धनकुटा अस्पताल आइतवारदेखि सञ्चालनमा आउने

मनोज दाहाल २०७७ जेठ ९ गते २०:५५ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,९ जेठ । धनकुटा अस्पताल आइतवारदेखि सञ्चालनमा आउने भएको छ।

अस्पतालमा कार्य गर्न स्वास्थ्यकर्मीलाई गत जेठ ४ गते कोरोना भाइरस सङक्रमण देखिएपछि जेठ ५ गते प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे सहित प्रदेशसभासद् , धनकुटा नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतका सरोकारवालाहरुको बैठकले जिल्ला अस्पताल सिल गर्ने निर्णय गरेको थियो।

धनकुटाको अवस्था अहिले सामान्यतर्फ उन्मुख रहेकाले आईतबारदेखि अस्पताल सञ्चालन गर्ने निर्णय भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो।

जिल्ला अस्पताल सिल गरिएपछि मन्त्रालयले प्रदेश नं १ स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताको नेतृत्वमा धनकुटा अस्पतालको स्थलगत अध्ययन, कन्ट्याक ट्रेसिङ, टेष्टिङ, सिल गरिएको अस्पताल सम्वन्धी कार्ययोजना तय गर्न टोली पठाएको थियो।

विज्ञ टोलीको सुझाव अनुसार सामाजिक विकास मन्त्री घिमिरे सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. गुणराज लोहनी, स्वास्थ्य सेवा विभागका इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बासुदेव पाण्डे, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक मेहता, सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख डा. मेहता, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका महामारी रोग विज्ञ डा.प्रज्वल प्याकुरेल, जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरीटेण्डेन्ट डा. पुजन विश्वकर्मा, जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाई,विश्व स्वास्थ्य संगठनका प्रतिनिधि हरिकृष्ण भट्टराई सहितको अनलाईन बैठकले धनकुटा अस्पताल पुर्ववत रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो।

अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति सामाजिक विकास मन्त्रालयको संयोजनमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्थानीय तहबाट उपलब्ध गराउने निर्णय भएको प्रवक्ता डा. मेहताले बताउनुभयो। धनकुटामा आज सम्म १८० जनाको थ्रोट स्वाव सङ्कलन गरिएका मध्ये सात जनाको कोरोना भाइरस रिपोर्ट पोजेटिभ आएको छ । सङ्क्रमितहरुको अहिले कोशी अस्पताल (कोभिड –१९) उपचार केन्द्रमा उपचार भईरहेको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया