मैले भोगेको अमेरिका: आजकल त सबै अमेरिकनको धेरै माया लाग्छ

शशी के.सी २०७७ वैशाख १३ गते १७:१६ मा प्रकाशित

आज एप्रिल २५ तारीख,२०२०, यानी नेपालमा बिनाशकारी भुईंचालो गएको पाॅंचौं बार्षिकी । हुन त त्योबेला पनि म अमेरिकामा नै थिॅंए, अहिले पनि यतै छु। तर ओहो,त्यो कहाली लाग्दो दिन सम्झॅंदा नी मन डरले थर्र थर्र काम्छ। नेपालमा दिन हुॅंदा, यहाॅं रात हुन्छ। तर नेपाल लगभग ११-१२ घण्टा अगाडी भर्जिनियाबाट। त्यो शुक्रबारको राती साथीको घरबाट पार्टी खाएर आउॅंदा ढिलो भयो र फोन पनि साइलेन्ट मोडमा राखेर सुतेको थिॅंए। नेपालमा त शनिवार बिहान भुईॅंचालो गएछ, अनि थाहा पाउनेहरूले जताततैबाट फोन गरेका, मेसेज गरेका रहेछन्। बिहान पाॅंच बजे बिॅंउझिएछु, फोनमा कति बजेछ भनेर समय हेर्न खोज्दा त १५-२० मिस कल, मेसेन्जरमा पनि तेत्तिकै मेसेज छ। ॲाखा मिच्दै के हो भनेर पढ्छु त,कसैले लेखेको पढें, भुईंचालोले काठमाडौंको सुन्धाराको धरहरा नै ढल्यो। अब धरहरा त रहेन भने, काठमाडौंको सबै घर भत्किए होलान्, आफ्ना कोही रहेनन् होला जस्तो लाग्यो, सोचेरै काम्न थालें। तर धन्न तेस्तो भएको रहेनछ र हाम्रा आफन्तहरू पनि सुरक्षित नै रहेछन् नेपालमा। त्योबेला घरदेश दुख्दा कम्ता छट्पटियौं, सहयोग जुटायौं, पैसा, सामान पठायौं, कोही आफै पनि नेपाल पुग्यौं सहयोग गर्न, औषधी, खानेकुरा बोकेर।

अहिले परदेश अमेरिका दुखमा छ र दिनका दिन अमेरिकन रोएका छन् ”कोरोना भाइरस कोभिट-१९”को प्रकोपबाट। ओहो, आजसम्मको तथ्यांकले के देखाउॅछ भने, अमेरिकाभरि ९ लाखभन्दा बेसी यसबाट संक्रमित, ५० हजार जतिले ज्यान गुमाई सके, ८० हजार जति निको भएर घर फर्केका छन् । संसारमा सबैभन्दा बेसी यो भाइरसको कारणले ज्यान गुमाउनेमा अमेरिकन पर्छन्। अनि, अहिले कोरोना भाइरस फैलिन नदिन देशभर भएको लकडाउनले गर्दा, नेपालको जनसंख्या ३ करोड जति नै अमेरिकन बेरोजगार छन्। सपिगं मल, पार्क,जिमखाना, कपाल काट्ने, व्युटिपार्लर, केही खानेकुरा पाउने पसलहरू(त्यो पनि केही घन्टा खुल्ने )बाहेक सबै ठाॅंउ बन्द छ। अवस्था अत्यन्त नाजुक छ।

सोच्दा हामी जस्ता नेपाल”घरदेश” छोडेर, अन्य देश वा अमेरिका”परदेश” लागेकाहरू सॅंधै दुई संसारमा बाॅंचिरहेका हुन्छौं। “घरदेश”आफु जन्मे हुर्कैको, पढेको,जिन्दगीको केही अमुल्य समय बिताएको, आफ्ना आफन्त,इष्टमित्र सबै त्यतै र “परदेश“ आफुले बनाएको नयाॅं संसार । तर पिडा चाहीं सॅंधै उस्तै। घरदेशलाई दुख्दा पनि पिडा हुन्छ र अहिले परदेश दुख्दा झन धेरै पिडा।

अहिले लकडाउनमा घर बसेर सोच्दा, यो परदेश लागेको पनि १९ बर्ष पुग्न लागेछ। पढाई तथा कामको सिलसिलामा अमेरिकाको बिभिन्न राज्य र शहरमा बसियो। अमेरिका आउनु अगाडी सबैले जस्तै समाचार पढेर, हेरेर, अरूबाट सुनेको, अमेरिकनहरू सबैसॅंग मिल्दैनन् रे, स्वार्थी हुन्छन्, बिदेशीलाई मन पराउॅंदैनन्, अफ्रिकन अमेरिकन( कालाजाती) हरूले पैसा लुट्छन्, पैसा नदिए गोली ठोकेर मारिदिन्छन्, एक्लै हिॅंडन डर आदी, आउनु अगाडी नै दिमागमा डरै डर बसिसकेको।

तर आएर यत्रो बर्ष भयो “भोगेको अमेरिका” केही कुरा त मिलेको पनि छ तर सबै त सत्य होइन रहेछ। हुन त नेपाल पनि कत्ति न फरक नै हो र साथै सबैतिर राम्रो/नराम्रो, धनी/ गरीव, बिभिन्न बिचार भएका त हुन्छ नै। पढ्दा होस वा कामको सिलसिला वा अरू बिभिन्न समयमा, बिभिन्न थरीका अमेरिकन सॅंग भेटघाट भइरहन्छ। समग्रमा भन्नु पर्दा सुनेको, पढेको भन्दा भोगेको अमेरिका र अमेरिकन धेरै नै राम्रा छन्।एउटा कुरा अमेरिकनको राम्रो चाहीॅं, उनीहरू अरूको बिषयमा त्यतै खोजीनीति चासो राख्दैनन्। कसैले केही दुखको कुरा गर्यो भने सहानुभुति त दर्शाउॅंछन् तर मद्दत नमागे सम्म अघि सरेर जान्ने पनि हुॅंदैनन्। तेस्तै खुशीको क्षण, जन्मदिन, बेबी सावर,प्रमोशन आदी चाहीॅं झुक्याएर “जसको हो” उसलाई थाहा नदिई सरप्राइज गरेर, सबैले पैसा मिलाएर गीफ्ट किनेर रमाइलो गरेर मनाउॅंछन्।

बिधार्थी भएर आएको सु रूको दुई बर्ष आयोवा राज्यको , एम्स शहरमा बिधार्थीहरू बस्ने ठाउॅमा बस्यौं।सुरूमा सबै नयाॅं, अन्योल लाग्थ्यो। त्यहा एक अमेरिकन “होस्ट फ्यामिली” (जुन कलेजले मिलाई दिएको थियो, नयाॅं बिदेशी बिधार्थीलाई यसरी सहयोग गर्ने रहेछन् कलेजहरूले पनि) ले धेरै मद्दत गरे, किनमेल गर्न, डाक्टरको अपार्टमेन्ट , होमसिक नहोस् भनेर आफ्नो घर खान बोलाउॅंथे। बस्दै जाॅंदा एक एलकक्स भन्ने अमेरिकनसॅंग चिनजान भयो। उसले हाम्रो घरमा चाहिने फर्निचर, सोफा आदी ल्याईदियो ।अनि हामी त्यहाबाट छोडेर आउॅंदा सबै फेरी लग्यो र अर्को बिधार्थीलाई सहयोग गर्नु पर्छ भन्यो।

त्यस्तै सानो शहर,सबै कुरा नेपाली मसलाहरू केही मिल्दो जुल्दो एक सानो “इन्टरन्यासनल सामान पाउने पसल” मा पाउॅंथ्यो तर खसीको मासु कतै नपाउने। एकदिन पसलेलाई सोधेको” उसले म सिकागोबाट मगाई दिन्छु भन्यो र मगाई दियो पनि” कस्तो सहयोगी, खुशी लाग्यो।

सानो शहर, बिधार्थीहरू केही बिदेशी र यतैका अमेरिकनहरू धेरै। खोई “कलेज टाउन” भएर हो की बजार जाॅंदा, बस कतै पनि बिदेशीलाई नराम्रो व्यवहार गरे जस्तो लागेन त्यहाॅंका बासिन्दाले। तेस्तै छोरा सानो ३ बर्षको थियो। उसलाई हालेको प्रिस्कुलमा म पनि काम गरें। त्यहा पनि कहिल्यै भिन्न व्यवहार गरेनन्। समग्रमा आयोवाको बसाई राम्रो नै रहयो।

आयोवाबाट सरेर मेरिल्याण्ड राज्यको कलेजपार्क शहरमा ६ बर्ष बिधार्थीहरू बस्ने अपार्टमेन्टमा बस्यौं। संसारका बिभिन्न देशबाट आएका बिधार्थीहरू भएर होला, त्यहा पनि केही फरक महसुस भएन बसुन्जेल। तर काम गर्न, किनमेल गर्न त बाहिर जानै पर्थियो। अब मेरिल्याण्ड राज्य अफ्रिकन- अमेरिकन ( कालाजाती) ज्यादा बस्ने ठाॅंउ, सुरू सुरूमा त काममा पनि तिनीहरूलाई देख्दा डर लाग्थ्यो। बाटोमा पनि एक्लै हिॅंडदा, परबाट कोही “काले केटा मान्छे” आएको देख्दा, सकभर नदेखेको जस्तो गर्ने, भए भरको भगवानको नाम जप्थें। बिस्तारै बस्दै, बुझ्दै जाॅंदा कहाॅं सबै खराब हुने रहेछन् र।

अमेरिकाको खुल्ला समाज, कुरा मिल्दा सम्म बिबाह नगरि केटा केटीसॅंगै बस्ने रहेछन्, बच्चा बच्ची जन्माए, अनि कुरा नमिल्दा छुट्टिए, बच्चाहरू प्राय: आमासॅंग बस्ने, कोही बाउले केही पैसा महिनामा बच्चालाई दिने पनि, कोही त केही नदिने/ नहेर्ने, यसरी बाउको संरक्षण बिना अभावै अभावमा हुर्केका केटाकेटीहरू न घरमा नै कसैको डर, कुलततिर लाग्ने रहेछन्, कोही त चोरी आदी गरेर जेल पनि परिसकेका। जिन्दगी त्यसै बिग्रदै गएका।

मेरिल्याण्ड पछि अहिले भर्जिनियामा छ बसाई। यहाॅं पनि काम, पसल, छिमेकीहरू थरी थरीका अमेरिकन छन्। कोही कोही सॅंग त हितैषी जस्तो भई सक्यौं। एकअर्काको घर जानेआउने, आफ्ना दुख सुख, घर परिवारको बारेमा कुरा गर्ने, खानेकुरा एकआपसमा पकाएर साटासाटसम्म हुन्छ।

नेपालमा भुईंचालो गएको बेला त केहीले आफ्नै मन खुशीले पैसा दिएका पनि थिए, नेपालमा सहयोग गरिदिनु भनेर। एकपटक, त्योबेला मेरो गाडीको प्लेट”Nepal01”थियो, एकजना लेडी पार्किंग लटमा मेरो छेउमा आएर,” कस्तो दुख लाग्यो, तेरो देशमा भुईॅंचालो गएछ, परिवारहरू सबै त ओके छन होला”सम्म भनिन्। त्योबेला अमेरिकन सरकारले पनि राहत सामग्री पठाएको थियो। यहीॅं भर्जिनियाको फेयरफ्याक्सबाट “रेस्क्यु टिप” कुकुर सहित गएको थियो, भुईॅंचालोले पुरिएको घरहरूबाट मानिसहरू खोजेर निकाल्न।

अमेरिकी सरकारले त्यो बेला नेपालमा भुईंचालो गएपछि अमेरिकामा रहेका नेपालीहरूलाई टि.पी.स ( Temporary protected status: The status, afforded to nationals from some countries affected by armed conflict or natural disaster allows persons to live and work in the United States for limited times) सम्म दिएको थियो। अहिले पनि कति नेपालीहरू तेसैको आधारमा कानुनीरूपमा अमेरिका बसिरहेका र काम गरिरहेका छन्।

त्यस्तै बिभिन्न देश (भुटान, सिरिया, अफ्गानिस्थान, इराक, इथियोपिया,आदी) देशका नागरिकहरू देशले निकालिदिएर, लडाईं, भोकमरीबाट बच्न भागेर अर्को देशमा शरणार्थी भएका घरबारबिहिनहरूलाई उद्दार गरेर अमेरिका ल्याएर, अमेरिकन बन्नेसम्मको सुविधा गरिदिएको छ अमेरिकाले।

तर, हो भन्छन् नी “पिठो पिन्दा दुईचार घुन पिसिन्छ” भने जस्तै, अमेरिका र अमेरिकन नागरिकलाई बचाउन खोज्दा, कहिलेकाहीं राष्ट्रपतिले कडा निर्णय गरिरहेको पनि देखिन्छ, बिभिन्न देशका बिदेशी नागरिकलाई अमेरिका आउनको लागि।

अहिले लकडाउन भएकोले सबै आ-आफ्नै घरमा सुरक्षित रहने कोशिश गर्दै छौं। भेटघाट पुरै बन्दछ। कहिलेकाहीॅं साथीहरूसॅंग फोन, मेसेजमा हालचाल सोधखोज हुन्छ। अरूको हालखबर थाहा छैन्। अहिले दिनरात यो कोरोना भाइरसको महामारीको समाचार पढ्दा र हेर्दा सॅंधै भगवानलाई पुकार्छु, परदेशको बसाईमा हामीले बनाएको नयाॅं संसारका यी अमेरिकन हितैषीहरू सबै सकुशल नै रहुन र सॅंधै अरू देशलाई दुख पर्दा सहयोग गर्ने अमेरिका छिट्टै पुरानै अवस्थामा पुगोस्।

शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया