कर्मभूमिबाट जन्मभूमिलाई सम्झदा

विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड, अमेरिका २०७७ जेठ १५ गते २२:२५ मा प्रकाशित

मानिसले आफ्नो सपना, कल्पना, महत्त्वकांक्षा र आवश्यकताका कारण संसारका चमत्कारिक आविष्कारहरूको विकास गर्दै गयो। यसैक्रममा उसले आकाशमा चरा उडेको देख्यो आफू पनि त्यसरी नै उड्न पाए हुने भन्ने कल्पनामा डुब्यो अनि जहाज बनायो। जहाज त बन्यो, विकासको एउटा उत्कृष्ट नमुना संसारले पायो। तर भन्छन नि चन्द्रमा पनि दाग हुन्छ। हवाईजहाजबाट संसारले निकै ठूला उपलब्धि मात्र हासिल गरेन मानिस विश्वको एक कुनाबाट अर्को कुनामा सहजै पुग्न सक्ने पनि भयो। अनि संसारका मान्छेहरू भुर्रर चराजस्तै उडेर विश्वको एक कुनाबाट अर्को कुनामा सहजै पुग्यो। अनि मानिस पनि ग्लोबल सिटिजन बन्यो।

कहिलेकाही यसो सोच्छु यदि जहाज नबनेको हुँदो हो त संसारका यति धेरै मान्छे आफ्नो जन्मभूमि छोडेर कर्म भूमितिर पाइला अगाडि बढाउदैनथे कि ? तर खोई ? के भन्न सकिन्छ र ? खाने मुखलाई जुगाँले कसरी छेक्थ्यो होला र ? अनेकन उपाय रचेर भएपनि पखेटा हालेको मान्छे उडिहाल्थ्यो होला टाढा टाढा चराजस्तै। आज संसारका लाखौँ मानिसहरू आफ्नो जन्मभूमिबाट हजारौँ कोश पर छन्। जन्मभूमिबाट टाढा हुन् उनीहरूका आ-आफ्नै सपना, वाध्यता, विवशता, अनि अलिकति रहर पनि होलान। अझ त्यसमाथि स्वयंम प्रत्येक व्यक्तिको उच्च महत्त्वकांक्षाले पनि उसमा विदेश मोह अलिकति बढाइदिएको हो कि ?

जसरी जुन तत्त्वहरूको वजन भारी भएर मानिस विदेशिनु परेको भएपनि एउटा ध्रुबसत्य भनेको जब मानिस विदेसिन्छ उसमा आफ्नो जन्मभूमिप्रतिको प्रेम अत्यन्त अगाध रूपमा छताछुल्ल भएर पोखिदो रहेछ। जति ऊ आफ्नो जन्मभूमिमा हुँदा त्यो प्रेम महशुस गर्दैन। प्रदेशमा गाउँमा आमाले बनाएको जस्तो गुन्द्रुक, सिन्की अनि गाडेको मूलाको अचारको स्वाद कहाँ पाउनु ? कहाँ रोधी र मारुनी धाउनु ? अनि कहाँ चांदीझैँ चम्केका सेता हिमाल देख्न पाउनु ? उ संग हुन्छ त केवल यी सबै कुराहरूको मीठा सम्झनाहरू, कल्पनाहरू। अनि रातै भरि आफ्ना सपना आइरहने मातृभूमिको रमाइला दृश्यहरू।

मानिसलाई जे कुराको अभाव हुन्छ नि, त्यो कुराको महत्त्व आफूसंग नहुँदा मात्र थाहा पाउँदो रहेछ। जब हामी आफ्नो माटोमा हुन्छौँ त्यतिबेला लाग्छ विदेश कस्तो होला ? आहा। चिल्ला सडक, हेर्दा टोपी नै खस्ने जस्ता अग्ला गगनचुम्बी महलहरू कस्ता होलान ? अझ ठूला शहरको रातिको झिलिमिलि बत्ति कति रमाइलो होला ? हामी त्यसै त्यसै विदेशको कल्पनामा रमाउँछौँ। विदेशको कल्पनाले हामीलाई रोमाञ्चित नै बनाइदिन्छ।

हामी आफ्नो देशमा हुँदा विदेशका मान्छेले के खालान ? कस्ता लगाउलान, भन्ने कुरामा बढी ध्यान दिन्छौ। अझ विदेशी सामानहरू प्रयोग गर्न पाइयो भने आफूलाई भाग्यमानी नै ठान्छौँ। फेसबुकमै हेरेर भएपनि बाहिरको नक्कल गर्न हामी तल्लीन रहन्छौँ। सकभर ठूला सुपरमार्केटहरूबाटै भएपनि केही विदेशी ब्राण्डका सामानहरू किन्न सक्षम भइयो भने समाजमा आफूलाई ठूलै भएको महशुस गर्छौ। तर जो विदेश छन उनीहरूलाई भने जे पनि आफ्नै स्वदेशको प्यारो। नेपालबाट आएका मानिससँग थोरै गुन्द्रुक मगाउन पाउँदा होस् या नेपाली जमघटमा नेपाली परिकारहरू खादा नै किन नहोस वा नेपाली गीतमा छमछम नाच्न पाउँदा उसले प्राप्त गर्ने परम आन्नद यहाँ व्यक्त्त गर्न नै सकिदैन ।

यस्तै हजारौँ सपना, महत्त्वकांक्षा र रहरहरू बोकेर म पनि आजभन्दा आठ वर्ष पहिले जन्मभूमिबाट कर्मभूमितर्फ हान्निएको हुँ। जब विदेश आएँ तब स्वदेशको सम्झनाले सताउन थाल्यो। अनि बल्ल महशुस भयो देशको माया, माटोको माया, घर अनि परिवारको माया ।

केही वर्ष पहिलेको कुरो हो म त्यतिबेला गर्भवती थिएँ। मलाई गुन्द्रुकको साँधेको अचार खाने सार्है इच्छा लागेर आयो। हुनत प्राय हाम्रो घरमा गुन्द्रुक खाली हुँदैनथ्यो। तर त्यति बेला बेलै त्यस्तो परेछ। नेपालबाट आउने साथीहरू नभेटेकाले पनि होला गुन्द्रुकको खडेरी नै परेको रहेछ घरमा। अरूबेला भए त गुन्द्रुकको अचार खाने मेरो हुटहुटीलाई अलि थामथुम पनि पार्न सकिन्थ्यो कि ? तर गर्भवती अवस्था नै त्यस्तो मन लागेपछि लाग्यो लाग्यो। तर मेरो अहोभाग्य। भन्नुपर्छ, मनुष्यको इच्छा दैवले पुर्याउछ्न भन्छन नि त्यस्तै भइदियो।

त्यसको केही दिनमा शनिवार एकजना साथीकोमा नेपाली साथी-साथीका बीच जमघट थियो। त्यहि जमघटमा एकजना दिदीले म गर्भबती भएको थाहा पाएर हेर्दै नखाए नि खाउखाउ जस्तो लाग्ने गुन्द्रुकको साँधेको अचार डिब्बामा हालेर ल्याइदिनुभएको रहेछ। केही खान नरुचेर दुब्लो भएको मेरो शरीरले त्यो दिदीले माया गरेर ल्याइदिएको साँधेको गुन्द्रुकको अचार मीठो मानी मानी खायो धेरै दिनसम्म। त्यस अघि र पछि पनि जीवनमा धेरै गुन्द्रुकको अचार खाइयो होला तर त्यतिबेलाको त्यो अचारले भने मेरो मानसपटलमा मीठो छाप बनाइरह्यो।

नेपाल छोडेर आएको आठ वर्ष भइसक्यो तर यी आठ बर्षमा सायद एक दिन पनि छैन होला नेपाल नसम्झिएको। हुनत आफू जन्मेको, खेलेको त्यत्रो वर्ष बिताएको भूमिलाई कसरी बिर्सन सकिन्छ र ? अझ विशेष नेपाली गीत संगीत अनि नेपाली परिकारहरुले त बेला बेलामा नेपाल नै पुगेको जस्तो भान गराईदिन्छन।

करिब वर्ष दुई जति पहिलाको कुरा हो हामी कलेज पढ्ने दुई नेपाली साथीहरू कलेजको लन्च ब्रेकमा मोबाइलमा नेपाली गीत बजाएर आ-आफूले घरबाट ल्याएका खानेकुरा खाने तयारीमा थियौँ। मसंगैकी साथी, भुटानी मूलकी नेपाली बहिनीले आफ्नो झोलाबाट डिब्बा निकालिन। जब उनले डिब्बाको ढकनी खोलिन तरकारीको मीठो मगमग बासना मेरो नाकैमा आएर ठोक्कियो। के को रहेछ यति मग मग बासना भनेर उनीतिर यसो पुलुक्क हेरेकीमात्र के थिएँ, वहिनीले नै सोधिहालिन, दिदी यो के हो चिन्नुहुन्छ ? उनको डिब्बामा यसो नियालेर हेरेँ,चिनेहालेँ। नचिन्नु के थियो र आफू सानो हुँदा आमाले मीठो गरि पकाएर खुवाएको निगुरो। आलु मिसाएर पकाएको उनको डिब्बाको निगुरोले एक्कासी आमा सम्झाईदियो, आफ्नो बाल्यकाल अनि नेपाल सम्झाईदियो। आँखा त्यसै रसाएर आए। सायद मेरो भावनालाई बुझेर होला वाहिनीले मेरो एकाग्रता तोड्दै भनिन, दिदी मेरी आमाले बनाउनुभएको हो के, हिजो कता खोलातिर गएर खोजेर ल्याउनु भएको रे। खाएर भन्नु अरे कस्तो लाग्यो भनेर ? दुवैमिलेर आलु र निगुरो खाइयो। साच्चै मीठो रहेछ निगुरो। वर्षौपछि खान पाइएको अनि त्यसमाथि आमाको हातले पकाएको मीठो नहुने त कुरै भएन। अझ विदेशी भूमिको खोलातिर पनि निगुरो पाइन्छ भन्ने कुराले कम्ता खुसी भईन त्यतिबेला। पछि त आमासँग ठेगाना मागेर म पनि गएँ निगुरो खोज्न खोलातिर। मे महिना तिर हाम्रा भान्छामा पनि धेरै वर्षसम्म निगुरो पकिरहयो।

कहिलेकाहि सोच्छु कुनै यहि जन्मेका र कुनै सानैमा आएका हाम्रा छोराछोरीले पनि हामीले जत्तिकै नेपाल सम्झलान त ? अथवा यिनीहरूले पनि नेपाललाई त्यतिकै माया गर्लान त ? तर उत्तर त्यति स्पस्ट पाउँदिन। हाम्रा छोरा छोरीले पनि नेपाललाई हामीले जत्तिकै माया गरिदिउन भन्ने त लाग्छ नि? यो कुरामा हामी सचेत त छौ नै तर त्यति संम्भव कसरी होला र ?

अलिदिन पहिला सायद शनिवारको दिन थियो। छोरीहरूलाई लिएर नजिकैको फार्मतिर घुम्न हिँडेका थियौँ, परिवारका सबैजना। गाडीको झ्याल सबै खुल्ला थिए। जब फार्म नजिकै आयो कान्छी छोरी बोली, ड्याडी पिलिज कोल्ज द विन्डो। काउ पु इज स्मेलिंग। ठूली छोरीले पनि त्यसमा जोडबड गरी। कान्छीलाई त त्यो गन्धले असह्य नै भयो उसले गाडीमै वान्ता गरिदिन्छे कि जस्तो गरी। अनि हामीले गाडीका झ्याल बन्द गरिदियौँ। तर नढाटिकन भन्नु पर्दा मलाई भने त्यो गन्धले एक किसिमको आनन्दको महशुस भइरहेको थियो। सायद त्यो गोबरको गन्धलाई पनि मैले धेरै दिनदेखि मिस गरिरहेको थिँए कि ? वा त्यसले मेरो मातृभूमिको झल्को मेटाई दिएकोले पो हो कि ? छोरीहरूसंग पनि कुनै गुनासो रहेन मेरो। हामीले जस्तो हाम्रा छोरीहरूले गोबर, हिलो, माटो र धुलोसंग कँहा खेल्न पाए र ? के तान्थ्यो र उनीहरूलाई गोबर र माटोले? फरक त हुने नै भयो नि उनीहरू र हामीहरूका बीच।

यस्तै अर्को मीठो स्मरण याद आयो। क्यानडा आएको सायद एक वर्ष पछाडि तिरको कुरा हो। हामी बसेको ठाँउबाट अलिपर एउटा भियतनामीको किराना पसलमा तरकारी किन्न गएका थियौँ। तरकारी हेर्दैं जाँदा साग राख्ने ठाउँमा आफूले चिने चिनेको जस्तो साग देखेँ। तर नाम भने अंग्रेजीमा थियो वाटरक्रेस। पात पनि उस्तै डाठ पनि उस्तै दुरुस्तै खोले साग जस्तै (पूर्वतिरको सिम साग) रहेछ।

जे भए पनि आखिर साग नै त हो खादैमा के होला र ? अरूले खाएकै कुरो त हो भनेर किनेर ल्याइयो। पकाएर खाइयो साच्चै खोले साग नै पो रहेछ। मीठो पनि त्यतिकै। मेरो खुसीको सीमा नै रहेन। म सानोँहुदा आमा खोले साग भनेपछि हुरुक्क हुनुहुन्थ्यो। बेला बेलामा पकाई रहनुहुन्थ्यो। हामी चाँहि झर्किन्थ्यौँ आमासंग यो गन्हाउने साग किन पकाएको भनेर ?

तर समयले आज कहाँबाट कहाँ पुर्याइदियो। त्यो खोले साग अहिले आएर यति मीठो बनिदियो। त्यसको व्याख्या गर्ने शब्दहरू नै सायद कमी होलान म संग । त्यो साग खादा मलाई मेरो वाल्यकाल, आमा अनि मातृभूमि सबै संग संगै छु जस्तो महशुस गरायो। अहिले पनि जब म एसिएन किराना पसलमा पुग्छु, समाई हाल्छु दुई चारवटा खोले सागका मुठा। कहिलेकाही फर्सीका मुन्टा, कर्कलो र रायोको साग पनि पाइन्छन एसियन किराना पसलहरूमा। यी कुराहरू देख्दा मन औधी खुसी हुन्छ। अझ कतै ज्वलुको, तोरीको साग, सिप्लीगान अनि चम्सुरको साग पनि भेटिन्छन कि भनेर प्रत्येक पटक किराना पसल जाँदा आँखा दौडने गर्छ किराना पसलमा सजाएर राखिएका तरकारीहरूमा। तर आजसम्म पाउन भने सकेको छैन।

हुनत यहाँ पनि थुप्रै चीजहरू छन जुन जन्मभूमिमा छैनन्। तर यहाँका चीजहरू आफ्ना माटोको भन्दा फरक लाग्दा रहेछन। फिक्का लाग्दा रहेछन। नुन नहालेका तरकारी जस्ता। छन त छ तर स्वाद छैन। तर के गर्नु जन्मभूमिको मीठो स्मरणलाई सम्झिएर बस्नु सिवाय कर्मभूमिमा हामीसंग अर्को विकल्प पनि त छैन। तरपनि आजभोलि अब बिस्तारै बानी पर्दैछ। बिस्तारै यहाँ पाइने चीजलाई नै नेपाली ढंगमा ढालेर नेपालीत्व बनाउने क्रम पनि बढेको छ। अभोकाड़ोलाई खुर्सानी, अमिलो र धनिया मिसाएर अचार बनाएर होस् या स्याउलाई पकाएर अमिलो, पिरो हालेर अचार बनाएर किन नहोस। अझ यहाँ पाउने क्रेन बेरी (बयर) लाई चिनी पिरो हालेर पकाउँदा थोरै भएपनि नेपालको लप्सीको अचारको झल्को मेट्न सकिदो रहेछ। तर लप्सीकै अचार त कहाँ पाउनु ?

जति टाढा उति माया गाढा भनेझैँ आफ्नो मातृभूमिबाट टाढा भएपछि हरपल, हरक्षण त्यहीको यादले सताउँदो रहेछ। सानो खोला अथवा खोल्सो देख्यो भने पनि नेपालकै याद। हरियाली पहाड देख्यो भने पनि उतैको सम्झना। सम्म फाँट, बारी, लहलह गहूँ, मकैका बोट जे मा पनि नेपाल देखिने, नेपाल खोजिने। आफू जन्मेको, खेलेको, हुर्किएको आफ्नो माटोको सम्झनाले सायद सबैलाई सताइरहेको हुँदोरहेछ। मलाई लाग्छ मैले मात्र नभएर कर्मभूमिमा आफ्नो कर्म गरिरहेका लाखौँ मुटुहरूले प्रत्येक पल, प्रत्येक क्षण आफ्नो मातृभूमिलाई सम्झिरहेका हुन्छन। खोजिरहेका हुन्छन जसरी सानो बालकले हरपल आमाको न्यानो काख खोजिरहेको हुन्छ।

जब मातृभूमि छोडेर टाढा आइन्छ अनि मात्र आभाष हुँदो रहेछ हामी आफ्नो मातृभूमिलाई कति प्रेम गर्दो रहेछौँ भनेर। अनि उर्लिदो रहेछ छातीभरि देशको माया। उता देश थोरै दुख्दा यता मन धेरै दुख्दो रहेछ। जब संसारको जुनसुकै कुनामा पनि कुनै नेपालीले दुख पाएको खबर सुनिन्छ अनायस आँसु बर्सिदो रहेछ आँखाबाट।

साच्चै भन्नु पर्दा उता देश दुख्दा यता आँसु झर्दो रहेछ। उता चोट लाग्दा घाउ यता दुख्दो रहेछ। नेपालका सबैकुरा आफ्नै जस्ता प्यारा अनि मायालु लाग्दा रहेछन। जिब्राले नेपालकै स्वाद खोज्ने, आँखाले नेपालकै डाडा काँडा हरियाली पहाड खोज्ने अनि मनले नेपाली पन नै रोज्दो रहेछ। अहिले पनि मेरो देश दुखिरहेको छ। नेपाली आमाको छातीमा वैरीले बुट बजारिरहेको छ। समचार सुन्छु। ज्यादै नरमाइलो लाग्छ। किन बोल्दैनन बोल्नुपर्नेहरू ? किन माया छैन देशको तिनीहरूलाई ? हजारौँ प्रश्न छन् तर उत्तर छैनन। तर आशा भने पक्कै मरेको छैन । एकदिन सत्यको अवश्य जित हुनेछ।

भो नसोध, देशको माया मुटुभित्र कति हुन्छ
देश सम्झी सानो मुटु प्रत्येक पल कति रुन्छ
थोरै देश दुख्दा उता यता आँसु कति झर्छ
उता चोट लाग्दा थोरै पीडा यता कति पर्छ।।

विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड, अमेरिका।

प्रतिक्रिया