काठमाडौंका सवारीको गति कसले र कहिले नियन्त्रण गर्ने ?

अर्चना शर्मा २०७७ जेठ ३१ गते २३:१४ मा प्रकाशित


केही दिन अगाडि म वालवाल वचे । घटना सम्झदा मेरो शरिर अझै कामिरहेको छ । शिक्षण अस्पतालवाट चुनदेवीतर्फ जानु थियो । सडकमा त्यति चाप पनि थिएन । दाहिने मोडिनका लागि सिग्नल लाइट वाले र विस्तारै लेन चेन्ज गर्न थाले । एउटा गाडी यस्तरी हुंइकिएर आयो कि त्यो गतिवाट उत्पन्न हावाको झोंकाले मेरो गाडी समेत झण्डै पल्टिएको थियो । सातो नै गयो । त्यो गाडीको गति हेर्दा म कतै जर्मनीको अटोवानमा त छैन जस्तो भ्रम भयो, किनकी अटोवनमा कुनै स्पीड लिमिट कायम गरिएको छैन ।

लकडाउनको समयमा काठमाडौंका सडकका खाल्डाखुल्डी पुरिएको छ । सडक लेनहरुलाई रिमार्किंग गरिएको छ । सवारी र यात्रुहरुलाई सहज वनाइएको छ । सडकहरु खुल्ला भएका छन् । सडकको अवस्थामा सुधार आएपनि चालकको मनस्थितिमा सुधार आएको छैन । खुल्ला सडक देख्नासाथ सवारीको गतिलाई असिमित वनाइदिने चालकहरुको गलत प्रवृतिले राजधानी र देशका प्रमुख राजमार्गहरुलाई निकै असुरक्षित देखिएका छन् ।

काठमाडौं निकै भीडभाडपूर्ण राजधानी हो । राजधानीको सडकको अनुपातमा सवारी साधनहरु निकै वढी छन् । लकडाउनको समयमा वाहेक विहानदेखि मध्यरातसम्म राजधानीका मुल सडकदेखि गल्लीहरुसम्म अत्यन्त भीड हुन्छन् । पैदल यात्रुहरु समेत स्वतन्त्र हिंड्न पाउंदैनन । राजधानीका असन, इन्द्रचोक, न्यूरोड देखि दर्जनौ स्थानमा हिंड्नका लागि समेत लाइनमा वसेजस्तो महसुस हुन्छ । तर यस्ता व्यस्त गल्लीहरुमा समेत असिमित गतिमा सवारीहरु पस्छन् र त्राहीत्राही वनाउंछन् ।

राजधानीको ट्राफिक प्रहरी महाशाखामा प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकाल आएपछि सुधारका निकै काम भएका महसुस भएको हो । समस्या राज्यमा मात्रै होइन, जनतामा पनि हुन्छ । सवारीको क्षेत्रमा कुरा गर्दा धेरै समस्या चालकहरुमा पनि छ । सवारीको गति नियन्त्रण नगरिदिने, लेन अनुशासन पालना नगरिदिने, पेलेर जाने, सवारीलाई फुटपाथमा हालिदिने जस्ता दर्जनौ समस्याहरु छन् । विकसित मुलुकहरुका सवारी चालक सम्वन्धी नियममा साइकल होस् वा मोटरसाइकल होस्, तिनीहरुलाई समेत अर्को लेनमा नगइ ओभरटेक गर्न पाइदैन, साइकल वा मोटरसाइकललाई पुरा लेन उपभोग गर्ने अधिकार हुन्छ । नेपालमा पनि दुइ पांग्रे सवारीहरुलाई समेत सम्मानका साथ लेन दिनुनपर्ने नियम वन्नुपर्ने अवस्था सिर्जना भएको छ किनकी धेरै साइकल चालकहरुलाई ठुला सवारीहरुले पेलेको मैले धेरै पटक देखेकी छु । राजधानीको दुर्घटना कम गर्न मादक पदार्थ सेवन (मापसे) चेकजांच ले पनि निकै सहयोग पुर्याएको थियो र यस्तै अन्य प्रभावकारी कदमहरु थप्नु पर्ने आवश्यकता दिनदिनै वढ्दै गएको छ ।

हिजो अस्ति हामी जाम, धुलो, धुवाँ र बिग्रेको सडकमा कुद्नेहरुका लागि अहिलेको सडक सपनाको सडक जस्तो भएको छ । जसको सवारी साधनको गति हेरे पनि कन्ट्रोल नै छैन । कताबाट के हुईकिएर आउँछ पत्तै हुदैन ।त्यसैले होला सधै भन्दा सडकमा २५ प्रतिशत मात्रै गाडी गुड्दा पनि दुर्घटना भएका समाचार आइरहेका छन । पछिल्लो लकडाउनको समयमा भएका दुर्घटनामा परेकाहरुको बाच्ने चान्स एक दमै कम रहेको छ । कर्मचारी सन्चयकोषकी कर्मचारीको स्कुटर दुर्घटना होस या केहीदिन अघि रबिभवनमा भएको दुर्घटना होस । भक्तपुरको सडक डिउटीमा रहेका प्रहरीलाई ठक्कर दिएर मारेको घटना होस वा गोङबु बिजी मल अगाडि भएको स्कुटर दुर्घटना होस, सबै दुर्घटना अन्य कुनै कारण नभएर ओभर स्पिड कै कारण भएका हुन् ।

काठमाडौं बाहिरको कुरा गर्ने हो भने १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किनेलाई पुर्याउन गएको गाडी सडकमा बिग्रेर रोकिएको ट्रकको पछाडि गएर ठोक्किदा भएको दुर्घटनमा मृत्यु भएका दर्जन भन्दा बढीको घटना होस वा कैलालीमा बाटोमा हिडिरहेका आमा छोरीलाई ठक्कर दिएर मारेको घटना होस । लकडाउनको समयमा पनि लगातार दुर्घटनाको समाचार पढ्नु पर्यो र ती सवै दुर्घटनाहरु असिमित गतिका कारण भएका थिए ।

लकडाउनका समयमा अति आवश्यक र सेवादायी बाहेक गाडी गुडेको थिएनन् । सडक खाली खाली थिए तर पनि किन दुर्घटना भइरहे ? दुर्घटना पनि यस्ता प्रकृतिका थिए कि अधिकांस बाच्ने सम्भावना नै थिएन , ज्यानै लिने खालका दुर्घटना । कोरोना संक्रमणका कारण ८१ दिन देखि घरभित्र बन्दी भएर बसेका जनताहरु काम बिशेषले सडकमा निस्किनु पर्दा आफुलाई गुडबाट पखेटा हालेर निस्केको चरा नै सम्झिन थालेका छन । आजकल सडकमा गुड्ने भन्दा उड्ने चै धेरै देखिन्छन । पहिला सडकमा भीडभाड हुदा ट्राफिक प्रहरी सडकमै बसेर नियन्त्रण गरिरहेका हुन्थे, सडक बत्ती बल्थे, जेब्रा क्रसिङ, मोडहरु, क्रसरोड आउना साथ स्वत स्पिड कन्ट्रोल गरिन्थ्यो तर आजकल ट्राफिक त देखिन्छ्न तर सडक किनारामा उभिरहेको मात्रै, ट्राफिक लाईट कतै बलेको हुदैन, बाटोकाट्ने मान्छेको हुल नहुदा जेब्राक्रसिङमा ब्रेक पनि थिचिदैन नत क्रसरोड या मोडमा नै थिचिन्छ । गियर चेन्ज पनि खासै गरिरहनुपर्दैन एउटै स्पिडमा सवारी साधन गुडेका देखिन्छ्न ।

अब मेरो प्रश्न यो स्पिडमा कन्ट्रोल कसले गर्ने ? ड्राइभर स्वयमले या ट्राफिक प्रहरीले ? सवारी दुर्घटना गराउनेलाई नेपालको प्रचलित कानुन पनि कडै छ । कानुन कडा भएर पनि नहुदो रहेछ । जबसम्म मान्छेमा चेतना रहन्छ कानुनको कुनै आवश्यकता पर्दैन, प्रहरी चाहिदैन तर जब मान्छेको चेतनालाई उत्तेजनाले जित्छ त्यो बेला दुर्घटना भइसकेको हुन्छ त्यहाँ पनि कानुन काम लाग्दैन र प्रहरीको काम खाली मुचुल्का उठाउने र दोषीलाई सजाय दिलाउने मात्रै रहन्छ तर पिडितले न्याय त पाउदैनन । अनाहकमा एउटाको ज्यान गैसकेको हुन्छ र बांकी रहन्छ उसका पछाडी उ माथी आश्रित परिवारको बिजोग र एउटा कहिले निको नहुने मुटुको घाउ ।

एकातिर कोरोना भाईरसका कारण जनतामा पर्न गएको आर्थिक बोझ, रोग सर्ला भन्ने त्रास, लकडाउनमा बस्दा राखिएको सामाजिक दुरी, जागीर गएको पीडा, पारिवारिक आवश्यकताको टेन्सन, छोराछोरीको पढाईको चिन्ता, सबैजना एकैपटक बेरोजगारी हुदा पर्न गएको मानसिक असर आदिका बीच कोही सडकमा निस्किन्छ भने त्यहा अलिकति उसको मानसिक अवस्था, अलिकति नयाँ परिस्थिति र बाताबरण, अलिकति नयाँ स्पिडमा दौडिने रहर सबैले एकैपटक काम गर्दा अनाहकमा एउटा सुन्दर जीवन सडकमा किचिएर बिदा भएको सुन्नु पर्ने बाध्यताको अन्त्य गर्न र दुर्घटना कम गराउन सम्बन्धित सबै पक्षले बेलैमा सोच्नु पर्ने बेला आएको छ ।

संघीयताले गाऊगाऊमा सिंहदरवार निर्माण गरिदिएला, राजधानी भित्रिएकाहरु आफ्नै गाऊमा फर्किएलान जसले सवारी चाप घट्ला, दुर्घटना कम होलान् भन्ने अपेक्षा गरिएको थियो । तर छोटो समयमा नै संघीयता असफल भइसकेको छ । गाऊगाऊमा सरकार त गठन भएका छन् तर तिनीहरुको कुनै अधिकार छैन । स्थानीय सरकारले आफुले जागिर खाने वाहेक जनताले लाभ पाउने केही अवसर सिर्जना गर्न सकेका छैनन । जसले अव राजधानीको चाप घट्ला भन्ने कुनै संकेत देखिएको छैन । यही अवस्थामा वढिरहेका सवारी र असिमित गतिले कति दुर्घटना वढ्दै जालान अनुमान पनि गर्न सकिन्न । अव सडक दुर्घटना घटाउने विषयमा सरकार र चालक दुवैको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया