कोरोना संक्रमणले भियतनाम युद्धमा भन्दा वढी मर्लान त अमेरिकी नागरिकहरु ?

किशोर सापकोटा २०७६ चैत १९ गते ०:४० मा प्रकाशित

वीस वर्ष लामो अमेरिका भियतनाम युद्धमा जति अमेरिकी सैनिकहरुले मृत्युवरण गरे, त्यो भन्दा वढी अमेरिकी नागरिकहरु अझै केही महिना फैलनसक्ने अनुमान गरिएको कोरोना संक्रमणवाट मर्ने सरकारी अनुमान छ । यो अनुमान कोरोनाको नियन्त्रणको लागि जुटिरहेका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सहयोगी उच्च अधिकारीहरुको हो, जुन अनुमानलाई विश्वास गर्न सर्वसाधारणको मन मान्दैन । तर कोरोनाको डढेलो यसरी सल्किएको छ, सरकारी अनुमान पुरा नहोला भनिहाल्न पनि आधार छैन ।

सन् १९५५ देखि १९७५ सम्म वीस वर्ष लामो भियतनाम युद्धमा ५८,२२० अमेरिकी सैनिकको मृत्यु भएको थियो र सवैभन्दा वढी मृत्यु सन् १९६७ देखि १९७१ को वीचमा भएको थियो । सन् १९६८ भरीमा मात्रै १६८९९ अमेरिकी सैनिकहरुको मृत्यु भएको थियो । वीस वर्षको युद्धमा ५८२२० जना मात्रै सैनिक मारिएका थिए तर यहां केही महिनाको महामारीले १ लाख देखि २ लाख ४० हजारसम्म अमेरिकीहरु मारिन सक्ने डरलाग्दो चेतावनी वाहिरिएको छ । सरकारी अधिकारीहरुको दावा यो छ कि आगामी दुइ साता अमेरिकाका लागि सवैभन्दा पीडादायी र गाह्रो हुने छ । ऐले म यो फेसवुक स्टाटस लेख्दै गर्दा (अमेरिकी इएटी अनुसार मंगलवार रातको ११ वजे) कोरोना भाइरसको कारण ४०४७ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सको डाटावेसले देखाउंछ जुन अघिल्लो दिनको तुलनामा १ हजार वढी हो ।

म चाहन्छु प्रत्येक अमेरिकी नागरिकहरु यी कठिन दिनको सामना गर्न तयार होउन, आगामी दुइ हप्ता हाम्रा लागि पीडादायी र कठिन हुनेछन्, राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सद्वारा आयोजित पत्रकार सम्मेलनमा मंगलवार भने ।

अहिले अनुमान गरे अनुरुपनै अमेरिकी नागरिकहरुको मृत्यु भयो भने, डोनाल्ड ट्रम्प यस्तो राष्ट्रपति वन्नेछन् जसको कार्यकालमा यति धेरै नागरिकलाई महामारी वा अन्य आकस्मिक कारणले गुमाउनु परेको थिएन र भविश्यमा पनि संभवत नपर्ला । जर्ज डव्लु वुसलाई सेप्टेम्वर ११मा अमेरिकामा भएको आतंककारी हमलाको वारेमा देशलाई वताउंदा जति कठिन भएको थियो त्यसको कैयौ गुणा कठिन राष्ट्रपति ट्रम्पलाई यसको पूर्ण क्षति वताउनु परेको दिन हुनेछ । सेप्टेम्वर ११ मा भएको मानवीय क्षतिभन्दा वढी मानिसको मृत्यु त सोमवार नै भइसकेको किनकी सोमवार सांझसम्ममा कोरोना भाइरसको कारण ३०५५ जनाको मृत्यु भइसकेको थियो । सेप्टेम्वर ११ को आक्रमणमा परी जम्मा २९७७ जनाको मात्रै मृत्यु भएको थियो ।

अव कल्पना गरौ, ह्रवाइट हाउस कोरोना भाइरस टास्क फोर्सका वरिष्ठ विज्ञहरु डा. डेवोरा व्रिक्स र एन्थोनी फौसीले अनुमान गरे अनुरुप सवै सुरक्षाका उपायहरु अपनाउंदा अपनाउंदै पनि १ लाख देखि २ लाख ४० हजार मानिस मर्नुपर्न अवस्था कस्तो होला ? राष्ट्रपति ट्रम्प र उनका विज्ञहरुले आउंदो दुइ हप्ता सवैभन्दा वढी जोखिमपूर्ण भएको वताएका छन्, जुन समयमा १,८७,१७६ जना संक्रमित भएको पुष्टि भइसकेको छ । न्यूयोर्क लगायत धेरै भाइरस संक्रमित भएका राज्यहरुमा अस्पताल वेड र भेण्टिलेटको अभाव छ र त्यो अभाव चांडै पुरा हुन सक्ने पनि छैन । कोरोना संक्रमितहरुको उपचारका लागि सामान्यतया ३ दिनदेखि ४ दिनसम्म भेण्टिलेटरको आवश्यकता हुन्छ तर अलि जटिल केश आएमा ११ दिनदेखि २१ दिनसम्म भेण्टीलेटरमा राख्नुपर्ने हुन्छ । यो अवस्थामा भेण्टीलेटरको अभावमा कति मानिसको मृत्यु हुनेहोला ? अनुमान गर्न पनि कठिन छ । अहिले पनि न्यूयोर्क लगायत केही शहरमा दुइजना विरामीलाई एउटै भेण्टिलेटर प्रयोग गर्नुपरेको चिकित्सक र गभर्नरहरुले वताउंदै आएका छन् ।

ह्वाइट हाउस कोरोना टास्क फोर्सका वरिष्ठ सदस्यहरुको अनुमान अनुसार पीडादायी र कठिन मानिएका आगामी दुइ सातामा न्यूनतम १ लाख मानिसहरु मर्दा पनि अवका हरेक दिन ६,९०० जना जति मानिस मर्नेछन् र यदि उनीहरुकै अनुमान अनुसार मर्ने मानिसहरुको संख्या २ लाख ४० हजार पुग्यो भने दैनिक करिव १७,१४२ जना जति मानिस मर्नेछन् । यो महामारी दुइ साताभन्दा पर पनि जान सक्छ वा उच्च अधिकारीहरुको अनुमान नमिल्न पनि सक्छ तर पनि राष्ट्रपति र उनका वरिष्ठ सहयोगीहरुले दुइसातालाई सवैभन्दा कठिन र पीडादायी भनेकोले यही दुइ साताभित्र सो अनुमान गर्दा कति विकराल अवस्था हुन्छ भन्ने देखाउन मात्रै दैनिक आंकडा देखाइएको हो । यति कठिन अवस्थालाई अमेरिकाले कसरी धान्ला ? उत्तर अझै कसैसंग पनि छैन ।

देशमा करिव १ हजार नागरिक कोरोना संक्रमणले मरेको दिनमा पनि राष्ट्रपति ट्रम्पका ट्वीटहरु उदेक लाग्दा हुन्छन् । उनले मंगलवार ट्वीट गर्दै भनेका छन्, महत्वपूर्ण समाचार, हाम्रो नयां सुरक्षित सवारी नियम अन्तर्गत अव अमेरिकी परिवारले सुरक्षित, धान्न सक्ने र वातावरण मैत्री कारहरु किन्न सक्ने भएका छन् । ती पुराना असुरक्षित कवाडी गाडीहरुवाट मुक्ति पाउनुहोस् । राम्रा र सुरक्षित अमेरिकी कार वनाऊ र अमेरिकी रोजगारी सिर्जना गरौ । अमेरिकीनै किनौ ।

राष्ट्रपति ट्रम्पले पूर्व राष्ट्रपति वाराक ओवामाको समयमा वनेको सवारी नियमलाई परिवर्तन गर्ने क्रममा उक्त ट्वीट गरेका हुन् ।

दैनिक १ हजार मानिस महामारीवाट मारिंदा समेत पनि कतिपय मानिसहरुमा संवेदनशीलता भने देखिएको छैन । अझै पनि कतिपय मानिसहरु अमेरिकामा वर्षमा १५ हजार भन्दा वढी नागरिक गोली प्रहारवाट मर्छन, करिव ४० हजार मानिस सवारी दुर्घटनामा मर्छन, करिव ७ लाख मानिस क्यान्सरको कारण मर्छन भने यो महामारीमा अलिअलि मर्नु सामान्य त हो नि भनेर तर्क गरिरहेका छन् तर तर्क गरिरहंदा सवारी दुर्घटना, गोली प्रहार र क्यान्सर रोगहरु सरुवा रोग होइनन् भन्ने चाहि विर्सिरहेका हुन्छन् ।

(पत्रकार सापकोटाको फेसवुकवाट)

प्रतिक्रिया