एनआरएन अस्ट्रिया विवादमा युरोप संयोजकको चलखेल

बाबा राजेश्वरी थापा,भियना,अस्ट्रिया २०७७ जेठ १५ गते १२:५० मा प्रकाशित

“ ‘साँचो’ ले साँचो कुरा थाहा पाउनु भन्दा अगाडि नै ‘झुठो’ ले कमसेकम दुई पटक संसारको भ्रमण गरिसकेको हुन्छ। त्यसैले झुठो कुरा सुन्ने मात्र हो, विश्वास गर्ने होइन। र, झुठोलाई चूनौती दिने हो- तिमी ‘झुठो’ बोल्न छोडेनौ भने म तिमीलाई ‘साँचो’ ले सबै खोलिदिन्छु।” सामाजिक संजालमा भेटेको यो अभिव्यक्ति एनआरएनए अस्ट्रियामा लागु भएको छ।

एनआरएनए अस्ट्रियामा जुन किसिमबाट विवाद चर्काउने काम भएको छ, त्यसमा युरोप संयोजक नारायण आचार्यको हात रहको कुरा प्रस्ट हुदाहुदै पनि अन्तर्राष्ट्रीय समन्वय परिषद तै चुप मै चुप गरी बसेको भान हुन्छ ।

जुलाई २१, २०१९ मा एनआरएनए अस्ट्रियाकोअध्यक्षमा बिनोद चौलागाई र महासचिवको पदमा श्रीमती भवानी तिवारी विजय भए देखि विवाद शुरु भएको हो। विभिन्न दोष र आरोपप्रत्यारोपका साथै आफुलाई निरीह देखाउन अनि आफुले गरेका गल्ती छोप्न “ सदस्य मनोनीत गरेर विवाद शुरु भएको” प्रचारवाजी महासचिव पक्षले जनवरी २०२० देखि गर्न शुरु गरिएपनि, यसको शुरुवात २१ जुलाई २०१९ मा चुनाव भएको दिन नै आफ्ना पक्षकाहरुले हारेको रिसमा चुनावको नतिजा मान्न इन्कार गर्नेहरुले चुनाव स्थलमै बबन्डर मच्चाएको घटना त्यहां उपस्थित र सत्यलाई साथ दिने सबैको मानसपटलमा ताजै छ तर त्यति हुदाहुदै पनि कार्यसमितिले बिनोद चौलागाईको अध्यक्षतामा आफ्ना नियमित गतिविधि संचालन गर्न शुरु गर्यो, एउटै कार्यसमितिमा रहेर दिनरात एनआरएनए अस्ट्रियाले संचालन गरेको तिज कार्यक्रम, फुटबल कार्यक्रम वा तिहारको देउसी भैलो कार्यक्रममा आफ्नो अमुल्य समय र कडा मिहिनेत गर्ने थुप्रै पदाधिकारीहरुले महासचिव र महासचिव पक्षिय पदाधिकारीहरुको मनोमानी बेलाबेलामा प्रेस सामु खोलेका तथ्यहरु पनि सुरक्षित छन ।

२७ अक्टोबर २०१९ मा संघले आयोजना गरेको देउसी भैलो कार्यक्रममा महासचिव पक्षको न्युन सहभागितामा संघका सकृय पदाधिकारीहरुले महासचिवपक्षबाट भएका असहयोग प्रस्टरुपमा बोलेका थिए किनकी एनआरएनए अस्ट्रियालाई असफल पार्ने कर्तुत चरम सिमामा पुगेको तथ्य देउसी भैलो कार्यक्रममा महासचिव पक्षीय पदाधिकारीहरुको न्युन उपस्थितिले प्रस्टाएको थियो । दिनप्रतिदिन एनआरएनए अस्ट्रियाको मनमुटाव बढिरहेकै अवस्थामा विधान अनुरुप प्रवक्ता, सदस्यहरु, सल्लाहकार समिति र संरक्षक समितिका पदाधिकारीहरुको मनोनयन भएको थियो। महासचिव पक्षको निहुं खोज्ने र भांडभैलो मच्चाउने क्रम जारी थियो तर त्यतिमै सिमीत नरही राष्ट्रीय समन्वय परिषदका सल्लाहकार र संरक्षक समितिका पदाधिकारीहरुलाई समेत बेवास्ता गरी अध्यक्षलाई निराधार आरोपहरु लगाएर अध्यक्ष बर्खास्त गर्ने दुस्साहस महासचिवले गरिन तर यस लज्जास्पद कार्यलाई युरोप संयोजक श्री नारायण आचार्यद्वारा ढाकछोप गरी आफ्नो पक्षलाई सहजकर्ताको जिम्मेवारी दिए ।विवाद मिलाउने जिम्मेवारी पाएका संयोजकहरु विवादको समाधान निकाल्न नसकी आफै विवादमा फस्न पुगेपछि मेलमिलाप समिति विघटन भयो। हरेक झुठो तथा भ्रामक कुरालाई मुद्दा बनाएर अन्तर्राष्ट्रीय समन्वय परिषदमा उजुरी दिई केन्द्रीय पक्षबाट सहानुभूति बटुल्न महासचिवपक्ष सफल भयो साथै महासचिव पक्षलाई कांग्रेस समर्थित अन्तरराष्ट्रीय समन्वय परिषदका पदाधिकारीहरुबाट पुर्ण समर्थन मिलिरह्यो। समान राजनैतिक आस्था राख्ने र अध्यक्ष कुमार पन्तको जित स्वीकार्न नसकेको पक्षले एनआरएनए अस्ट्रियाकी महासचिव भवानी तिवारीलाई गोटी बनाएर आजको दिन सम्म पनि चालिरहेको छ।

आफुलाई मन नपरेका कार्यसमितिका पदाधिकारीहरुलाई व्यक्तिगत आक्षेप लगाउने, निजी फेसबुक वालमा गरिएका पोस्ट र निजी जीवनका घटनाक्रम र पारिवारिक पृष्ठभूमि मात्र नभई कुनै राजनैतिक आस्था नभएका व्यक्तिलाई समेत जबरजस्ती कम्युनिस्टको बिल्ला लगाई केन्द्रमा उजुरी लेख्ने महासचिव भवानी तिवारीपक्षलाई मलजल गर्ने र मलमपट्टी गरेर वर्तमान अध्यक्ष कुमार पन्तको नेतृत्व र एनआरएन विधानलाई नै अटेर गरेर एनसीसीहरुमा जथाभावी हस्तक्षेप गरी एनआरएनको प्रतिष्ठा धमिल्याउने काम गरिरहेका युरोप संयोजक नारायण आचार्य स्वयंले एनआरएन अस्ट्रियाको विवाद मिलाउन आफैले जिम्मा दिइएका युरोप उपसंयोजक कृष्ण तिमिलिसिनाको काममा समेत बाधा पुर्याईरहेका छन।

नेतृत्वपक्ष निस्पक्ष हुनुपर्छ तर युरोपक्षेत्रकै जिम्मेवारी पाएका युरोप संयोजक श्री नारायण आचार्यले कतैपनि नभएको चलन अर्थात अध्यक्ष बर्खास्त गर्ने, एनआरएनको निजी सम्पति दुरुपयोग गर्ने, विधान मिचेर अध्यक्षको नेतृत्व नमान्ने र अध्यक्षको जानकारी विना कुटनैतिक मामिलामा संस्थाको लेटरहेड प्रयोग गरी भारतीय राजदुतावासमा इमेल लेख्ने, कोरोना भाइरसको महामारीबाट संसार आक्रान्त हुदा आफ्नै एनसिसीलाई असहयोग गरी समान्तर कार्यसमिति बनाएर अगाडी बढ्न खोज्ने महासचिव पक्षको एकोहोरो साथ दिनु र महासचिव भवानी तिवारीका माग र अडानमा सहमत भइ उनकै कुरामा पुर्ण विश्वास गरी निर्वाचित सदस्यलाई अपमान भएको र भौतिक कारवाहीको डरका कारण आफ्नै एनसिसीको बैठकमा उपस्थित हुन डराएको भन्ने जस्ता भ्रामक कुरामा विस्वाश गर्नु युरोप संयोजन नेतृत्वकै कमजोरी हो।

निर्वाचित पदाधिकारिहरुलाई बैठकमा उपस्थित हुन असुरक्षित महशुस भएको भनेर च्याप्नुको अर्थ मनोनीत सदस्यहरु गुण्डागर्दीमा लागेका छन भन्ने जस्तो आशय बुझिन्छ । विधिवत दर्ता भएर खुलेको सामाजिक संस्थाका पदाधिकारीहरुले आफ्नै संस्थाका पदाधिकारीहरुलाई अपशब्द प्रयोग गर्छन वा भौतिक आक्रमणको धम्की खुलेआम दिन्छन भने व्यक्तिको नाम किटान गरी कानुनअनुसार प्रहरीमा उजुरी दिनुपर्छ। अपराध गर्नेलाई सजाय दिने काम प्रहरीप्रशासनको हो, कुनै सामाजिक संस्थाको केन्द्रीयस्तरको होइन र सामाजिक संस्थामा समाजसेवा गर्न अगाडी बढेका व्यक्तिहरुले समाजमा शान्ति र सुरक्षा स्थापना गरी व्यक्तिगत रिसइवी वा दोषारोपण गरेर शान्ति खल्बलाउने प्रयास गर्नु हुदैन। अपराध सहनेपनि अपराध गर्ने सरह दोषको भागीदार हुन्छ ।

संघको विधान अनुसार र एनआरएन अध्यक्ष कुमार पन्तले पत्रकार महासंघ युरोपको सार्वजनिक कार्यक्रमै अस्ट्रियाकी महासचिवले अध्यक्षको जानकारीविना कुनै काम गरेको भएसत्यतथ्य बुझेर आवश्यक कदम चाल्न निर्देशन दिइसक्नु भएको छ। संस्थाको विधान अनुसार प्रक्रिया अगाडी बढाएर विवाद मिलाउन प्रोत्साहन गर्नु पर्ने अवस्थामा आफैले शुरु गरेको प्रोजेक्टलाई आफैले उछिनेको व्यवहार युरोप संयोजक नारायण आचार्यले देखाए।

कारवाहीको प्रक्रिया नै अगाडी नबढाएको र के कति कारणले कारवाही नगर्ने भनी महासचिव भवानी तिवारीसंग स्पष्टीकरण मागेकै आधारमा एनसीसीलाई कारवाही नगर्न ठाडो हस्तक्षेप गर्ने युरोप संयोजकको कदम गलत छ । युरोप संयोजक नारायण आचार्यकै भाषामा एनआरएनए अस्ट्रियाको विवाद मिलाउने जिम्मा पुर्व अध्यक्षहरुलाई दिइएको छ तर मेलमिलाप को लागि संलग्न को छ भन्ने कुरा अस्पष्ट त छ किनकी आफ्ना निजी विचार राखी केन्द्रमा भ्रम फैलाउने र कार्यसमिति नै विघटन गर्नुपर्छ भनेर सल्लाह दिने वा एनसिसीलाई नै विघटन गर्नुपर्छ भनेर धम्की आउने गरेको तथ्य अध्यक्ष बिनोद चौलागाईले अनौपचारिकरुपमा गुनासो गर्ने गरेका छन। महासचिव जस्तो पदीय जिम्मेवारी लिएकी भवानी तिवारीले कहिले अत्यन्तै आक्रामकशैलीमा पत्र लेख्ने त कहिले मीठा शब्दमा पत्र लेखी सबैलाई दिग्भ्रमित पारेको अवस्थामा एनसिसी अस्ट्रियामा छ।

अस्ट्रियाको एनआरएनभित्रको विवादमा कार्यसमितिको पदाधिकारीहरुमा आफ्नो जिम्मेवारी र दायित्व बोध नहुनु समस्या हो। सामाजिक संस्थामा धेरै बोलेर भ्रम सिर्जना गर्नु र परम्परागत शैलीमै कार्यक्रम संचालन गर्नु भन्दा फरक ढंग र शैली अपनाउनु पर्ने ठाउमा दुवै पक्ष अध्यक्ष र महासचिव एकअर्काको चियोचर्चो गर्ने, सहानुभूति बटुल्ने माध्यम खोज्ने र सामाजिक संस्थामा बसेर आत्मसमीक्षा गरी भएका गल्तीलाई नदोहोराउनु प्रतिबद्धता गर्नुको सट्टा समाधान कसैले खोजिदिओस ताकी मेरा गल्तीमा मैले आत्मालोचना गर्न नपरोस भन्ने सोचाई रहेको छ। अध्यक्ष र महासचिवको विवादको समाधान मिलाउने नाममा धेरै पक्षहरु विभिन्न माध्यमबाट आफ्नो स्वार्थ पुरा गर्नुले सुधार हुन लागेको गैर आवासिय नेपाली संघको छवी पुनः गुम्ने निश्चित छ।

बाबा राजेश्वरी थापा
इनेप्लिजको लागि भियना, अस्ट्रिया
अस्ट्रियन जोर्नालिस्ट क्लब सदस्य

प्रतिक्रिया