आइतबार, जेठ १८ २०७७
काठमाडौं २३:३०
वासिङटन डिसी 13:45

बाल्टिमोरमा एक नेपालीको निधन

अल्पायुमै ज्यान गुमाए लामिछानेले

इनेप्लिज २०७७ जेठ ३ गते ११:०४ मा प्रकाशित

बाल्टिमोर,अमेरिका,मे १६ । मेरिल्याण्डको क्रफ्टन भन्ने ठाउँमा बस्दै आएका नेपाली युवा बैकुण्ठ लामिछानेको अल्पायुमै निधन भएको छ । ४८ वर्षीय लामिछानेको बुधावार राती करीब १० बजेतिर बाल्टिमोर वासिंगटन मेडिकल सेन्टरमा उपचाररत रहेकै अवस्थामा निधन भएको उनका पारिवारिक नातेदार गजेन्द्र अर्यालले ग्लोब नेपाल डटकमलाई जानकारी दिनु भएको छ । लामिछाने जन्डिसबाट पीडित थिए । त्यही क्रममा उनी केही साता पहिले पनि अस्पतालमा पुगेका थिए । लामिछाने आफ्नी श्रीमती र २० वर्षीया छोरीका साथ विगत केही वर्षदेखि क्रफ्टनमा बस्दै आइरहेका थिए । छोरी कलेजमा अध्ययनरत छिन् । लामिछानेले अस्पताल भर्ना भएपछि पनि अलि समस्या बढे जस्तो लागेर आफु अस्पताल आएको भन्दै फोन गरेको क्रफ्टनमै बस्ने लामिछानेका छिमेकी अशोकजंग केसीले जानकारी दिए ।

पुर्ख्यौली थलो पर्वतको कुश्मा बजार रहेका दिवंगत लामिछानेका बुवाआमा र अन्य पारिवारिक सदस्य बसाई सराइ गरी चितवनमा बस्दै आएका छन् । लामिछाने आफ्नो जेठानको छोरा भएको समाजसेवी गजेन्द्र अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार लामिछाने १५ वर्ष पहिलेदेखि अमेरिकामा बस्दै आएका थिए । उनी केही महिना पहिले मात्र नेपाल गएर फर्किएका थिए । ‘जन्डिस बढ्दै गएपछि त्यसकै असरले कलेजो र फोक्सो समेत ड्यामेज भएको र त्यही कारण निधन भएको हो’ अर्यालले भने ।

यसैबीच दिवंगत लामिछानेको शुक्रवार नै दाहसंस्कार गरिएको छ । दाहसंस्कार गर्नु पहिले अन्तिम श्रद्धान्जलीका लागि लामिछानेका परिवार,नातेदार र क्रफ्टन क्षेत्रमा बस्ने नेपालीहरु शवदाह गृह पुगेका थिए । दाहसंस्कारका लागि डेलिगेट ह्यारी भण्डारीले श्रोत जुटाउने र अन्य आवश्यक समन्वय गर्ने काम गरेका थिए । भण्डारीको पुर्ख्यौली थलो पनि पर्वत नै हो ।’बिहीवार बिहान मैले यो घटनाको बारे जानकारी पाएँ र गजेन्द्र अर्यालजी,अशोक केसीजीलगायतका परिवारका सदस्य र छिमेकीसंग सल्लाह गरेर उहाँहरुकै अनुरोधमा दाहसंस्कारका लागि मैले आफ्नो तर्फबाट श्रोत जुटाउने र सहयोग गर्ने काम गरें’ डेलिगेट भण्डारीले अल्पायुमै लामिछानेको निधनप्रति दु:ख व्यक्त गर्दै ग्लोब नेपाल डटकम प्रतिनिधिसंग भने । भण्डारी स्वयम् पनि अन्तिम श्रद्धान्जलीका लागि शवदाहगृह पुगेका थिए । नेपाली मूलको पहिलो निर्वाचित जनप्रतिनिधिका रुपमा मेरिल्याण्ड राज्यका सांसद डेलिगेट भण्डारीले यसपटक कोरोना संक्रमणका कारण न्यूयोर्कमा निधन भएका नेपालीहरुको दाहसंस्कारका लागि राज्यका सम्बन्धित सरकारी निकायसंग समन्वय गरी शवदाहको प्रबन्ध गराउन सक्रियतापूर्वक काम गरेका छन् ।

पुर्ख्यौली थलो एकै ठाउँ भएका कारण पारिवारिक रुपमा नै आफुहरुको चिनजान रहेको भन्दै बाल्टिमोरमै बसोवास गर्दै आएका पर्वत समाज अमेरिकाका संस्थापक उपाध्यक्ष सरोज पुरीका अनुसार लामिछानेका चार दाजुभाई थिए । चारमध्ये दूई जना भाईहरुको दुर्घटनामा परी यस पहिले नै निधन भैसकेको छ ।
दिवंगत लामिछाने परिवार बस्दै आएको क्रफ्टन आसपासका नेपालीहरुले लामिछानेकी श्रीमती र छोरीलाई सहयोग गर्न ‘फ्रेन्ड्स अफ क्रफ्टन’ मार्फत आर्थिक संकलन समेत गरिरहेको दिवंगत लामिछानेका छिमेकी अशोकजंग केसीले जानकारी दिएका छन् ।

शाभार :ग्लोब नेपाल (https://www.globenepal.com/index.php )

प्रतिक्रिया