अनाथहरुको उपचारका निम्ति अढाई लाख सहयोग

संजय मित्र २०७६ चैत २६ गते १०:२९ मा प्रकाशित

रौतहटको गरुडास्थित वंशीराम जयसवाल अनाथालयलाई अढाई लाख रुपैया सहयोग गरिएको छ । परोहा नगरपालिकाले बुधवार अनाथालयको अक्षयकोषमा अढाई लाख रुपैयाको सहयोग गरेको हो । नगरपालिकाका कार्यालय प्रमुख ओमप्रकाश यादवले अनाथालयका संस्थापक वंशीराम जयसवाललाई अक्षयकोष वृद्धिका लागि दुई लाख पचास हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।

अनाथालयमा रहेका ३४ बालबालिकाको औषधि उपचारमा मासिक २५ देखि ३५ हजार रुपैया खर्च हुँदै आएको छ । औषधिउपचारको लागि कुनै व्यवस्था नभएकोले संस्थापक जयसवालले एक करोड रुपैयाको अक्षयकोष स्थापना गरिदिनका लागि आह्वान गरेका थिए । विभिन्न स्थानीय तह तथा व्यक्ति र संघसंस्थाहरुले अनाथालयको अक्षयकोषमा रकम जम्मा गरिरहेका छन् । अहिलेसम्म ३२ लाख ५० हजार रुपैया अक्षयकोषमा जम्मा भइसकेको अनाथालयका वर्तमान सञ्चालक हृदयनारायण कुशवाहाले जानकारी गराएका छन् ।

परोहा नगरपालिकाले गत आर्थिक वर्षमा पनि अनाथालयलाई अढाई लाख रुपैया दिएको थियो । मेयर शेख वकिलले थप अढाई लाख रुपैया प्रदान गर्ने घोषणा गरेका थिए ।

निस्वार्थ संस्थाको रुपमा जिल्लामा पहिचान बनाएको अनाथालयलाई विभिन्न व्यक्तिहरुले आफ्नो जन्मदिन तथा वैवाहिक वर्षगाँठ र छोराछोरीको वार्षिकोत्वको अवसरमा खाद्यान्न सहयोग गर्ने प्रवृत्तिको विकास भएको छ । विभिन्न चाडपर्वअनुसारको सामग्री पनि मनकारीहरुले उपलब्ध गराउने गरेका छन् । मौसमअनुसारको कपडा पनि यसै गरी सहयोगबाटै अनाथालयका बालबालिकाले पाउने गरेका छन् ।

प्रतिक्रिया