डा. गोबिन्दसिंह रावत, टोरन्टो,
एयरपोर्टबाट आमालाई आफुले चलाउने टेक्सीमा घर ल्याएपछि सुमनले भित्तामा झुण्ड्याइएको क्यालेण्डरमा पहेलो मार्कर पेनले सेप्टेम्बर २९ मितिमा चिन्ह लगायो । सुमनको ७ वर्षको छोरोले, के गरेको बुवा भनेर सोधेपछि सुमनले पहिलोपटक आमाले विदेशमा पाइला टेकेको मितिमा चिन्ह लगाएको भनेर उत्तर दियो । सुमन आज आफैमा दङ्ग थियो किनभने आमालाई अमेरिकामा ल्याएर डुलाउने उसको धोको पुरा भएकोमा थियो ।
सुमन नेपालको एउटा मानव अधिकार संस्थामा काम गर्दै आएको थियो । त्यहीँ संस्थाका माध्यमबाट सुमन पाँच वर्षअघि अमेरिका पसेको थियो । सुमनले काम गर्ने संस्थाबाट संस्थाका संस्थापकले आफ्ना आफन्तसँगै केही कर्मचारीहरूलाई पनि अमेरिका पुग्ने मौका दिएको थियो । सुमनले पनि अमेरिका आउनका लागि हाकिमलाई हारगुँहारसँगै उपहार पनि दिएपछि बल्ल सियाटलको एउटा कन्फरेन्समा आउने मौका पाएको थियो ।
आफ्नो जीवनको नयाँ अध्याय शुरू गर्न सुमन आमा बुवा, श्रीमती र दुई वर्षको छोरालाई छोडेर सियाटल पुग्छ । चार दिनको तालिममा सहभागी भएर अमेरिकाको बारेमा बुभ्mने मौका पाउछ । न्युयोर्कमा आफुले चिनेको एकजना मित्रका बारेमा जानकारी पाएपछि तालिमपछि सुमन न्युयोर्कमा आएको थियो । अनि उसले न्युयोर्कलाई नै आफ्नो कर्म थालो बनाएर बस्दै आएको छ ।
न्युयोर्क आएपछि मित्रको सहयोगबाट एउटा ईत्तर बेच्ने होलसेल कम्पनीमा काम गर्न थाल्यो । कम्पनीकै सहयोगमा सुमनले तीन वर्षपछि अमेरिकाको स्थाई बासिन्दाको प्रमाणपत्र पाउन सफल भएको थियो । अनि दुई वर्षमा श्रीमती र छोरालाई पनि अमेरिका झिकाउन सफल भएपछि सुमन सपरिवार न्युयोर्कमा बस्दै आएको छ । परिवार आएपछि सुमनले कम्पनीको काम छोडेर टेक्सी चलाउन थाल्यो ।
परार सुमनको बुवा बितेपछि ऊ नेपाल गएको थियो । बुवाको काजक्रिया पछि आमाले सुमनलाई बुवाको अम्रिका हेर्ने धोको बारे सुनाउनु भएको थियो । बुवाको ईच्छा पुरा गर्न नसके पनि सुमनले आमालाई अमेरिका देखाई छाड्ने बाँचा गरेर एक महिनाको बसाईपछि अमेरिका फर्क्यो ।
दमका रोगी आमालाई हवाई जहाज चढाएर सात समुद्रपारी अमेरिका पुराउने बाँचा गरेकोले नेपालबाट फर्केपछि सुमन वकिलको कार्यालय धाउन थाल्यो । कम्पनीको काम छोडेर टेक्सी चलाउन थालेपछि आम्दानी पनि बढ्न थालेपछि सुमनले न्युयोर्कको लङ्गआईल्याण्डमा एउटा घर पनि जोड्न सफल भएको थियो । त्यसैले यसपटक आमालाई अमेरिका बोलाएर दशैं मनाउने धोको पुरा गर्न ऊ वकिलको कार्यालय धाउन थाल्यो । दुईपटकसम्म आमाले भीसा नपाउदा पनि ऊ निरास नभईकन् प्रयास गरीनै रह्यो । अन्ततः यसपटक भीसा पाएपछि आमालाई अमेरिका डुलाउने कार्यक्रम बनाएको थियो।
आमालाई अमेरिका ल्याएपछि सुमनको घरमा सधै नै रमाइलो हुन थाल्यो । आफुले भ्याएसम्म आमालाई अमेरिकाको शहरहरु डुलाई रह्यो । यसपटकको दशैं सुमनलाई मात्र नभएर न्युयोर्कमा बस्ने उसका ईष्टमित्रहरुका लागि पनि खास बन्न गएको थियो । आमाको हातको टिका लाउनेहरुको लस्करै लागेको थियो । आमालाई एक वर्षको दशै नेपालमा र अर्को वर्षको दशैं सुमनसँग अमेरिकामा मनाउने बाँचासमेत राखेर मार्चको २६ तारिख फर्कने मिति तय गरेर एकजना परिवारसँगै पठाउनका लागि टिकट मिलाई सकेको थियो । आमासँग बरोबर सम्पर्कमा बस्नका लागि सुमनले आईफोन र आईपेड पनि किनेर दिई सकेको थियो । आमा दमको रोगी भएकोले नजिकैको ईण्डियन डाक्टरलाई देखाएर ईन्हेलर पनि किनी दिएको थियो।
मार्चको शुरुतिर सुमनलाई दिउसो अचानक खोकीसँगै घाँटी खसखसाउन र जिउ रन्न भए जस्तो लागेपछि ऊ आत्तियो । ऊ प्रायः ज्याक्सन हाईटमा दामोदरको रेष्टुरेन्टमा खाजा खान जाने गर्थियो । खाजा खाँदै टेलिभिजनमा समाचार हेरेर विश्वभरीनै कोरोना भाईरसको प्रकोपका बारेमा थाहा पाएको थियो । अझ न्युयोर्क शहरमा दैनिक हजारौंको संख्यामा मानिस मार्ने गरेको समाचारले ऊ झन आत्तिएको थियो । आफुलाई लगातार खोकी लागेपछि सुमनलाई डर लाग्न थाल्यो । केही दिनअघि आफु बिरामी लिएर अस्पतालमा गएको र अस्पतालबाट यात्रु लिएर फर्केको सम्झेपछि सुमनलाई झन बढी डर लाग्न थाल्यो।
त्यस दिन सुमन खाजा खाएपछि दिउसै घर फर्क्यो । अनि भोलीपल्ट डाक्टरसँग सम्पर्क गर्यो । डाक्टरले सबै टेस्ट गरेपछि रोगको कुनै लक्षण नदेखिए पनि ज्वरोको कारण कतै कोरोना हुन सक्ने सङ्कामा उनलाई १४ दिन सम्म कसैको सम्पर्कमा नआउने गरी बेग्लै बस्नु भनेपछि ऊ घरकै बेसमेन्टमा रहेको एउटा कोठामा सम्पर्कहीन भएर बस्न थाल्यो ।
सुमनलाई दिनभरी टेलिभिजनमा कोरोना महामारीको समाचार सुनेर समय काटी रहनु परको थियो । चीनबाट शुरु भएको कोरोना संक्रमण रोग दक्षिण कोरिया, ईरान, ईटाली, फ्रान्स, जर्मन हुँदै अमेरिकामा पनि बढ्दै गएको थियो । दैनिक हजारौं मानिसहरुको मृत्युको खबरले विश्वलाई नै त्रसित पारेको थियो । संक्रमण रोगका कारण मानिसहरुको दैनिकी माथि नराम्ररी प्रभाव पार्दै जान थालेको थियो । कलकारखाना, व्यापार, शैक्षिक संस्था, कार्यालय, यातायात सबै बन्द हुँदै जान थाल्यो । कोरोनाको प्रकोप अमेरिकाको न्युयोर्क शहरमा जंगलमा डढेलो लागे झै अनिन्त्रित भएर फैलन थाल्यो । स्वसुरक्षाका लागि मानिसहरु आआफ्नो घरमा कैद हुँदै जान थाले । अमेरिकाबाट बाहिर र अमेरिका आउने सबै उडानहरु रोकिएपछि आमा पनि नेपाल फर्कनबाट रोकिनु भयो । आमा रोकिएकोमा सुमनलाई एकातिर केही समय अझै आमाको वात्सल्यमा बस्नु पाउने भएकोमा खुशी थियो भने अर्कोतिर फैलदै गएको संक्रमण रोगबाट पनि तर्सिएको थियो ।
