कोरोना कहर-बीरकाजी बस्नेत

बीरकाजी बस्नेत २०७६ चैत १७ गते २२:५३ मा प्रकाशित

यती बेला कोरोना भाईरसले संसार प्रभावित भएको छ । हुनत यो भाईरस सांढे ३ महिना अगाडि चाइनाको वुहान सहरबाट सुरु भएको भए पनि यसले त्यती बेला सम्म चर्चा पाएन जतिबेला सम्म पश्चिमा पहिलो विश्व मानिने देशहरुमा यो संक्रमण सुरु भएन । जब यो त्यहा सुरु भयो यसले हाहाकार मच्चायो । त्यो भन्दा पहिले यस्ता भाईरस तेस्रो विश्वमा मात्र देखिने रोगहरु हुन यसले बिकसित देशहरुलाई असर गर्दैन भन्ने ठानिएको थियो । यसलाई चाइनिज भाईरस भनि उडाउने काम पनि भएको थियो । नेपालकै मैदानी भागबाट उदाएका बिरलाकोटी मध्ये पर्ने विद्वान लेखकले स्पनेसिस फ्लु ,जापानिज एन्सेफ्लाइटिस भन्न मिल्ने तर चाइनिज भाईरस भन्दा चिनिया घमण्डीहरु सहन गर्न नसक्ने भनी आलेख लेखेका थिए ।

अहिले यो विश्वाब्यापी बनेको छ । यसको रोकथाम,नियन्त्रण र ब्यबस्थापन गर्न ठुला र सक्तिसाली मानिएका राष्ट्रहरुलाई हम्मेहम्मे परिरहेको छ । संसार माथि अधिपत्य जमाउन सक्ने ठानिएका देशहरुलाई समेत यो भाइरस देखी हार खानु पर्ने अवस्था छ । विश्व स्वास्थ्य संगठनले पटक पटक बिग्यप्ती जारी गर्नु परेको छ । यो भाईरसका बिभिन्न आयामहरुलाई बिचार गरौ ।

समाज शास्त्रीय आयाम ; यस्ता भाईरस सबै जाती ,धर्म,संस्कार,संस्कृति भएका मानिसहरुलाई बराबरी पैमानामा संक्रमण हुन सक्छभन्ने देखाएको छ । यो भाईरस ब्रिटेनका भाबी राजा ,त्यहाका शक्तिशाली प्रधान मन्त्री देखी अमेरिकि सिनेटर सम्मलाई पनि लाग्न पुगेको छ भने स्पेनकी राजकुमारी देखी ईरानका एक मन्त्री सम्मको निधन भएको छ। यसले ब्यक्ती जस्तो सुकै प्रोफाइलमा रहे ,भएको भए पनि भौतिक शरीर समान हो भन्ने प्रमाणित गरिदिएको छ । यसले जुनसुकै धर्म संस्कार हरु पनि उच्च वा न्युन कोटिको हुने गर्दैन भन्ने बोध गराएको छ। जस्तो कि संसारकै शक्तिशाली भ्याटिकन शहरका सामुहिक प्रार्थना देखी बेथ्लेहम सम्मका सामुहिक भेला रद्द गर्नु परिरहेको छ ।

कोरियाका एक चर्चका प्रमुख पादरिले त घुंडा टेकेर माफि माग्नु पर्‍यो । संसारबाट हज र नमाज पढ्नका लागि जीवनमा एकपटक मुस्लिम आस्थाका मानिसहरु पुग्नै पर्ने मक्का ,मदिना मस्जिदहरुका सामुहिक भेला प्रतिबन्धित हुनुपरेको छ । संघम शरणं गच्छामी देखी रामनवमी मेला पर्बमा भेला हुन मनाही गरिएको छ । तिरुपतिका पूजा आजा बन्द गर्नु परेको छ । कुनै पादरिका पाप नस्ट पार्ने प्रबचन,अल्लाह अकबर देखी बम भोले जस्ता नाराहरु यो भाईरससँग निस्फल हुन पुगेका छन । यसले आम मानिसलाई हतार ,धपेडी पूर्ण रुटिन लाइफ भन्दा नैसर्गिक जिबन पो उपयोगी हो कि भनी सोच्न वाध्य बनाएको छ । परिवारजन र आफन्त नै एक अर्कामा नै दुरी कायम गरेर ,घर भित्रको बन्दी बनेर ,छोइछिट्टो बारीझोक्राएर बसेका कृयापुत्री झै घरको चौघेरा भित्र बस्न वाध्य छन ।

भौगोलिक आयाम : जिबाणुलाई एक देशबाट अर्को देशमा जान कुनै भिसा लिनु नपर्ने रहेछ । यसलाई जहाजको टिकेट खरिद गर्नु नपर्ने रहेछ । यसलाई सिमा बन्द गर्न सुरक्षाकर्मी राख्दा पनि नरोकिने रहेछ । यसलाई कुनै कानुन नलाग्ने रहेछ । भौगोलिक दुरी कती नजिक टाढा फरक नपर्ने रहेछ । यो वुहानबाट बेझिङ भन्दा भेनिस छिट्टो पुग्दो रहेछ । सियाटलबाट न्युयोर्क पनि गोन्झाउ बाट काठमाडौं भन्दा छिटो पुग्दो रहेछ । शहर बजारको जीवन सुबिधायुक्त जीवन र पश्चिमी देशमा जाने अबसरलाई स्वर्ग र सुरक्षित सोच्नेहरु आफ्नो सोच बदल्ने अवस्थामा पुगेका छन ।

जस्तो कि काठमाडौं बाट ५ लाख जती मानिसहरु आफ्नो गाउघर तिर फर्केका छन । पहिले नेपाल लगायत तेस्रो मुलुकबाट बिकसित मुलुकमा जान केही मापदण्ड जस्तो स्वास्थ्य जांच लगायतका प्रकृया पुरा गर्नु पर्ने हुन्थ्यो भने अहिले ठीक उल्टो बिकसित देशबाट फर्केका स्वास्थ्य जांच नगरि नेपाल जस्ता देश भित्र प्रबेस गर्न पांउदैनन । न्युयोर्क ,लण्डन ,पेरिस पुग्दा स्वर्ग पुगेको ठान्ने हरु अहिले छोड्न पाए उन्मुक्ती मिल्ने सोच्दै छन । विश्वकै आर्थिक केन्द्र मानिएको न्युयोर्क यती बेला न्याउरो अनुहार लगाइ रहेको छ ! ईतिहासमै पहिलो पल्ट जमघट युक्त विश्व उपस्थित हुने ओलम्पिक जस्ता कुम्भ भेलाहरु स्थगन गर्नु परेको छ ।

संस्कारगत आयाम : हामीलाई आफ्नो संस्कृति र परम्परागत मान्यता रुढिबादी र अन्धबिश्वास लाग्ने र पश्चिमी जती सबै ठीक,राम्रो र सभ्य लाग्ने पुरानो रोगलाई यो नयाँ भाइरसले परिवर्तन गरी दिएको छ । समानाताका नाममा हात मिलाउने र नमस्कारलाई सामन्ती सोच भन्ने हाम्रो सोचलाई उल्टो अवस्थामा पुर्याइदिएको छ । दण्डवतको सट्टा गाला मिलाउने ,एक अर्कामा ग्वाम्ल्वाङ अंगालो हाल्ने ,थुतुनो जोडेर चुम्माचाटी गर्ने कती ठिक वा बेठिक सोचनिय बनाएको छ । ढिडो रोटी नै भए पनि घरमै खानेकी रेस्टुरेन्टबारमा लन्च ,डिनर लिने र चियर्स गर्ने ,एकले अर्काको जुठो पुरो बेपरवाह सामुहिक रुपमा खाने ठीक भन्ने सबाल उठाइदिएको छ । बाहिर फेरो पुगेर आएपछी हात गोडा धोएर मात्र घर प्रबेस गर्ने ,आगो र पानी छोएर मात्र केटा केटी छुने ,लुगा फाटो फेरेर मात्रा भान्सामा जाने जस्ता कुरा रुढिबाद भन्ने कि स्वास्थ्य अनुकुल हुन भन्ने सबाल अगाडि ल्याइदिएको छ ।

अर्थ राजनीतिक आयाम : सबै मानिस भेला हुन नसक्ने हुनाले स्कुल ,कलेज ,ब्यापार ब्याबसाय,हवाइ,रेल ,पानी जहाज जस्ता सेवा बन्द गर्नु परेको छ । मानिस घर भित्र बस्न वाध्य भएकाले बेरोजगार छन । खाना र बिल तिर्न सरकार हरु आर्थिक प्याकेज ल्याउन वाध्य छन । उत्पादन सुन्यमा झरेको छ । यसले अर्थ ब्यबस्था बलियो भएका मुलुकहरु पनि टाट पल्टिने अवस्थामा पुग्ने संभावना छ ।

मानबिय आबिस्कार सम्बन्धी आयाम :अहिले सम्म मानब आविष्कारले मान्छेलाई चन्द्रमामा टेक्न सक्ने बनाइदिएको छ । संचारले संसारलाई सांघुरो बनाइदिएको छ । एउटै देशसँग पुरै पृथ्वी ध्वस्त पार्न सक्ने हतियार भन्डारण छन । बर्सेनी संसारलाई पुग्ने नयाँ नयाँ हतियार बनीरहेका छन । आकाशमा चरा जस्तै उड्न सक्ने ,पानीमा माछा जस्तै पौडन सक्ने ,समुन्द्रको गहिराइ नाप्न सक्ने,खोज गर्न सक्ने त भएको छ । जीवन सहज र सुबिधा युक्त बनाउन असंख्य आबिस्कार भएका छन । तर यस्तो आपत बिपतमा जरुरी हुने र लाखौंको जिबन बचाउन सक्ने किट्स हरु ,गाउन ,स्यानिटाइजर ग्लोवज,मास्क ,अक्सिजन सिलिण्डर ,महामारिको समयमा ब्यबस्थापन गर्न आबस्यक पर्ने शयन कक्ष हस्पिटल वार्ड र जगेडा मात्रामा डाक्टर ,नर्सहरुको उपलब्धता जस्ता कुराहरु अति बिकसित भनिएका मुलुकहरुमा समेत अभाब रहेछन ।

यस्ता भाईरसहरु न ए के ४७ ,नत इन्टर कन्टिनेन्टल ब्यालिस्टिक मिसाइल ,न एण्टी एयर क्राफ्ट ट्यान्क र मिसाइल न त आणबिक हतियारको प्रयोग बाट नै नियन्त्रण हुने रहेछ । हाम्रा आबिस्कारहरु मानबियता र मानबिय मुल्य मान्यताका लागि हुने बनाउने कि जस्तो सुकै नरसंहार गरेर भए पनि नाफा नोक्सानको हिसाब किताब गर्दै पुंजी निर्माण गर्ने भन्ने हो । मानिसका बैज्ञानीक आबिस्कार मानब कल्याणका लागि हुनु पर्ने जरुरी छ ।

उप संहार

यस्ता संकट विश्वका सम्पन्न राष्ट्रहरुका आपसी समन्वय र सहकार्य अनी नेतृत्वमा हुनु जरुरी हुन्छ । विश्वका अन्य संकट्मा नेतृत्व लिने राष्ट्र अमेरिका अहिले पछी हटेको र संकटको अवस्थामा छ । यस्को प्रमुख कारणहरु मध्ये यसकै नेत्रित्व गर्ने ब्यक्तिको विश्वाशनियता गुमेको अवस्था छ । उनी यस्ता व्यक्ति छन न कहिले कुनै जिम्मेबारी बहन गर्न खोज्दछन न त आफु बाट भएका गल्ती नै महसुस गर्छन् । भए जती गल्ती अरुकै हो भनेर औंला देखाउदै आफु सदैब जस लिन मात्र खोजी रहन्छन । सर्बे भवन्तु सुखिन वा बसुधैब कुटुम्बकम गर्न कोही तयार छैनन ।

चांदिको घेरा :यसले मानिसलाई आगामी दिनको लागि महत्वपूर्ण पाठ सिकाएको छ । सबारी साधान सडकमा कम गूड्ने र आकाशमा गर्जदै उड्ने प्लेनहरु ठप्प जस्तै भएको र मानबिय गतिबिधी न्युन भएकाले बातावरणले केही राहत महसुस गर्न थालेको छ । केही मात्रामा भए पनि आकाश निलो रङको सफा देखिन थालेको छ । मान्छेलाई केही भए पनिमानवताबारे शिक्षा मिलेको छ र प्रकृतिले आफुलाई धेरै नजिस्काउन आग्रह गरेको छ । दौडधुपको मेसिन जस्तो जीवन शैलीलाई प्राकृतिक जीवन शैलीको अनुभब र महत्व बारे सजग गराएको छ ।

प्रतिक्रिया