झापाको दक्षिण एशियाकै ठुलो तयारीपोशाक उधोग किन बन्द भयो?

रमेश ढकाल २०७७ जेठ २१ गते १०:४० मा प्रकाशित


विश्वव्यापी रुपमा फैलिएको कोरोना भारस संक्रमण तथा यसले विश्व अर्थव्यवस्थामा पारेको नकारात्मक प्रभावका कारण हजारौं मनिसहरुले आफ्नो रोजगारी गुमाइसकेका छन् भने अन्य लाखौं मनिसहरुको रोजगारी अहिले खतरामा परेको अवस्था छ। यसको सिधा प्रभाव हाम्रा ५०–६० लाखको संख्यामा रहेका प्रवासी नेपालीहरुमा पर्ने निश्चित छ। जानकारहरुका अनुसार अब चाँडैनै विदेशमा रहेका कमसेकम १० लाख नेपालीहरु स्वदेश फर्किने छन् र भोलिका दिनमा यसले सिर्जना गर्ने परिस्थिती तथा यसको ब्यवस्थापन गर्न सरकारका लागि निक्कै चुनौतिपूर्ण बन्ने निश्चित छ। यस्ता चुनौतिहरूको सामना गर्न, सरकारले देशका सबै क्षेत्रहरुमा नयाँ नयाँ रोजगारा अवसरहरु कसरी सिर्जना गर्न सकिन्छ भन्ने बिषयमा अब गम्भीर बन्नै पर्छ।

हालैमा झापा क्षेत्र नं ३ का माननीय राजेन्द्र लिङ्देनले संसदमा बोल्दै जब बजेट, नीति कार्यक्रम तथा रोजगारीका कुराहरु उठ्छन् मलाई मेरो निर्वाचन क्षेत्रको एउटा उधोगको स्मरण हुन्छ .. केही बर्ष पहिला त्यहाँ एउटा मोमेन्टो नाम गरेको गार्मेन्ट थियो। जसले ५००० सम्म मान्छेहरुलाई प्रतक्ष्य रुपमा रोजगार दिएको थियो भने त्यो संग अप्रतक्ष्य रुपमा जोडीएर अन्य पच्चिसऔं हज्जार मान्छेहरुको जीवन निर्वाहा हुने गरेको थियो। त्यो उधोग  अहिले बन्द रहेको छ। अहिले यहाँ समाजवाद उन्मुख आर्थिक कार्यक्रमको कुरा उठ्दा खेरी किन त्यस प्रकारका उधोगहरुको स्थापना गर्ने तर्फ हाम्रो ध्यान जान सक्दैन होला ? भन्दै अर्थमन्त्रीलाई प्रश्न गर्नु भएको थियो। वहाँको यो प्रश्नले हाम्रो अर्थमन्त्री ज्युलाई कत्तिको छुने हो कुन्नि तर यसले हाम्रा हजारौं बेरोजगार साथीभाइहरूको मन भित्र भने थोरै भए पनि आशा जगाएको छ।

झापाको भद्रपुरमा रहेको त्यो दक्षिण एशियाकै ठुलो तयारी पोशाक उधोग किन बन्द हुन पुग्यो ? भन्ने बिषय अझै पनि शायद हामी कतिका मनमा एउटा जिज्ञासा नै बनेर रहेको हुनसक्छ। खैर, आज देशको संसदमै यसका बिषयमा चर्चा हुँदै गर्दा म मोमेन्टोको एउटा पूर्व–कर्मचारी रहेकोले त्यो फैक्टरी किन बन्द हुन पुग्यो भन्ने बिषयमा मैले देखेको भोगेको एउटा यथार्त यहाँहरु संग यो लेख मार्फत शेयर गर्दै छु।

२०४६ सालमा प्रजातन्त्रको पुनस्थापना भए पछि हाम्रो देशका बिभिन्न राजनीतिक दल तथा संगठनहरुले आफ्ना असन्तुष्टि या विरोध प्रकट गर्नका लागि व्यापक रूपमा प्रयोग गर्ने गरेको एउटा शस्त्रको नाम हो ’नेपाल बन्द’। पछिल्ला केही बर्ष बाट नेपाल बन्द गर्ने काम धेरै हद सम्म बन्द भएको भए पनि, विगतका बर्षहरुमा यो शस्त्रको प्रयोग गरेर मुलुकको आमजनजीवन सम्पूर्णरुपमा ठप्प पार्ने गरिन्थ्यो। बन्द आह्वान कर्ताले व्यापार व्यवसाय, उद्योगधन्दा, यातायात लगायतका सबै क्षेत्रहरु बन्द राख्न दवाव दिन्थे र थोरै आनाकानी गरे तोडफोड पनि गरिदिन्थे।

शान्तिपूर्ण रुपमा विरोध गर्दा सरकारले नसुन्ने भएकाले बन्द गर्नु परेको भन्दै बन्द आह्वान गर्नुको औचित्यलाई जस्टिफाइ गर्ने गरिएको छ। खैर, यसलाई जसरी जस्टिफाइ गरे पनि अथवा बन्द हड्तालहरु जतिसुकै राम्रा उद्देश्य राखेर गर्ने गरिएको भए पनि, हाम्रो मुलुकमा अक्सर गरेर हुने गरेका बन्द हड्तालका कारण जनताले सास्ती मात्र पाएका नभएर यसले सिंगो मुलुकको शान्ति, विकास र संवृद्धिलाईनै कयौं बर्ष पछाडि धकेलेको यथार्त हामी सबैका माझ मध्यानको सुर्य भन्दा पनि छर्लङ्ग छ।

हाम्रो मुलुकमा यसरीहुने गरेका बन्द हडतालहरु एउटा सामान्य मजदुर कर्मचारी हुँदै ठुला ठुला उद्योगपतिहरु सम्मका लागि कति धेरै घातक सिद्ध हुनसक्छन् अथवा भएका छन् भन्ने कुराको एउटा अनुभुती यस्तो छ।

कुरा सन् २००४ अक्टुबर महिनाको अन्त्य तिरको हो । त्यतिखेर म मोमेन्टोमा मर्चेंडाइजरको रुपमा काम गर्दै थिए। ठ्याक्कै कुन डेट परेको थियो भनेर त अहिले सम्झना भएन। तर त्यो दिन मलाई ढिलो भनेको पनि दिउसो ३ बज्नु भन्दा पहिलानै जसरी भए पनि फोर्टी फिट हाइटका दुइवटा कन्टेनर लोड गराएर कलकत्ताको हल्दिया पोर्टका लागि रवाना गराउनु पर्ने थियो । अन्यथा शिपिंग शिड्यूल अनुसार पहिलानै स्पेस बुक गरेर राखिएको, हल्दिया पोर्ट बाट अमेरिकाको लस एन्जलसका लागि छुट्ने भेसल् (पानीजहाज) समात्न असम्भव थियो।

एउटा मर्चेंडाइजरको रुपमा त्यो अर्डरको समन्वय फैक्टरीको तर्फ बाट मैले गरिरहेको हुनाले त्यो दिनको शिपमेन्ट फेक्ट्रीबाट समयमै निकाल्न मेरा लागि एक प्रकारको चुनौतीनै थियो। अत्यन्तै महत्वपूर्ण शिपमेन्ट भएकाले आवश्यक तयारीहरु पुरा गर्न म त्यो दिन बिहान सात बजेनै फेक्ट्रीमा प्रवेस गरिसकेको थिए भने साढे आठ बजे सम्ममा त हामीले कन्टेनर लोड गराउन पनि सुरु गराइ सकेका थियौँ । यसैवीच नौ बजेतिर फेक्ट्रीको मुख्य गेटमा केही बन्दाकार्ता भेला भएर फेक्ट्री बन्द गर्न भन्दै गरेको सुचना मलाई सुरक्षा गार्डहरु मार्फत प्राप्त हुन्छ र म तुरुन्तै फेक्ट्रीको मुल गेट तर्फ लाग्छु।

म गेटमा पुगेसंगै फेक्ट्रीका ओनरहरु पनि त्यहाँ आइपूग्नु हुन्छ। हामीले बन्दकर्ता साथीहरुलाई त्यो दिन अत्यन्तै सीमित समय भित्र पुरा गरिसक्नु पर्ने हाम्रो कामको प्रकृति तथा समयमा काम पुरा गर्न नसक्दा उत्पन हुन सक्ने परिणाम तथा बेहोर्नु पर्ने ठुलो आर्थिक क्षतिका बारेमा सम्झाउने बुझाउने अनेकौं कोशीसहरु गर्यौं तर हाम्रा सबै कोशीसहरु नाकाम भए। बन्दकर्ता साथीहरु कुनै पनि अवस्थामा हाम्रो अनुरोधलाई स्विकार गर्न तयार हुनु भएनन् र अन्तमा हामीलाई त्यो दिन फेक्ट्री बन्द राखन बाध्य पारियो।

हामीले त्यो दिन फेक्ट्री बन्द गरे संगै शायद बन्दकर्ता साथीहरुको नेपाल बन्दको कार्यक्रम त सफल भयो होला तर हाम्रो शिपमेन्ट भने पूर्ण रुपमा असफल भएको थियो। अब समुंद्री जहाज बाट पठाउन तयार पारिएको शिपमेन्टलाई हवाईजहाज बाट पठाउनु पर्ने भएको थियो अन्यथा निर्धारित डेलिभरी डेट भित्र सामान अमेरिका पुग्न सक्दैनथ्यो ।

निर्धारित समयम भित्र सामान डेलिभरी गर्न नसके प्लान गरिएको शिपमेन्ट त क्यान्सिल हुन्थ्यो नै संगसंगै बाँकी रहेका सबै अर्डरहरू पनि क्यान्सिल हुने थिए। त्यसैले बाँकी रहेका अर्डरहरु जोगाउनका लागि पनि हामीले अर्को दिन बेलुका बाह्र वटा ट्रकमा लोड गराएर त्यो शिपमेन्ट काठमाण्डौ पठायौ र त्यहा बाट एयर कार्गो मार्फत अमेरिका पठायौ । जब समुन्द्रको बाटो गरेर पठाउनु पर्ने शिपमेन्टलाई एयर कार्गो मार्फत पठाइन्छ, त्यो अवस्थामा कम्पनीले मुनाफा हैन उल्टै ठुलो नोक्सान बेहोर्नु पर्ने हुन्छ। अब पचास हजार भन्दा पनि बढीको संख्यामा रहेको तयारी पोशाकको शिपमेन्ट एयर कार्गो मार्फत पठाउनु पर्दा कम्पनीले त्यतिखेर कती नोक्सान बेहोर्नु पर्यो होला ? यसको बारेमा थोरै त यहाँहरु स्वयम् पनि अनुमान लगाउन सक्नु हुन्छ।

माथिको घटना त एक दिनको बन्दले उद्योग धन्दाहरुलाई कसरि धारासायी बनाउदो रहेछ भन्ने कुराको केवल एउटा उदाहरण मात्र हो। त्यो समयमा यस्ता बन्द हडतालहरु त लगभग दिनहुँ जसो नै हुने गर्थे । त्यसरी दिनहुँ भने जस्तो हुनेगरेका बन्द तथा हडतालहरुका कारण मोमेन्टोका कति शिपमेन्टहरू क्यान्सिल भए होला? कति पटक पानीजहाज बाट पठाउन तयार परिएका सामनाहरु एयर कार्गो गरेर पठाउनु पर्यो होला? सिमानामा आएर बसेका मटिरिअल् तथा अन्य कच्चासामग्रीहरुलाई फैक्टरी सम्म ल्याउन तथा तयार पारीएका सामानहरुलाई सिमाना सम्म पुर्याउन अनिश्चितकालीन हडतालका कारण कति दिन सम्म पर्खनु पर्यो होला? यि सबै कारणले कति अर्डरहरु रद्द भए होला? यि सबै कुराहरु यहाँ चाहेर पनि उल्लेख गर्न सम्भव छैन।

जब कुनै कम्पनी प्राप्त अर्डरहरुलाई क्लाइन्टले दिईएको समयसीमा भित्र पुरा गर्न सक्दैन। र क्लाइन्ट संगको कन्ट्राक्चुअल् मापदण्डहरु बार बार उल्लंघन गर्न पुग्छ भने त्यस्तो कम्पनी संग दीर्घकालीन व्यापारिक सम्बन्ध बनाउन कसले रुचि राख्छ होला र? त्यस्तो अवस्थामा मोमेन्टोका कति ब्यपारिक सम्बन्धहरु त्यतिकै समाप्त भए होला? भन्ने बारेमा यहाँहरु सहजै अनुमान लगाउन सक्नु हुन्छ।

जब व्यापारिक सम्बन्धहरु बिग्रन थाल्छ, पेमेन्टहरु रोकिन्छन्। कम्पनीमा क्यासफ्लो क्राइसस् (आर्थिक संकट) उत्पन्न हुनथाल्छ। तब फैक्टरीमा कामगर्ने श्रमिक तथा सप्लायरहरु संगको सम्बन्ध बिग्रनु स्वभाविक बन्न पुग्छ। जसका कारण फैक्टरी भित्र लगाताररुपमा हडतालहरु हुन सुरुहुन्छ। त्यो अवस्थामा अझ राजनीतिक रूपले प्रेरित श्रमिक यूनियनले एकप्रकारले फैक्टरीलाई पेरलाइज्ड् नै बनाई दिन्छ।

यी सबै कारणहरुले गर्दा घुँडाटेक्न वाध्य बनेको दक्षिण एशियाकै ठुलो तयारीपोशाक उधोग मोमेन्टो अपेरल्स क्रमिक रुपले अन्तत सम्पूर्णरुपमानै बन्द हुन पुग्छ। उबेला माओवादी विद्रोहको उत्कर्षको समयमा जानअनजानमा कम्पनी व्यवस्थापनका पक्ष बाट पनि केही कमिकमजोरिहरु पक्का पनि भए होलान्। तर फैक्टरी बन्द हुनुको मुख्य कारण भनेको त्यतिखेरको राजनीतिक अस्थिरता, अशान्ति, दैनिक जसो हुनेगरेका बन्दहडताल तथा सम्बन्धित प्रभावहरूनै मुख्य थिए।

जब ठूला उद्योगहरू बन्द हुन्छन् केही अपवाद बाहेक यस्ता कुराले ति उद्योगका मालिकहरुलाई खासै असर पार्दैन जति असर एउटा सामान्य श्रमिकलाई परेको हुन्छ (मालिकहरु त कुनै कुन कुनै रुपमा जहिले पनि मालिकनै रहिरहन्छन््)। यस बाहेक, त्यस क्षेत्रका अन्य थुप्रै कुराहरुमा पनि यसले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा प्रभाव पार्ने गर्दछ। त्यस्ता प्रभावहरुको सिधा सम्बन्ध त्यस क्षेत्रको विकास र समृद्धि संग जोडीएको हुन्छ। उदाहरणका लागि हामी चन्द्रगढी भन्द्रपुर लाईनै हेर्न सक्छौँ। जतिखेर त्यहाको गार्मेन्ट फैक्टरी फुल स्विंगमा चल्दै थियो। त्यो समयमा फेक्ट्रीको गेट बाहिर बसेर कांक्रा मेवाका चाना बेच्ने देखी लिएर नगर भित्र बाहिरका अन्य ठुला किराना कस्मेटिक लगायतका अन्य पसल तथा होटलहरुको व्यापार तथा आमदानी धेरै राम्रो थियो।।

मोमेन्टो बन्द हुँदाको प्रभाव चन्द्रगढी भन्द्रपुर भित्र मात्र सिमित नभएर बिर्तामोड धुलाबारीका पसल देखी होटलहरु सम्म परेको छ। त्यतिखेर चन्द्रगडी भद्रपुर एरियामा कयौं घरहरु भाडामानै लगाउन भनेर मात्र पनि बनाइएका थिए, जुन घर तथा कोठाहरु आज खाली छन्। त्यति मात्र हैन, त्यो बेला विभिन्न अन्तराष्ट्रीय कम्पनीका प्रतिनिधिहरु काठमाण्डौ बाट भद्रपुर फ्लाईट चार्टर गरेर पनि फेक्ट्री निरीक्षण गर्न लागि आउने गर्थे।

यसैगरेर, जब उद्योगहरु लामो समयका लागि बन्द हुन्छन् त्यो अवस्थामा त्यहाँ जडान गरिएका प्रविधि तथा महंगा महंगा मिसिनहरु त जिर्ण बन्छन् नै संगसंगै ति प्रविधि र मिसिनहरुलाई प्रगोग गर्ने हजारौं हाथहरु पनि जिर्ण बन्दै जान्छन्। जसलाई तयार पार्न सुरुमा धेरै समय र पैसा लगानी गर्नु परेको हुन्छ। सम्झन्छु त्यो करोडौँ खर्च गरेर सेट गरिएको फ्याब्रिक् ब्लास्टिङ्ग प्लान्ट, वासिङ प्लान्ट, एम्ब्रोइडरि मेसिन लगायतका अन्य थुप्रै कम्पुटराइज् मेसिनहरुको अवस्था अहिले के भएको होला?

यो फैक्टरीलाई फेरी संचालनमा ल्याउन सक्ने हो भने नयाँ नयाँ रोजगारका अवसरहरु त सिर्जना हुनेनै थिए साथैसाथ हजारौं श्रमिकहरुको जिर्ण बन्दै गएका सिपले पनि पुनर्जीवन पाउने थिए। यसका लागि सबै तहका जनप्रतिनिधिहरुले कुनै आग्रह पूर्वाग्रह नराखिकन सबै सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर यसको पुन संचालनका लागि उपयुक्त उपाय निकाल्ने तर्फ कुनै ठोस पहल गर्न आवश्यक देखिन्छ। यदि यो फैक्टरीलाई पुनः संचालनमा ल्याउन सक्ने हो भने अहिले बेरोजगार अवस्थामा रहेका यो क्षेत्रमा काम गर्ने सयौं स्थानीय दक्ष अदक्ष जनशक्तिको त कल्याण हुनेनै थियो संगसंगै हाम्रो नगर जिल्ला हुँदै सिंगो देशको बिकास र समृद्धिका निम्ति यो पहल एउटा कोसेढुङ्गो सावित हुन सक्ने थियो।

मैले यो लेख तयार पार्दै गर्दा, १९–जेठमा हाम्रा झापा क्षेत्र नं ३ का प्रदेश सभा सांसद माननीय बशन्त बानियाँले आफ्नो फेसबुक पोस्ट मार्फत “झापामा रहेका बन्द तथा रुग्ण उद्योगहरुलाई पुनः संचालनमा ल्याउने तथा नयाँ रोजगारमुलक उद्योग धन्धाहरु संचालनमा ल्याउने बिषयमा प्रदेश सरकारका मुख्यमन्त्री माननीय शेरधन राईसंग वहाँकै कार्यलय बिराटनगरमा विभिन्न उद्योगी ब्यवसायीहरु लगायत आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हिक्मत कार्की, नेकपा प्रदेश कमिटी अध्यक्ष, केकस, जिल्ला अध्यक्ष, समन्वय समिति प्रमुख लगायतको समुपस्थितिमा छलफल हुँदै गरेकोे” भनेर प्राप्त जानकारीले हामीलाई पुनः एकपटक निक्कै आशावादी तुल्याएको छ।

आशा गरौ राजनीतिक दलका नेताहरू सस्तो लोकप्रियताका लागि ठुला ठुला गफ मात्रै गर्ने तर काम चै नगर्ने भन्ने जुन एक प्रकारको आम मान्यतानै रहनेगरेको छ, यसलाई हाम्रो क्षेत्रका युवानेताहरुले गलत साबित गरेर देखाउने छन्। यहाँहरुलाई यो कल्याणकारी अभियानमा सफलता मिलोस् – शुभकामना!

रमेश ढकाल
भद्रपुर झापा (हाल दोहा, कतार)

[email protected]

प्रतिक्रिया