रौतहटका सञ्चारकर्मीको कोरोना बिमा

संजय मित्र २०७७ जेठ ५ गते २१:५२ मा प्रकाशित

रौतहटका सबै क्रियाशील सञ्चारकर्मीहरुको कोरोना बिमा गरिएको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य रहेका तथा सदस्य नरहे पनि जिल्लामा सक्रिय पत्रकारितामा रहेकाहरु समेतको गरी ८५ जनाको कोरोना बिमा गरिएको हो।

कोरोनाको जोखिम बढ्दै गएको र सञ्चारकर्मीमा पनि कोरोनाको संक्रमण देखा परिसकेको अवस्थामा कोरोना बिमाको लागि महासंघले पहिल थालेको थियो । महासंघको आग्रहमा माधवनारायण नगरपालिकाले सञ्चारकर्मीहरुको बिमा गरिदिएको हो।

माधवनारायण नपाका मेयर वीरेन्द्र राय यादवले शाखाका सचिव गौतम श्रेष्ठलाई बिमा वापतको चेक हस्तान्तरण गरेका छन् । बिमित सञ्चारकर्मीमा कोरोनाको संक्रमण देखिएमा संक्रमित सञ्चारकर्मीलाई सगरमाथा इन्स्योरेन्स कम्पनीले एक लाख रुपैया प्रदान गर्ने सचिव श्रेष्ठले जानकारी गराएका छन्।

चेक हस्तान्तरण गर्दै मेयर यादवले बिमा गरिएको भए पनि सम्पूर्ण सावधानी अपनाई सुरक्षित रहेर सामाजिक दूरी कायम गर्दै अन्य समुदायका लागि उदाहरण बनेर सञ्चारकर्मीले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । महासघको रौतहट शाखाले सबै सञ्चारकर्मीको लागि सहयोग मागेकोले आफूले स्वीकार गरेको मेयर यादवले स्पष्ट पारेका छन्।

कोरोनाको संक्रमण रौतहटमा भयावह बन्दै गएको सन्दर्भमा माधवनारायण नगरपालिकाले हाम्रो आग्रहलाई स्वीकार गरेर जिल्लाका ८५ सञ्चारकर्मीको कोरोना बिमावापत ५१ हजार रुपैयाको चेक इन्स्योरेन्स कम्पनीको नाममा हस्तान्तरण गरेकोमा सचिव श्रेष्ठले धन्यवाद दिएका छन् । सचिव श्रेष्ठले कोरोना बिमा गरियो भन्दैमा कुनै लापरवाही नअपनाउन पनि सञ्चारकर्मीलाई आग्रह गरेका छन्।

यसअघि रौतहटका ५० क्रियाशील सञ्चारकर्मीलाई एकापसमा कुराकानी गर्दा कुनै शुल्क नलाग्ने एनसेलको सिम पनि शाखाले उपलब्ध गराएको थियो।

प्रतिक्रिया