विराटनगर महानगरपालिकाले आगामी बजेटका लागि सुझाव सङ्कलन

मनोज दाहाल २०७७ जेठ २२ गते २१:४६ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, २२ जेठ।विराटनगर महानगरपालिकाले आगामी वर्षको बजेटको तयारीका लागि आजदेखि सुझाव सङ्कलन कार्य शुरु गरेको छ।

नगरको नीति कार्यक्रम तथा बजेट तयारीका विषयलाई लिएर महानगरले विभिन्न राजनैतिक दलका नेतृत्व, उद्योगी ,व्यवसायी तथा सरोकारबाला संघसंस्थाहरुसँगको छलफललाई निरन्तरता दिएको छ।

नेपाल कम्यूनिस्ट पार्टी(नेकपा) मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जुनसुकै दलले नेतृत्व गरेपनि विकासका कार्यक्रम साझा बन्नुपर्नेमा जोड दिदै विराटनगर प्रदेशको राजधानी भएकोले यसको विकासका लागि सवैको भुमिका महत्वपूर्ण हुने बताउनु भयो।

नेपाली काङ्ग्रेस मोरङका सचिव नागेश कोइरालाले महानगरको समग्र विकासको खाका बनाएर योजना ल्याउन आग्रह गर्नु भयो ।राष्ट्रिय जनता पार्टी नेपालका मोरङ अध्यक्ष मोहम्मद कादिरले मधेस र मधेसीका मुद्दालाई समेटेर विकास निर्माणका काम गर्न आबश्यक भएको चर्चा गर्नु भयो । समाजवादी पार्टीका नगर अध्यक्ष मो.नसरुलले शिक्षाक्षेत्रमा भइरहेको समस्या समाधानमा लाग्न जोड दिनु भयो।

छलफलमा नेकपा नेता तुलसी प्रसाद पोखरेल,नेकपा विराटनगर अध्यक्ष सागर थापा,नेपाली काङ्ग्रेस विराटनगरका कार्यवाहक नगरसभापति अरुण न्यौपाने,राजपा नगर अध्यक्ष विनोद गुप्ता,जनता समाजवादी पार्टीका मोरङ उपाध्यक्ष त्रिलोचन गौतम लगायतले समय सापेक्ष बजेट ल्याउन आग्रह गर्नु भएको थियो।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जनअपेक्षा अनुरुपका बजेट ल्याउने बताउदै प्राप्त सुझावका आधारमा नगरको बजेट निर्माण हुने विश्वास दिलाउनु भयो । छलफलमा महानगरका उपप्रमख इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल,शिक्षा महाशाखा प्रमुख दुर्गा खतिवडा,सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया,सामुदायिक महाशाखा प्रमुख सरोज गौतम लगायतको सहभागिता रहेको थियो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया