अमेरिकन आइडल जिताउन भोट गर्न दिवेश पोखरेलको आग्रह, यसरी गर्नुहोस् भोट

इनेप्लिज २०७७ वैशाख १४ गते ११:५२ मा प्रकाशित

काठमाडौं। विश्वकै ठूलो मानिएको गायन रियालिटी शो अमेरिकन आइडलमा विभिन्न चारणहरु पार गर्दै अगाडि बढिरहेका नेपाली युवा दिवेश पोखरेललाई अब अगाडि बढ्नको लागि फ्यानको सहयोग आवश्यक पर्ने भएको छ । उनलाई अब फ्यानहरुको भोटको आवश्यकता पर्नेछ जसले उनको अगाडिको यात्रा तय गर्नेछ ।
दिवेशले आफ्नो फेसबुक पेज मार्फत सबै फ्यानहरुलाई भोट गर्न अपिल गरेका छन् । साथमा उनले आफूलाई यहाँ सम्म अघि बढाउन सघाउने सबैलाई धन्यवाद दिएका छन् । अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको अगाडि प्रस्तुती दिँदै संसारभरका संगीतप्रेमीको मन जितेका दिवेशलाई जिताउन भोटिङको अभियान पनि सुरु गरिएको छ । उनका परिवार र साथीभाइहरु सहित नेपाली फ्यानहरुले उनका लागि भोट गर्न अपिल गरिरहेका छन् ।

दिवेशका लागि भोटिङ आजदेखि खुल्ला भएको छ । आउँदो अप्रिल २९ तारिखसम्म उनलाई भोट गर्न पाइनेछ । दिवेशले फेसबुक पेजमा एउटा भिडियो सन्देश जारी गर्दै भोटिङका लागि अपिल गरेका छन् । एक जना ब्यक्तिले ३ फरक फरक तरिकाले ३० पटकसम्म भोट गर्न पाउने ब्यबस्था गरिएको छ । मोवाइल एसएाएस पठाएर, अमेरिकन आइडलको मोवाइल एप मार्फत तथा अमेरिकन आइडलको वेबसाइट मार्फत गरी ३ तरिकाले भोट गर्न सकिनेछ । प्रत्येक तरिका बाट बढीमा १० भोट गर्न पाइनेछ । भोटिङ गर्ने विस्तृत तरिका दिवेशले फेसबुक पोस्ट र भिडियो सन्देशमा बनाएका छन् ।

प्रतिक्रिया