साहित्यमा सर्लाहीका महिला हस्ताक्षर

सञ्जय मित्र, रौतहट २०७७ जेठ १४ गते २१:५० मा प्रकाशित

क.विषय प्रवेश

अंग्रेजीमा प्रोभिन्स नं. टू भनेर गुगल सर्च गरेपछि हाम्रो प्रदेशको बारेमा केही आधारभूत जानकारी पाइन्छ । ती जानकारीमध्ये यहाँ भाषालाई मात्र सरोकारको सन्दर्भमा लिइएको छ । सन् २०११ को जनगणनालाई उद्धृत गर्दै यस प्रदेशमा मैथिली ४५.३० प्रतिशत, भोजपुरी १८.५८ प्रतिशत, बज्जिका १४.६५ प्रतिशत, नेपाली ६.६७ प्रतिशत, उर्दू ५.८७ प्रतिशत, थारु ३.७७ प्रतिशत, मगही ०.५७ प्रतिशत, हिन्दी ०.१६ प्रतिशत र अन्य भाषाहरु ४.४४ प्रतिशत रहेको भन्ने तथ्यांक पाइन्छ । यस तथ्यांकमा उल्लेख भएका करिब सबै भाषाभाषीको तथ्यांकप्रति खासै प्रतिक्रिया रहँदैन, बरु असन्तुष्टि रहन्छ । अधिकांश भाषाभाषीले यस तथ्यांकभन्दा बढी आफ्नो भाषाभाषी रहेको बताउने गरेका छन् ।

थोरबहुत हरेक भाषाको साहित्यले विकास गर्ने मौका पाएको छ । यद्यपि यस प्रदेशमा सबैभन्दा बढी लेखिने र सबैभन्दा बढी पढिने भनेकै नेपाली साहित्य हो । विद्यालय तहमा औपचारिक भाषाको रुपमा नेपाली रहेको, सरकारी कामकाजको भाषा पनि नेपाली भएको, सञ्चारमाध्यममा पनि नेपाली नै प्रमुख भाषा रहेको तथा सम्पर्कको भाषा पनि नेपाली भएकोले यस भाषामा सबैले सहजताको अनुभूति गर्दछन् । यसकारण अन्यान्य भाषामा कलम चलाउने गरेका मानिसले पनि नेपाली साहित्यमा कलम चलाइरहेका हुन्छन् । आफ्नो मातृभाषाको सेवा गर्नेले पनि नेपालीको सेवा गरेका हुन्छन् । यसैले नेपाली भाषामा कृति प्रकाशन हुनु स्वाभाविक हो । तर यसभन्दा पनि मुख्य कुरो के हो भने अन्य भाषाभाषीभन्दा नेपाली मातृभाषीको भाषा र साहित्यको क्षेत्रमा अत्यधिक सकारात्मक सक्रियता रहेको छ । यसले गर्दा हरेक जिल्लामा वर्षेनी नेपाली साहित्यका कृतिहरु प्रकाशन भएको पाइन्छ । यसै क्रममा सर्लाहीबाट पनि एउटा कृति प्रकाशन भएको छ

– सर्लाहीका महिला हस्ताक्षर ।

प्रदेशका आठ जिल्लामध्ये भूगोलको दृष्टिले सबैभन्दा ठूलो जिल्ला सप्तरी हो भने जनसंख्याको दृष्टिकोणले सबैभन्दा ठूलो जिल्ला सर्लाही हो । सर्लाहीका महिला हस्ताक्षर प्रकाशन गर्ने संस्था हो – सर्लाही साहित्य समाज लालबन्दी । जनसंख्यालाई आधार मान्ने हो भने प्रदेशका बीस ठूला सहरमध्ये लालबन्दी एघारौँ स्थानमा आउँछ।

ख. सर्लाहीका महिला हस्ताक्षर

सर्लाही साहित्य समाज लालबन्दीद्वारा २०७६ जेठमा प्रकाशित सर्लाहीका महिला हस्ताक्षरलाई सर्लाहीको काव्य इतिहासमा महिला हस्ताक्षरहरूको एउटा नवीनतम् काव्यकृति भनिएको छ । परिचित कवि तथा समालोचक सुमन घिमिरेद्वारा सम्पादित सर्लाहीका महिला हस्ताक्षर कविता संग्रह आफैँमा उपलब्धिपूर्ण कृति हो । यस कृतिले सर्लाहीमा महिला साहित्यकारहरु सक्रिय छन् र सर्लाहीका सक्रिय महिला साहित्यकारहरुको प्रतिनिधि कविताको रूपमा यो कृति रहेको अनुमान लगाउन सकिन्छ । यद्यपि यस कृतिमा सर्लाहीका प्रतिनिधि महिला कवि वा कविता भनिएको छैन।

यसपूर्व सर्लाहीका महिलाको संयुक्त काव्यकृति वा केही महिलाहरुको कविताहरुको संकलन प्रकाशन भए नभएको विषयतिर काव्यले प्रकाश नपारेको सन्दर्भमा यस कृतिलाई सर्लाहीका महिला हस्ताक्षरको पहिलो प्रयास पनि भनेको पाइएको छैन । साथै यसप्रकारको कामको निरन्तरता हो भन्नेसम्म पनि संकेत नगरिएकोले यस कृतिलाई सर्लाही साहित्य समाज लालबन्दीले एउटा विशिष्ट कामलाई पनि सामान्य काम मानेको देखिन्छ।

वर्णानुक्रमानुसार कविता दिइएको यस कृतिमा अमला अधिकारीका तीनवटा सामान्य गजल छन् । अधिकारी जानकीनगरकी हुनुहुन्छ । यसपछि लालबन्दीकी अम्बिका पौडेलका चारवटा कविता दिइएका छन् । विविध विषयमा आफ्ना अभिव्यक्तिलाई पौडेलले सहजतापूर्वक प्रस्तुत गर्नुभएको छ । यसपछि एकै पृष्ठमा दिव्या मैनालीका चारवटा मुक्तक प्रस्तुत गरिएका छन् । मुक्तीय धर्म निर्वाह गरिएको रचनामा फरक फरक विषयवस्तु दिइएका छन् । यस कृतिमा एकजनाको मुक्तक मात्र छ । एउटा मुक्तक यस्तो छ :

लाग्न त माया लागिरहन्छ नि एउटा कारण छ
नभनी गएकी छे यसो भनी एउटा कारण छ
समाजले स्वीकार्दैन अन्तरजातीय माया हाम्रो
किन बुझ्दैनौ तिमी पनि एउटा कारण छ ।

देवका अधिकारी फुयाँलका पाँचवटा कविता कृतिमा परेका छन् । लालबन्दी ९ की फुयाँलका कविताहरु फरक फरक विषयवस्तुका छन् । लालबन्दी १६ परवानीपुरकी निर्मला भण्डारीका दुई कविता प्रकाशित छन् । लघुआयामका दुवै कवितामा कविताका धेरै गुण समेटिएका छन् । झ्याउरे गीत शीर्षकको

कविताबाट एक टुक्रा –

उकालो र ओरालो छ जिन्दगीको बाटो
पहाड पर्वत भए पनि प्यारो यही माटो ।
मीना देवकोटाका कविताहरु पनि स्तरीय छन् । देवकोटाका पाँच कविता राखिएका छन् । कविताको विषयवस्तुमा वैविध्य छ । कलात्मकता र सहजता देवकोटाका कविताका सम्पत्ति हुन् । कविताको परिवेश बनाउन र बिम्बात्मक बनाउन कवि सफल देखिनु हुन्छ । सपनाको जिन्दगी शीर्षक कवितामा कवयित्री

देवकोटा लेख्नुहुन्छ –

भिजिलान्ते छिछिमिराका प्वाँख बनेर
मान्छेका आकांक्षाहरू सलबलाएको
यो परिवेश,
आज उल्टै पुतली बनेर
बत्तीरुपि उज्यालोतर्फ हाम फाल्दा
झ्याप्प बत्ती र जिन्दगी
एकैसाथ निभाउने खतरा म देखिरहेकी छु ।

लालबन्दीकी रञ्जना घिसिङका चारवटा कविता छन् । कवितामा विभिन्न विषयवस्तुलाई प्रस्तुत गरिएका छन् । सरलताभित्र प्रवाहमयपूर्ण कविताहरू बोधगम्य छन् । लालबन्दीकी कवयित्री रमा न्यौपानेका दुई कविता समेटिएका छन् यस संग्रहमा । दुवै कविता पढ्नयोग्य छन् । रमा पौडेल पत्थरकोटेका दुई कविताहरु वण्र्य विषयवस्तुका दृष्टिले सामान्य भए पनि प्रस्तुतिमा भने नवीनता छ । पत्थरकोटे आफ्नो मेरो पनि मुटु दुख्छ कवितामा भन्नुहुन्छ –

तिमीलाई आफनै विवेक गुमाउँदा
पुरुष हुनुको पौरुषत्व दुख्छ
मलाई तिमीसँगको साथीत्वमा
हरेक उपहासको प्राप्तिमा दुख्छ ।

लालबन्दी ९ की राजेश्वरी काफ्लेका छवटा कविताहरू पस्किएका छन् । संख्याका दृष्टिसे सम्भवतः सबैभन्दा बढी संख्यामा काफ्लेकै कविता परेका छन् संग्रहमा । मध्यम आयामका कविताहरू स्तरीय पनि छन् । संग्रहका प्रतिनिधिहरू कवितामध्ये काफ्लेका कविता पनि रहेका छन् । एउटा कविताको छोटो अंश यस्तो रहेको छ –

सुधा र सन्ध्या दुई नेत्र मेरा
छन् काखमा यी अति नै पियारा
उठाउँछु छाती महाँ लगाई
त्यो स्वर्गको सुख यहीँ छ मलाई ।

कृतिमा समेटिएका कवयित्रीहरुको संख्याको दृष्टिकोणले कृतिको मध्यमा एघारौँ स्थानमा राधा पौडेलको एक कविता राखिएको छ । सवाई शीर्षकमा दिइएको कविताले एकातिर सवाईको छनक दिन्छ भने अर्कोतिर कविताको स्वाद पनि दिन्छ । यो स्तरीय रचना हो । लालबन्दी ७ की राधिका लुइँटेल काफ्लेको पनि एउटै कविता राखिएको छ । तर लालबन्दी ७ कै रीता कोइरालाका उच्च मध्यमस्तरका तीन कविता प्रस्तुत गरिएका छन् । यसै गरी वीणा ढकालको एउटै कविता संग्रहमा परेको छ । दाइँजो शीर्षकको यस गेयात्मक कवितामा कवयित्री ढकाल भन्नुहुन्छ –

बुट्टे सारी गाउनको अति असल चौबन्दी चोलो र फेर
मुगा, मोती, चुरा, टीका र गहना नाना रकमका अनेक
लाई नाची र खेली हिँड्ने म उनै छोरी हुँ नेपालकी
मेरो बाल्य छटा देखेर खुसी भई दाइँजोमा पाएकी ।

विन्दु रामदाम इच्छुकका चार गजल यस कृतिमा राखिएका छन् । यसपछि लालबन्दी ७ की विमला बुढाथोकीका कविताहरू प्रस्तुत गरिएका छन् । बुढाथोकीका दुवै कविता राम्रा छन् । सविता खड्काका दुई कविताले पनि स्थान पाएका छन् । सारिका काफ्लेको पनि एउटा कविता कृतिमा परेको छ । लालबन्दी ८ की सुमित्रा आचार्यका तीनवटै कविता स्तरीय छन् । कविताले कवित्वधर्म निर्वाह गरेका छन् । चन्द्रनगर २ बबरगञ्जकी सुशीला सिंहको एउटा कविताभन्दा पहिले सुशीला पौडेलका दुई गजल राखिएका छन् । एउटा गजलको आरम्भिका यस्तो छ –

यो मदिरा यो पानी कति रहस्यमय
यो रूप यो जवानी कति रहस्यमय ।

यसरी सर्लाहीका महिला हस्ताक्षर संयुक्त कविता कृतिमा सर्लाहीका एक्काइस स्रष्टाका कविता, गजल र मुक्तक समेटिएका छन् । विभिन्न विषयवस्तु र प्रस्तुति शैलीका कविताहरूले एकातिर सर्लाहीका महिला हस्ताक्षरको परिचय बोकेका छन् भने अर्कोतिर सर्लाहीमा काव्य क्षेत्रमा महिलाको उपस्थितिलाई प्रतिनिधित्व गरेका छन् ।

र अन्त्यमा,

केही रचनाकारका ठेगाना खुलाइएको छैन । ठेगाना स्पष्ट भएकामध्ये अधिकांश लालबन्दीकै सर्जकहरू कृतिमा रहेका छन् । यसबाट यो पनि सिद्ध हुन्छ कि सर्लाहीमा साहित्यको क्षेत्रमा सक्रिय महिला हस्ताक्षरहरू करिब लालबन्दीमै रहेका छन् । अर्थात् यस कृतिको आधारमा सर्लाहीका महिला हस्ताक्षर भन्नाले लालबन्दीका महिला हस्ताक्षर भनेर बुझ्दा पनि हुने देखिन्छ । यद्यपि कृतिको प्रकाशन हुनुपूर्व सर्लाहीका महिला हस्ताक्षरसम्म यस कृतिको प्रकाशनको बारेमा सूचना पुगेको हुनुपर्छ।

कृतिमा आएको हस्ताक्षरहरूको मुखाकृति राखेको भए अझ राम्रो हुने थियो । केही रचनाकारको ठेगाना पनि राखिएको रहेनछ, हुन सक्छ रचनाकारले रोकेका होलान् । महिला हस्ताक्षरहरुको छोटकरीमा परिचय नदिँदा कृतिमा केही उदासीपना पनि देखिएको छ । कम्तीमा इमेल ठेगाना वा पत्राचार ठेगाना वा कुनै विद्युतीय ठेगाना भएको भए अझ राम्रो हुने थियो । सर्लाहीका महिला हस्ताक्षरको इतिहासको पक्षमाथि पनि थोरबहुत प्रकाश पार्ने काम यसमा भएको भए सुनमा सुगन्ध थपिने थियो । आगामी दिनमा यस प्रकारको विशिष्ट काम गर्दा सर्लाही साहित्य समाजले यस कार्यलाई अझ विशिष्ट बनाउने प्रयास गर्ने कुरामा विश्वास गर्न सकिन्छ । यद्यपि सुझाव दिन सजिलो र सुझावलाई व्यवहारमा आफैँले उतार्न गाह्रो हुन्छ भन्ने कुरो सबैले बुझेकै छन् र मैले पनि राम्ररी बुझेको छु ।

देश संघीयतामा गइसकेपछि सम्वतः सर्लाहीले जिल्लागत रूपमा नारी सर्जकका काव्यरचनालाई समेटेर निकालेको पहिलो कार्य हुनुपर्छ यो कार्य । सर्लाहीका महिला हस्ताक्षर आफैँमा एउटा विशिष्ट कार्य हो । हुन त यो सर्लाही साहित्यको महिला काव्य हस्ताक्षर हो । यस प्रकाशनले अन्य जिल्लालाई पनि यस प्रकारका विशिष्ट काम गर्न घच्घच्याएको छ । सर्लाही साहित्य समाज लालबन्दीमार्फत कवि तथा समालोचक सुमन घिमिरेको यस सुकार्यलाई सर्लाहीको साहित्येतिहासमा नयाँ आयाम थपेको घामझैँ छर्लङ्ग छ ।

-सञ्जय मित्र

प्रतिक्रिया