कच्चा तेलको मूल्य शुन्यभन्दा तल

इनेप्लिज २०७७ वैशाख १० गते ०:४१ मा प्रकाशित

सेन्टीली, भर्जिनिया,

कोरोनाभाइरस(कोविद्–१९)को खराव प्रभाव विश्वमा हरेक क्षेत्रमा पर्दै जाँदा अर्थतन्त्रमा यसको दुष्प्रभाव डरलाग्दो रुपमा देखा पर्न थालेको छ । हिजो अप्रिल २० तारिकका दिन ४० बर्ष यताकै सबभन्दा कम मूल्यमा अर्थात शुन्यभन्दा धेरै तल माइनस ३७ डलर ६३ सेन्टमा झरेर कच्चा तेलको मूल्यले ठूलो आर्थिक दुर्घनाको संकेत गरेको छ।

अमेरिका लगायतका तेल उत्पादक मुलुकहरुको आफ्नो उत्पादनले बजार नपाए पछि मूल्य शुन्यभन्दा तल झरेको हो । उत्पादित तेल राख्ने ठाउँ नपाए पछि उल्टै पैसा तिरेर तेल दिनु पर्ने अवस्था आएको हो । विश्व तेल बजारमा बर्चश्व कायम गरेका तेल निर्यातक देशहरुले आगामी महिनादेखि तेल उत्पादनमा भारी गिरावट ल्याउन योजना बनाइरहदा अमेरिकामा कच्चा तेलको मूल्यमा नाटकीय गिरावट आएको छ।

यस अघिको अमेरिकाको आर्थिक मन्दीमा पनि मूल्यमा यति धेरै गिरावट आएको थिएन । यो सन २००७÷०८ तिरको आर्थिक मन्दीभन्दा खराव अवस्थाको संकेत भएको विश्व बैंकका बरिष्ठ अर्थशास्त्री प्रेम संग्रौला बताउनु हुन्छ । तर उहाँ आशा गर्नुु हुन्छ कि यो कोरोना भाइरसको महामारीबाट सिर्जना भएको अवस्था भएकाले यसको समाप्ती सँगै अर्थतन्त्रले नयाँ रुपमा विकास हुने अवसर पाउने छ । यो चाँडै पुन:स्थापित हुनेछ । तर विमान सेवा कम्पनी तथा होटेल व्याबसायका लागि भने सरकारले थप सुविधा उपलब्ध गराउनु पर्ने छ किन भने यी व्याबसाय पुन:स्थापित हुन समय लाग्न सक्छ । उद्योग धन्दा,कलकारखाना र अन्य व्यापार व्याबसाय चाँडै नै पुनस्थापित हुने छन।

सरकारले महामारीको चपेटामा परेका जनतालाई तत्काल राहत उपलब्ध गराउन सरकारी कोषबाट २ दशमलभ ३ ट्रिलियन डलर निष्काशन गरेको छ । यो राज्यकोषमा रकम जम्मा गर्न पनि समय लाग्ने छ।

महामारीबाट सिर्जना भएको आर्थिक मन्दीको पुनस्र्थापन सजिलो नहुने अर्का अर्थशास्त्री मायमी विश्वविद्यालयका सहायक प्राध्यापक डा.कृष्ण रेग्मी बताउनु हुन्छ । डा.रेग्मीका अनुसार तेल निर्यातक देशहरुको संगठन ओपेकले आफ्नो उत्पादन परिमाण घटाउने घोषणा गरेसँगै उत्साहित भएका प्रतिस्पर्धी अमेरिकी तेल कम्पनीहरु आज आफ्नै उत्पादन घटाउन बाध्य भएका छन । यी कम्पनीहरुले उत्पादन मात्र घटाउने छैनन् हजारौं रोजगारी पनि कटौती गर्ने छन ।ओक्लाहामा, पेन्सीलभेनिया,टेक्सास जस्ता राज्यहरु जसको मुख्य आर्थिक श्रोत नै पेट्रोलियम ब्यापार भएकाले ती राज्यहरु त आर्थिक रुपले धेरै कमजोर हुनेछन भने संघीय सरकार पनि आर्थिक रुपले कमजोर बन्दैजाने संकेतहरु देखिएको डा.रेग्मीको कथन छ।

विश्वको कुल तेल उत्पादनको १८ प्रतिशत अमेरिकामा हुन्छ र खपत पनि त्योभन्दा ठूलो अनुपातमा हुने गर्दछ । ग्यासोलाइन,खाना पकाउने ग्यास,डिजेल र जेट इन्धन गरेर २०–२२ मिलियन व्यारल सम्म खपत गर्ने अमेरिकाले यतिबेला १०–१५ प्रतिशत मात्र खपत गर्दा तेलको मूल्यमा नाटकीय ढंगले गिरावट आउने नै भयो । यसको असर अब अर्थतन्त्रका विविध आयाममा पर्ने नै छ । तेल कम्पनी र यसको तल सम्मको व्यापारिक संजालमा व्यापक रोजगार कटौती गर्ने छन । यसबाट राजस्वमा भारी गिरावट आउने भए पछि अमेरिका मन्दीको चपेटामा पर्ने निश्चित छ।

यो महामारीले निम्त्याएको मन्दी र आर्थिक संकट भएकाले यस पछि नयाँ रुपमा विकासका चरणहरु शुरु हुने चार्टर एकाउन्टेन्ट(सीपीए) हरि शर्मा बताउनु हुन्छ । उहाँको विचारमा यस्तोमा अर्थतन्त्र पुन:स्थापित हुन समय लाग्दैन, जब महामारीको चपेटाबाट संसारले मुक्ति पाउछ त्यस पछि आर्थिक विकासले द्रूत रुप लिने छ । यहाँ भौतिक पूर्वाधारको समस्या छैन, केवल बन्द उद्योग खोल्ने हो । कच्चा पदार्थ,श्रमिक, पूँजी र बजार कुनै कुराको अभाव हुने छैन र पुन:स्थापना हुन समय पनि लाग्ने छैन ।

-विष्णु शीतल

प्रतिक्रिया