विराटनगर महानगरपालिकाले २६ हजार नगरवासीलाई खाद्यान्न वितरण

मनोज दाहाल २०७६ चैत २३ गते १५:११ मा प्रकाशित


मनोज दाहाल,

विराटनगर,२३ चैत(रासस)ः विराटनगर महानगरपालिकाले लकडाउनवाट प्रभावीत भएका नगरबासीहरुलाई विहानवेलुकी हातमुख जोर्न आज देखि राहत बितरणको कार्य शुरु गरेको छ ।

नगरमा वसोवास गर्ने विपन्न, सुकुम्वासी, अपाङ्ग, दैनिक श्रमिक लगायतका न्यून आय भएका २६ हजार नागरिकहरुलाई खाद्यान्न राहत वितरण गर्ने महानगरपालिका प्रमुख भीम पराजुलीले बताउनु भयो ।

वितरण गरिएको खाद्यान्नमा १२ किलो चामल, डेढ किलो दाल, दुई किलो आलु, ५०० ग्राम तोरीको तेल, एक किलो नून र एउटा सावुन रहेको छ।

महानगरपालिकाले आज वडा नं १ , ३ र ४ का क्रमशः एक हजार ४६, ३५७, र १ हजार ३३९ जनालाई राहत वितरण गरेको छ।

सो अवसरमा महानगरपालिकाका प्रमुख पराजुलीले नगरवासीहरुको दुःखको बेलामा सदैव साथ रहने बताउदै कसैलाई भोकभोकै वस्नु र सुत्नु पर्ने अवस्था सिर्जना हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

वडा कार्यालय र वडा विपद व्यवस्थापन समितिले संकलन गरेको नामावलीलाई महानगरपालिकाले प्रमाणित गरी वडाको नागरिक वा वसाईसराईको पत्रको आधारमा राहत वितरण गरिएको थियो ।

आगामी तीनसम्म महानगरपालिकाको १९ वडामा राहत वितरण कार्यक्रम सञ्चालन गर्नेछ ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया