कोभिड–१९ सङक्रमण रोक्न निर्णण– फिवर क्लिनिक अविलम्व सञ्चालन गर्नु पर्ने

मनोज दाहाल २०७६ चैत १७ गते १०:५८ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, १६ चैत । प्रदेश नं.१ का सामाजिक विकास मन्त्रालयले प्रदेशका स्वास्थ्य संस्थाहरुले ‘फिवर क्लिनिक’ अविलम्व सञ्चालन गर्न आज निर्देशन दिएको छ।

सामाजिक विकासमन्त्री एवं आईसोलेसन तथा विशिष्टिकृत अस्पताल एवं प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष जीवन घिमिरेको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सामाजिक विकास मन्त्रालयले आकस्मिक र फिवर क्लिनिक बाहेकका सेवा बन्द गर्न निर्देशन दिएपनि कतिपय स्वास्थ्य संस्थाहरुले फिवर क्लिनिक बन्द गरेका गुनासो पश्चात उक्त निर्णय गरिएको हो ।

वैठकले कोरोना संक्रमितको उपचारका व्यवस्था तत्कालका लागि प्रदेश अस्पताल(कोशी)कोरोना उपचार केन्द्र) र सुनसरी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्ने निर्णय गरेको छ ।

यसैगरी सङक्रममण बढ्दै गएमा विराट मेडिकल कलेज बुढीगंगा, नोवेल मेडिकल कलेज विराटनगर, विएण्डसी अस्पताल विर्तामोड तयारी अवस्थामा रहने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिनु भयो ।

प्रदेश अस्पताल(कोशी)मा कोरोना उपचार केन्द्र सञ्चालनका लागि आवश्यक जनशक्ति तयार गर्न विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नोवेल अस्पताल, विराट मेडिकल कलेज र विएण्डसीले सहयोग गर्ने निर्णय भएको डा. मेहताले बताउनु भयो ।

बैठकले सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख तथा प्रवक्ता डा. मेहताको संयोजकत्वमा कोरोना रोकथामको उपचार सम्वन्धी मार्गदर्शन तयार गर्नका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । समितिले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रयोग सम्वन्धी मापदण्ड, स्वास्थ्यकर्मीको भूमिका निर्धारण, कोरोना(कोभिड–१९) रोकथाम तथा फोहोर व्यवस्थापन, उपचार र एम्वुलेन्स सञ्चालन तथा सङ्क्रमण व्यवस्थापन सम्वन्धी मार्ग दर्शन तयार गर्ने भएको छ।

यस्तै बैठकले प्रदेशका सम्पूर्ण स्वास्थ्यकर्मीको सूची संकलन गर्ने र तत्काल कोरोना सङ्क्रमितको उपचारका लागि खटिएका स्वास्थ्यकर्मी र कर्मचारीका लागि पीपीई उपलब्ध गराउने निर्णय भएको छ । कोरोना(कोभिड–१९) सङ्क्रमितका उपचारका लागि खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको तलवको अतिरिक्त प्रोत्साहन भत्ता, सेवाको क्रममा विरामी भए निःशुल्क उपचारको प्रवन्ध र निःशुल्क बिमाको प्रवन्ध गर्ने निर्णय गरेको प्रवक्ता डा. मेहताले बताउनुभयो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया