काठमाडौंमा एकै परिवारका तीन जनामा कोरोना संक्रमणको आशंका, पाटन अस्पताल भर्ना

टंक पन्त २०७७ वैशाख १ गते १३:०२ मा प्रकाशित


काठमाडौं । काठमाडौंको पेप्सिकोला वस्ने एकै परिवारका तीन जनामा कोरोना संक्रमण भएको आशंका गरिएको छ । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना भाइरसको एन्टीवडी देखिएको प्रहरीले पुष्टि गरेको छ ।

परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि परिवारका सवै सदस्यलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ । तीनैजनाको अवस्था सामान्य भएको अस्पतालले जनाएको छ । र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना भाइरसको एन्टीवडी देखिए पनि कहिलेकांही पिसिआर विधिबाट पुनः परीक्षण गर्दा संक्रमण नहुने गरेको पाइएको छ । त्यसैले पाटन अस्पतालले उनीहरुको पिसिआर विधिवाट जांच गर्न लागिरहेको छ ।

उक्त परिवार चैत ५ गते लण्डनबाट फर्किएको वताइएको छ । प्रहरीले अपार्टमेन्टलाई सिल गरेर अपार्टमेन्टमा वस्ने अरु मानिसको पनि र्‍यापिड डायग्नोस्टिक टेस्ट गर्ने तयारी गरिरहेको छ ।

 

 

प्रतिक्रिया