‘पत्रकारलाई सुरक्षाको जोखिम छ तर पेशागत जिम्मेवारीबाट पन्छिने छुट छैन’

इनेप्लिज २०७६ चैत १९ गते १४:१२ मा प्रकाशित

डा. महेन्द्र विष्ट नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष हुनुहुन्छ । नेपाल पत्रकार महासंघको अध्यक्ष, प्रेस काउन्सिलको सदस्य, न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष, सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिको सदस्यलगायतका पत्रकारितासम्बन्धी नेतृत्वदायी संस्था र नियामक निकायको जिम्मेवारी सम्हालिसक्नु भएका डा. विष्टसँग इमेज च्यानलको समाचार प्रमुखका साथै मातृभूमि साप्ताहिक, नेपाल समाचारपत्र दैनिक, लोकपत्र दैनिकलगायतका सञ्चारमाध्यममा कार्यकारी सम्पादक रहिसकेको अनुभव छ । विश्वभर अहिले कोरोना भाइरसको कारण पत्रकारहरु संक्रमित हुने क्रम वढिरहेको छ । यस्तो प्रतिकुल अवस्थामा पनि नेपाल टेलिभिजनले पूर्वअवस्थामा झै आफ्नो दायित्व पुरा गरिरहेको छ । प्रस्तुत छ– अहिले विश्वब्यापीरुपमा कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढिरहेको बेला नेपाल टेलिभिजनले खेलिरहेको भूमिका र आमसञ्चारमाध्यमको दायित्वका सम्बन्धमा डा. महेन्द्र विष्टसँग इनेप्लिजका लागि किशोर सापकोटाले गर्नुभएको संक्षिप्त कुराकानी ।

अहिले कोरोना भाइरसले विश्व आक्रान्त छ । एउटा लोकप्रिय सञ्चारमाध्यमको प्रमुख र भूकम्प, जनआन्दोलन जस्ता अनेक कठिन अवस्थामा नेपाल पत्रकार महासंघको नेतृत्वसमेत गरिसकेको एउटा सञ्चारकर्मीको रुपमा यो अवस्थालाई कसरी हेरिरहनुभएको छ ?

अवश्य पनि अहिले सिंगो विश्व कोरोना भाइरस जसलाई कोभिड १९ भन्ने गरिएको छ, को महामारीबाट आक्रान्त छ । गत डिसेम्बरको अन्त्यतिर चीनको वुहानबाट शुरु भएको यो महामारी विश्वका दुइ सयभन्दा बढी मुलुकका करिव नौ लाख मानिसमा संक्रमित भएको र ४२ हजारभन्दा बढी (बुधबार विहानसम्मको तथ्यांक) को जीवन क्षति भैसकेको यो अवस्थालाई संयुक्त राष्ट्र संघले समेत दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो चुनौती भनेको छ । यो वास्तवमै कहालीलाग्दो अवस्था हो । समाजमा अत्यन्तै घुलमिल हुनुपर्ने र एक अर्कामा निर्भर रहेको हाम्रो समाजको निम्ति यो अवस्था असहज र उकुसमुकुसको हो । विश्व नै एउटा गाउँजस्तो र कतिपय मामिलामा संसार सीमाविहीन जस्तो भैरहेको वर्तमान विश्वको लागि एकले अर्कोलाई सहयोग गर्ने हैन, बन्दाबन्दी गरेर बस्नुपर्ने, एकले अर्कोसँग झस्किनुपर्ने र दूरी बनाउनुपर्ने यो अवस्था अकल्पनीय हो । अहिलेसम्म औषधी समेत पत्ता नलागेको यो महामारी वास्तवमै मानव जीवन मात्र हैन मानव सभ्यताको रक्षाकै निम्ति सबैभन्दा ठूलो चुनौती हो । हाम्रो लागि पनि यो अनौठो, चुनौतीपूर्ण र झेल्नैपर्ने बाध्यकारी अवस्था हो । यसबाट भाग्ने ठाउँ छैन, सबै मिलेर यसको सामना गर्नैपर्दछ ।

यस्तो बेला नेपाल टेलिभिजनले चाहीँ के गरिरहेको छ ?

अहिले सिंगो विश्व नै लकडाउनको अवस्थामा छ । नेपाल पनि लकडाउनको अवस्थामा छ । यस्तो समयमा हरेक देशका सरकार र विज्ञहरुको एउटै सुझाव छ– ‘घरबाट ननिस्कनू ।’ तर, सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि त्यो सुविधा छैन । मेडिकल क्षेत्र, अत्यावश्यक सेवा, दैनिक उपभोग्य वस्तु आपूर्तिकर्ता, सुरक्षाकर्मी जस्तै सञ्चारमाध्यम र सञ्चारकर्मीले पनि यस्तो बेलामा झन बढी दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । उनीहरुले आफ्नो जीवन, समाज, पेशा र मुलुक मात्र हैन सिंगो मानव जातिको निम्ति आफ्नो कर्तब्य संझेर घरबाट निस्कनै पर्ने र सामान्य अवस्थामा भन्दा बढी खट्नैपर्ने हुन्छ । नेपाल टेलिभिजनले पनि त्यही गरिरहेको छ । राष्ट्रिय प्रसारकको नाताले अरु सञ्चारमाध्यम भन्दा यसको दायित्व झन बढी छ भन्ने बुझेर विषयवस्तुको उत्पादन र प्रसारणको काम गरिरहेको छ । यहाँका सञ्चारकर्मी र कर्मचारीले त्यो बुझ्नुभएको छ । त्यही स्पिरिटमा सिंगो संस्था क्रियाशील छ ।

सञ्चारकर्मीको सुरक्षाको लागि कस्तो व्यवस्था मिलाउनु भएको छ ?

महामारीको यस्तो समयमा सञ्चारकर्मीहरुमाथि स्वाभाविकरुपमै सुरक्षाको जोखिम बढी हुने गर्दछ । यद्यपि उसलाई त्यो जोखिमको बीच कार्यक्षेत्रमा जुटिरहनुपर्ने दायित्व पनि छ । नेपाल टेलिभिजनले कोभिड १९ को संक्रमणको प्रभाव नेपालमा देखिएसँगै कार्यक्षेत्रमा सहकर्मीलाई कसरी सुरक्षित राख्ने भन्ने उपायको खोजी र कार्यान्वयन शुरु ग¥यो । सिलसिलेवाररुपमा भन्नुपर्दा हामीले सबैभन्दा पहिले जव यसको प्रभाव नेपालमा पनि पर्छ भन्ने भयो, त्यसपछि सरसफाइमा अरु ध्यान दिऔं । हाम्रा किचेन, सरसफाइ र सुरक्षामा रहेका कर्मचारीलाई अभिमुखीकरण ग¥यौं । कार्यालय छिर्ने मूलद्वार र ठाउँ ठाउँमा हात धुनका लागि साबुन पानीको व्यवस्था ग¥यौं । शौचालयको सफाइमा अरु ध्यान दियौं । खानको लागि तातोपानीलगायतको व्यवस्था मिलायौं । मास्क, पञ्जा र ह्याण्ड सेनिटाइजरको व्यवस्था ग¥यौं । औंला राखेर गरिने विद्युतीय हाजिरी प्रणालीलाई आँखाबाट हुने गरी नछोइकन गर्ने व्यवस्था मिलायौं । ननकन्ट्याक्ट थर्ममिटरले ज्वरो परीक्षण गरेर मात्र कार्यालयमा प्रवेश गर्न पाउने व्यवस्था अनिवार्य ग¥यौं । स्टुडियोलगायत कार्यकक्ष र सवारी साधनहरुमा नियमितरुपमा डिसइन्फेक्ट स्प्रे गर्ने व्यवस्था मिलायौं । कार्यालय परिसरको खुला क्षेत्रमा पनि नियमित डिसइन्फेक्ट स्प्रेको व्यवस्था ग¥यौं । यसलाई अझ व्यवस्थित र नियमित अनुगमन तथा आवश्यक कार्यका लागि रेपिड रेस्पोन्स टीमलाई क्रियाशील बनाऔं । यसको जोखिम घटाउन र मनोवैज्ञानिकरुपमा पनि दुरुस्त रहिरहन कर्मचारीहरुमा नियमित छलफल ग¥यौं । विज्ञ चिकित्सकबाट अभिमुखीकरण कार्यक्रम सञ्चालन ग¥यौं । यसको प्रभाव र असर बढ्दै गएसँगै सुरक्षाका अन्य उपाय अपनाउँदै गएका छौं । त्यसक्रममा अहिले कार्यालयमा भिडभाड घटाइएको छ । मेगा शोहरु कटौती भएका छन् । आकस्मिक पर्दा अफिसमै रहन सक्ने गरी केही बेडको पनि व्यवस्था मिलाएका छौं । अन्य स्टेशनमा प्रयोग नभएको अर्को अभ्यास पनि हामीले शुरु गरेका छौं— आउटडोर स्टुडियोको । गेष्टहरुसँग कार्यालय परिसर भित्र तर भवनभन्दा बाहिरी भागमा तयार गरिएको खुला स्टुडियोबाटै अन्तर्वार्ता लिने व्यवस्था मिलाएका छौं । यसले खुला ठाउँमा कोराना भाइरस तुलानात्मकरुपमा कम समय बस्ने भएकोले जोखिम घटाउने, मनोवैज्ञानिकरुपमा पनि सान्त्वना हुने र दुर्भाग्यवश परिस्थिति अरु जटिल भएको अवस्थामा पनि बाहिरबाटै निर्वाधरुपमा प्रसारण गर्न सकिने हाम्रो विश्वास छ । साथै, यस्तो विषम परिस्थितिमा आफ्नो दायित्वलाई गम्भीररुपमा पालना गर्ने सञ्चारकर्मी–कर्मचारीका लागि इन्सेन्टिभको बारेमा पनि सोच बनाएका छौं ।

यस्तो विषम परिस्थितिमा सञ्चारमाध्यमले दिने विषयवस्तुको बारेमा पनि उत्तिकै गम्भीरता जरुरी हुन्छ । यसमा चाहीँ तपाईंहरुले के गरिरहनुभएको छ ?

हो, यो विशेष अवस्था हो । यस्तो बेलामा अनेक अफवाहको खतरा हुन्छ । सामाजिक सञ्जालमा बढी भरपर्दा भ्रमित हुने संभावना पनि रहन्छ । यसैले पनि धेरैको ध्यान सञ्चारमाध्यमतिरै हुन्छ । कोरोना भाइरस नयाँ चिज भएकोले यसैपनि यसप्रति जिज्ञासा धेरै, जवाफ थोरै भएको अवस्था हो । यसर्थ हामीले यसमा त झनै विशेष ध्यान दिएका छौं । नेपाल टेलिभिजनका पाँच वटै च्यानलका अतिरिक्त मोबाइल एप, युट्युव, वेभसाइटलगायतका डिजिटल प्लेटफर्ममा यससम्बन्धी समाचार, आधिकारिक सूचना र निर्णयहरु जे हुन्छन् ती सबैलाई प्राथमिकताका साथ प्रसारण गर्ने गर्दछौं । हामीले यसमा आफ्नै तर्फबाट पनि पीएसएहरु बनाएका छौं धेरै वटा, जसमा कारोनाका लक्षण, यसबाट बच्ने तरिका, सरकारले गरेका निर्णय र आदेशहरु, क्वारेन्टिन, सेल्फक्वारेन्टिन, आइसोलेसन आदिका विषयमा प्रसस्त जानकारीहरु दिने गरेका छौं । कथंकदाचित कोरोनाको लक्षण देखिएमा कसलाई सम्पर्क गर्ने, कहाँ जचाउने, कसरी त्यहाँ पुग्ने आदि विषयमा स्पष्ट र नियमितरुपमा सूचना दिने गर्दछौं । यसको निम्ति विज्ञ र सेलिब्रेटीबाट प्रत्यक्ष बोलेर प्रभावकारी हुने विषयमा त्यही गरेका छौं । सरकारी अधिकारी, सम्बन्धित मन्त्री, विशिष्ट तथा अतिविशिष्ट पदाधिकारी आदिका सन्देश नियमितरुपमा दिने गरेका छौं । विज्ञ र सम्बन्धित अधिकारीका अन्तर्वार्ता, समाचार स्टोरी, प्रत्यक्ष संवोधन, पीडितका भनाइजस्ता कुरा अधिक समेट्ने गर्दछौं । झण्डै ५० लाख नेपालीहरु अहिले अध्ययन, रोजगारी, व्यावसाय वा अन्य सिलसिलामा विदेशमा हुनुहुन्छ । कोरोनाको प्रभाव विश्वब्यापि रहेको र विदेशमा रहेका नेपालीहरु यसबाट झन बढी प्रभावित भैरहेको सन्दर्भमा हामीले उहाँहरुको बेदना, अनुभव र त्यहाँको अपडेटलाई पनि समेट्ने प्रयास गरिरहेका छौं । कोभिड १९ का अनेक पक्ष र प्रभावलाई हाम्रा नियमित कार्यक्रम, बृत्तचित्र आदिमार्फत पनि समेट्ने गर्दछौं । प्रधानमन्त्रीले गर्ने संबोधन एबं कोभिड रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिका निर्णय नियमितरुपमै जानकारी गराउँछौं । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङको दैनिकरुपमा प्रत्यक्ष प्रसारण गर्ने गर्दछौं । नेपाल सरकारका प्रवक्ताको निर्णय सार्वजनिकीकरण कार्यक्रम पनि प्रत्यक्ष दिने गर्दछौं । यस्ता प्रत्यक्ष प्रसारणका विषयहरु अन्य टेलिभिजन, रेडियो, अनलाइनलगायतका सञ्चारमाध्यमहरुले पनि नेपाल टेलिभिजनबाटै हुक गरेर लिने गर्दछन् । यसमा हामीले नेपाल टेलिभिजनको क्षमता र दायित्वलाई अधिकतम सदुपयोग गर्ने प्रयास गरिरहेका छौं ।

विपतको समयमा भ्रमहरु बढी नै फैलिने गर्दछन् । यो कुरा तपाईंले पनि भन्नुभयो । सामाजिक सञ्जाल मात्र नभएर मूल प्रवाहका सञ्चारमाध्यमबाट पनि फेक न्युज प्रवाह हुने गरेको पाइन्छ । यस सन्दर्भमा के भन्नुहुन्छ ?

हो, यस्तो हुने संभावना यस्तो बेलामा अरु बढी नै हुन्छ । एक त मान्छे लकडाउनमा छ । संस्थाहरु पनि लकडाउनमा छन् । सिस्टमले काम गर्न सकिरहेको छैन । त्यस्तो बेलामा कहिलेकाहीँ समयमै सूचना प्रवाह हुन नसकेको, भेरिफिकेसन हुन नसकेको वा मानसिकता नै ठीक नभएको कारण पनि त्यस्तो हुन्छ । त्यसलाई मिनिमाइज गर्न सक्नुपर्दछ । पत्रकारले यस्तो बेला पत्रकार आचारसंहिता र कोरोना भाइरसकै सन्दर्भमा त विश्व स्वास्थ्य संगठनको मार्गदर्शनलाई पनि विशेष ख्याल गर्नुपर्दछ । कुनै पनि झुटो समाचारले ठूलो दुष्परिणाम ल्याउन सक्दछ । बरु केही ढिलो होस् सूचना सही होस् भन्नेमा जानुपर्दछ । आधिकारिक स्रोतको मात्र प्रयोग गर्नुपर्दछ । मान्छेहरु बढी नै प्यानिक भैरहेको अवस्था छ । पत्रकारले सूचना लुकाउने हैन तर प्यानिक बनाउने संभावना भएको सूचना दिनुपर्दा निकै हेक्का पु¥याउनु पर्दछ, त्यसको भाषा शैलीमा पनि । समाजलाई निराशा फैलाउने हैन, सचेत बनाउने र हौसला पनि बढाउने खालको सामग्री दिनुपर्दछ । अहिले मनोसामाजिक अवस्था निकै खल्बलिएको बेला भएकोले यसमा अरु बढी ध्यान दिनुपर्दछ । एकोहोरो कोरोना मात्र दिएर पनि हुँदैन, जीवनोपयोगी र मनोरञ्जनात्मक सामग्री पनि दिनुपर्दछ । यद्यपि संवेदनशील अवस्थामा ध्यान भंग गर्न भनेर दिइने अन्य सामग्रीले सञ्चारमाध्यमहरु संवेदनाहीन भएको सन्देश जाने अवस्था नआओस् भन्नेमा भने हेक्का पु¥याउनु पर्दछ ।

अन्त्यमा, महामारीको यो समयमा विदेशमा छरिएर रहेका नेपाली पत्रकारहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?

सबैभन्दा पहिले त यही भन्न चाहन्छु कि तपाईं जहाँ हुनुभए पनि सुरक्षित रहनुस् । सम्बन्धित मुलुकका सरकारले दिएका निर्देशनहरुको पालना गर्नुहोस् ताकि एउटा आपत्तिमा अर्को विपत्ति नथपियोस् । आफ्नो परिवार र आफन्तजनको ख्याल राख्नुहोस् । यो कुरा म विदेशमा रहेका नेपाली पत्रकार मात्र हैन, सम्पूर्ण नेपाली दाजुभाइ दिदीवहिनीहरुमा भन्न चाहन्छु । यो अवस्था सँधै यस्तै रहँदैन । हुलमुलमा जीऊ जोगाउनु भन्ने नेपाली उखान नै छ । साथै पत्रकार साथीहरुलाई थप के भन्न चाहन्छु भने पत्रकारलाई बढी नै सुरक्षा चुनौती छ तरपनि पेशागत जिम्मेवारीबाट पन्छिने छुट छैन । तपाईंहरुले आफू र आफ्नो परिवारको साथसाथै त्यहाँ रहेको नेपाली समुदाय अनि यहाँको सरकार र समाजलाई जोड्ने सेतुको पनि काम गरिदिनुस् सत्य तथ्य सूचना र सन्देश दिएर । यो विषम परिस्थितिमा पत्रकारको रुपमा तपाईं सरकार, राजदूत, मनोचिकित्सक, उद्धारक जे पनि हुनुपर्ने हुन्छ, सही सही सूचनाको प्रवाह गरेर त्यो जिम्मेवारी पुरा गरिदिनोस् । यो कसैले जिम्मेवारी दिएर गरिने, कसैबाट मूल्यांकन गर्ने वा कसैलाई देखाउनका लागि गरिने कुरा हैन, पेशागत दायित्व र आत्मसन्तुष्टीको विषय पनि हो । अन्त्यमा फेरि पनि भन्न चाहन्छु— सुरक्षित रहनुस्, आफ्नो ख्याल राख्नोस् ।

यति कुराहरु शेयर गर्ने अवसर दिनुभएकोमा किशोरजी र इनेप्लिज परिवारलाई धन्यवाद ।

प्रतिक्रिया