पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दुइ करोड रुपिंया सहयोग

इनेप्लिज २०७६ चैत १८ गते १४:१६ मा प्रकाशित

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल सरकारले खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।

पूर्वराजा शाहले मंगलबार साँझ एक सन्देश जारी गर्दै बुहारी हिमानीको नाममा रहेको हिमानी कोषबाट उक्त रकम सरकारलाई दिने उल्लेख गरेकाछन्।

उनले कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको उल्लेख गर्दै देश र जनतामा यस महामारीले भय र सन्त्रास पैदा गराएको वताएका छन् ।

मानव अस्तित्व रक्षाका निम्ति भई रहेको पहल प्रति संवेदनशील हुँदै हामी सबैले आ(आफ्नो ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्‍याउनु अनिवार्य भइसकेको छ,’ उनको सन्देशमा भनिएको छ,‘ यो अवस्थाबाट मुक्त हुन लकडाउन नै वाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौं र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ।’

पूर्वराजा शाहले महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्ने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्‍याउने सञ्चारकर्मी एंवम् पत्रकारहरूप्रति आभार व्यक्त गरेका छन्।

‘राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भै रहेको बेलामा यसको प्रशंसा गर्दै यसलाई अझै प्रभावकारी बनाउन हामी अनुरोध गर्दछौं,’ उनको सन्देशमा भनिएको छ,‘ दुख, कष्ट र आपत(विपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौ। यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं।’

प्रतिक्रिया