मंगलबार, जेठ १३ २०७७
काठमाडौं ०९:०४
वासिङटन डिसी 23:19

के गर्दैछ दूतावास

विष्णु शीतल २०७६ चैत २२ गते १२:४४ मा प्रकाशित

अमेरिका यतिबेला कोरोनाभाइरस-कोविद् १९) को इपिसेन्टर बन्दैछ । विश्वभर महामारीको रुप धारण गरेको कोविद् १९ ले यो लेख तयार गरी रहँदा अप्रीलको ३ तारिक दिउसोसम्ममा १० लाख ९३ हजार७ सय ४ जनामा संक्रमण गरिसकेको छ ।

यि मध्ये ५८ हजार ७ सय ५७ जनाको त मृत्यु पनि भइसकेको छ । २ लाख २५ हजार ५ सय १६ जनाले भने यो रोगबाट निको भई नयाँ जीवन पाएका छन ।

यो महामारीले विश्व राजनीतिर्,अर्थनीति र मानिसको जीवन शैलीमा समेत परिवर्तन ल्याउने आँकलन गर्न थालिएको छ । यसले आजका मितिसम्म विश्वका पूराका पूरा जनमानसलाई नकारात्मक रुपमा प्रभावित बनाइसकेको छ । खास गरी आफूलाई र्सवशक्तिमान भएको दावी गर्ने अमेरिका,एकताका आफ्नो देशबाट कहिल्यै घाम नअस्ताउने उपाधि पाएको साम्राज्य बेलायत, नराम्रोसँग थला पर्दैछन ।

बेलायतमा राजकुमार चार्ल्स र प्रधान मन्त्री बोरिस जोन्सनसमेत यसको संक्रमणबाट अछुतो रहन सकेनन् । स्पेनले आफ्नी राजकुमारी नै गुमाउन पुग्यो । यसरी विश्वका शक्तिशालीहरुलाई त्राही त्राही बनाउने कोरोनाभाइरसले दक्षिण पुर्बी एसियाका मुलुकहरुमा तुलनात्मक रुपमा हालसम्म कम प्रभाव पारेको देखिए पनि खास गरी धनी र विकसित कहलिएका मुलुकहरुलाई भने यसले नराम्रो झापड हानी सकेको छ ।

सम्पन्नता र भोतिक एवम सामरिक विकासमा आफू सधैं एक नंबरमा छु भनेर दावी गरी रहेको संयुक्त राज्य अमेरिका जहाँ हामी नेपाली भाषी आप्रवासीहरु झण्डै ५ लाखको हाराहारीमा बसोवास गछौं, यसतर्फ विश्वकै ध्यान खिचिएको छ । आजको मितिमा अमेरिकाले पुर्बी तटीय समय अनुसार साँझ ५-४५ बज्दा ७ हजार ३१ जना आफ्ना नागरिक गुमाइ सकेको छ । विश्व स्वास्थ्य संगठन लगायतका निकायहरुको तथ्यांक अनुसार २ लाख ७३ हजार ५ सय ५३ जना अमेरिकीहरुमा यो रोगले आक्रमण गरी सकेको छ । यी मध्ये ९ हजार ५ सय २१ जनाले भने स्वास्थ्य लाभ गरी नव जीवन प्राप्त गरेको सुखद समाचार पनि प्रकाशित छ । अमेरिकाको मात्र नभइ विश्वकै कोविद्-१९ केन्द्रविन्दु बन्दै गएको न्युयोर्क राज्यमा अहिलेसम्म १ लाख २ हजार ९ सय ८५ जना संक्रमित भइसकेका छन । यस मध्ये ज्यान गुमाउनेहरु २ हजार ९ सय ३५ जना छन ।

यो कहाली लाग्दो तथ्यांक र अनिश्चित अन्त्यको भयले जीवनमा कहिल्यै अनुभव नगरिएको त्रास उत्पन्न गरिदिएको छ । अहिले यो महामारी अमेरिकाको ५० वटै राज्यमा फैलिइसकेको छ । धेरैजसो राज्यमा स्टे होम अर्डर जारी गरिएको छ । मानिसहरु ब्याबसायिक प्रतिष्ठानहरु बन्द भएर र संचालनमा रहेका कार्यालय वा ब्याबसायमा त्रासका कारण जान नसकेर रोजगारीबाट विमुख हुदैछन । आजसम्ममा ७० लाख अमेरिकीहरुले बेरोजगारी भत्ताका लागि आबेदन गरी सकेको समाचार पनि प्रकाशमा आएको छ ।

हाम्रो कर्मक्षेत्र नै संसारको इपिसेन्टर बनीरहदा हाम्रो मानस पटलमा परेको नकारात्मक छाप र आफू अनि आफ्नो परिवारको स्वास्थ्य रक्षा, ज्यानको सुरक्षाको चिन्ताले ग्रशित भइरहँदा जन्मभूमी,आफू जन्मे-हुर्किएको परिबेश, त्यो समाज र परिवार संझन पुगिन्छ । परिवारले घरको मुख्य मानिसमा भरोशा गर्दछ भने घरमूलीले आफ्नो समुदाय वा राज्यलाई संझन्छ भरोसाका लागि । हामी आप्रवासीहरुले आफ्नो राज्यका रुपमा नेपाल सरकारको प्रतिनिधित्व गरेर बसेको कुटनीतिक नियोगलाई संझन्छौं । अमेरिकामा नेपाल सरकारको प्रतिनिधित्व गर्ने राजदूतावास छ । यसलाई हामीले अभिभावक संझेका हुन्छौं । आपत पर्दा हाम्रो साथमा हाम्रो जन्मभूमिको प्रतीकको रुपमा त्यो संस्थालाई संझने गर्दछौं र त्यस प्रति भरोसा अबश्य गरिएको हुन्छ ।

यसले नेपाली समुदायलाई दुखमा सान्त्वना प्रधान गर्नु पर्दछ । सकेसम्म सहयोग गर्नु पर्दछ । सहयोगको प्रबन्ध गर्नु पर्दछ । समुदायका प्रतिनिधि,संचार माध्याम र स्थानीय सरकारी निकायसँग समन्वय गरेर सेवा सुविधा र राहत उपलब्ध गराउन सहजकर्ताको भूमिका निर्वाह गर्नु पर्दछ । यो नेपाली समुदायको अपेक्षा हो यति बेला माहामारीले अमेरिकाको सबै राज्यमा आफ्नो दुष्प्रभाव छाडिसकेको छ । त्यसमा पनि न्युयोर्क, न्युजर्सी ,क्यालिफोर्निया, लुजियानालगायतका राज्यमा संक्रमितको संख्या बढ्दो क्रममा छ । तर न्युयोर्कमा सबैभन्दा भयाभय अवस्था सिर्जना भइसकेको हुँदा त्यहाँका लागि र बाँकी राज्यहरुमा पनि केही महत्वपूर्ण काम गर्नु पर्ने जरुरी छ । पहिलो त्यहाँका अस्पतालमा भएका नेपाली विरामीहरुको तथ्यांक संकलन गरी तिनका परिवारको रेखदेखमा सहयोग गर्ने,अस्पतालमा कार्यरत डाक्टरहरुलाई समेत आबश्यक राम्रो व्यबस्था छैन भन्ने सुन्नमा आएको हुँदा नेपाली मूलका डाक्टर नर्सलाई सकिन्छ भने सहयोग गर्ने,उनीहरुलाई हौसला र उत्प्रेणाका लागि दूतावासले आफ्नो उपस्थिति देखाउन जरुरी छ ।

न्युयोर्कमा विरामी र परिवारका सदस्य अनि आइसोलेसनमा बसेका सबैका लागि औषधिलगायत सबै अत्याबश्यक सामग्री आपूर्तिमा दूतावासलगायत समुदायका अन्य प्रतिनिधिहरुले सहयोग पु र्ुयाउन आबश्यक छ । केही संघ-संस्थाका प्रतिनिधिले सामानहरुको जोहो गर्दै गरेको सुन्नमा आएको छ । यो सिमित समुदाय र क्षेत्रलाई मात्र हुन सक्छ । त्यहाँका सबै नेपाली समुदायलाई सूचना दिएर निश्चित स्थानमा आबश्यक सामग्री उपलब्ध गराउन सके मात्र त्यहाँका पीडित सबैलाई सहयोग पुग्न सक्ने देखिन्छ । एउटा पायक पर्ने स्थानमा सामग्री केन्द्र हुने हो भने त्यहाँबाट आबश्यक पर्नेले लिएर जान सक्थे । त्यस्का लागि पनि दूतावासले नै समन्वय गर्न सक्छ । दूतावास र वाणिज्य दूतावासले एनआरएन र अन्यसँग मिलेर यो काम सम्पन्न गर्न सक्छन । प्रभावित शहरका २५-३० माइलको दूरीमा यस्ता संकलन तथा वितरण केन्द्र राखिदिनाले जो अति समस्यामा छन तिनलाई राहत पुग्ने थियो । दुइ महिनाका लागि यस्तो अस्थायी संकलन तथा वितरण केन्द्र स्थापना गर्न विपतको बेलामा कुनै कुटनीतिक सीमा वा परिधि हुन्छ जस्तो लाग्दैन । आबश्यक पर्ने नै रहेछ भने पनि डकुमेण्ट गर्न कुनै गारो नहोला । मानवीय सहायताका लागि कुनै जटिलता आउला जस्तो लाग्दैन । तत्परताको र समर्पणको अभाव चाहिँ अबश्य होला । न्युयोर्कको हकमा नेपाली समृुदायलाई औषधि,खाद्य सामग्रीका साथै हौषला र प्रेरणा पनि चाहिएको छ । नेपाली समुदायका धेरै सदस्यले आफुलाई बेसहारा र एक्लो महसुस गर्दै ड्रि्रेसन र एनजाइटीजस्ता मानसिक अवस्थामा पर्ुयाएको देख्न थालिएको छ । त्रास र चिन्ताबाट उत्पन्न हुने मानसिक समस्याको हल कुटनीतिक नियोग र गैर आवासीय नेपाली संघलगायत सामाजिक संघ संस्थाको अगुवाइमा खोज्न सकिन्छ । यो तुरुन्तै गर्नु पर्ने काममा पर्दछ । तर यहाँ भइरहेको काम र नतिजा हेर्दा अझै धेरै नेपाली दाजुभाई दिदी बहिनी यो कोविद्-१९ ले निम्त्याएको जटिल परिस्थितिका कारण बेसाहारा बनेर अत्यन्त पीडित हुने वा अनाहकमा ज्यान गुमाउने अवस्था पनि अगाडि देखिदैछ ।

यसै हप्ता हाम्रो दूतावासद्धारा टेलिकन्फेरेन्स गरेर विभिन्न राज्यमा भएका नेपाली प्रतिनिधिहरुलाई त्यस क्षेत्रमा भइरहेको अवस्थाको रिपोर्टिंग गर्न लगाइएको थियो । कानुन ब्यबसायी, स्वास्थ्यकर्मी,सामाजिक अभियान्ता र मिडियाकर्मीले आ-आफ्ना धारणा राखेका थिए । मोडेरेट गर्ने नेपाली राजदूत डा.अर्जुन कार्कीले सबैका कुरा सुन्ने र अन्तमा कुटनीतिक मर्यादा र सीमालाई बाधक देखाउदै खास केही गर्न नसकिने लाचारी अभिब्यक्ति दिने गरेको पाइन्थ्यो । तीन पटकसम्म उस्तै प्रकारको टेलिकन्फेरेन्सबाट खास उपलब्धि हुने संकेत भने देखिदैन । यस्तो रिपोर्टिंग मात्र त अरु मिडियाबाट मात्र पनि गर्न सकिन्थ्यो । यो रिपोर्टिंगको पनि दूतावासले अभिलेख राखे नराखेको जानकारी सहभागीहरुलाई गराइएको थिएन । बरु अवैतनिक महा बाणिज्यदूतहरुको टेलिफोन नं वेभसाइटमा राखिएको जानकारी त्यहाँ गराइएको थियो । राजदूतावासको फोन नउठाइएको गुनासो पनि त्यहाँ सहभागीहरुले गरीरहेका थिए ।

नेपाली दूतावासले अमेरिकी नागरिकलाई नेपालबाट प्लेन चार्टर गरेर अमेरिका ल्याइयो भनेर गर्व गरिरहदा यो सुन्न अश्वभाविक लाग्छ किन भने नेपालमा सुरक्षित तवरले बसिरहेका नागरिकलाई संसारकै उच्च जोखिमयुक्त ठाउँमा ल्याउनु कसरी गर्वको विषय बन्ला र – अमेरिकी सरकारले आफ्ना नागरिक ल्यायो यो उसको कुरा हो तर हाम्रो प्राथमिकतामा त्यो पर्छ जस्तो लाग्दैन ।

जे भए पनि नेपाली राजदूतावासलाई नेपाली आप्रवासीको अभिभावक मान्नु पर्दछ । यसले आपदमा परेका नेपाली मूलका आप्रवासीको मद्धतका लागि समर्पित भएर काम गर्नु पर्दछ । यो निकाय नेपाल र नेपालीका लागि नेपाली जनताकै रगत पसिनामा आधारित भएर संचालनमा छ । नेपाली चाहे नेपालमा बसेर सरकारलाई कर तिरीरहेका हुन वा विदेशमा बसेर रेमिटेन्स पठाइ देश चलाउन मद्धत गरिरहेका हुन तिनले सरकारका कुनै पनि निकायबाट आपदमा भरोषाको अपेक्षा गर्नु अस्वभाविक अबश्य हैन ।

प्रतिक्रिया