घुस बुझाउने कर्मचारी अख्तियारको फन्दामा

मनोज दाहाल २०७७ जेठ ७ गते २२:३५ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,७ जेठ।

प्रदेश नं १ आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई आज अख्तियारले प्रक्राउ गरेको छ।

डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई रु १० हजार रकम बुझाउन खोजेको थिए।

झाले उक्त रकम खाममा पौडेलको कार्य कक्ष स्थित टेबलको घर्रामा राखिदिएकाथिए । खामआफ्नो टेबलको घर्रामा झाले राखिदिए पछि पौडेलले यो के हो भनेर सोध्दा नभनेको पौडेलले बताएका छन् । साथै झाले आफूले पौडेललाई १० हजार नगद खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्विकार गरेको बताएका छन् ।उक्त घटना भएपछि शाखाअधिकृत पौडेलले भष्ट्राचार जन्य कसुरमा सजाय गराई पाउँ भनि निवेदन दिएका थिए।

यो घटनाको सामान्य जानकारी पाएपछि प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले ठाडो आदेश दिदै घटनामा संलग्नलाई अख्तियारमा बुझाउन निर्देशन दिनु भएको थियो । लगत्तै अख्तियारको इटहरी स्थित कार्यालयले झालाई प्रक्राउ गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा महिनौ देखि अन्य मन्त्रालय तथा कार्यालयहरुको फाइल रोकिदै आएको गुनासो हुने गरेको छ । भर्खरै मात्र पौडेल रहेको महाशाखाका प्रमुख उप सचिव हरिहर पौडेलको सरुवा भएको थियो । उक्त शाखामा कर्मचारीहरुले दुःखदिनुका साथै फायल समेत हराउने, फ्याकिने र च्यातिने गरेको गुनमसो अन्य मन्त्रालयका कर्मचारीहरुले गर्दै आएका थिए।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया