उसलाई के थाहा!

डा. प्रणय शमशेर ज. ब. रा २०७७ वैशाख ३० गते १०:२१ मा प्रकाशित

 

पसिनाले आर्जेको जमिन भएपो माया लाग्थ्यो
सत्ताको लागि जमिन र जमिर बेच्नेलाई १-१ इन्च जोड्दाको पीडा के थाहा

नेता त्यो जो रणभूमिमा अग्रपंक्तिमा उभिएर देशको रक्षा गर्दथ्यो
७० काट्दा पनि लम्पसार पर्दै अनेक कानूनका प्वाल खोज्दै
पगरी पहिरिन चाहनेलाई वास्तविक नेताको परिभाषा के थाहा

जनतासंग काँधमा काँध मिलाएर हिंड्न बहुत बलवान हुनुपर्दछ,
सिमित गुमराह दास कार्यकर्ता बोकेर हिंड्नेलाई जनता को हो के थाहा

शासक त भन्छ आफुलाई तर शासनप्रणाली भन्दा पनि पाचन प्रणालीमा बढी जोड छ
घुसमा मोटाउने उडुसलाई विधिको शासन के थाहा

आफुलाई आहुति चढाई देश देख्न चाहनेको कमि छैन यहाँ
तर बाऊ बिर्सने, आमा बेच्ने, अनि लोक नंग्याएर
महामारीमा समेत सन्तान पोस्नेलाई नेपालको माया के थाहा
खाई-नखाई जंगे पिल्लर समाउने नेपालीको व्यथा के थाहा

-डा. प्रणय शमशेर ज. ब. रा.

प्रतिक्रिया