तालिमलाई व्यवहारमा उतार्ने प्रेम सफलता देखेर आफैँ दङ्ग

संजय मित्र २०७७ जेठ ६ गते २१:३८ मा प्रकाशित

रौतहट,

बेमौसमी तरकारीको तालिम लिएर आयआर्जन गर्ने उदेश्यले तरकारी खेती थालेका सर्लाहीको बलरा नगरपालिका ४ का प्रेम सहनी तरकारी उत्पादन देखेर अहिले आफैँ दङ्ग परेका छन्।

दुई चोटि लगाएको तरकारीलाई मौसमले बिगारे पनि हतास र निराश नभई अर्को खेती थालेका सहनीको परिश्रमलाई प्रकृतिले पनि साथ दिएको हो । अहिले सहनीले फलाएको लौका गाउँटोलका मात्र नभई सडकमा हिँड्ने जो कोहीको लागि आकर्षणको केन्द्र बनेको छ।

गत अप्रिल ८ देखि १२ तारिख (२०१९) सम्म युनेस्कोको सहयोगमा सर्लाहीको बलरास्थित काका सामुदायिक सिकाइ केन्द्रले पोलि (प्लास्टिक) टनेल बनाई बिरुवाको स्याहार गर्ने तालिम दिएको थियो । तालिममा सहनीसमेत २० जना सहभागी थिए।

युनेस्को काठमाडौँ अफिसले बलराको काका सामुदायिक सिकाइ केन्द्रसित कन्ट्रयाक्ट नम्बर ४५००३९१४८७ मार्फत १ लाख ३४ हजार रुपैयाको बेमौसमी तरकारी खेती उत्पादन तथा व्यवस्थापन प्रशिक्षण कार्यक्रमको सम्झौता अघिल्लो महिना मार्चको २९ तारिखमा सम्पन्न भएको थियो।

बलराबाट मलंगवा जाने मूल सडकको छेउमा तालिमकै क्रममा सहभागीहरु समेतको सहभागितामा प्लास्टिक टनेल निर्माण गरिएको थियो।

साथै विभिन्न प्रकारका तरकारीको उत्पादन, भण्डारण तथा बजार व्यवस्थापन समेतको सैद्धान्तिक र अभ्यासमूलक कार्यहरू गराइएको थियो । हुरी बतास र वर्षाको मौसम आएपछि प्लास्टिक टनेललाई फोल्ड गरी राखिएको थियो । तालिम सम्पन्न भएपछि सहनीले सोही जग्गामा भदौ महिनामा भन्टाको विरुवा रोपेर ज्ञान र सीपलाई व्यवहारमा उतार्ने प्रयास गरे तर बाढीको पानीले भन्टाबारीलाई डुबाएपछि भन्टाको बिरुवालाई धेरै नोक्सान पु¥यायो।

भन्टा खेतीमा बाढी पसे पनि सहनीको उत्साहमा कुनै कमी आएन । गत मंसिरमा सहनीले चुकन्दर खेती गरे ।तर लगातारको बेमौसमी वर्षाले चुकन्दर खेतीलाई एक किसिमले सखाप नै पारिदियो।

चुकन्दर खेतीलाई सखाप पारे पनि भन्टा खेतीमध्येको केही झारले राम्रो उत्पादन दिन थालेको अवस्थामा सहनीले लगाएको लौकाले भने उनको सबै परिश्रमलाई सार्थक बनाइदिएको छ । लकडाउनको समयमा उनको भन्टाले पनि उत्पादन दिन थालेको र लौकाले रहरलाग्दो उत्पादन दिन थालेपछि सहनी हर्षित भएका छन् । धैर्य र आँट भएमा परिश्रमले सार्थक परिणाम दिनेमा विश्वस्त रहेका सहनी अहिले लौका फलेको देखेर आफैँ दङ्ग परेका छन्।

अहिले प्लास्टिक टनेलको भित्री भागमा लौका, घिरौला र क्राँक्रोको उत्पादन पनि प्रशस्त मात्रामा भएको छ । यी उत्पादनहरुले लकडाउनको लकडाउनको अवस्थामा स्थानीय बासीको तरकारी सम्बन्धी केही आवश्यकता पूरा गरेको छ । तरकारी खेतीको सपना पूरा भएको भन्दै सहनीले तालिमका सहजकर्ता उदयप्रताप देव तथा काका

सामुदायिक सिकाइ केन्द्र र यूनेस्को काठमार्डौं अफिसप्रति आभार व्यक्त गर्दछन्।

आफूलाई आयआर्जनको बाटोमा डो¥याउन र तरकारी खेतीको माध्यमबाट समाज सेवामा लाग्न सहयोग पु¥याएको भन्दै सहनी परिवार नै खुसी देखिएको छ ।सहनी परिवारले पाएको सफलताले प्रशिक्षण लिएका अन्य सहभागी पनि उत्साहित भएको र आफ्नो प्रगतिको मूल्यांकन गर्ने समय आइरहेको काका सामुदायिक सिकाइ केन्द्र बलराका अध्यक्ष डा. कमलेश्वरकुमार सिन्हाले बताएका छन्।

 

प्रतिक्रिया