प्रदेशका सवै राजनीतिक पार्टी सङकटसँग जुध्नमा सहमती कायम

इनेप्लिज २०७६ चैत २३ गते १५:०४ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, २३चैत्र । प्रदेश नं १ का प्रमुख राजनीतिक दलले लकडाउनको पालना सहित चार बुँदे निर्णय आज यहाँ गरिएको छ।

लकडाउनबाट उत्पन्न परिस्थितिका सम्वन्धमा गरिएको निर्णयहरुमा सरकारी अस्पताल, शिक्षण अस्पताल र अन्य अस्पतालहरुबाट प्राप्त हुने स्वास्थ्य सेवालाई नियमित रुपमा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्दै अस्पतालहरुले पनि सर्वसाधारण जनताको उपचारका निम्ति ध्यान दिनु पर्नेमा जोड दिइएको छ।

लकडाउनका कारण आपूर्तिमा कमी हुन सक्ने अत्यावश्यक खाद्यान्न सामग्री, तरकारी, खाना पकाउने इन्धन लगायत सामग्रीको उपलब्धता र न्यून आय भएका, आधारभूत जनता र समस्यामा परेकालाई राहत वितरणमा एकरुपता कायम गर्न स्थानीय प्रशासन, स्थानीय तह (वडा स्तरसम्म), नेतृत्वमा राजनीतिक समयन्त्रमार्फत राहत वितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

यसैगरी कोरोना भाईरस(कोभिड–१९)को सङ्क्रमणलाई रोक्न सरकारले हाल लगाएको लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन सरकार र प्रदेशवासीलाई अनुरोध गर्ने निर्णय गरिएको छ।

प्रदेशस्तर, जिल्लास्तर र स्थानीय तहमा सञ्चालित क्वारेन्टाईन, आईसोलेटेड अस्पतालहरु, कोरोना विशेष अस्पतालहरुमा भएका काम कारवाहीहरुको नियमित अनुगमनका लागि प्रदेश सरकारले व्यवस्थापन गर्ने त्यस्तो अुनगमनबाट प्राप्त सूचनाहरुको विश्लेषण गरी सरकारलाई पृष्ठपोषण गर्ने दलको निर्णय छ ।
बैठकमा नेपाल कम्यूनिस्ट पार्टी(नेकपा)का प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, नेपाली काङ्ग्रेसका मोरङ जिल्ला अध्यक्ष डिग बहादुर लिम्बू र प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता राजीव कोइराला,राप्रपाका प्रदेश अध्यक्ष राम थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङ र समाजवादी पार्टी प्रदेश उपाध्यक्ष राजकुमार यादवले निर्णयमा हस्ताक्षर गर्नु भएको हो ।

प्रतिक्रिया