दलित र सेक्स उस्तै उस्तै

नबिन बिक, चीन ,गोन्जाउ २०७७ जेठ ११ गते ११:१७ मा प्रकाशित

नबिन बिक, चीन ,गोन्जाउ ।  कोही पनी जन्मजातै दलित हुदैन । जब समाजमा उसलाई हेला गरिन्छ,उसलाई उसको अधिकार बाट बन्चित राखिन्छ।जसलाई शारीरिक वा मानसिक रुपमा प्रताडित गरिन्छ । जसले आफूसंग भएको अन्याय सहन बाहेक केही प्रतिकार गर्न सक्दैन वा सामाजिक,आर्थिक,शैक्षिक र राजनैतिक हिसाबले पिछडीएको ब्यक्तिनै दलित हो । तर अचेल मानिसहरुमा यो दलित शब्दको गलत बुझाई देखेर म अचम्मित छु।अहिले दलित भनेकै कथित पानी नचल्ने जात वा समुदाय भनेर बुझिन थालिएको छ। पहिला कामी,दमाई,सार्की ,गाईने,चमार,पासवान अनेक थरीको सबै नाम लेख्नु र भन्नु पर्थ्यो तर अहिले थोकमै “ दलित “ भनिदिएसी टन्टै साफ, सबैलाई एउटैमा शब्दले कान्ड पुर्याई दिन्छ।

मैले दलितको परिभाषा माथीनै दिई सकेको छु। त्यो परिभाषा भित्र भट्टराई, पौडेल,गुरुङ्, श्रेष्ठ वा सामाजका जुनसुकै जातका ब्यक्ती पनि पर्न सक्छन ।सरकारले दलितको नाउमा बिभीन्न कोटा र सुबिधा दिएको छ तर यो राहत र सुबिधा बास्तबिक दलितसम्म पुग्न सकेको छैन, यसको दुरुपयोग भएको छ, जस्तोकी उदारहणको लागी काठमाडौको न्युरोडको सुन पसले सुनारको छोरा र त्यही सुन दोकानमा चौकीदारी गर्ने लमजुङ्गकोअधिकारी बाहुनको छोरासंगै डाक्टर पढनको लागी ईन्ट्रान्स दिन गए भने, जसको न्युरोडमा घर छ, करोडौको कारोबार छ ,उसकै छोराले आरक्षण पाउछ किनकी उ सुनार हो ।

सरकारको परिभाषामा उ दलित भित्र पर्छ तर महिनाको १५ हजारमा चौकीदारी गर्ने बाउन दलितमा पर्दैन र उस्को छोराले सुनारको छोरासंग भिड्दा पछि पर्छ र उस्ले अरुनै बैकल्पीक क्षेत्र रोज्नुपर्छ। यहा दुई पात्रमा दलित को थियो ? सुनार वा अधिकारी बाउन? यो एक बृहत सर्बपक्षिय छलफलको बिषय बनेको छ ।

दलितलाई सधै दलितनै बनाई राख्ने खेलमा कथित दलित समुदायका केही पढेलेखेका र टाठाबाठा भनी टोपलीने ब्यक्तिहरु नै लागेका छन ।उनीहरु कुनै न कुनै संघसस्था खोलेर जे कुरालाई पनि जातिय रंग दिएर आफ्नै दुनो मात्रै सोझ्याउन तिर लाग्दछन । जस्तो की कुनै कथित तल्लो जात भनिने समुदायको कोही नारी बलात्कृत भए भने “ दलित महिला बलात्कृत” भनेर हेडलाइन न्युज बनाउछन ।

ओल्टै दलित,पोल्टै दलित भनेर कुरा उचालेर बसिखान गर्दैनन, हो तिमी अन्यायको बिरुद्द लड तर कुनै जातको लागी होईन मानवताको लागी लड हाम्रो पनि साथ हुनेछ। निर्मला पन्त पनि यसरी नै बलात्कृत भएर हत्या गरिएको थियो । उनको न्युजमा किन “बाउनी निर्मला बलात्कृत “ भनेर न्युज आएन? उनीहरु पहिला मानब हुन,महिला हुन जबरजस्ती बाउनी, दलित, मतवाली भनेर जात र धर्मको रंग दिएर समाजमा घृणा नफैलाउ र सामाजिक बिखण्डन नल्याउ,यो कार्य अति नै तुच्छ ,अमानबिय र गैर कानुनी कार्य हो ।

मैले धेरै यस्तो सज्जनहरुलाई चिनेको छु । आफैलाई कथित दलित नेता भनेर चिनाउन रुचाउछन,जो बिदेश बस्नु हुन्छ । तर बर्षमा वा दुईबर्षमा एकचोटी काठमाडौ आएर कुनै तारे होटलमा ब्यानर टाँगेर सम्मेलन गरेर भिडीयो र फोटो खिचेर २-४ वटा प्रायोजित पत्रकारहरुको साईटमा र आफ्नो फेसबुकमा असरल्ल पारेर जातिय छुवाछुतको आन्दोलन सफल पारेर पुन बिदेश फर्किनुहुन्छ।

मलाई पनि यस्तो संघसस्थामा लागेको पोष्ट लिनुस (अध्यक्ष बाहेक)तर हाम्रो सस्थामाआईदिनुस भनेर बिशेष अनुरोध कति आउछ आउछ । तर मैले समुदायको भन्दा व्यक्तिगत फाईदा हेर्ने झुन्डको कहिल्यै गोटी बनिन । मैले एउटा कुरा अहिले सम्म बुझ्न सकेको छैन की त्यस्ता जातिय बिभेदको बिरुद्द लड्ने संस्थाहरुमा एउट पनि बाउन,नेवार, क्षेत्री, मतवालीहरुलाई समेटेर संयुक्त संगठन बनाएको देखेको छैन। यो लडाई कथित दलित भनिने समुदायले मात्रै लडेर पार लाग्ने लडाई होईन ।

अमेरिकाको कालाहरुको स्वतन्त्रताको लडाईमा गोराहरुले साथ नदिएको भए त्यो लडाई सफलहुनअझै कति कुर्नु पर्थ्यो । जसरी एन्टीभेनन (सर्पले टोकेको औषधी) (Antivenom)बनाउनको लागी सर्पकै बिष प्रयोग गरीन्छ ।

जुन आगोले पोल्यो त्यै आगोले सेक्छ भन्ने नेपाली उखान छ । त्यसरी नै जुन समुदायले छुवाछुत गरेको छ । तिनै समुदायको बिद्वानहरुलाई साथ लिएर अघि बढेमा यो लडाई अवस्य सफल हुनेछ। जति भ्रम गैरदलित समदायको साथीहरुले चिर्दा प्रभाबकारी हुन्छ त्यति अरुले गर्दा हुदैन ।

अहिले क्षेत्री,बाउन, गुरुङ, मगर, राई, लिम्बु, नेवार लगाएत सम्पुर्ण समुदायका साथीहरुमा यस्तो सोच र ब्यबहार छैन र अत्यन्तै न्युन रहेको छ। कही कतै दुर्गम गाउमा घटेको एकाध घटनालाई लिएर सबैलाई एउटै तराजुमा राखेर हेर्नु अन्याय हुन्छ । मलाई जीबनमा माया गर्ने साथीहरु मध्या ९५ प्रतिशत भन्दा बढी गैरदलित साथीहरु छन। मेरो भुपु मायालुहरु सबै क्षेत्रीनी ,बाहुनी,गुरुङसेनी, नेवारनी लगायतका थिए ।

तर भबिस्य बनाउने चक्करमा बिदेशीएर यता घरजम गरियो नत्र मेरो पनि गैर दलित नै श्रीमती हुन्थे । म काठमाडौ जादा म आफ्नो दाजु भाई र आफन्तलाई छोडेर पौडेल बाउन साथीको घरमा र राजभण्डारी नेवार दाईको घरमा बस्छु। किनकी म उनीहरुका यती कम्फर्ट महशुस गर्छु त्यती त म आफ्नै दाजुभाई कहा पनि गर्दिन। उनीहरुको परिवार माँझ बस्छु,भान्छामा, मन्दिरमा र मनमा सबै ठाउमा बस्छु । हामीले कामी, दमाई, सार्की लगाएतको आफ्नो जातमा गर्ब गर्न सिक्नुपर्छ ।यो जातको नाम लिदा हिनताबोध महशुस गर्नु भएन । तपाई आफै हिनताबोध वा तल्लो महशुस गर्नु भयो भने अरुले झन कसरी लिन्छन?

जसरी सेक्सको बारेमा खुलेर बहस नगर्दा समाजमा बिकृती र अपराध बढेर गएको छ त्यसरी नै हामीले आफ्नै जात र छुवाछुतको बारेमा खुलेर बहस नगर्दा सामाजिक भेदभाव र सामाजिक अपराध पनि बढेको छ। दलित र सेक्स उस्तै हुन सबैले देख्नी गरी चल्दैन । लुकेर सबैलाई मज्जाले चल्छन। मैले दलित र सेक्स उस्तै भनेर किन चित्रण गर्न खोजे भनेर सबै जना अचम्म पर्नु भएको होला।

दलित र सेक्स कसैले पनि सजिलै नाम लिन हिच्किचाउछन । सेक्स भनेको खाना भन्दा पनि धेरै अत्याधीक रुचाईने चिज हो वा खाना पछिको अत्यावश्यक चिज हो भनेर भनेमा सायदै ब्यक्तिले बिमति जनाउलान । सेक्सबाट नै यो संसारको सुन्दर उत्पत्ति भएको हो । तपाई हाम्रो उत्पत्ति पनि यै सेक्सबाटै भएको हो तर हामी जब जब सेक्सको कुरा आउछ १२ हात पर भाग्छौ । नाक खुम्च्याउछौ, सेक्स त पाप नै हो । यो संसारको सबै भन्दा काम नलाग्ने घृणित चीज हो जस्तो गर्छौ ।

तर सेक्सको बारेमा कसैले पनी खुलेर कुरा गर्न रुचाउदैनन । राति मज्जाले श्रीमती संग समागम हुदा शिर देखी पाउ सम्म मुई खाएको श्रीमान भोली बिहान उठदा श्रीमतीलाई उसैको पाउमा शीर राखेर ढोग्न लाउछ । परिवारको अगाडी छुन त परको कुरा बोल्न पनि गार्हो गर्छन किनकी हाम्रो समाजको बनावट नै यस्तै छ । ठीक त्यसरी नै कामी,दमाई,सार्की ,गाईने समाजको लागी अति आवस्यक समुदाय थिए ।

यिनीहरुको समाजमा ठुलो योगदान थियो । यिनीहरले समाजलाई बाच्नको लागी अत्यावश्यक चीजहरु बनाएर यो समाजलाई बाँच्न सहज बनाईदिए तर यै समाजले हात हतियार,कृषी सामग्री,भाडाकुडा,गरगहना,लत्ताकपडा, जुत्ता चप्पल,मन्दिर सबै बनाउने यीनै समुदायको जीबननै असहज बनाईदिए । चाहिदा सबै चल्ने नचाहिदा पानी पनि नचल्ने।

कथित दलित समुदाय कुनै कोरनाका भाईरस होईनन । तपाईलाई छोेए वा भित्र छिरे तपाईको मृत्यु हुने,दुई महिना त तपाईहरु पनि अछुत भएर चारैतिर झ्याल ढोका बन्द गरिदिएर सिमित ठाउमा मात्र मान्छेले बाच्नुपर्दाको अछुतको जिन्दगी बाँचेर हेरीसक्नु भएको छ । र अझै कतिदिन यसरी बाँच्नुपर्ने हो थाहाछैन। तपाईहरु दुई महिनाको लकडाउन सहन नसकेर सरकारलाई कति गाली गर्नु भएको छ ।

कति आत्तिनु भएको छ । कथित दलितहरु जिन्दगी भर नै सामाजिक लकडाउनमा जिबन कसरी बिताए/बिताउछन होला ? कहिल्यै सोच्नु भएको छ ? मानव भएर बाँच्नुस र मानब जसरी बाँच्न दिनुस। मानबलाई मानब जस्तो ब्यबहार गर्नुस चार धाम जानै पर्दैन ।

मानबलाई पशु भन्दा तुच्छ ब्यबहार गर्ने जस्तो तुच्छ कार्य र पाप संसारमा सायदै अरु केही होलान ।-जय मातृभूमि

(लेखक एनआरएनएको केन्द्रीय सदस्य (चीनबाट) तथा भ्रष्टचार बिरुद्दको अभियन्ता पनि हुन।)

प्रतिक्रिया