कोरोना व्यवस्थापनका सवालहरु

अच्युत कुइकेल रजिष्ट्रार(सहसचिव) प्रशासकीय अदालत २०७७ जेठ २९ गते ११:१० मा प्रकाशित

 

विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोनाका कारण मुलुक यतिखेर लकडाउनको अवस्थामा छ ।यो भाइरसले निम्त्याएको जटिलता संगै हाम्रा सामाजिक गतिविधीहरु ठप्प प्राय: छ ।संक्रमणको सन्त्रासमा घर भित्र बस्न बाध्य भएका आम नागरिकहरुका सामु राज्यले गरेको निर्देशनात्मक अनुरोधलाइ स्वीकार गर्नुको विकल्प पनि देखिंदैन । भौतिक रुपको निकटताले निम्त्याउन सक्ने समस्याका कारण आम नागरिकले सामाजिक सुसम्बन्ध कायम गर्दै भौतिक दुरी कायम राख्न जरुरि देखिएको हो।व्यक्ति व्यक्ति बिचको प्रभावकारी सम्बन्धका आधारमा गतिशिल हुने समाज मानव जिवनका हरेक पाटोमा कामयाव रहि आएको छ ।व्यक्तिका आधारभुत आवश्यकताको परिपुर्तिमा समेत समाजको अर्थपुर्ण उपस्थिति अपरिहार्य रहन्छ । वर्तमान विश्वमा अदृश्य भाइरसले जुन परिस्थिति निम्त्याएको छ ,त्यसको सामना गर्न राज्यले लिएका कदम आत्मसात गर्दै सामाजिक एकता एवं सदभावका साथ व्यक्तिगत रुपमा आम नागरिक जिम्मेवार र जवाफदेही बन्नुपर्ने देखिन्छ।

स्वतन्त्रताको प्राप्ति र प्रत्याभुतिका सवालमा विश्वमा भएका अनेकन आन्दोलन ,संघर्ष र बलिदानीबाट व्यक्तिलाइ प्राप्त संवैधानिक, कानुनी लगायतका स्थापित अधिकारहरुलाइ प्रकृतिले निलम्बन गरेको जस्तो अवस्था छ ।विश्वको कुनै पनि शक्तिले चाहेर मात्र शायद वर्तमानमा भए जस्तो बन्दीको अवस्था सिर्जना गर्न सम्भव छैन । यस्तो विषम परिस्थितीमा सार्वभौम मुलुकहरु आफ्ना नागरिक र व्यक्तिहरुको जिउ ज्यान रक्षाका जुटिरहेको देखिन्छ।

कोरोना भाइरसको व्यापकता र यसको नियन्त्रणमा अपेक्षाकृत रुपमा सफलता प्राप्तिमा भएको ढिलाइका बीच मानव जिवन रक्षार्थ गहन कदम चालिनुपर्ने जरुरी देखापरेको छ ।बन्दाबन्दीको अवस्थामा अत्यावश्यक काम कारवाहीको बहाना बनाइ अन्य नियमित कामकारवाही गर्न खोज्नु ,अनावश्यक यात्रा गर्न खोज्नु, राहत संकलन वा वितरणका नाममा भिंडभाड गर्न खोज्नु सुखद पक्ष होइन । गुणात्मक रुपमा फैलावट रहेको कोरोनाको संक्रमणबाट पीडित बनेको विश्वको अनुभव बाट हामी थप सतर्क र संवेदनशिल हुनु जरुरी देखिएको छ । आफैंलाइ नपरे सम्म नचेत्ने मुर्ख्याइं हामीले गर्नु हुँदैन । प्रविधिले विश्वलाइ नै एक बनाएको सन्दर्भमा विकसित भएका सुचना प्रविधिको बुद्धिमत्तापुर्ण उपयोग हुन सक्ने हो भने सकारात्मक सन्देश प्रभावबाट आम नागरिकका दैनिक जिवनलाइ थप सहज बनाउन सकिन्छ ।कोरोना भाइरसका कारण फैलिएको कोभिड १९ ले व्यक्तिको पद पहुच राष्ट्र धर्म बर्ण लिङ्ग केहि नहेरी कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिलाइ पहिलो निसानामा पारेको देखिएको छ । डिजिटल संसारको उपयुक्त प्रयोग बर्तमानको आवश्यकता बनेको छ।

यो संक्षिप्त आलेख तयार पार्दा सम्म कोरोनाका कारण विश्वमा ७३६०२३९ व्यक्ति संक्रमित भएकोमा ३४५४८०७ जना निको भइ घर फर्किएका र कुल ४१६२०१ ले ज्यान गुमाउनु परेको अवस्था देखापरेको छ ।नेपालमा कुल संक्रमित ४३६२ रहेको र ६७४ जना निको भएकोमा कुल १५ जनाले ज्यान गुमाउनु परेको तथ्याङ्क देखिएको छ।

