अहिलेको आन्दोलनलाई ‘टर्निङ प्वाइन्ट’ बनाऊँ

बाराक ओबामा २०७७ जेठ २० गते १५:१९ मा प्रकाशित

जर्ज फ्लोइडको हत्या र विभेदपूर्ण न्याय प्रणालीलाई लिएर यति बेला अमेरिकाका लाखौं मानिस सडकमा ओर्लिएका छन्। यसलाई कसरी वास्तविक र दिगो परिवर्तनको संवाहकमा रूपान्तरण गर्न सकिएला भन्दै थुप्रैले आकांक्षा प्रकट गर्न थालेका छन्। यो जनउभार अन्तत: अभियन्ताहरूको नयाँ पुस्ताकै हातमा पुग्नेछ, जसले भावी रणनीतिलाई आकार प्रदान गर्नेछ।

हामीसँग विगतका प्रयासबाट हासिल आधारभूत पाठहरू पनि छन्, जसको सम्झना गर्नु यस्तो बेला उचित हुन्छ।

सबभन्दा पहिला त, मुलुकभर जुन किसिमका आक्रोश र प्रदर्शन देखिएका छन्, म त्यसमा अमेरिकी प्रहरी र यहाँको न्याय प्रणाली पुनर्संरचना गर्न दशकौंदेखि हुँदै आएको आलटालबाट उत्पन्न निराशा झल्किरहेको पाउँछु।

यी प्रदर्शनमा अधिकांश शान्त, साहसिला, जिम्मेवार र उत्प्रेरित गर्ने किसिमका मानिस देखिन्छन्। उनीहरू हामीबाट सम्मान र सद्भावका हकदार छन्। कामडेन र फ्लिन्टजस्ता सहरका प्रहरीले यस्तो कुरा दायित्वपूर्ण ढंगबाट मनन गरेको देखिन्छ।

अर्कातर्फ स–सानो समूहमा केही यस्ता मानिस पनि देखिएका छन्, जसले हिंसाका अनेक बाटो रोजिरहेका छन्। त्यसमा स्वाभाविक आक्रोश होस् वा ‘मौका पाएको बेला ठोक्नुपर्छ’ भन्ने भावना, त्यसले अबोध मानिसलाई खतरामा पारिदिन्छ। यसले ठूलो मागलाई ओझलमा पारेर टोल-टोलमा हिंसात्मक दंगा भड्काउने खतरा वृद्धि गरिदिन्छ। ती टोलहरू पहिल्यै सेवा र सुरक्षाका मामलामा प्रायः जोखिमपूर्ण हालतमा छन्।

मैले आज एक काला जातिकी वृद्ध महिलाले रुँदै अन्तवार्ता दिइरहेको देखेँ। उनको टोलको एउटै रासन दोकान पनि ध्वस्त पारिदिएका रहेछन्। विगतका पाठहरूकै आधारमा भन्ने हो भने पनि अब त्यो दोकान फेरि सुरू हुन वर्षौं लाग्नसक्छ। त्यसैले हिंसालाई कुनै पनि तर्कको जामा पहिराउने वा त्यसमा सरिक हुने काम गर्दै नगरौं। यसलाई अक्षम्य कोटीमै राखौं।

हामी समाजको न्याय प्रणाली वा वृहत्तर अमेरिकी समाजलाई नै भावी दिनमा उच्च नैतिक बलका साथ अघि बढेको देख्न चाहन्छौं भने त्यस्तो नैतिकता सर्वप्रथम हामीले नै प्रदर्शित गर्न सक्नुपर्छ।

दोस्रो कुरा, हाम्रो न्याय प्रणालीमा जुन जातीय पूर्वाग्रहको समस्या विद्यमान छ, त्यसले परिवर्तनको चाहना राख्नेहरूबाट यस्तै किसिमको प्रदर्शन र सोझै प्रतिवादको अपेक्षा गर्छ। यसलाई बदल्न मतदान र निर्वाचन प्रक्रियाका सर्वस्वीकार्य लोकतान्त्रिक मार्गहरूले कुनै हल निकाल्न सक्दैन भनेर गाइँगुइँ चल्न थालेको पनि सुनिरहेको छु। यस्तो कुरा म पत्याउन सक्दिनँ।

विरोध प्रदर्शन गर्नु भनेको आममानिसमा जनचेतना विस्तार गर्नु हो। यसले अन्याय र विभेदलाई उठान गरिदिन्छ। त्यसले नै असहज परिस्थितिमा बाँचेकाहरूलाई शक्ति प्रदान गर्दै आएको कुरा हामी अमेरिकाको इतिहासभरि देख्न सक्छौं। यस्ता विरोध र भद्र अवज्ञाहरूले नै सिंगो राजनीतिक प्रणालीलाई उपेक्षित समूहतर्फ ध्यान केन्द्रित गर्न बाध्य पार्दै आएको छ।

तर, यदाकदा त्यस्ता आकांक्षा अगाडि बढाउँदा निश्चित कानुन र संस्थागत प्रक्रियाको स्वरूपमै ढालेर अघि बढाउनुपर्ने दायित्व रहन्छ। लोकतन्त्रमा त्यो तब मात्रै हुन्छ, जब हामी हाम्रा मागप्रति जिम्मेवार र उत्तरदायित्व वहन गर्ने अधिकारीहरूलाई निर्वाचित गरेर पठाउँछौं।

यसका अलावा हाम्रा कस्ता किसिमका सरकारले यहाँको न्याय प्रणाली र प्रहरी परिचालनमा कस्तो भूमिका निर्वाह गरेको छ भनेर बुझ्नु पनि हाम्रोनिम्ति महत्वपूर्ण छ।

हामी जब राजनीतिका कुरा गर्छौं, हामीमध्ये धेरैले राष्ट्रपतीय र संघीय सरकारका मामलालाई मात्र बुझिरहेका हुन्छौं। हाम्रो समाजलाई त्रासदीतर्फ मोड्दै गरेको यस्ता रंगभेदका मुद्दा सम्बोधन गर्न हामीकहाँ राष्ट्रपति छन्, संसद छ, अमेरिकी न्याय विभाग छ र संघीय न्यायपालिका पनि छ भन्ने कुरा पक्का गर्न हामीले लडिरहनैपर्नेछ।

निर्वाचित जनप्रतिनिधिहरूले राज्य र स्थानीय तवरबाट प्रहरी विभाग र न्याय प्रणाली कसरी पुनर्संरचना गर्ने भन्ने मामलामा प्रभावकारी भूमिका खेल्न सक्छन्।

मेयर र काउन्टीका कार्यकारीहरूले नै प्रहरीका अधिकांश उच्चपदस्थ अधिकारी नियुक्त गर्ने बेला प्रहरी युनियनसँग कामका तौरतरिकाबारे खाका कोर्न सक्छन्। जिल्लाका सरकारी वकिल वा राज्यका महान्यायाधिवक्ताले प्रहरी दुर्व्यवहारका घटनामा संलग्नहरूको छानबिन गर्ने वा नगर्ने अनि उनीहरूलाई कारबाहीको दायरामा ल्याउनेबारे निर्णय लिन सक्छन्। यी भनेका सबै निर्वाचित भएरै आउने पदाधिकारी हुन्।

कतिपय ठाउँमा त प्रहरीका काम-कारबाही निगरानी गर्ने ‘पुलिस रिभ्यू बोर्ड’ हरू नै पनि जनताबाटै निर्वाचित हुने गरेका छन्।

दुर्भाग्यको कुरा, यी जातीय बसोबासका स्थानीय भेगहरूमा चुनाव बेला असाध्यै थोरै भोट खसिरहेका छन्। त्यसमा पनि तन्नेरी युवाहरू बढी जिम्मेवार छन्, जसले यी ओहोदामा बस्नेहरूले सामाजिक न्यायका मामिलामा प्रत्यक्ष भूमिका निर्वाह गर्छन् भन्ने कुरा मनन् गर्दैनन्। यहाँ भनिरहनु पर्दैन, त्यति महत्वपूर्ण ओहोदामा जितेर आउनेहरू वा पराजित हुनेहरूको चयन केही हजार वा अझ केही सयको मात्र भोटले निर्धारण गरिरहेको हुन्छ।

त्यसैले साँच्चै परिवर्तन चाहेका हौं भने राजनीति र प्रदर्शनमध्ये के रोज्ने भन्नेमा जानै हुन्न। हामीले यी दुवै कुरालाई साथसाथै लिएर जान पर्छ। हामीले जनचेतना बढाउन विरोध पनि गर्नैपर्छ। त्यसैगरी हामीले हाम्रो चाहनाअनुसारकै पुनर्संरचनाको खाका कोर्नसक्ने व्यक्तिलाई सम्बन्धित ठाउँहरूमा पठाउन मतदानको अवसर पनि सदुपयोग गर्नैपर्छ।

अन्त्यमा, हामीले न्याय प्रणाली र प्रहरीमा पुनर्संरचनाको मागमा केन्द्रित भएर जति आफूलाई अघि बढाउँछौं, त्यसले निर्वाचित पदाधिकारीहरूलाई ओँठे जवाफका भरमा काम चलाउने र यस्ता प्रदर्शन एकपटक थामिएपछि फेरि पहिलेजस्तै टालटुले प्रवृत्ति देखाएरै अवधि सिध्याउने प्रवृत्तिभन्दा बेग्लै काम गरेर देखाउन बाध्य पार्नेछ।

पुनर्संरचनाका खाका पनि फरक फरक समाजका निम्ति फरक फरक हुनेछन्। ठूलो सहरका निम्ति एउटा बेग्लै खाका हुनसक्छ भने ग्रामीण समुदायका लागि अर्कै खाकाको जरुरत पर्न सक्छ। कुनै संस्थाको संरचनामा आधारभूत रूपमै सुधार आवश्यक पर्न सक्छ भने कुनै संस्थाका हकमा थोरै सुधारबाट पनि काम चल्न सक्छ।

कानुन पालना गराउने प्रत्येक संस्थाको पारदर्शी नीति हुनुपर्नेछ। साथै त्यसमा स्वतन्त्र किसिमको निकाय पनि जोडिएको हुनेछ, जसले दुर्व्यवहारका आरोपलाई गम्भीर अनुसन्धान गर्नेछ। प्रत्येक समुदायका लागि पुनर्संरचना खाकाका निम्ति स्थानीय अभियन्ता र संगठनहरूको जरुरत पर्नेछ, जसले अनुसन्धान गर्नुका साथै आफ्नो समुदायका लागि के-कस्ता उपाय उचित हुनेछन् भन्ने कुराबारे आमबासिन्दालाई चेतनशील पनि बनाउने छन्।

यी सबै सुरूआत गर्न आफू राष्ट्रपति छँदै मैले एक्काइसौं शताब्दीको नीतिलाई लिएर गठन गरेको कार्यदलको पहलमा नागरिक तथा मानवअधिकार नेतृत्व सम्मेलनबाट पारित रिपोर्ट पनि हेर्न प्रस्ताव गर्छु।

यस विषयमा ठोस कदम अघि बढाउने चाहना छ भने हामीले ओबामा फाउण्डेसनमा एउटा यसैमा केन्द्रित साइट विकास गरेका छौं, जसले तपाईंलाई उपयोगी सामग्रीका साथै संगठनहरूसम्मको पहुँच तयार पारिदिन्छ। ती संगठनले निकै वर्षदेखि स्थानीय एवं राष्ट्रिय स्तरमै तर्कपूर्ण लडाइँ जारी राख्दै आएका छन्।

बितेका केही महिना महामारीले सिर्जित भय, त्रास, अनिश्चितता र कठिनाइबीच अत्यन्त मुश्किलले बित्दै आइरहेको म देखिरहेको छु। यो महामारीले हामीलाई अमेरिकी जीवन आज पनि पूर्वाग्रह र असमानताबीच बाँचिरहेको छ भन्ने तीतो सत्य पनि देखाइरहेको छ।

केही सातायता प्रत्येक जात र वर्णका नवयुवामा अभियान निम्ति अघि बढ्दै गरेको जोश देखिरहँदा म असाध्यै आशावादी पनि भइरहेको छु। यो अघि बढ्दै जाँदा हाम्रा न्यायपूर्ण आक्रोशले शान्तिपूर्ण, दिगो र प्रभावकारी कदमको मार्ग पनि पहिल्याउँदै जानेछ भन्ने म आशा गर्छु। र, त्यो क्षण नै हाम्रो मुलुकको लामो यात्रामा एउटा साँच्चैको परिवर्तनकारी मोड साबित हुनसक्नेछ, जसले हाम्रा उच्च मूल्य र मान्यतापूर्ण जीवनको कामनालाई साक्षात तुल्याइदिनेछ।

आउनुस्, कामको थालनी गरिहालौं।

(मिडियमको आलेखलाई सेतोपाटीले गरेको अनुवाद)

 

प्रतिक्रिया