एकान्तमा बसेको अवस्थामा पनि सुमनले आमा र छोरासँग आईपेडबाट कुरा गर्दै समय काट्दै आएको थियो । श्रीमतीले पनि पूर्ण सतर्कताका साथ सुमनको खाने व्यवस्था मिलाउदै आएकी थिईन्।
आफु एक्लै सबेको तेहैं दिन अचानक आमाले टाउको दुख्ने, रिङटा लाग्ने, मुटु पोल्ने र कमजोरी भएको भनेपछि सुमनको श्रीमतीले जसोतसो गरेर आमालाई अस्पताल
पुर्याइन । अस्पताल पुग्नासाथ डाक्टरले परिक्षण गरेपछि भेन्टिलेटरमा आमालाई राखेको समाचार लिएर श्रीमती घर फर्किन । आमालाई अस्पतालमा भर्ना गराए पनि सुमन अस्पताल जान सक्दैनथ्यो । शहरभरी नै महामारीको प्रकोप बढी रहेको थियो । आमाको अवस्थाका बारेमा फोनबाट नै सूचनाको आदान प्रदान हुँदै थियो । आमालाई राखेको तीन दिनपछिनै डाक्टरले आमाको अवस्थाका बारेमा जानकारी गराएर अब भेन्टिलेटरबाट हटाउनु पर्ने भनेपछि सुमन स्तब्धमा भयो । भेन्टिलेटरबाट हटाउनु भनेको आमालाई गुमाउनु हो । घरमा रुवाबासी शुरु भयो । नेपालमा समाचार पु¥याउनै गाहे। भयो ।
आफुलाई कोरोना नभएको प्रमाणित गराउन सुमनले डाक्टरलाई भेटेर लिखित प्रमाण लियो । अस्पतालमा जान पनि त्यसबेला उचित थिएन । अस्पतालले केही दिनपछि पार्थिक शरीर बुज्न आउनु भनेकोले सुमन दिन गनेर थाल्यो । आमाको देहावसानको खबर पाएर पनि आमालाई हेर्न अस्पताल जाने अवस्था थिएन । अस्पतालबाट जानकारी नआएसम्म नआउन भनेकोले ऊ किकर्तव्यविमूढ भएर अस्पतालको फोन कुरेर बस्न बाध्य थियो । चार दिनपछि अस्पतालबाट आमाको पार्थिक शरीर लिन आउने समाचार पाएपछि सुमनले न्युयोर्कमा रहेका फ्युनरल होममा (अन्त्येष्टि गृह) सम्पर्क गर्न थाल्यो । दैनिक हजारभन्दा बढी मानिसहरुको मृत्यु भईरहेको न्युयोर्क शहरमा आमाको अन्त्येष्टिका लागि कतैबाट पनि सकारात्मक र सहयोगात्मक उत्तर पाएन । अन्त्यमा हार खाएर सुमनले बल्ल तल्ल एउटा फ्युनरल होमहरुमा आफै पार्थिक शरीर ल्याउने शर्तमा आमाको अन्त्येष्टि गर्ने व्यवस्था मिलायो । त्यसपछि आमाको पार्थिव शरीर ल्याउनका लागि खोजतलास गर्दै बल्लतल्ल एउटा फर्निचर पसलसँग सम्पर्क गरेर कफिन बनाएर अस्पताल पुग्यो।
अस्पतालको अवस्था देखेर सुमन आफै आत्तिन थाल्यो । अस्पतालको गेटमा नै बिमारीहरुको भीड देखिन थाल्छ । कोरोनाको प्रकोपले गर्दा परिवारलाई फ्युनरल होममा नै पठाएर सुमन एक्लै आमाको पार्थिव शरीर लिन अस्पतालको शवगृह पुगेको थियो । शवगृहमा कोठाभरी शवै शवको थुप्रो छ । फोनबाट कुरा भए अनुसार र उसले पाएको नम्बर लिएर अस्पतालको शवगृहमा पुगेर एकजना अधिकारीसँग सम्पर्क राखेर आमाको नाम र जन्म मिति टिपाउँछ । शवगृहमा सुमन जस्तै आफ्नो प्रियजन गुमाएकाहरुको रोदनका गुञ्जनहरु मात्र सुनिन्छ । सुमन सँगै उभिएको पुरुष डाको छोडीछोडी “मामी टे आमो” भन्दै रोईरहेको देखेर सुमन पनि आफुलाई थाम्न सक्दैन । ऊ पनि रुन थाल्छ । शवगृहमा भएका हजारौं शव मध्ये आमाको शव भेट्टाउन अस्पतालको कर्मचारीलाई विन्ति गर्न थाल्छ । आमाको शव खोज्नै गाहे भई रहेको थियो । त्यहाँ भएको सबैनै शवहरुलाई विशेष प्रकारले कपडामा बेरिएको थियो । अनि त्यसलाई प्लास्टिकको ब्यागमा राखिएको थियो । बल्ल तल्ल एकजना कर्मचारीले आमाको नामलाई बिगारेर उच्चारण गर्दै मेलडी (मालती) थापर (थापा) ईज हेयर भनेपछि आमाको शव बुझेर कफिनमा राखेर कर्मचारीहरुको सहयोगमा शवगृहबाट बाहिर ल्याउछ । बाहिर आएपछि सुमनले शवमा झुण्ड्याएको नेम टेग (नामको पर्चि) हेर्दा प्रष्टै मेलाडी थापर र जन्म मिति लेखेको देखेपछि उच्चारण प्रष्ट गर्न नसकेर मालती थापालाई ( मेलाडी थापर) भएको हुन सक्ने तर जन्म मिति र शहरको नाम मिलेको देखेर आमाको पार्थिव शरीरलाई कफिनमा राखेर सुमन फ्युनरल होमतिर लाग्छ ।
फ्युनरल होममा श्रीमतीलाई देखेपछि सुमन रुने माध्यम पाए जस्तै गरी फेरी रुन थाल्छ । सुमनकी श्रीमती आफ्नो श्रीमानलाई ढाडस दिदै जान्छे । फ्युनरल होमका दुईजना कर्मचारी कफिनलाई विद्युतीय शवगृहमा ल्याएर राख्छन् । फ्युनरल होमका कर्मचारीहरु शवलाई बन्द कफिनमा नै विद्युत गृहमा राख्न चाहन्छन् तर सुमन एकपटक भए पनि आमाको दर्शन गर्न र छोराको कर्तब्य पुरा गर्न दागबत्ति दिनका लागि मुहार मात्र उघार्न अनुमति माँगेर पञ्जा लगाएर विस्तारै पलाष्टिक र कपडा काट्न थाल्छ ।
आमाको अन्तिम दर्शन गर्न पलाष्टिक र भित्रको कपडा च्यातेर हेरपछि सुमन नराम्ररी तर्सन्छ । ऊ आमा खोई भनेर चिच्याउनप पुग्छ । सुमनले आमा भनेर ल्याएको पार्थिकव शरीर कुनै अपरिचित महिलाको हुन्छ । ऊ त्यहीँबाट अस्पतालमा फोन गरेर लाश साट्टिएको बारे जानकारी गराउँछ । अस्पतालको शवगृहका कर्मचारी उनलाई कोरोना भाईरसबाट मृत्यु भएका व्यक्तिहरुको शव रहेको ठाँउमा आमाको शव आफै आएर खोज्न जानकारी गराउछन् । हजारौं शवहरुलाई पलाष्टिकमा बेरेर राखेकोमा आमालाई कसरी खोज्ने । यदि त्यहाँ कोरोना भईरसबाट मर्नेहरुको शव नभएको भए सुमन आफुनै गएर प्रत्येक शव हेर्दै आफ्नो आमालाई खोज्ने थियो । तर त्यो सम्भव थिएन । आफैलाई कोरोना भाइरस संक्रमणको जोखिम हुने भएकोले सुमनलाई फर्केर जान आटै आउदैन । किकर्तव्यविमूढ सुमन आफुलाई आफैले ढाडस दिदै ती अपरिचित महिलामा आफ्नो आमालाई प्रतिविम्वित गर्दै पुत्र कर्तब्य पुरा गर्दै दागबत्ति दिन्छ । अनि घर फर्केर आफुले सकेअनुसारले काजक्रिया गर्न थाल्छ ।
अहिले न्युयोर्क शहरमा चल्ने टेक्सी मध्ये सुमनको टेक्सी सबैले चिन्न थालेका छन् । सुमनले आफ्नो टेक्सीको पछाडिको ऐनामा “मामी टे आमो” (स्पेनिज भाषमा आमा म तिमीलाई माया गर्छु) लेखेर राखेको छ ।
(सत्य घटनामा आधारित – मई, २०२०)
प्रतिक्रिया