नेपालका लागि कोरोनाको खोप ‘आकासको फल’

भगवती तिमल्सिना २०७७ जेठ ८ गते ०:५४ मा प्रकाशित


आंखाले देख्न नसकिने भाइरस कोरोनाले विश्वभर कब्जा जमाएको छ । कोरोना संक्रमणकै कारण वालवालिका, युवा र वयस्क मानिसको अनुहारको हांसो छिनिएको छ । विश्व सामु यस्तो संकट कमै आउने गर्छ, जसले एकैपटक सवै देश र सवै मानिसका लागि उत्तिकै असर गर्छ । कोरोना विषाणुको उत्पत्ति कसरी भयो र अन्त कसरी हुन्छ भन्ने समेत अनुमान गर्न समेत नपाउंदै यसले विश्वलाई तवाह गरिसकेको छ र अव कति तवाह गर्छ भन्न सकिन्न । विश्वका प्रमुख ठुला अर्थतन्त्र भएका अमेरिका र चीन यतिवेला संकटलाई टार्न सहकार्य गर्नुको साटो दोष एकअर्काको टाउकोमा हालेर पानी माथिका ओभाना हुन खोजेका छन् । तर उनीहरुले यो वुझ्नु जरुरी छ, जति उनीहरुको विवाद वढ्दै जान्छ, कोरोनाको प्रभाव अझ तीव्र हुनेछ ।

कोरोना अव तत्कालै सकिदैन । कोरोना संगसंगै वांच्नुको विकल्प छैन । कोरोना सकिने अवस्था भनेको या त खोपको आविश्कार हो या त विश्वका सवै मानिसहरुलाई एक पटक संक्रमण भइसक्नुपर्छ । खोप तत्कालै वन्ने अवस्था छैन र वनेपनि त्यो खोप नेपाल लगायत विकासोन्मुख देशहरुमा त्यति चांडो आउला भन्ने आशा पनि छैन जहां स्वास्थ्यकर्मीहरुको लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) जुटाउन हम्मेहम्मे परेको छ ।

विश्वको प्रधान शत्रु मानिएको कोरोना विरुद्ध लड्न सहज त छैन तर सावधानी अपनाउने भने त्यति धेरै महाभारत पनि छैन । विश्वका प्रमुख देशहरु क्रमश लकडाउनवाट पुनसुचारु हुने वाटोमा गइरहेका छन् तथापि नेपालमा लकडाउन जारी छ । नेपालको खुल्ला सीमाना भएको भारतमा कोरोना संक्रमण अझ तीव्र रुपमा फैलिएकोले गर्दा पनि नेपाल आगाको भुंग्रोमाथि रहेको अनुभव गर्न सकिन्छ । यस्तो अवस्थामा नेपाल र नेपालीहरु सचेत हुनैपर्छ । नेपालले यतिवेला कोरोना संक्रमणको चेनलाई कसरी व्रेक गर्ने, कसरी अस्पताल र वेडको संख्या वढाउने, भेण्टीलेर र भाइरल प्रतिरोधी औषधिहरुको व्यवस्थापन गर्ने, स्वास्थकर्मीहरुलाई तालिम र पीपीइ प्रदान गर्ने काममा सक्रियता वढाउनुपर्छ ।

कोरोना विषाणु कसरी आइपुग्छ र सुटुक्क मानिसको शरिरमा प्रवेश गर्छ भन्ने कुरा देखिने कुरा होइन, यो वुझ्ने कुरामात्रै हो । नदेखिने भएको कारणनै सवैभन्दा वढी सचेत हुनु परेको हो । यो सत्य हो, संक्रमित व्यक्तिले हाच्छिऊ गर्दा आउने छिटावाट र संक्रमित व्यक्तिको श्वासप्रश्वासवाट समेत कोरोना भाइरस वाहिर निस्कन्छ, जुन विभिन्न माध्यमवाट अर्को मानिसको फोक्सोमा पुगेर मानिसलाई विरामी वनाउंछ । कोरोना संक्रमितमध्ये ८० प्रतिशतमा त यसका लक्ष्यण समेत देखिदैनन्, तर यी ८० प्रतिशत सवैभन्दा खतरनाक हुन्, जसले संक्रमण फैलाउन सक्छन् ।

कोरोना संक्रमणवाट जोगिन मानिसहरुले एकापसमा ६ फिटको दुरी कायम गर्ने प्रयास जारी राखेका छन् तर कोरोनाले दिन प्रति दिन मानिससंग आफ्नो दुरी नजिक वनाउंदै छ अर्थात यो वनको डढेलोझै हरेक परिवार र व्यक्तिका नजिक लम्किदैछ । मानव अस्तित्वनै समाप्त पारौंला जस्तो गरी विश्वका मानवलाई पछ्याईरहेको छ । कोरोना निस्कृय बनाउने औषधि त छैनन नै खोपको खोजी कार्यमा विश्वका बैज्ञानिकहरु लागेकै छन् । तर उनीहरुलाई पनि यो भाईरसले जसरी मानिसलाई सोतर पारेर लडाउँदै छ त्यसरीनै लडाउने उपायको खोजी गर्दा गर्दै थकाई सकेको छ । तथापि यही समयमा परिक्षणले सफलता पाउंदै गएको पटक पटकको खबरले विश्वका मानवमा झिनो आशा भने पलाएकै छ ।

कोरोना भाइरस बिरुद्ध विश्वमा बनेका सबै खाले औषधि र खोपको परिक्षण भैसकेको हुनुपर्छ । तर पनि ठोस औषधि औषधि या खोपको पहिचान नभएकै कारण विश्वलाई निकै ठूलो चुनौतिपूर्ण संकट सृजना भएको थियो । खोप पत्ता लाग्यो भन्दा निकै उत्साहले महिनौदेखि नखुलेको चेहरा प्रफुल्लित हुन्छन तर औषधि वनाउन वा खोप उत्पादनका लागि त्यति सजिलो छैन । यस्ता खोज, पहिचान र उत्पादनका लागि ठूलो अर्थ लगानी गर्नुपर्ने हुन्छ । पहिचान गरेर पनि आजको भोली उत्पादन सम्भव छैन । हिजोसम्म औषधि, खोप उत्पादन गर्ने कम्पनीहरुको क्षमताले यत्रो विश्वका जनतालाई धान्न सक्ने औषधि एकैपटक उत्पादन गर्न सम्भव हुँदैन । त्यसमा पनि आर्थिक रुपमा सम्पन्न मुलुकले अनुसन्धान, पहिचान, उत्पादन, प्रयोग गरेपछि मात्र साना मुलुकमा पुग्ने हुंदा नेपाल जस्ता मुलुकले औषधि उत्पादन भएको समाचार सुनेर खुशी हुनुको विकल्प छैन ।

भलै दातृ निकाय, विश्व स्वास्थ्य संगठन, युनिसेफ, उत्पादक मुलुकहरुले उपलब्ध गराउन सके भने पनि उत्पादक मुलुकका जनतालाई पर्याप्त भएपछि मात्र सम्भव छ । त्यसैले नेपाल सरकार र नेपाली जनताले बुझ्नुपर्ने कुरा भनेको महामारीमा ज्यान जोगाउनु सबै नेपाली एक भएर आआफ्नो ठाउंबाट सहयोग गर्नुको विकल्प छैन । देशका उच्च ओहदाको जिम्मेवारी सम्हालेका व्यक्तित्वहरुले पनि अब पदको घमण्ड र हठ गर्ने नभै समस्याको समाधान खोज्न तर्फ लाग्न ढिला गर्नुले फाईदा भन्दा बेफाइदा बढी हुन्छ । सम्पूर्ण नेपालीको शक्तिलाई एक बनाएर अघि बढ्ने नीति सरकारले नलिने हो भने अहिले २ जनाको दुखद निधन भैसकेको अवस्थामा संक्रमितको संख्या बढ्दो छ । कोरोना न्यूनीकरणका लागि देश र जनताको सुरक्षाका लागि आम नागरिकको सहयोग र सद्भावले मात्र सम्भव छ ।

पहिला जनस्वास्थ्यलाई हेरौ त्यसपछि मात्र देशको बिकास र चौतर्फी योजना बनाउने हो । जनतानै रहेनन् र स्वस्थ भएनन् भने कस्का लागि देशको बिकास गर्ने ? जनता स्वस्थ भए भने एकदिन ढिला भए पनि देशबिकास सम्भव छ । देशका युवा जनशक्तिलाई, सीप, ज्ञान स्रोतले दक्ष बनाउनका लागि सरकारको प्रतिबद्धताको खाँचो छ । यतिबेला सरकारले पाठ सिक्नै पर्छ । हरेक मुलुकले पहिलो प्राथमिकता आफ्नो नागरिकको स्वास्थ्य, शिक्षा, रोजगारी, अर्थतन्त्रको बिकास हेर्छ । त्यसपछि मात्र बेदेशीको श्रम र सीप खरिद गर्ने हो । अबका दिनमा पनि नेपाली युवालाई विदेशी भूमिमा गएर रगत पसिना बगाई विश्वले धान्न नसकेको रोगको सिकार हुनु नपरोस् । र्यामिट्यान्सको लोभमा सरकारले युवा शक्ति पशुपक्षी बेच्दाझै बेच्ने काम नगरोस् । देशमै प्राविधिक शिक्षा, कृषि ज्ञान र सीपमुलक शिक्षा दिएर दक्ष बनाई सम्मान पूर्वक काम दिनुपर्छ ।

अब जनताको परिक्षा सरकारले लिने हैन सरकारको परिक्षा जनताले दिने समय आएको छ । यो अप्ठ्यारो घडीबाट सरकारले के सिक्यो र देशका लागि के दिँदै छ । यसो भनेर सरकारले आत्तिएर खलखल पसिना काढ्नु पनि पर्दैन । सरकारले बुद्धिमता पूर्ण ढंगले योजना बनाएर सबैलाई लागुहुने र प्रयोग गर्न सक्ने व्यवहारिक ज्ञान, सीपका माध्यमबाट सकृय बनाएको खण्डमा अबका दिनमा दुई चार पैसा कमाउन र बचाउनका लागि नेपालीले खाडी मुलुक ताक्नु पर्दैन । उच्च शिक्षा, साना, ठूला स्वास्थ्य संस्था, विषय विज्ञ चिकित्सक, नर्स, प्राविधिक, ल्याब टेक्निसिययन, चालक, सहचालक, प्रशासनिक व्यक्ति, लेखा, लेखापरिक्षक सरकारका लागि आवश्यक पर्ने जनशक्ति बिदेशबाट लिनुपर्ने खाँचो छैन । सरकारले आफुलाई बदल्ने रुपान्तरण गर्ने र देश र जनताको पक्षका काम गर्ने यो एउटा ठूलो अवसर पनि हो । यो अवस्थामा सरकारले हामी सबै नेपाली एक ढीक्का भएर अघि बढ्ने वातावरण बनाएर देशका सिमाना सुनिश्चित गरेर ऐतिहासिक कार्य गर्न प्राकृतिक रुपमै ठूलो अवसर प्रात्ति गरेको छ ।

उद्योग व्यवसायमा उद्योगी, व्यवसायी, लगानीकर्ता, विद्युत, संचार प्रविधिको पनि उत्तिकै व्यवस्थापन भैरहेकै छ । यो अवस्थामा अब नेपालले सुद्ध पिउने पानी, सिंचाई, व्यवस्थित सडक, ढल, वातावरण मैत्री यातायातका साधनको प्रयोग गर्ने अठोटका साथ कार्ययोजना तय गरी कार्यान्वयनमा ल्याएको खण्डमा नेपालले सानातिना कामका लागि विदेशको मुख ताक्नु पर्ने हुँदैन । हिजो यहि नेपालले धानेको नेपाली जनसंख्या आज कसरी अटेन भन्ने बिषयमा सरकारले निकै चनाखो भएर सोच्ने बेला आईसकेको छ । शिक्षा, सीप, ज्ञानका लागि विदेश गएका नेपालीहरुलाई पनि स्वदेशमै फर्केर आफ्नै भूमिमा योगदान गरि बिकास तर्फ लम्कने अवसर दिन सक्ने दीर्घकालिन फराकिलो योजना बनाएर अघि बढ्नुनै नेपालको सफलता हुनेछ । यो देश राजनैतिक दलको तिक्तता पोख्नका लागि मात्र प्रयोग गर्ने नभै राष्ट्र र जनताको हितमा एकताका लागि जुट्ने सुवर्ण अवसर आएको छ । यस्तो बेलामा पनि राहतका नाममा राजनीति गर्ने नभै सबैलाई समेटेर अघि बढोस् ।

अहिलेको अवस्थामा नेपाल हरेक कुरामा परनिर्भर भएको अवस्था छ । यो हुनुको पछाडि राजनैतिक दल तथा नेताहरुले देश र जनताको पक्षमा एक भएर दिगो कार्यक्रम बनाउनु जरुरी छ । पढेलेखेका शिक्षीतहरु र शीप, ज्ञान र अनुभव बटुलेका आम नागरिकको साथ लिएर अघि बढोस् । साँघुरो मानसिकतालाई परिवर्तन गरेर फराकिलो बनाउन सक्ने मनोज्ञान दिनतर्फ लागौं । कामलाई सानो र ठूलो भन्ने भेदभाव नगरौ । सियोको काम बन्दुकले गर्न सक्दैन त्यसैले सानो र ठूलो भन्ने सोचलाई बदलौ ।

प्रतिक्रिया