मुक्तकमा कोरोना र लकडाउन

अर्जुन थापा २०७७ वैशाख ३ गते ९:४८ मा प्रकाशित

घर बाहिर जाउ भने कोरोना को डर
अन्न पानी सकियो कसरी बसौ घर ।।
मान्छे छेउ पर्नै हुन्न के जमाना आयो
डरै डर जताततै कसको मान्नु भर ।।

धनिहरु घर मै बसी मिठो मिठो खान्छन
लकडाउन पनि पर्व जस्तै रमाइलो मान्छन ।।
गरिबको रुवाबासी भरे के खाउ भा’छ
रोगले मर्छौ भोकले भन्दा गरिबले भन्छन ।।

हात मुख धोउ सबले साबुन पानी लगाई
स्वस्थ भइ जिउन सिकौ रोगलाइ भगाई ।।
अलि पर बसौ हामी साथी संगी बाट
कतै जानु परे जाउ मुखमा मास्क लगाई ।।

हात मिलाउने हग गर्ने बानी छाडौ आजै
परैबाट नमस्कार गरौ रहन्छ सम्बन्ध ताजै ।।
डर मान्नु रोगको उसले कसैलाई चिन्दैन
कुरो बुझौ आमा बुवा, दिदि अनि दाजै ।।

सुरुमा त थाहै हुन्न केहि लक्षण हुन्न
रोग लागि ओछ्यान परे कसैले छुन्न ।।
सासै फेर्न साह्रो पर्छ बोल्न सकिदैन
टाउको दुखी ज्वरो आउछ ओखतिले छुन्न ।।

लापरवाही नगरौ है हामी सबै सचेत बनौ
ज्यान रहे धन कमाउला यहि सबले जानौ ।।
धनि गरिब ठुलो सानो तेरो मेरो के रैछ
प्राणी जीव सबै एक मनले यहि ठानौ ।।

हरि नाम जपौ सबले सुकर्ममा लागौ
नरुवाउ प्रकृतिलाई अब सबै जागौ ।।
रुख प्राणी जल थल सबलाई पुज्नु पर्छ
प्रकृति रिसाइन भने हामी कहाँ भागौ ।।

अर्जुन थापा

प्रतिक्रिया