संकट प्रिय हुने विषय हुँदै होइन ।मानवको भौतिक अस्तित्व नै नरहे मानवको जिवन यापन सन्चालनका सहायक वस्तुहरुको कुनै औचित्य नरहने कसैले भुल्नु हुँदैन ।यस विषम परिस्थितिले हामी कति सजग ,सतर्क र संवेदनशिल छौं भन्ने पनि बोध गराएको छ ।सहज अवस्थामा सामाजिक उत्तरदायित्वको विज्ञापन गर्ने स्वास्थ्य संस्थाहरुमा लागेको ताल्चाले हाम्रो उत्तरदायित्व प्रतिको संवेदनशिलता छर्लङ्ग पारेको छ ।राज्यबाट कर छुट लगायतका सुविधा लिन हानथाप गर्ने र असहज अवस्थामा आफ्नो अस्तित्व नै निमिट्यान्न पार्ने संस्थाहरु लिएर हामीलाइ बस्नुपरेको रहेको भन्न असहज मान्नु पर्ने अवस्था रहेन।

विवाह ,उत्सब लगायतका सामाजिक गतिविधीहरु ठप्प प्राय रहे पनि विभिन्न बहाना बाजिमा यात्रा र भेटघाट जारी राख्दा कोरोना संक्रमण जोखिम बढदो देखिएको छ ।घरमा बसौं भन्ने आग्रह उल्लंघन गर्दै दिनमा नहिंडने तर रातको समयमा हुल बनाइ यात्रा गर्नेहरुलाइ समेत चेतना भरी जिम्मेवार बनाइनु जरुरी देखिएको छ ।घर भित्रै बस भन्ने यस्तो अवस्था अब पछि शायदै आउला। यस्तो अवस्थामा घर भित्रै बस्दा आफ्नो स्वास्थ्यलाइ ख्याल गर्दै नाचगान गर्दै मनोरन्जनपुर्ण ब्यायाम गर्ने, लेख रचना अध्ययन गर्ने, संगित मनोरन्जनका विषयलाइ अगाडी सार्ने हो भने समय व्यतित गर्न गाह्रो छैन । समय अमुल्य छ ।जो बितेपछि फर्केर आउँदैन ।यसको शास्वततालाइ बुझेर समय बिताउने हैन कि समयलाइ सदुपयोग गर्नेतिर लाग्नु पर्छ ।सामाजिक विकासका योजना बनाउने, सामाजिक प्लेटफर्म मार्फत विचार विमर्श गर्ने र परिस्थिति सहज भए पश्चात भेला जम्मा भइ कार्यान्वयनमा लैजानका लागि सामाजिक विकासको अवसरका रुपमा वर्तमान परिस्थितिलाइ लिन सकिन्छ ।सामाजिक कार्यका नाममा भोलीको दिन नै नआउने गरी भिंडभाड हुने गरी मानिसहरु भेला जम्मा भइ सामाजिक कार्य एवं गतिविधी गर्नु सुहाउने कुरा होइन।

आर्थिक उदारीकरण एवं निजीकरणका सम्बन्धमा गम्भिर रुपमा मनन गर्दै निजी क्षेत्रको सबलता संगै राज्यका निकायहरुको सबलीकरणमा जोड दिनुपर्ने पाठ समेत कोरोनाले सिकाएको छ । पछिल्ला तिन बर्षमा औषतमा ७.३ प्रतिशत आर्थिक वृद्धिदर रहेको कोभिड १९ महामारीमा कारण आर्थिक बर्ष २०७६।७७ को आर्थिक वृद्धिदर(उत्पादकको मुल्यमा) २.३ प्रतिशत रहने अनुमान गरिएको छ।यसबाट अर्थतन्त्रमा पर्न जाने असरलाइ गम्भिरतापुर्वक लिइ प्रभावकारी कदम चालिनु जरुरी देखिन्छ ।नगरपालिकाहरुको संख्यामा भएको बढोत्तरीका कारण मुलुकका ६२.२ प्रतिशत जनसंख्या शहरी क्षेत्रमा बसोबास गर्ने तथ्यांक भएपनि उन्नत स्तरको स्वास्थ्य सेवा र सचेतनाका सवालमा गर्नुपर्ने कार्यहरु अधिक रहेको देखिएको छ ।क्वारेन्टाइन बनाइने आशंकामा विद्यालय नै भत्काउने, रोग फैलने आशंकामा सदगत गर्न नै अवरोध गर्ने आदि देखिनुको दुरावस्था हटाइन आवश्यक जनचेतनाका कार्यहरु प्रभावकारीताका साथ गरिनु आवश्यक छ।

मुलुकको अर्थतन्त्रमा विष्रेषणको महत्वपुर्ण योगदान रहेको छ । कोरोनाका कारण विश्वमा सिर्जित प्रतिकुल परिस्थितिले गुम्न सक्ने आम रोजगारी तर्फ सजग रहदै फजुल खर्च नियन्त्रण जरुरी देखिन्छ । अर्थविद समेत सरोकारवालाहरुको सल्लाह एवं सुझाव मनन गर्दै अघि बढन सके केहि समयको असहज अवस्थामा समेत आर्थिक मजबुति कायम राख्न मद्दत गर्छ ।कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ .६ प्रतिशत र गैर कृषि क्षेत्रको योगदान ७२ .४ प्रतिशत रहने अनुमान आर्थिक सर्वेक्षण २०७६ ।७७ ले गरेबाट मुलुकका श्रमशक्तिको प्रभावकारी परिचालन गरी कृषि उत्पादनको अभिवृद्धिबाट मुलुकलाइ कृषि उत्पादनमा आत्मनिर्भर बन्ने मार्गमा हिंडन बर्तमानको कोरोना महामारीलाइ अवसरका रुपमा लिइनु समेत जरुरी देखिन्छ।

आर्थिक गतिविधीलाइ चलायमान बनाइ राख्न बन्दाबन्दीको अवस्थामा पुनर्विचार गरिनुपर्ने आवाजहरुका बिच यस तर्फ समेत उचित निकासा दिइनु पर्दछ ।आम नागरिकमा भएको सचेतना ,उपलब्ध स्वास्थ्य सुविधा र सुरक्षा लाइ मनन गर्दै पर्ख र हेर का आधारमा चरणबद्ध रुपमा विषयविज्ञहरुका परामर्शमा बन्दाबन्दी नरम बनाउनु पर्ने देखिन्छ ।कृषि उत्पादनको तयारी चरण मा कर्म नगर्दा उत्पादनमा असर पर्ने हुंदा कृषिका लागि आवश्यक मल बिउ विषादी लगायतका आवश्यक सामग्रीको यथा समयमा उपलब्धता गराइनु पर्दछ ।

समाजका हरेक तह र तप्कालाइ बर्तमानको समयमा कोभिड १९ को संक्रमण कोरोना भाइरसका कारण फैलिएको र मानव बाट मानवमा गुणात्मक गतिमा यसको संक्रमण सर्ने कुरा बुझाउनु जरुरी छ । हातले नाक मुख नछुने, मास्कको प्रयोग गर्ने,साबुन पानिले बारम्बार हात धुने वा स्यानीटाइजरको प्रयोग गर्ने, मानव मानव बिचको भौतिक दुरी कायम राख्ने, अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कने हो भने यसको संक्रमणको फैलावट रोक्न सकिन्छ भन्ने स्वास्थ्यकर्मीहरुको आग्रह सबै माझ पुर्याउनु समेत आवश्यक छ ।आम बालबालिकाहरुमा सन्त्रास होइन, सदभाव बाँडनु जरुरी छ ।सहकार्यका साथ सचेतनामा अभिबृद्धि गर्नु जरुरी छ।

सामान्य रुघाखोकी संग मेल खाने र ज्वरोका कारण हरेक बिरामीले कोरोनाको आशंका गर्नुपर्ने अवस्थाको अन्त्य गर्न स्वास्थ्यकर्मीहरुको पर्याप्तता एवं स्वास्थ्य शिक्षाको प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक देखिन्छ ।आम नागरिकको सेवा र सुरक्षामा खटिने स्वास्थ्यकर्मी ,पत्रकार ,सुरक्षाकर्मी लगायतका राष्ट्रसेवक समेत सम्बन्धित सबैको सुरक्षा एवं बिमाको अपरिहार्यतालाइ समेत नकार्न सकिंदैन ।

बर्तमान समय मानव मानव बिचको भौतिक दुरी कायम राख्दै सामाजिक सौहार्दता बढाउने अवस्था हो । सामाजिक प्रतिष्ठा आर्जन गर्ने नाममा दानलाइ फोटो खिच्ने माध्यम बनाउने कार्य नियन्त्रण गर्नु पर्ने देखिन्छ । सहज परिस्थितिमा सामाजिक गतिविधि गर्न सकिने नै हुँदा यतिखेर परिआएको सामाजिक सकसका दिनहरुलाइ अवसरका रुपमा परिणत गर्ने गरी चिन्तन गर्नु जरुरी देखिएको छ । विश्वभर संक्रमण फैलावट बढिरहेको तथ्य मनन गर्दै सरकारले चालेका कदममा साथ दिनु जिम्मेवार नागरिकको कर्तव्य रहेको तथ्य कसैले भुल्नु हुदैन ।

लेखक परिचय
नाम : अच्युत कुइकेल
पद: रजिष्ट्रार (सहसचिव)
शिक्षा: एल.एल.एम, एम. ए,बि.एड
कार्यालय:प्रशासकीय अदालत,सिंहदरबार
इमेल:[email protected] सम्पर्क नं: ९८४१ ३६५३३८

प्रतिक्रिया