देश नं. १ का जिल्ला अस्पताल आईसोलेसन सहित १ सय शैय्याका हुने

मनोज दाहाल २०७७ जेठ २४ गते १५:२१ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, २४ जेठ । प्रदेश नं. १ का जिल्ला अस्पतालहरुलाई आइसोलेन वार्ड सहित एक सय शैय्याको क्षमतामा स्तरोउन्नति गरिने भएको छ।

प्रदेश सरकारले शुक्रवार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७ः०७८ को बार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको।

प्रदेशका आवश्यक पूर्वाधार भएका जिल्ला अस्पतालमा कम्तिमा चार वटा भेन्टिलेटर र आवश्यक चिकित्सक जनशक्तिको ब्यवस्था मिलाइने भएको छ।

कोशी अस्पताल विराटनगरलाई प्रदेश मातहत ल्याउन पहल थालिने र स्तरोउन्नति कार्य शुरु गरिनुका साथै मेची अस्पतालमा कम्तिमा छ वटा भेन्टिलेटरको व्यवस्था गरिने नीति तथा कायक्रममा उल्लेख गरिएको छ।

प्रदेशका सबै अस्पताल तथा आयुर्वेद संस्थाहरुमा न्यूनतम सेवा मापदण्ड निर्धारण र कार्यान्वयन गर्दै आयुर्वेद, प्राकृतिक चिकित्सा तथा होमियोप्याथी सेवाको सेवा विस्तार गर्दै लगिने भएको छ।

नीति तथा कार्यक्रममा धनकुटामा जिल्ला अस्पताललाई छ वटा भेन्टिलेटर सहित बहु–बिशिष्टिकृत प्रादेशिक शिक्षण अस्पतालको रूपमा स्तरोन्नति गर्दै लगिने भएको छ।

‘रोग पालेर होइन फालेर बाँचौं’ भन्ने मान्यतालाई सार्थकता प्रदान गर्न महिलामा देखिने प्रजनन् स्वास्थ्य समस्याहरु, आङ खस्ने, पाठेघर र स्तन क्यान्सरको रोकथाम तथा उपचार व्यवस्थापनलाई सहज तुल्याइने भएको छ।

स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका विपन्न, सीमान्तकृत, दलीत, लोपोन्मुख लगायत पछाडी परेका समुदायहरुलाई स्वास्थ्य सेवाको मूलधारमा ल्याई विद्यमान असमानतालाई अन्त्य गर्न सबै नागरिकलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने नीति तथा कार्यक्रमा उल्लेख छ।

आगामी बर्ष देखि प्रदेशका १३७ वटा पालिकाहरुमा बहुपक्षीय पोषणको कार्यक्रम परिचालन गरिने भएको छ।

जेष्ठ नागरिकहरुको अनुहारमा मुस्कान छर्ने उद्देश्य सहित स्थानीय पालिकाहरुसँग सहकार्य गरी ‘प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम’ सबै पालिकाहरुमा सञ्चालन गरिने भएको छ।

सरकारले कोभिड–१९को रोकथाम, नियन्त्रण र उपचार एवं भविष्यमा आउन सक्ने विभिन्न महामारी विरूद्ध लड्न स्वास्थ्य सेवा प्रणालीलाई सबल र सुदृढ तुल्याउन आवश्यक जनशक्तिको व्यवस्थापन गर्दै निरोधात्मक तथा उपचारात्मक एकिकृत स्वास्थ्य प्रणालीको विकास तथा सेवा विस्तारमा जोड दिने भएको छ।

यस्तै सरकारले कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार कार्यमा खटिने स्वास्थ्यकर्मी, अन्य कर्मचारीहरुको मनोबल उच्च राखी कार्य सम्पादनको स्तर वृद्धि गर्न र जनसेवा प्रति समर्पित वनाउन उपयुक्त ढंगले प्रोत्साहित गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया