नेता, विशिष्ट व्यक्तिहरु लगायत सबै उच्चपदस्थ कर्मचारीहरुलाई दिदै आएको अतिरिक्त सुविधाहरु किन काटौंति गर्न सकिरहेको छैन? भोली देशको आर्थिक अवस्था सबल भएको खण्डमा ति सुविधा फेरी दिउला तर अहिलेलाई भने काटौं। अत्यावश्यकलाई छोडेर जिमखाना बनाउने, कुर्सी कार्पेट फेर्ने देखि अलिक ठुलो रकम खर्च हुनेखाले सरकारी कार्यालय र आवासका सबै खाले मर्मत सम्भारका कामहरुलाई आउदो एक दुई बर्ष सम्मका लागि किन नरोक्ने? अत्यावश्यकलाई छोडेर सबै प्रकारका गोष्ठी सेमिनार भोजभतेर तथा देश विदेशका भ्रमणमा खर्च गर्न छुट्याइएको बजेटलाई अहिलेको अवस्थामा आम नागरिकको जीवन बचाउने काममा किन डाइभर्ट नगर्ने? मत भन्छु, सरकारको पैसाले दौरासुरुवाल कोट लगायतका पोशाक सिलाउने मन्त्री माननीयहरुले पनि अब अरु नयाँ जोर पोशाक नथपौं, नकिनौं, प्लिज!

सरकारी बगैचाका दुबोहरु पनि पन्ध्र पन्ध्र दिनमा काट्ने गरेको भए, अब बाट महिनाको एकपटक मात्र काट्ने गरौँ। केही फरक पर्दैन, थोरै लागत कम हुन्छ। सरकारी कार्यालयहरुमा फाइल, फोल्डर, कलम कागज लगायतका सबै खाले स्टेशनरी देखी लिएर बिजुली पानी तथा टेलिफोन मोबाइलहरुको प्रयोग तथा खपतमा कडाईका साथ नियन्त्रण गरौं। यसो गरेर जोगिएको रकमले अभावमा रहेका हजारौँ गरीब किसान मजदुरहरुलाई साहयता पुर्याउन सकिन्छ।

समग्रमा, जसो गर्दा अथवा जे जे गर्दा सरकारको ’ओभरहेड कस्ट्’ कम गर्न सकिन्छ ति सबै विधिहरु अपनाउनुहोस्। एउटै नछोड्नुहोस्। नेता होस् या कर्मचारी, माथिल्लो तहका सबैले सामान्य जीवन शैलीको अभ्यास गर्नुस् र यसो गर्न अरुलाई पनि प्रेरित गर्नुस्। अरुका लागि उदाहरण सेट गर्नुस्। वास्तबमा यो बिषयलाई संसदमै छलफल गरेर तत्काल कार्यान्वयनमा लैजानु पर्ने थियो।

अर्को सबैभन्दा महत्वपूर्ण कुरा के हो भने भ्रष्टचारका बिरुद्धमा आज सम्म सरकारले गरेका पहलहरु बाट आम जनताहरु खासै सन्तोष छैनन्। प्रधानमन्त्री कुनै भ्रष्टचार अनियमितता नभएको र भएको भेटिएमा तुरुन्त कारबाही गर्ने आफ्नो प्रतिबद्धता बारम्बार दोहोर्याउनु हुन्छ। तर देखिएको सत्य के हो भने चाहे त्यो वाइडबडी जहाज खरिदको कुरा होस् या सेक्युरिटी प्रेस वा पछिल्लो पटक चिकित्सा सामाग्री खरिद प्रकारणमा देखिएको बदनियती होस्, यि सबैमा सरकारको भूमिका दोषी पत्ता लगाएर यथाशीघ्र कडा सजाय दिलाउने भन्दा पनि दोषी मानिएकाहरुलाई जोगाउन खोजेको जस्तो चै लाग्ने। बाध्यता बस कसैलाई कारबाहीनै गरेको भए पनि केही समय पश्चात ऊ सहजै धरौटीमा छुट्ने गरेको छ। यसले गर्दा अपराधीहरूलाई अहिले झनै सक्रिय बन्न हौसला मिलेको छ। म यो कुरा त्यतिकै गरिराखेको छुइन, भ्रष्टचार, घुस लगायतका अनियमितताका काण्डहरुमा जेल परेकाहरुहरु को को धरौटीमा रिहा भएका रहेछन्, कुन कुन समयमा रिहा भएका रहेछन् भनेर यहाँहरु जो कोहीले सजीलैसंग खोजेर हेर्न सक्नुहुन्छ।

समग्रमा भन्नु पर्दा आज मान्छे ठुला ठुला अपराध गर्न पनि विलकुल नडराउने भएको छ। हिजो आज ’डर’ मान्छेको मन मुटु बाट हराएको छ। भ्रष्टचारको के कुरा गर्नु, हत्या वा बलत्कारका समाचारहरुनै सामान्य लाग्न थालेका छन्। लगभग दुई तिहाई बहुमत भएको सरकार छ। प्रधानमन्त्रीको कुर्सीमा अत्यन्तै सख्त स्वभावको मानीने माननीय केपी शर्मा ओली हुनुहुन्छ भने जनयुद्ध बाट खारिएर आउनुभएका उत्तिकै खरो मानिने जोधा माननीय राम बहादुर थापा ’बादल’ देशको गृह मन्त्रीको कुर्सीमा हुनुहुन्छ। यो अवस्थामा अपराध वा अनियमितता गर्ने त के त्यस्तो कल्पना मात्र गर्ने हिम्मत पनि कसैले गर्न नसक्नु पर्ने हो। त्यस्तो सोच्दा मात्र पनि तेसको शरीर लगलगी काँप्नु पर्ने हो, हैन र? तर देशमा अझै दण्डहिनता मौलाउदै जानु भनेको अत्यन्तै दुःखद कुरा हो।

भाग बन्डाका आधारमा हुनेगरेका राजनीतिक नियुक्तिले राज्यका सम्पूर्ण सिस्टम तथा संयन्त्रलाई बर्बाद बनाएको छ। कृषि मन्त्री घनश्याम भुसाल, नेविप्राका प्रबन्ध निर्देशक कुलमान घिसिङ लगायतका केही अपवादलाई छोडेर भएका वा हुनेगरेका यस्ता नियुक्तिहरू प्राय सबै देश र जनताका लागि काम गर्ने भन्दा पनि राजनीतिक पार्टी र तिनका नेताका लागि अर्थोउपार्जन गरिदिनु रहेको हुन्छ भने कुरा एक प्रकारले ’ओपन सिक्रेट’ जस्तै छ। अधिकांस राजदूत तथा मन्त्रीहरूको नियुक्ति भाग बन्डाका आधारमा नै हुनेभएकोले उनिहरु अधिकतर कस्ता गतिविधिहरूमा सकृया हुँदा होलान् भनेर यहाँहरु स्वयम साहजै अनुमान लगाउन सक्नु हुन्छ।

फलानो मन्त्रालय, फलानो देशको राजदुत या फलानो संस्थाको नेतृत्व गर्ने अवसर मलाई प्राप्त भएको खण्डमा म तत् तत् काम÷योजनाहरु तत् तत् समयसीमा भित्रमा पुरा गरेर देखाउने छु भनेर हरेकलाई तोकिएको पद र जिम्मेवारी प्रति पहिलेनै प्रतिबद्ध बनाउने हो भने, सम्बन्धित ब्यक्तिसंग आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्न बाहेकको अर्को कुनै विकल्पनै रहने थिएन।

तर वास्तविकता के हुनेगरेको छ भने, तपाईंलाई फलानो मन्त्रालय÷पद दिएको खण्डमा तपाईं देश र जनताका लागि के के काम गरेर देखाउन सक्नु हुन्छ भनेर सोध्नुको बद्लामा तपाईंलाई फलानो मन्त्रालय÷पद दिएको खण्डमा म र मेरो पार्टीका लागि के कति पैसा जुटाउन सक्नु हुन्छ भनेर मोलमोलाई हुने गरेको छ र यो कुरालाई सबैले बुझेका छन्। तर ज्यादातर सबै बिकाउ भएका कारण यो बिषयमा कोही बोल्न चाँहदैनन्, अन्यथा यो सबैका लागि एउटा ‘ओपन सिक्रेट’ जस्तै हो।

हाम्रो मुलुकमा हुनेगरेका सबै खाले भ्रष्टचार अनियमितताको प्रमुख जड भनेकै यहीं नै हो। जब सम्म यस्ता प्रकारका राजनीतिक कुसंस्कारहरुलाई हामी जरै संग उखेलेर फ्याक्न सक्दैनौं यहाँ जुनसुकै राजनीतिक ब्यवस्था होस् वा सरकार हाम्रो देश र हामी जनताको भाग्यमा आमुल परिवर्तनको अपेक्षा गर्नु भनेको हाम्रो मुर्ख्याइँ मात्र हुनेछ।

एउटा कम्युनिष्ट नेताको संस्कार जीवनशैली कार्यप्रणाली र उसले जनतालाई गर्ने व्यवहार अत्यन्तै शालीन र आदर्शवान हुनुपर्छ। आम जनता कार्ल कार्ल मार्क्सलाई चिन्दैनन्, मावत्सेतुङलाई पनि जान्दैनन्। चिन्छन् त सबैखाले भ्रष्टचर तथा सोषण, दमन र उत्पीडनको बिरोध गर्दै न्याय र समानताको पक्षमा आवाज उठाउँने जनपक्षिय नेताहरुलाई चिन्छन्।

एउटा नेता तथा जनप्रतिनिधिको जीवनशैलीले राजनीति र समाजलाई मार्ग निर्देश गर्छ। आज उपल्लो तहमा रहेका नेताहरुले जे जे गर्छन् भोलिकाले यसैको अनुसरण गर्दै जाने हुन्। त्यसैले व्यवस्था, संरचना, पात्र परिवर्तन गर्यौं, तर ’प्रवृत्ति’ परिवर्तन नभए सम्म आम जनताका अपेक्षा पुरा हुन सम्भव नहुने रहेछ भनेर गुनासो गरिरहनु पर्ने आजको स्थितिको चाँडै अन्त्य होस् र एउटा शुभ–चिन्तकको रुपमा यसको श्रेय पनि प्रधानमन्त्री ओलीलाईनै जाओस् भन्ने कामना गर्दछु।

रमेश ढकाल
भद्रपुर झापा (हाल दोहा, कतार)

प्रतिक्रिया