मंगलबार, असोज १२ २०७८
काठमाडौं ०८:१०
वासिङटन डिसी 22:25

म्याकडोनाल्ड्सद्वारा आपतकालीन सेवाका कर्मचारीहरुलाई निशुल्क खाना

इनेप्लिज २०७७ वैशाख ११ गते २:५६ मा प्रकाशित

सेन्टीली, भर्जिनिया

विश्वमै चर्चा कमाएको फाष्टफुड रेष्टुरेन्ट म्याकडोनाल्ड्स्ले यति बेला महामारीमा पनि आफ्नो सुरक्षाको चुनौतीलाई स्वीकार गर्दै अग्रपंतिमा बसेर विरामीको सेवा र सर्वसाधारणलाई सहयोग गर्ने वर्गलाई निशुल्क खाना खुवाउने भएको छ ।

न्युज डट म्याकडोनल्ड्सडट कम news.mcdonalds.com_का अनुसार अमेरिकाभरका म्याकडोनाल्ड्सले डाक्टर, नर्स एम्बुलेन्स तथा दमकल चालक, सेना,प्रहरी सुरक्षाकर्मी लगायतका अग्रपंतिमा काम गर्ने कर्मचारीलाई आज एप्रिल २२ तारिक बुधबारदेखि मे ५ तारिकसम्म विहान, दिउसो र बेलुका तोकिएका खानेकुरा निशुुल्क उपलब्ध गराउने छ।

खानेकुरा ड्राइभथ्रु वा क्यारी आउटमा उपलब्ध गराइने छ । खानेकुरा लिन आफ्नो नाम भएको विल्ला वा काममा तोकिएको पोशाकमा आउनु पर्ने छ । म्याकडोनाल्ड्स्ले “सधन्यबाद निशुल्क खाना” नाम दिएर शुरु गरेको यो कार्यक्रमबाट अग्रपंतिका राष्ट्र सेवकलाई अत्यन्त ठूलो राहत मिल्ने सम्बद्ध ब्यक्तिहरु बताउछन । आकस्मिक सेवाका डाक्टरहरु उत्पादन गर्ने अमेरिकन कलेज अफ इमर्जेन्सी फीजिसियनका अध्यक्ष डा.विलियम ज्याकिसले म्याकडोनाल्ड्स्को यो सहयोगलाई मुक्त कण्ठले प्रसंसा गर्दै आपतकालिन सेवाका डाक्टरहरुले यो महामारीमा खानेकुरा नपाएर भोक भोकै काम गर्नु परेको, पैदल हिडेर टाढासम्म पुग्दा पनि खाने कुरा पाउन नसक्ने अवस्थामा म्याकडोनाल्ड्स्ले यो प्रसंसनीय काम गरेको बताए ।

कोरोनाभाइरस (कोविद्–१९) को यो भयानक महामारीमा म्याकडोनाल्ड्स्का कामदार कर्मचारीले आफ्नो समुदाय र देशमा आइपरेको विपदको बेला सरकारले तोकेका सबै सुरक्षाका नियम पालना गरेर काम गरिरहेको म्याकडोनाल्ड्स् अमेरिकाका अध्यक्ष जो अर्लिंगरको भनाई छ ।

म्याकडोनाल्ड्सले विहान अण्ठा,मफीन,चिकेन मेकग्रीडिल वा बेकन एग एण्ड चिज विस्कुट,कुनै पनि साइजमा सफ्ट ड्रिंक, चिया वा कफी र ह्यास ब्राउन दिइने जनाएको छ ।

दिउसो र बेलुका एउटा डबल चिजबर्गर,६ वटा चिकेन नगेट वा एउटा फ्लीट–ओ–फीस सोडा ड्रिंक र चिया–कफी दिइने छ ।

म्याकडोनाल्ड्स्ले यस अघि पनि दैवी विपत्तीमा आर्थिक सहयोग गर्दै आएको जनाइएको छ । यसरी निशुल्क खाना खुवाउन लाखौं डलर खर्च हुने छ । कोविद्–१९ कै लागि यस संस्थाले आफ्नो मुख्यालय भएको राज्य इलिनोइसमा १० लाख डलर आर्थिक सहायता गरेको थियो । १० लाख वटा एन–९५ माक्स पनि किनेर दिएको छ । अमेरिकामा १४ हजार रेष्टुराँ भएको म्याकडोनाल्डस्ले दैनिक २ करोड ५० लाख ग्राहकलाई सेवा पु¥याउने दावी गर्दै आएको छ ।

प्रतिक्रिया