राष्ट्रियताको पाठ सिकाउँदै कोरोना

कपिल काफ्ले २०७७ जेठ ४ गते १३:४९ मा प्रकाशित

तीन लाखभन्दा बढी नागरिकको ज्यान लिने कोरोना भाइरसले दिएका पीडाको गाम्भीर्यलाई बेवास्ता गर्नसकिन्न । नेपालमै एक व्यक्तिको ज्यान लिइसकेको र करिब तीन सय संक्रमणमा परिसकेको अवस्थामा यसका असरले आकाश छोइरहेका बेला यसका सकारात्मक प्रभावका बारेमा धेरैलाई सोच्नसम्म मन नहुनसक्छ । तरपनि कोरोनाले नेपाल र नेपालीका लागि ऐतिहासिक केही उपहार दिएको छ, दिंदैछ । केही उदाहरण हेरौं :

१. देशको माया

नेपाल–भारत सिमानामा करिब डेढ महिना कष्ठपूर्ण अवस्थामा अड्किएर नेपाल प्रवेश गरेका हजारौं नेपालीले ‘देशको भूमि टेक्नासाथ स्वतन्त्र, सुरक्षित र अपनत्वको अनुभूति भयो’ भनेका छन् । यीमध्ये कति भूमि ढोग्दै स्वदेश प्रवेश गरे भने कतिले ‘अब जति दुःख पाए पनि स्वदेशमै केही गरेर खान्छु, विदेश जान्नँ’ भने ।

पछिल्लो साता नेपाल–भारत सरकारले जो जहाँ छ त्यहीं रहन दिने पहिलाको सहमति तोड्दै आफ्ना नागरिक भित्र्याउने र विदेशी नागरिकलाई उनीहरुकै देशमा पठाउने नीति लिएका कारण भारतबाट मात्र २० हजार नेपाली नेपाल फिर्ता भएको बताइन्छ । यद्यपि भरपर्दो तथ्यांक सरकारसँग छैन ।

कपिलवस्तुस्थित सुनौली नाकाको क्वारेन्टाइनमा रहेका एक हजार तीन सयभन्दा बढी नेपालीलाई भारतले नेपाल पठाएको लर्को हेर्दा २० हजार परिणाम न्यून देखिन्छ । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको आँखा छलेर विभिन्न नाकाबाट नेपाल प्रवेश गरिरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले यसअघि नै स्वीकार गरेको सन्दर्भ हेर्दा र दुई देशबीच सिमानामै रहेका गाउँहरु र खुला मैदानलाई ख्याल गर्दा निकै ठूलो परिमाणमा नेपाली स्वदेश फर्केको अनुमान गर्न सकिन्छ ।

लुकीछिपी नेपाल प्रवेश गर्नेहरुलाई रोक्न प्रशासनलाई हम्मेहम्मे परेको र भारतले नेपाल सरकारको ‘हामी तिम्रा नागरिकलाई ख्याल गर्छौं, तिमी तिम्रो देशमा रहेका हाम्रानेपालीलाई सुरक्षा गर’ भन्ने अनुरोध अस्वीकार गरेका कारण नेपालीले आफ्नो भूमि टेक्न पाएका हुन् । नेपाल सरकारलाई थाहा थियो, जानेभन्दा आउने बढी हुन्छन्, सबैलाई व्यवस्थापन गर्न गारो हुन्छ । आफ्ना नागरिकलाई व्यवस्थापन गर्न नसक्ने र सकभर मुलुकमा नफर्किदिए हुन्थ्यो भन्ने मानसिकता राख्ने सरकारको मनशाय प्रष्ट देखियो । यस्तो जटिल अवस्थामा पनि सरकार सत्ता र कुर्सीको विवादमा केन्द्रित भयो ।

‘नेपालमा पेशागत विकास केही पनि हुन्न’ भन्ने निराशाले अधिकांश नेपालीमा वास गरिरहेको र विदेशमा भए सजिलै कमाउन सकिन्छ भन्ने धारणा बढिरहेको बेला देशप्रेमको विकास गराउन कोरोना भाइरस सशक्त कारण सावित भएको छ । स्वदेशप्रतिको आस्था कोरोनाकै कारण ह्वात्तै बढेको छ । नेपाली गाउँ–घरमा अहिले एक प्रकारले दशैं आएको छ, बाँझो खेतबारी र पाखामा बालीनालीको तयारी थालिएको छ ।

कृषिप्रधान मुलुकका रुपमा परिचित रहेको नेपाल पछिल्ला वर्षमा आर्थिक रुपले विशेषतारहित मुलुक बनेको छ । खेतीपातीप्रति विकर्षित र वैदेशिक सहायताप्रति आकर्षित हुने र जतिसुकै असज परिस्थितिका बाबजुत विदेशै जाने प्रवृत्तिको विकास भएको बेला कोरोना भाइरसले आखिरीमा आफ्नै भूमि चाहिने सत्यबोध गराएको छ । घर–करेसामा तर्कारी फलाएर बेच्दा प्राप्त हुने रकमभन्दा थोरै जागिरका लागि खाडीको तातो घाममा सेकिने रहर धराशयी भएको छ ।

२. अव्यवस्थित सिमाना

नेपाल–भारतबीच आवत–जावतमा भिसा नचाहिने जो व्यवस्था छ त्यसले दुवै मुलुकका नागरिकलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षमा सघाएको छ । यसमा कुनै विमति छैन । तर, एक हजार सात सय लामो खुला सिमाना मौजुदा स्तरको अव्यवस्थित रुपमा खुला हुनु दुर्भाग्यपूर्ण हुने पाठ पनि कोरोकाले सावित गरिदिएको छ । एउटा गाउँ दुवै मुलुकमा बाँडिने अवस्थाले दुई मुलुकबीचको अन्तर्राष्ट्रिय सिमानाको आधारभूत पक्षलाई नै उपहास गर्ने देखियो । माइत, मावल, ससुराली एक–अर्को मुलुकमा हुनुसम्म त स्वाभाविकै हो तर एक देशमा जमिन अर्को देशमा घर हुने अवस्थाका कारण नेपाल–भारतबीच सीमा क्षेत्रका नागरिकको राष्ट्रियता नै अलमलमा परेको देखिंदै आएको छ । यही अवस्थाका कारण दुवै मुलुक सीमा क्षेत्रका आ–आफ्ना नागरिकलाई नियमन गर्न पूर्णतः असफल भए ।

कोरोना महामारीका बेला नेपालले अहिले झण्डै १५ हजार सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको लागि खटाएको छ । नेपाल प्रहरी पनि पहिलादेखि नै कार्यरत छ । हाम्रा नेपाली जवानहरु हावा–हुरी, घामपानी र अनेक समस्यासँग जुध्दै एक–आपसको मुलुकमा संक्रमित व्यक्तिको आवत–जावत नहोस् भनेर पहरेदारी गरिरहेका छन् । तर, त्यो सम्भव भएन । भौगोलिक अवस्थितिले मात्र असम्भव भएको होइन, पूर्वाधारको अभावले पनि असफलता स्वीकार गर्न बाध्य हुनुपरेको हो । भारतको चाहनालाई एकछिन छोडौं, नेपाल पक्षले आफ्नो सिमानाका गाउँलाई सिमानाबाट अलि टाढा व्यवस्थापन गर्न र दश गजा क्षेत्र खालि गराउन सक्थ्यो, तर कहिल्यै प्रयास नै गरेन ! सुरक्षित सीमायुक्त देश बनाउन नै चाहेन, त्यसका पूर्वाधारलाई नै ख्याल गरेन ! दुवै मुलुकका नागरिक जति पटक पनि ओहोर–दोहोर गरुन् तर अभिलेख राखेर मात्र गरुन् भन्ने सोच बनाएको भए निश्चित नाका हुने थिए, अरु ठाउँबाट आवागमन रोक्न बारबेरको प्रवन्ध हुनेथियो । कोरोनाले यस प्रकारको व्यवस्थाका लागि दुवै मुलुकका सरकारलाई पाठ सिकाएको छ ।

३. बेसाहा खाने अवस्था

उत्पादन र उत्पादकत्वका दृष्टिले नेपाल केही दशकयता साँच्चिकै निरीह छ । कुन उपभोग्य सामग्रीमा हामी आत्मनिर्भर छौं? कपडा, चिनी, साबुन मात्र होइन दाल र चामल मात्र पनि होइन, तर्कारीका लागि पनि छिमेकी भारतमा निर्भर छौं । नेपाली कृषकलाई निरुत्साहित गर्ने, फौबञ्जारको कमिसनमा फस्ने र बाहिरबाट आउने तर्कारीलगायतका खाद्यान्नलाई प्रोत्साहित गर्ने राज्यको व्यवहारका कारण कृषिजन्य मौलिकता हराउँदै गएको छ । हामी देशको युवा शक्तिलाई विदेश पठाउने र रेमिट्यान्सको भरमा बेसाहा खाएर बाँच्ने, भ्रष्ट नेता र प्रशासकलाई पालेर बस्ने नागरिकमा सीमित छौं ।

हामी हरेक वर्ष शोधनान्तर स्थिति डावाडोल भएको अवस्थामा छौं । वार्षिक केबल ७५ करोड डलरको सामान बेच्छौं र १० अर्ब डलरको विदेशी सामान खरीद गर्छौं । पेट्रोल, सुन, फलाम, स्टिल, कपडा, गाडीआदि त हाम्रालागि उत्पादन गर्न असहज नै होलान्, तर ओखती, विजुलीका सामान, कपडा, खाद्यान्नआदि हामी उत्पादन गर्न सक्थ्यौं, तर यस्ता क्षेत्रमा कुनै नेपालीले उत्पादन थाल्यो भने त्यसलाई धराशयी बनाउन खासगरी भारतीय उद्योगी–व्यापारीले हाम्रा नेता तथा प्रशासकलाई ठूलो कमिशन खुवाउँछन् । भ्रष्टाचार र कमिशनको विरोधमा आवाज उठाउन पनि मुलुकमा युवा छैनन्, यो जनशक्तिलाई फिर्ता गराउन कोरोना भाइरसले भूमिका खेलेको छ ।

४. सामाजिक विकृति

वैदेशिक रोजगारीका कारण विप्रेषण आउने र राजनीतिक नेता र प्रशासकलाई पाल्न काम लाग्ने एक्लो पक्ष मात्र सफल देखिन्छ, सामाजिक पक्ष चिरा परेको छ । सामाजिक विकृतिहरु भित्रिएका छन् । परिवार छोडेर विदेश जाने सदस्यहरुमध्ये धेरैको घरपरिवार मात्र भत्किएको होइन, असामाजिक सम्बन्धहरु विकास भएका छन् । यसले परिवारमा शोक मात्र सिर्जना गरेको छैन, कुण्ठा र आघातहरु पैदा भएका छन् । गाउँ–गाउँ पुरुषविहीन बनेका छन्– लाश उठाउने मलामीहरुको अभाव हुनथालेको छ । यस्तो बेला, सानोतिनो शक्तिले विदेशिएका नेपालीलाई कहाँ घर फर्कान सकिन्थ्यो र, यसका लागि कोरोनाजस्तो घातक प्रहारकै आवश्यकता थियो ।

५. अति शौखिन

हामी नेपाली अति शौखिन र मोजमस्तीमा रमाउने बाटोतिर लागेकै हौं । पिजा, बर्गर, केएफसीआदिको कुरा मात्र होइन, फाइभ स्टार होटेलमा एक व्यक्तिका लागि एक छाक भोजन खुवाउन दुई हजार पाँच सय रुपियाँ तिरेर कार्यक्रम गरेको अनुभव यस पक्तिकारलाई छ । महँगो मादकपदार्थसहितको पार्टी, रात्री क्लब र क्याबिनहरुमा रमाउने नेपाली समुदाय बढ्दैगएको छ । मुलुक मलिन तर नागरिक मस्तीमा !कङ्गोमा ६० वर्षअघि पहिलो पटक देखिएको एचआईभी घातक संक्रमण भएपनि त्यसले छाडा यौन सम्पर्कलाई केही हदसम्म नियन्त्रण गरेको थियो । कोरोना भाइरसले त छुन र नजिकै मुख लगेर बोल्नसम्म नियन्त्रित गर्दछ । अपरिचित व्यक्तिसँग यौन सम्पर्क गर्दा ढालको प्रयोग गर्ने उपाय निकालेर एचआईभी संक्रमणलाई रोकेपनि त्यस्ता उपायले कोरोना संक्रमण नराकिने भएको छ ।

६. प्रविधिको प्रयोग

जतिखेर प्रकृतिले हामीलाई कोरोनाको झापड हान्यो, त्यतिखेर प्रविधिको प्रयोग गरेर सम्पर्क कायम राख्न भने विश्वले जानिसकेको थियो । यसको अर्थ विकल्पसहितको झापड प्राप्त भएको हो । इन्टरनेटको माध्यमले विश्वको कुनै पनि कुनामा बसेर एक–आपसमा अनुहारै हेरेर सम्मेलन, सरसल्लाह र पढाइका कक्षा सञ्चालन गर्नसकिन्छ । विदेशमा मजदुरी गर्न गएका नेपालीलाई यस प्रकारको सुविधा प्राप्त नहुनसक्छ भन्ने तर्क त गर्नसकिएला, तर अब पहुँच नहुनेभन्दा हुनेहरुको संख्या अधिक छ भन्ने आधार पर्याप्त देखिन्छ । आठ वर्षअघिको जनगणनाले नौ प्रतिशत जनसंख्या इन्टरनेट प्रयोगकर्ता देखाएकोमा अहिले यो संख्या ७० प्रतिशतको निकट छ । पहिला यसको प्रयोगमा अलमलिनेहरु पनि कोरोनाका कारण भौतिक दुरी बढाउन आवश्यक भएपछि सिपालु हुन थालेका छन् । यसरी सीप बढाइदिने काम पनि कोरोना भाइरसको महामारीले नै गरेको हो ।

७. राजनीतिक उत्ताउलोपन

नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने पदावलिभित्रको ‘लोकतान्त्रिक’ जुन शब्द छ, त्यसमा सार्थकता निकै कम छ । निर्वाचन नै यति बढी महँगो छ कि आम नागरिकसम्म लोकतन्त्र आइपुग्नै सक्तैन । त्यसअतिरिक्त पितृसत्ता, पुरुष प्रधानता, जातियता, सामन्ती र सम्राज्यवादी चिन्तन यति बलियोसँग जरा गाडेर बसेका छन्, यसले मुलुकमा भ्रष्टाचार र कमिशनखोरीलाई मलजल गरेको ग¥यै छ । भोज–भतेर–भेला गर्न मानिस भेला हुनुपर्छ, कोरोनाले घर छोडेर बाहिर निस्कनै दिएको होइन !

८. प्राकृतिक समृद्धि

आकाश खुलेको छ, नदीहरु सङ्लिएका र बनजंगल बढेका छन् । काठमाडौंमै बसेर पनि चैत–वैशाख–जेठमा रुघासम्म लागेको छैन मानिसलाई । यस्तै हो भने उपत्यकाभित्रै बागमती नदीको किनारमा बल्छी समाएर माछा मार्न बसेको मानिसको तस्वीर–भिडियो खिचेर पत्रकारले मिडियामा देखाएको हेर्न धेरै समय कुनुपर्ने छैन । जंगल बढेको सूचक दिन जंगली जनावरहरु बस्तीनिकटसम्म विचरण गर्न पनि थालिसकेका छन् ।

९. छाउपडीमा पुरुष

कसैलाई नछोईकन अलग्ग बस्नुको पीडा हाम्रो समाजका बालिक महिलाले त पहिलादेखि नै भोग्दै आएका छन्, तर पुरुषले भोगेका थिएनन् । प्रजनन स्वास्थ्यको एक प्राकृतिक अभ्यासलाई आधार बनाएर समाजले महिलालाई महिनाको चार दिन मानवअधिकारबाट वञ्चित गर्दैआएको छ । अछुतको नियम बनाउने मनुस्मृतिका पाठकहरुले कोरोनाकै कारण छाउपडी कति पीडादायक हुँदोरहछ, बुझ्नपाएका छन् ।

१०. मानवीय संवेदना

कमाउने, समृद्धि बढाउने र छरछिमेकीलाई देखाउने मानसिकतामा कोरोनाले नराम्रो झापड ठोकेको छ । इटलीका नागरिकले पैसाले ज्यान बचाउन र सुख–समृद्धि दिन नसकेपछि नोट सडकमा फालेको तस्वीर टेलिभिजनको क्यामेराले खिचेको थियो । यस लेखकको आँखाले त्यस्तै तस्वीर नेपालमा आजसम्म खिच्न नसकेपनि बेखर्ची भएँ भन्दै घर–घरमा आएका राजधानी बाहिरका व्यक्तिलाई राजधानीवासीले छाती खुला गरेर पैसा र भोजन दिएको भने खिचिसकेको छ ।

(नेपाल समाचारपत्र दैनिकका सम्पादक कपिल काफ्लेको यो लेख साभार गरिएको हो)

प्रतिक्रिया